विराटनगर, चैत्र १० - निकासी पैठारी गर्ने उद्योगी व्यवसायीबाट सामान छुटाए वापत अतिरिक्त रकम लिँदै गरेको अवस्थामा भारतको सेन्ट्रल ब्यूरो अफ इनभेष्टिगेशन (सिबिआई) ले सीमावर्ती जोगवनी भन्सारका कार्यालय प्रमुखसहित चारजनालाई बिहीबार राति नियन्त्रणमा लिएपछि जोगवनी नाकावाट दुई दिन देखि निकासी पैठारी ठप्प छ ।
सिबिआईले जोगवनी भन्सारका कर्मचारीलाई दुई दिन सम्म कुनै पनि सामानको चाँचपास नगर्न लिखित सूचना टाँस्नुका साथै अधिकृत पक्राउको विरोधमा कर्मचारी आन्दोलनमा उत्रिएपछि निकासी पैठारी ठप्प भएको हो ।
निकासी पैठारी ठप्प हुँदा भारत लगायत तेस्रो मुलुकवाट आयात भएको अढाई सय ट्रक जोगवनी भन्सारमा र यतावाट उता निकासीका लागि पठाइएका करिव सय ट्रक सामान विराटनगर भन्सारमा रोकिएको मोरङ व्यापार संघका अध्यक्ष अविनाश वोहोराले वताए । उनका अनुसार जोगवनी नाकावाट दुई दिन देखि निकासी पैठारी ठप्प हुँदा व्यवसायी ट्रकको चर्को 'डेमरेज डिटेन्सन' चार्ज तिर्न बाध्य भएका छन ।
जोगवनी भन्सारका कर्मचारीलाई अतिरिक्त रकम नदिए सामान छुटाउनै सकिँदैन थियो । बोहोराले भने त्यस्ता कर्मचारी कारवाहीमा पर्दा रोकिएका ट्रकको डेमरेज डिटेन्सन चार्ज पनि तिर्नु पर्ने बाध्यताले व्यवसायीलाई झन पिडित भएका छन । उनका अनुसार थप दुई दिन जोगवनी भन्सारमा रोकिएका औधोगिक कच्चा पदार्थ आयात हुन नसके सुनसरी मोरङ औधोगिक करिडोरका अधिकाँश उद्योगमा कच्चा पदार्थको अभाव हुने स्थिती छ ।
पटनावाट खटिएको सिबिआई टोलीले एक भारतीय व्यवसायीले रीतपुर्याएर नेपाल निकासी गरेको सामान छुटाए वापत ५० हजार रुपैया घुस दिँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जोगवनी प्रहरीले वताएको छ । पक्राउ पर्नेमा कष्टम सहकमिस्नार शिवशंकर कुमार, सुपरिटेण्ड आदीश कुमार र इन्सपेक्टरद्वय राकेश कुमार र कुलेश्वर पासवान भएको प्रहरीले वताएको छ । उनीहरुको साथवाट सिबिआई टोलीले नेपाली र भारु रुपैयाँ पनि वरामद गरेको वताइएको छ । उनीहरुलाई शुक्रवार सिबिआई पटना मुख्यालय लगिएको छ । उनीहरु माथि गरिएको थप अनुसन्धानका वारेमा कुनै जानकारी वाहिर आएको छैन ।
- ईकान्तिपुर
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !