CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » कमिसनखोर डाक्टरी बारे एउटा डाक्टरको भयानक खुलासा

कमिसनखोर डाक्टरी बारे एउटा डाक्टरको भयानक खुलासा

डा. सुशील कोईराला 

२१ वर्ष भएछ, चिकित्सक भएर निजी क्षेत्रबाट सेवा प्रदान गर्न थालेको। यसबीचमा कहिल्यै पनि बिरामीको उपचारका क्रममा गरिने एक्स–रे, प्याथोलोजी तथा अन्य परीक्षणको आम्दानी वा रिफर गरेबापत कमिसन र औषधी कम्पनीका प्रतिनिधिहरुबाट कहिल्यै जिन्सी वा अन्य उपहार लिइन। चिकित्सा व्यवसाय अपनाएपछि मैले त्यस पेशाको आदर्शअनुसार आफ्नो बुद्धिले भ्याएसम्म यसका नीति एवं सिद्धान्तको पालना गर्ने गरेको छु।
 
दुई वर्षसम्म नेपाल डेन्टल एसोसिएसनको अध्यक्ष भएर नेपाल मेडिकल काउन्सिलको पदेन सदस्य रहँदा पनि सदा चिकित्सा पेशाको धर्म र आचरण पालना गरेँ। मेडिकल÷डेन्टल कलेजहरुको सिट संख्या बढाउन, घटाउन पर्दा र स्तर निर्धारण गर्दा, नीतिनियम र आदर्शको बढी खोजी नीति गर्न थालेपछि ‘अप्ठ्यारो चिकित्सक’ भनी साथीभाइ र मेडिकल÷डेन्टल कलेज सञ्चालकहरु माझ चिनिएको कारणले, मलाई काउन्सिलको निरीक्षण टोलीमा सकेसम्म नपार्न चलखेल हुने गरेको त्यहीँ कार्यरत कर्मचारीहरु मार्फत थाहा पाएपछि निरीक्षणमा जानै छाडेँ। काउन्सिलमा छँदा आफ्नो ब्रम्हले देखेको कुरा निरीक्षण रिपोर्टमा लेख्यो तर बहुमतले त्यस विपरीतका निर्णयहरु पनि हुन थालेपछि आफू कराउनुको कुनै तुक देखिन र कराउन छाडेँ।
 
त्यसैगरी, चिकित्सकहरुले आफ्नो आम्दानीको प्रतिशत लुकाउँछन्, कर तिर्दैनन भन्ने आदिजस्ता सामाजिक तथा सरकारी आरोप नलागोस् भनी २०५० सालमा नै आफ्नो क्लिनिकलाई प्रालि बनाई व्यवसायको शुरुआत गरेको हुँ। आवश्यकता अनुसार व्यावसायिक प्यान नं. लिएँ, आफ्नो अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सकलाई समेत प्यान लिन अनिवार्य गरेँ। अस्पतालमा बिरामी रिफरको कमिसन माग्ने वा बिरामीलाई आफ्नो निजी क्लिनिकमा लैजाने स्वभावका चिकित्सकलाई अस्पतालको जागिरबाट हटाउने कार्य पनि गरेँ।
 
आज २१ वर्षपछि मेरा धेरै चिकित्सक मित्रहरु तथा आफन्तहरुले मलाई सोध्छन्, ‘नैतिकताको पाठ पढेर र असल डाक्टर बन्ने भनी लागिपरेर के पायौ त?’
 
यतिका वर्षसम्म निजी सेवामा लागेर पनि अझै तिम्रो आफ्नै घर छैन, पैत्रिक सम्पत्ति बेचेर र बैंकबाट ऋण लिएर घर बनाउँदैछौ, ‘बा’ले रिटायर्ड हुने बेलामा किन्नुभएको ९५ को मोडेलको थोत्रो मारुती भ्यान गाडीमा चढ्छौ। छोराछोरी पढाउन वा कुनै ठूलो रोग लागिहाले तिमीसँग २०–२५ लाख नगद झिक्नसक्ने खुबी छैन भने के तिमी चिकित्सक बनेर खुशी छौ त?
 
हो, विगत २१ वर्षदेखि एउटा सिनियर दन्त चिकित्सक भएर पनि मैले हाम्रो समाजले देख्ने र बुझ्ने खालको आर्थिक प्रगति गरेको छैन तर तडकभडकमा रमाउने मित्र र आफन्तहरुले सोचेजस्तो मेरो आर्थिक स्थिति दयनीय पनि छैन। मेरो परिवारलाई खान लाउन पुगेको छ, मेरी श्रीमती पनि एक व्यवसायिक व्यक्ति हुन्। उनी इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा सह–प्राध्यापक छिन् तर त्यहाँको जागिर खाएर नाम बिकाउँदै कुनै निजी कलेजमा लगानी गरेकी छैनन् र जागिर पनि खाएकी छैनन। दुई जनाको कमाइले जीवन हाम्रो राम्रै चलेको छ। दुवै जनाले व्यवसायिक आदर्शमा रहने प्रण गरी एक असल चिकित्सक र एक असल इन्जिनियर बन्ने सपना बोकेकाले हाम्रो आर्थिक स्थितिमा तडकभडक नहुनुलाई हाम्रो समाज एवं नजिकका मित्रहरुले ‘कठै’ को संज्ञा दिन्छन् भने हाम्रो भन्नु केही छैन।
 
मैले यहाँ यी व्यवसायिक निष्ठाको कुरो किन गरेको हुँ भने यो लेख पढेपछि धेरै जनाले त्यही सोध्नेछन्, ‘असल बनेर के पाइस्?’
 
भ्रष्टाचार नअपनाउने हो भने पनि कुनै पनि असल व्यवसायिक व्यक्तिलाई जीवनमा खान लाउन, केटाकेटी पढाउन र एउटा सरल सुखी जीवन बिताउन कठिनाइ पर्दैन। यो अवश्य हो, आफू आफ्नो पेशामा खरो उत्रिनुपर्छ। ज्ञान र सिपको कमी भएका व्यक्तिहरुलाई म व्यवसायिक व्यक्ति नै भन्दिन। डिग्रीको भरमा मात्र व्यवसायिक बनिँदैन। आवश्यक डिग्री हासिल गरी त्यस विषय अनुसारको आचरण पालना गर्ने व्यक्ति मात्र मेरो परिभाषाको व्यवसायिक व्यक्ति हो।
 
छापामा चिकित्सा सेवा
 
हाल नेपाली सञ्चार माध्यमका विभिन्न पत्रपत्रिका र इलेक्ट्रोनिक समाचार माध्यमहरुमा चिकित्सा सेवा, चिकित्सक र उनीहरुको पेशाको आचरणबारे निकै खोजीनिती हुन थालेको छ जुन भ्रष्ट आचरण भएका स्वास्थ्यकर्मी एवं चिकित्सकहरुको बढ्दो संख्याले गर्दा नै हो। समाजमा कुनै पनि पेशा र क्षेत्रमा जब भ्रष्टाचार बढ्छ तब मिडियाले यसरी खोतल्न थाल्दछ। तरकारी÷फलफूलमा अत्याधिक विषादी छर्ने, बैंकले ग्राहकलाई ब्याजमा ठग्ने, यातायात व्यवसायीले यात्रुलाई भाडामा ठग्ने, इन्धन व्यवसायीले इन्धनमा मिसावट गर्ने, सहकारीले राष्ट्र र ग्राहक ठग्नेबारे धेरै पटक सोधखोज भए भने हाल बजारमा चिकित्सा सेवा गुणस्तर र शुल्क अनि बिरामीको उपचारमा व्याप्त कमिसनको विषय समाचार बनेको छ।
 
हामी चिकित्सकहरु दैनिक पत्रिका पढ्छौं, आपसमा, कुनै साथीको नाम बदनाम हुने गरी छापामा छापिएको छ कि भनी हेर्छाैं र यदि रहेछ भने उसलाई फोन गर्छाैं र भन्छौं, ‘यी मिडियाहरु सब खत्तम छन्, केही लेख्ने राजनीतिक समाचार नभएपछि चिकित्सा पेशामा खनिएका छन्।’ थप्छौँ, ‘चिकित्सकहरुको राम्रो काम समाचार बन्दैन तर सानो गल्ती ठूलो समाचार बन्छ।’ हो, यो मिडियाको धर्म हो, कुकुरले मान्छे टोके समाचार बन्दैन तर मान्छेले कुकुर टोके प्रथम पृष्ठमा समाचार आउँछ। समाजले आदर्श मानेको पेशा अपनाएका चिकित्सक वर्गले गरेको गल्ती वा गलत आचरणले मिडियामा प्रथम पृष्ठमा ठाउँ पाउनु त्यस्तै हो।
 
चिकित्सा सेवाको आदर्श
 
भनिन्छ, चिकित्सा पेशा त्यस्तो पेशा हो जस्ले त्यस व्यक्तिलाई भगवान बन्ने मौका पटकपटक प्रदान गर्छ। सबै पेशामा यो मौका महशुस हुने गरी प्राप्त गर्ने अवसर मिल्दैन। तर एउटा चिकित्सकलाई कुनै पनि बिरामीले उसलाई साह्रो अप्ठ्यारो पर्दा संगत गर्ने भएकाले होला बिरामीको खुसी र धन्यवाद शब्दले प्रत्येक असल चिकित्सकलाई आफू भगवानको प्रतिनिधि भएको आन्तरिक महसुस गराउँछ।
 
मानवतासँग सोझै सम्बन्ध राख्ने हाम्रो चिकित्सा पेशा र बिरामीको सम्बन्ध भनेको नङ र मासुको जस्तो हुनुपर्छ र हुन्छ पनि। बिरामीले चिकित्सकलाई पूर्ण विश्वास गरी आफ्नो सम्पूर्ण शरीर सुम्पिदिने भएकोले भनिन्छ, ‘चिकित्सा पेशामा चिकित्सकलाई गल्तीको लागी ठाउँ हुँदैन।’ त्यसैले उपचार क्रममा हुन जाने मृत्युबाट चिकित्सकलाई कानुनले रक्षा गरेको छ। यति सम्वेदनशील विषय लिई दुःख गरी पढियो, आफू भगवानको प्रतिनिधि हुँ र त्यसै अनुरुप काम गर्नेछु भनी प्रतिज्ञा गरियो तर आज सबै बिर्सिई त्यही भगवानरुपी बिरामीको उपचारको क्रममा हुने आर्थिक कारोबारबाट शुल्कबाहेक छुट्टै कमिसन माग्ने? यो कहाँको नैतिकता हो? कुन पेशाको आदर्श हो?
 
जस्तो मन त्यस्तै तन
 
समाजमा भ्रष्टाचार विरुद्धको कुरा गर्ने, समाचार लेख्ने, अभियान चलाउनेहरुले प्रायः फलानोले यसरी भ्रष्टाचार ग¥यो, यसरी कमिसन खान्छ, कमिसन मार्फत यति सम्पत्ति जोड्यो, उसको यति करोड वा अर्बको सम्पत्ति विदेशमा समेत छ भन्ने जस्ता विवरणको लेखाजोखा गरेको पाइन्छ। तर, त्यस व्यवसायमा भ्रष्टाचार हुनुको कारण र वातावरणको बारेमा चाहिँ विरलै कुरा गरेको पाइन्छ। चिकित्सा पेशाको मानवीय गुण खस्कँदै जानुको शुरुआत त्यसको शिक्षा प्रणालीमा विद्यार्थी छनौट गर्दाको चरणबाटै हुने गर्छ। चिकित्सकीय पेशा अपनाउन योग्य नभएका जमात पनि यो पेशा लिएर डाक्टर बनिरहेका छन्। नम्बर र पैसाको आधार मात्रलाई हाल चिकित्सक बन्ने कसी बनाइएको छ।
 
चिकित्सक बन्न चाहनेको बानी, व्यवहार, चाहना खुबी र मानवीय गुण वा स्तरलाई परीक्षण गर्ने कुनै परीपाटी हालसम्म नभएकाले नै गलत मान्छेहरुले पनि यो पेशा अपनाउँछन् र पेशालाई छिटो धन र सामाजिक प्रतिष्ठा कमाउने भाँडो बनाउने गरेका छन्। यस पेशामा आफ्नो गुरु वा शिक्षकहरुलाई अति आदर गर्ने चलन छ, साथै बिरामीलाई माया र ममताबाट उपचार गर्नु भन्ने गरिन्छ। तर जब एक विद्यार्थीले आफ्नो गुरुले बिरामीलाई हकारेको, समय नदिएको, मानवीय व्यवहार नगरेको, पैसाको पछाडि दौडिएको मात्र देख्न थाल्छ तब ऊ बिस्तारै भ्रमित हुन थाल्छ। साढे पाँच वर्षसम्म पढेर बाहिर जब ऊ डाक्टर बनी जागिर खोज्दै जान्छ, उसको सिनियरहरुले गरेको भौतिक प्रगति देख्छ। छिट्टै र बिनामेहेनत ती सबै उपलब्ध गर्ने चाहना बनाउँछ अनि छोटो र चोरबाटो अपनाउने निर्णय गर्छ र नजानिँदो किसिमले ऊ पनि त्यही भ्रष्ट आचरण भएको चिकित्सकीय मण्डलीको सदस्य बन्न पुग्छ।
 
उसको आर्थिक तथा भौतिक प्रगतिलाई तडकभडक समाजले पनि सराहना गर्न थाल्छ र ऊ पूर्ण रुपमा ‘’ को चक्करमा परी यसैमा जीवनको रस छ भन्ने भ्रममा पर्छ। बैंक खाताको रकममा छिटोछिटो एउटा शुन्ना (०) थप्ने इच्छालाई हामी चिकित्सकहरु ‘०’ को चक्कर भन्छौं। ‘०’ को चक्कर र चिकित्सा सेवा कहिल्यै सँगै जानु हुँदैन। यस पेशामा पैसा वा आर्थिक पक्ष भनेको केवल साधन हो, साध्य होइन।
 
व्यवसायिक यथार्थ
 
लामो समय यो पेशामा रहँदा धेरै धनी अनि अति गरिबहरुलाई समेत सेवा दिइयो, धेरै धनी चिकित्सकहरु पनि देखियो साथै सानो क्लिनिकमा बस्ने वा सरकारी अस्पतालमा रहेर अटूट सेवा प्रदान गर्ने मित्रहरु पनि भेटिए। नेपालमा सरकारी तथा निजी अस्पतालमा सही रुपमा कार्य गरी बिहान बेलुका आफ्नो क्लिनिक नियमानुसार चलाउने र आवश्यकता अनुसार आयकर तिर्ने, बिरामीलाई जाँच गर्दा राम्रै समय दिने र उपचारको क्रममा हुने लेनदेनबाट आफ्नो नियमानुसारको शुल्कबाहेक कहिल्यै कमिसन नलिने डाक्टरहरुको संख्या ठूलै छ,।
 
सम्पूर्ण नेपाली चिकित्सकहरु बिग्रिए, भ्रष्ट छन्, कमिसनखोर छन् भन्ने जनगुनासो वा मिडियाको समयसमयको समाचार सही होइन। अन्य क्षेत्रमा जस्तै चिकित्सा क्षेत्रमा पनि राम्रा र नराम्रा छन् तर चिकित्सा क्षेत्र अति सम्वेदनशील र मानवीय मूल्य र मान्यतासित सोझै सम्बन्ध राख्ने भएकोले यस क्षेत्रमा केही प्रतिशत चिकित्सकहरुले भ्रष्टाचार अपनाई दिँदा सम्पूर्ण क्षेत्र दुर्गन्धित भएको चाहिँ साँचो हो। त्यसैले चिकित्सा क्षेत्रभित्र हुने गरेको कमिसन अनि ठगीजस्तो क्रियाकलापलाई निर्मूल पार्न केवल नियम, कानुनमात्र बनाएर वा दुईचार जनालाई दण्ड सजाय दिएर वा तिनको नाम सामाजिक क्षेत्रमा उदांग पारेर पुग्दैन, किनकि भ्रष्टाचार वा कमिसन लिने भनेको ‘संस्कार’, ‘बानी’ र ‘व्यवहार’को कुरा हो। जति धनी भए पनि जति कमाए पनि कमिसन खानेले अब त पुग्यो, भोलिदेखि बिरामीको उपचारको लेनदेनमा केवल आफ्नो व्यवसायिक शुल्क लिन्छु तर अतिरिक्त कमिसन वा आर्थिक लाभको चाहना राख्दैन भनी विश्वास गर्न सकिन्न। नियालेर हाम्रो चिकित्सा क्षेत्रमा अध्ययन गर्ने हो भने के पाइन्छ भने कमिसन नलिनेले प्रायः कहिल्यै लिँदैन, अनि लिनेहरुले सदा लिने गर्दछन्।
 
हाम्रो अभियान
 
त्यसैले यस्तो व्यवहार, बानी अनि संस्कारको कारणले हुने व्यवसायिक कमिकमजोरीलाई समाजमा देखिने गरी कम गर्न सामूहिक प्रयास चाहिन्छ। यसका लागि राम्रा, असल, कमिसन नलिने, राष्ट्रलाई नठग्ने अनि ठग्न नचाहने चिकित्सकहरु अब देखिने गरी समूहमा रहनु जरुरी छ। नत्र अरुले गरेको कुकर्मको सामाजिक दोष आफूले पनि लिनु पर्ने हुन्छ। यसै सिलसिलामा हामी केही चिकित्सकहरुले गत वर्षदेखि एउटा सानो अभियान थालेका छौं, त्यसलाई हामी ‘असल नेपाली डाक्टर’ समूह भन्दछौं।
 
हामीलाई के लाग्छ भने चिकित्सकहरुले असल बन्ने र रहने चाहनाको विकास गर्न सके हाम्रो पेशामा बानी, व्यवहार अनि संस्कारको कारणबाट बढ्ने भ्रष्टाचारमा कमी आउँछ। असल र राम्रा साथीभाइहरुको संगत, आपसी परिचय अनि बेलाबखतको भेटघाटले आचरणमा शुद्धीकरण र आफूले गरेको कामको व्यवसायिक र सामाजिक मूल्यांकन गर्न सजिलो हुन्छ। असल नेपाली डाक्टर अभियान कुनै करकाप वा जबर्जस्तीको अभियान होइन, यो एउटा स्वयं आन्तरिक मनबाट इच्छा लागे गर्ने वा अपनाउने प्रक्रिया हो, किनकि यो अभियानमा व्यवहार र बानीलाई नैतिकताको बलले चलाउनुपर्छ। असल नेपाली डाक्टर समूहमा आउन आफ्नो अन्तर मनले यदि कुनै चिकित्सकले म असल छु भन्ने ठान्नुहुन्छ भने हाम्रो अभियानमा सहयोग गर्न सक्नुहुन्छ। नेपाली परिप्रेक्ष्यमा असल चिकित्सक बन्न केके गुण चाहिन्छ त भनी हामीले धेरै सोचेर प्रथम चरणमा निम्न बुँदाहरुलाई अन्तर मनले ग्रहण गरी व्यवहारमा पालना गर्छु भन्नेहरुलाई आफ्नो समूहमा आमन्त्रण गर्ने निधो गरेका छौं।
 
१. बिरामीको जाँचको सिलसिलामा गरिने परीक्षणहरुबाट कमिसन नलिने ।
२. बिरामी अन्य क्लिनिक, अस्पताल वा साथीकहाँ रिफर गर्दा कमिसन नमाग्ने ।
३. बिरामीलाई लेखिदिएको औषधि आदिको बिक्रीको कमिसन नखाने ।
४. औषधी तथा उपचार व्यवसायी वा कम्पनीबाट कुनै उपहार वा कमिसन नलिने ।
५. औषधी कम्पनीहरु वा मेडिकल रिप्रेजेन्टेटिभलाई बिरामी जाँच्ने कक्षमा नभेट्ने ।
६. नियमानुसार व्यवसायिक करमा दर्ता भएको र नियमानुसार राष्ट्रको कर तिर्ने ।
 
असल नेपाली डाक्टर समूहमा सदस्य बन्न यसको वेबसाइटमा गई आफ्नो आवश्यक व्यवसायिक जानकारी भरी म मान्न तयार छु भन्ने बटन क्लिक गर्नुपर्छ। कुनै बखत असलबाट फेरि खराबतिर जान मन लागे वा त्यहाँ लेखिएको बुँदाहरु आफूबाट पालन हुन सक्दैन वा म मेरो आचरण सुधार्न सक्दिन जस्तो लागे यो समूहबाट बिना कुनै रोकतोक बाहिरिन पाइन्छ।
 
हामीले आशा के गरेका छौं भने, यदि चिकित्सा क्षेत्रमा असल चिकित्सकको जमात देखिने गरी स्थापित गर्न सके खराब गर्नेहरु बिस्तारै हतोत्साही भई घटेर जाने थिए अनि नेपाली समाजमा फेरि गिर्दै गएको चिकित्सा क्षेत्रको मर्यादा बिस्तारै उच्च हुने थियो। यस लेखद्वारा म मेरा असल चिकित्सक मित्रहरुलाई एकतामा आउन अनुरोध गर्दछु, चिकित्सा क्षेत्रको मान सम्मान अनि आदर्श जोगाउन अब तपाईँ हामी चुप बस्ने बेला छैन।
 
(असल नेपाली डाक्टर समूहको वेबसाइट www.nepalidoctor.org हो।)



Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis