CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » त्यो सहर, यो सहर : यसरी बदलियो काठमाडौँ

त्यो सहर, यो सहर : यसरी बदलियो काठमाडौँ



एक समय थियो, सहरको परिभाषाभित्र काठमाडौँ उपत्यका मात्रै अटाउँथ्यो । सहरको वैभव राजधानी एक्लैले बोकेको थियो । विसं ००७ पछि खुलेको ने पाली समाजमा विकासका कैयन् रंग पोतिएका छन् । राजधानीबाहिरका स-साना बजारहरू आधुनिक सहरको स्वरूपमा बदलिएका छन् । खास गरी विसं  ०२८ मा पूर्व-पश्चिम राजमार्गको निर्माण सुरु भएपछि विकासको तीव्र यात्रा पनि सँगसँगै सुरु भयो । दुई-चार चिया दोकान र एकाध मट्टीतेल र नुन बे च्ने पसलका भरमा जीवन्त बनेका कैयन् ठाउँ बिस्तारै सहरको आकारमा बदलिए । ती सहरको सम्पन्नता, वैभव र तिनको चमकदमकका साक्षीहरू  भन्छन्, 'कस्तो थियो, कस्तो भयो ?' राजधानीबाहिरका सहरहरूको बदलिएको अनुहारले नेपाली समाजको फेरिएको तस्बिर बुझ्न सघाउँछ नै, परिवतर्नको रफ्तारलाई पछ्याउन पनि मद्दत गर्छ ।

फैलिँदो वैभव

        - वेदराज पौडेल/इटहरी

एक दशकअघि मात्रै इटहरी-४, थारूटोलका बन्तु चौधरी, ७०, लाई बजार पुगेर सामान किनमेलका निम्ति मात्रै आधा घन्टा समय लाग्थ्यो। तर, अहिले  बजार सर्दै सर्दै उनकै घरछेउ आइपुग्यो । यसबीचमा सहरको आकार मात्रै फैलिएन, यसको चमकदमक पनि बढ्यो । किनमेलका निम्ति पहिलेजस्तो  आइतबारे र बुध हटिया नै कुर्नेपर्ने अवस्था पनि रहेन ।

अग्ला अग्ला घरहरू, रेस्टुराँ र सपिङ मल मात्रै इटहरीको फैलिँदो वैभव बुझाउन काफी छैनन् । सहरीकरणसँगै फस्टाएको जनसंख्या वृद्धिदर, महँगी र  अवसरका अनेकन् सम्भावनाले यसको विगतलाई छोपिदिएको छ ।

पूर्व-पश्चिम राजमार्ग बनेपछि सुरु भएको इटहरीको विस्तार र विकासले पछिल्लो एक दशकमा ह्वात्तै फड्को मार्‍यो । विसं १९०० मा सतन चौधरीले  गैसा भन्ने ठाउँमा जंगल फाँडेर बसोवास सुरु गरेपछि सुरु भएको इटहरीले डेढ सय वर्षको इतिहासमा उल्लेख्य परिवर्तन भोगिसकेको छ । इटहरीभन्दा  जेठो सहर इनरुवा सदरमुकाम भएर पनि परिवर्तनको चमक देखिसकेको छैन । जबकि, इटहरीको बढ्दो स्वरूपले पश्चिमको पकली गाविस, उत्तरको हाँसपोसा र दक्षिणको खनार गाविसलाई समेत समेटिसकेको छ ।

५ भदौ ०४५ मा धरानमा भूकम्पले ठूलो क्षति पुर्‍याएपछि इटहरी सहरीकरणको दिशातिर बढेको हो । इटहरी गाविस छँदा उपाध्यक्ष भएका उद्योगी  जितसिंह विष्ट, ७५, भन्छन्, "विराटनगर लाइन र मुख्य चोकमा काठका दोमल्ला घरहरू र तिनमा गन्न सकिने किराना, कपडा र खाद्यान्नका पसल मात्रै  थिए ।" तर, अहिले इटहरी नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खड्का नयाँ सहर विस्तारसँगै सुरु भएको व्यवस्थित बसोवास र सम्भावनाले  इटहरीप्रति धेरैको आकर्षण बढाइदिएको बताउँछन् ।

०५८ सालमा ४१ हजार २ सय १० जनसंख्या भएको इटहरीमा अहिले ७५ हजार नाघिसकेको छ । इटहरी नगरपालिकाको घर नक्सा शाखाका अनुसार  पछिल्ला पाँच वर्षमा मात्रै यहाँ ४ हजार १ सय ३५ घर थपिइसकेका छन् । ०५८ सालमा घरधुरी संख्या ८ हजार ६ सय २४ रहेको इटहरीमा अहिले १५  हजार ३ सयभन्दा धेरै घर छन् । यो तथ्यांक नै काफी छ, इटहरीको बदलिएको अनुहार बुझाउन ।

मध्य नेपालको व्यापारिक केन्द्र

            - विमल खतिवडा/नारायणगढ

कुनै बेला चितवनवासीहरू बजार गर्नका निम्ति सीमावर्ती भारतीय बजार ठोरी पुग्थे भन्ने सुन्दा नयाँ पुस्ताले पत्याउँदैन । नारायणगढ बजारको  चकाचौधमा रमेको यो पुस्ताले थाहा के पाउनुपर्छ भने यो बजारको इतिहास त्यति लामो छैन । जिल्ला विकास समिति चितवनका पूर्वसभापति कृष्णलाल  सापकोटा भन्छन्, "०१३ सालमा बखानसिंह गुरुङले राप्ती दुन विकास संस्था गठन गरेपछि नारायणगढको विकास सुरु भएको हो तर पछिल्लो चार  दशकमा यो गति तीव्र देखियो ।"

नुन र मट्टीतेलको व्यापारबाट सुरु भएको नारायणी तीरको यो बजार अहिले मध्य नेपालको व्यापारिक केन्द्रका रूपमा स्थापित हुने तरखरमा छ । ०१३  सालमा पूर्व-पश्चिम राजमार्गको ट्रयाक र ०३६ सालमा नारायणी नदीको पुल निर्माणपछि नारायणगढ सबैका लागि केन्द्र बन्न थालेको हो । ०१८  सालसम्म घोडा चढ्नेहरूको ताँती देखेका सापकोटा अहिले बजारमा थरीथरीका गाडीको ताँती देखेर अचम्म मान्छन् । भन्छन्, "नारायणगढ यस्तो स्व रूपमा बदलिएला भनेर कसैले सोचेका थिएनन् ।"

प्रजातन्त्र स्थापनापछिका वर्षका पहाडी जिल्ला बाग्लुङ, म्याग्दी, कास्की, पर्वत, लमजुङ, गोरखा र धादिङलगायतका जिल्लाबाट बसाइँ सर्नेहरूको लहरले  नारायणगढलाई सहरी स्वरूपमा रूपान्तरण गरिदियो। पूर्व-पश्चिम राजमार्ग खुलेपछि वीरगन्ज र सीमापारिको रक्सौल बजारसँगको पहुँच विस्तार  भएपछि नारायणगढ सहरको स्वरूप बदलियो । तनहुँको बन्दीपुरबाट झरेका नेवार समुदायका व्यापारी र काठमाडौँदेखि भारतीय सहरबाट आएका  मारवाडीको उपस्थितिले नारायणगढ व्यापारको केन्द्र मात्रै बनेन, यो सहरको सम्पन्नताको कथा पनि सुरु भयो ।


२० वर्षमै दोब्बर

       - मुकेश पोखरेल/बुटवल

भारतको गोरखपुर जिल्ला अन्तर्गत पर्ने खैरौटी गाउँबाट बुबा दूधनाथ जयसवालसँगै बयलगाडामा तमाखु बेच्न नेपालको बुटवल आएका छोरा वंशराज  जयसवाल, ८२, पछि बुटवलकै प्रमुख व्यापारी भए । यिनले देखेको र भोगेको अनुभव नै काफी छ, बुटवलको परिवर्तन देखाउन । "बुबाले सय बिघामा  जमिनमा तमाखु खेती गर्नुहुन्थ्यो । त्यो बेच्न बयलगाडामा राखेर बुटवल ल्याइन्थ्यो," ६५ वर्षअघिको कुरा सम्झँदै वंशराज सुनाउँछन्, "त्यतिबेला  बुटवलमा औँलामा गन्न सकिने घर मात्रै थिए । अहिले बुटवलका घर गन्न  गणित राम्रैसँग जान्नुपर्छ ।"

बुटवलको चमकदमक देखेकाहरूलाई यो सहरको इतिहासका बारेमा धेरै चासो नहुन सक्छ । तर, श्यामश्वेत बुटवल र चमकदमकले भरिएको बुटवलको  तुलना गर्ने पाका पुस्ताको मुखबाट भने अक्सर एउटै वाक्य निस्किन्छ, 'बुटवल यस्तो होला भन्ने त सोच्दै सोचेको थिइनँ, हेर्दाहेर्दै चम्कियो।' विसं  ००१ मा आफ्ना परिवारसँग व्यापारकै लागि मुस्ताङबाट बुटवल झरेका चित्रमान गौचन, ७८, का अनुसार हालको बुटवल नगरपालिका वडा नम्बर ४  (जसलाई अहिले पारि बुटवल भनेर चिनिन्छ) प्रमुख व्यापारिक केन्द्र थियो । जहाँ अर्घाखाँची, गुल्मी, स्याङ्जा, पर्वत, तनहुँ, पाल्पा, मुस्ताङ,  कास्कीलगायतका ठाउँबाट मानिस डोकोमा बोकेर घिउ, सुठो, जडीबुटी, तेजपत्ता बेच्न बुटवल आउँथे र यहाँबाट नुन, तेल, कपडा र घरायसी सामान  किनेर लैजान्थे । तर, बुटवल अहिले पहिलेजस्तो नुन र तेल मात्रै बेच्दैन । यो सहर स्वदेशीदेखि विदेशी खाद्यान्न र आधुनिक परिधानको थोक बेच्ने  भइसकेको छ । आधुनिक सहरका मापदण्डमा खरो उत्रेको छ बुटवल ।

बुटवलका उद्योगी राजेन्द्र ओझाका भनाइमा ०६० सालसम्म बुटवलमा अहिलेको जस्तो न घनत्व थियो, न चहलपहल नै । माओवादी द्वन्द्वका बेला छिमे की पहाडी जिल्लाबाट बसाइँ सर्नेहरूको बढ्दो संख्याले बुटवललाई थप गुल्जार बनाइदियो। ०४८ सालमा ५२ हजार जनसंख्या भएको बुटवलमा ०६८  मा त्यो संख्या १ लाख १८ हजार पुगिसकेको छ । त्यसबाहेक बुटवलमा अस्थायी रूपमा बसोवास गर्ने मानिसको संख्या झन्डै दोब्बर छ । बुटवलको फे रिएको अनुहार बताउन २० वर्षमा दोब्बरभन्दा धेरै भएको जनसंख्या नै काफी छ ।

सौन्दर्यको सहर

    - लालप्रसाद शर्मा/पोखरा

०१९ सालमा नगरपालिका घोषणा हुँदा पोखरामा फाटफुट्ट मिठाई र जेरी पाइने रेस्टुराँ देखिन्थे । तिब्बती शरणार्थीको प्रभावले ०२८/२९ सालपछि म:म  र थुक्पाको संस्कृति सुरु भयो । '३० को दशक नपुग्दै राजमार्गले छोएपछि बल्ल पोखराको सौन्दर्य र वैभवको बखान सबैतिर फैलिएको हो । विकासको  गति कति भने अहिले पोखरामा पर्यटकीय स्तरका चार सय होटल छन् ।  बर्सेर्नि चार लाखको हाराहारीमा विदेशी पर्यटक आउँछन् ।

बैदामका हरिप्रसाद पौडेल ०३७ सालतिरको पोखरा सम्झिन्छन्, गाईबस्तु चराउने डहरै डहर । डहरभरि भैँसी मात्रै । नौला मान्छे आए बाटोमै अलमलिने  । पौडेलले हेर्दाहेर्दै बैदामको नाम फेरिएर लेकसाइड भयो । झाडी र डहरमा ठूला महल ठडिए । होटल बाराहीका अध्यक्षसमेत रहेका पौडेल भन्छन्,  "कुनै बेला लाहुरेको बस्ती अहिले पर्यटकीय सहर भएको छ ।" जनसंख्या २ लाख ८३ हजार नाघिसकेको छ । उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष  आनन्दराज मुल्मी भन्छन्, "शिक्षा, स्वास्थ्य, पर्यटन, भौतिक, व्यावसायिक, सांस्कृतिक, सामाजिक संरचना र व्यापारिक महत्त्वको सहर भएको छ पोखरा  ।"

विसं ००८ मा पहिलोपटक जहाज उत्रेको यो सहर अहिले पर्यटकीय केन्द्रका रूपमा विकास भइसकेको छ । संस्कृतिकर्मी तीर्थ श्रेष्ठका भनाइमा पोखराले  फड्को मारेको भने ०४६ सालपछि मात्रै हो ।" पोखरा विश्वविद्यालय, मणिपाल शिक्षण अस्पताल, पर्वतीय संग्रहालय, सहारा एकेडेमीजस्ता संस्था र पाँचतारे होटलको संख्यात्मक वृृद्धिले यो सम्भावना र अवसरको सहरका रूपमा विकसित भयो । अल्ट्रालाइट, प्याराग्लाइडिङ, जिपफ्लायर, बन्जी जम्पजस्ता  आकर्षणका माध्यमले पोखराको अनुहार थप चम्किलो भएको छ ।


मध्य तराईको केन्द्र 

   - मनीष पौडेल/वीरगन्ज

साहित्यकार धच (धनुषचन्द्र) गोतामेको उपन्यास घामका पाइलामा चित्रित ६ दशकअघिको वीरगन्ज धेरै बदलिइसक्यो । माईस्थान मन्दिर छेउछाउमा  भुजा, पकौडा र पार्चुन सामान बेच्ने दर्जन पसलमै सीमित थियो, त्यस बेलाको वीरगन्जको कारोबार । अहिले मुलुककै मुख्य आर्थिक कारोबारको केन्द्र  बनेको छ । यहाँ शाखा विस्तारबिना वाणिज्य बैंकको कारोबार नै अपूरो हुन्छ । त्यस बेला सुदूर गाउँजस्तो भान हुने वीरगन्जले पाँच दशकमै यत्तिको  प्रगति गरेको देख्दा पार्थकुमार चक्रवर्ती, ६७, लाई सपनाजस्तो लाग्छ ।

चहलपहलका हिसाबले मध्य तराईको नामी सहर भइसक्दा पनि यहाँको सुरक्षा र आवादी व्यवस्थापन भने राम्रो हुन सकेको छैन । इन्जिनियर पशुपति  घोषले कोरेको आदर्शनगरको बस्तीबाहेक अन्यत्र हेर्दा यसले फोहर व्यवस्थापन गर्न सकेको देखिँदैन । साहित्यकार धच गोतामे, धु्रवचन्द्र गौतम, विमल  निभा, भीम विराग र गायक प्रकाश श्रेष्ठको गृहनगर अहिले साहित्य र संगीतमा गरिब भएको छ । दुलही भएर आउँदा कमेरोले पोतिएका घर, हिलाम्मे  बाटो र बिजुलीबिनाको वीरगन्जमा देखेकी केदारनानी राजकणिर्कार, ७४, भन्छिन्, "झुपडीभित्रको सिनेमा घरमा चलचित्र हेर्न जाँदा सर्पले टोक्ने डरले  कुर्सीमा खुट्टा उचालेर बस्नुपथ्र्यो ।"


साभार : नेपाल 
Share this article :

2 comments:

  1. This comment has been removed by a blog administrator.

    ReplyDelete
  2. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis