CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » यस्तो गर्नु पर्ने रै छः लाहुरे बन्न

यस्तो गर्नु पर्ने रै छः लाहुरे बन्न

लाहुरे बन्न लालायित
सपनाः लाहुरे छोराहरूको बाउ
को मानिस होला, जसले सपना देख्दैन। एउटा सपना विपना बन्न नपाउँदै अर्को सपना देखिहाल्न आत्तिन्छ मान्छे। काभ्रे, बनेपाका हरिध्वज थापासँग पनि सपनाको चाङ छ। उनका सपनाले साकार रूप पाउने क्रम भने सुरु भइसकेको छ।
‘लाहुरेको बाउ’ बन्ने सपना पोहोर जेठो छोरो शिवध्वज इन्डियन आर्मी भएपछि साकार भयो। फेरि अर्को सपनाले राज गरिहाल्यो। ‘लाहुरे छोराहरूको बाउ बन्ने सपना छ अब,’ कान्छो छोरो गुप्तध्वजलाई पनि लाहुरे बनाउने सपना बुनेका छन् उनले। स्याल्युट गोर्खा ट्रेनिङ सेन्टरले काठमाडौँमा आयोजना गरेको गोर्खा भर्तीसम्बन्धी सेमिनारमा सहभागी थिए बाबुछोरा।
‘दुइटै छोरालाई लाहुरे बनाउन पाए गाउँमा छुट्टै शान हुन्थ्यो!’ आफूलाई कृषक बताउने उनले प्रतिष्ठाकै लागि भए पनि कान्छो छोरालाई ब्रिटिस आर्मीमा भर्ती गराउने अठोट लिएका छन्। शिवध्वजको पनि सपना ब्रिटिस आर्मी नै थियो। यसमा असफल भएपछि इन्डियन आर्मी भए उनी। ‘म त मरिमेटेर ब्रिटिस आर्मी नै हुने हो,’ ११ कक्षा पढ्ने १७ वर्षीय गुप्तध्वज भन्छन्, ‘त्यही भएर त उमेर साढे १७ नपुग्दै ट्रेनिङ लिन सुरु गरिहालेँ।’
‘लाहुरे छोराकी आमा’ बन्ने सपना छ, काठमाडौँकी लक्ष्मी श्रेष्ठको पनि। शंकरदेव क्याम्पसमा बीबीएस पढ्दै गरेको छोरा आनन्दलाई लिएर उनी पनि सेमिनारमा सहभागी भएकी थिइन्। ‘लाहुरे छोराकी आमा बन्दा कसलाई खुशी नलाग्ला?’ लक्ष्मीले छोरा आनन्दलाई लाहुरे बनाउन पाए आनन्द हुने कल्पना गरेकी छन्, ‘विदेश–विदेश मात्र भनिरहन्छ। भर्ती गराएर विदेश पठाउन पाए त आनन्द हुन्थ्यो।’ आमाछोराका लागि ‘ब्याड लक’। काठमाडौँ, ललितपुर र भक्तपुरका भूपू लाहुरेबाहेकका सन्तानले बेलायत र सिंगापुरका लागि भर्ती हुन पाउँदैनन्। ‘हाम्रा लागि त साह्रै ब्याड लक रहेछ,’ आनन्द अब इन्डियन आर्मीका लागि तयारी गर्ने सुरमा छन्।
बच्चैदेखि लाहुरे सपना
लाहुरे धुनमा मस्त परिवारमा जन्मेको बच्चाले के सपना देख्छ? नेपालगञ्जका सन्दीप गुरुङलाई भर्तीप्रतिको परिवारिक लगावले सानैदेखि लाहुरे बन्ने सपना देखायो। ‘दाइ, ठूलो बुबा, मामा ब्रिटिस आर्मी, अंकल इन्डियन आर्मी,’ उनले भने, ‘म पनि ब्रिटिस आर्मी नै बन्ने हो।’ सिद्धार्थ वनस्थली हाइस्कुलमा १२ कक्षा अध्ययनरत उनी यसपटकदेखि गोर्खा लाहुरेको दौडधुपमा सामेल हुँदै छन्। पासाङ ल्हामु कलेजबाट प्लस टू सकेका धादिङका अमर गुरुङ दैनिकजसो बिहानैदेखि ट्रेनिङमा व्यस्त हुन्छन्। उनले पनि यसपटक ब्रिटिस आर्मीमा भिड्ने योजना बनाएका छन्। ‘गोर्खा भर्तीका लागि कस्सियो कम्मर,’ उनले भने, ‘ब्रिटिस आर्मी पहिलो प्राथमिकता हो। नभए अरूमा पनि प्रयास गर्ने हो।’
रामेछापका शिवनारायण कडरिया ‘मात्र इज्जतका लागि’ आफू ब्रिटिस आर्मी बन्ने धुनमा रहेको बताउँछन्। रामेछापकै तामाकोशी क्याम्पसमा ११ कक्षा पढ्दै गरेका उनी तालिमका लागि काठमाडौँ आएका छन्। ‘लोप हुन लागेको हाम्रो कडरिया जातमा कोही पनि हुन सकेन गोर्खा लाहुरे,’ आफू अपवाद बन्दै छु भन्ने लाग्छ उनलाई, ‘कमाइ, दुःख जति होस्, ब्रिटिस आर्मी भइछाड्ने हो।’
‘निराश छैनौँ’
सपना साकार पार्ने दौडमा पटक–पटक असफल भएपछि निराश बन्छन् युवाहरू। आफ्नो करिअर नै अन्योलमा पार्ने चिन्ता हुन्छ परिवारलाई। तर, समय व्यवस्थापन गर्न सक्ने र सम्भावनाको खोजी गर्न सक्ने युवाहरू भने आफूलाई सहजै उतार्न सक्छन्।
चारपटक असफल हुँदा समेत निराश छैनन्, ओखलढुंगाका नवाफ राई। इन्डियन आर्मीमा तीनपटक र सिंगापुर पुलिसमा एकपटक असफल भए पनि यसपालि उनी ब्रिटिस आर्मीमा प्रयास गर्दै छन्। ‘प्रयास गर्ने हो, सफलता, असफलता पछाडिको कुरा हो,’ उनी आशावादी छन्, ‘धेरै पटकको अनुभवले खारिएको महसुस हुँदै छ। यसपटक धेरै आश छ।’ असफल भइहाले पनि आफ्नो भविष्यमा कुनै फरक नपर्ने उनको अठोट छ। ग्रिनविच कलेजमा बीबीएस पढ्ने उनी यसबाहेक पनि आफ्ना अगाडि अरू धेरै बाटा देख्छन्।
चितवनका प्रकाश थापा पनि विकल्पसहित यो दौडमा सम्मिलित हुँदै छन्। गोर्खा भर्तीकै लागि तीन वर्ष खर्चिसकेका उनले यसपालि अन्तिम पटक भिड्ने बताए। ‘ब्रिटिस र इन्डियनमा अन्तिम पटक भिड्ने हो,’ बीए पढ्ने उनी भन्छन्, ‘भाग्यले साथ दिएछ भने ठीक छ, नत्र लोकसेवाको तयारीसँगै कलेज रेगुलर गर्ने हो।’ असफलतामा निराश बने भविष्य बिग्रने देखेका उनी सुझाउँछन्, ‘सबै छोडेर यसमै लाग्नु चाहिँ हुँदैन। धेरै मेहनत गर्ने, रिजल्ट सजिलै स्विकार्ने! सफललतामा मात्तिने र असफलतामा आत्तिने गर्नु ठीक होइन भन्ने बुझेको छु।’
पढाइ वा अन्य करिअरलाई त्यागेर तयारी नगर्न सुझाव दिन्छन्, स्याल्युटका चेयरपर्सन राहुल पाण्डे। ‘डटेर तयारी गर्ने हो। यसकै लागि सबै त्याग्नु भूल हो,’ उनले भने, ‘अरू कसैका लागि होइन, आफ्ना लागि मेहनत गरे सफल पक्का भइन्छ। डिसिप्लिन र डिभोसन हुने युवाका निम्ति सफलता टाढा छैन।’
ब्रिटिस गोर्खा रिक्रुटमेन्ट ट्रेनिङ सेन्टर, काठमाडौँका राजेश पाखि्रन पनि उम्मेदवार बन्दै गरेका युवाहरूलाई सचेत गराउँछन्, ‘पुर्खाको योगदानले दिलाएको अवसर हो। यसको सदुपयोग गर्नुपर्छ। त्यसका लागि अरू थोक त्याग्नु गलत हो। सबै कुरा नियमित गर्दै तालिम लिएर उत्कृष्ट बन्ने तयारी गर्न सकिन्छ।’ नेपाल फिजिकल ट्रेनिङ एसोसिएसनका सचिवसमेत रहेका उनले विकल्प सुरक्षित राख्दै व्यवस्थित तयारीमा जुट्न सुझाए। कसैको आश्वासन र भ्रममा नपर्न भन्दै उनी थप्छन्, ‘हामीले गाइडलाइन भन्दा अरू केही दिन सक्दैनौँ। बरु एसोसिएसनकै सदस्य भएका केन्द्रहरूमा तालिम गरे समस्या पर्दा विद्यार्थी भलाइ कोषबाट सहयोग मिल्न सक्छ। कसैको भ्रममा चाहिँ पर्नु हुँदैन।’ 
भूपू मेजरको सल्लाह
सेमिनारमा ब्रिटिस आर्मीका भूतपूर्व मेजर माइकल न्युटनले नेपाली युवालाई उत्कृष्ट बन्न शुभकामना दिए। ‘उत्कृष्ट सिपाही बन्न राम्रो तयारी गर्नुपर्छ,’ उनले भने, ‘पास हुँदा मात्र नपुग्ने भएकाले ‘बेस्ट अफ द बेस्ट' बन्नुपर्छ।’ १० मा नौ जना फेल हुने हुँदा त्यसको तयारी पनि पेचिलो लाग्नु स्वाभाविक हो भन्छन् उनी। शारीरिक र मानसिक तयारी दुवै समान हुनुपर्ने बताउँदै उनले न्यूनतम योग्यता पुग्ने जोसुकै युवा भर्ती हुने सम्भावना राख्ने भएकाले कसैले आफूलाई कम नआँक्न सुझाव दिए। इतिहासदेखि नै गोर्खाली युवाले विश्वमा अमिट छाप पारेको सम्झँदै उनले त्यसकै प्रभावस्वरूप प्रत्येक वर्ष कोटा बढ्दै गएको बताए। उनले यसपटक ब्रिटिस आर्मीमा दोब्बर अर्थात् चार सयजति युवाले मौका पाउने सम्भावना रहेको खुलासा गरे।
सेमिनारमा युवाहरूलाई हौसला मिलोस् भन्ने हेतुले सफल प्रतिस्पर्धीको अनुभव समेटिएको भिडियो प्रदर्शन गरिएको थियो। एकपटक ‘लङ डिस्ट्यान्स आई टेस्ट’मा फालिएका नवलपरासीका विनोद नेपाली आँखाको अपरेसनका बावजुद ब्रिटिस आर्मी भएको भिडियोमार्फत बताएका थिए। ‘धेरै दुःख गरेर उमेरका हिसाबले अन्तिम पटक सफल भइयो,’ नवलपरासीकै भेषबहादुर थापाले भिडियोमार्फत भने, ‘एकपटक भएन भनेर हार खानु हुँदैन। मेहनत गरे भाग्य तपाईंकै हातमा हुन्छ।’
खुल्ने समय
ब्रिटिस र सिंगापुरमा भर्ती एकै समयमा खुल्छ। फर्म भर्ने बेला छनोट गर्नुपर्छ, आफू कुनमा भिड्ने भनेर। गल्ला ‘सिलेक्सन' भनिने पहिलो चरण जेठमा धरान र पोखरामा हुन्छ। यिनै स्थानमा ‘रिजनल सिलेक्सन' हुन्छ। यसबाट छानिएका युवाहरू फाइनल छनोटका लागि पोखरा जानुपर्छ मंसिरतिर।
इन्डियनको भने समय निश्चित हुँदैन। वर्षमा एकपटक भन्दा धेरै मौका दिन्छ भारतिय दूतावासले। अन्यको तुलनामा इन्डियनमा कोटा पनि धेरै हुन्छ र सम्भावना पनि बढी हुन्छ। जुनसुकै देशमा कार्यरत वा भूपू आर्मी र पुलिसका सन्तानले लालबुक र डिस्चार्ज लेटर पेश गर्न भनिएको हुन्छ। जसले केही प्राथमिकता पाउने आश गरिन्छ। यद्यपि, सबैले उत्तिकै अवसर पाउने सम्भावना रहन्छ भन्छन्, सचिव पाखि्रन। ‘फिजिकल, एजुकेसन र अन्तर्वार्तामा उत्कृष्ट बन्न भने सबैलाई अनिवार्य छ,' उनले भने।
ब्रिटिस आर्मी र सिंगापुर पुलिसका लागि
न्यूनतम योग्यता
उमेरः साढे १७ देखि २१ वर्षसम्म
उचाइः १ सय ५८ सेन्टिमिटर
तौलः ५० किलो
छाती :  न्यूनतम ३१ इन्च (७९ सेमी)
शिक्षाः एसएलसी पास
साभार : शुक्रबार 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis