CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » लेडी डीजेको जगजगी :क्लब र डान्स पार्टीमा

लेडी डीजेको जगजगी :क्लब र डान्स पार्टीमा


डेढ वर्षअघिसम्म पढाइ र साथीसंगीसँग घुमघाममै दिन बित्थ्यो, छिरिङ लामा, २१, को । यसबीच उनको नाम, पहिचान र जीवनशैली बदलिएको छ । अझ भनौँ, फराकिलो भएको छ । उनी छिरिङबाट जेनी बनेकी छन् भने नयाँ शैलीका गीत रिमिक्स गरेर लाइभ बजाउनु पेसा हो । क्लब र डान्स पार्टीमा उनी पि्रय  बन्दै छिन्, डीजे जेनीका रूपमा ।

बौद्धमा हुर्किएकी जेनी सहरमा हुने पार्टीमा आक्कल-झुक्कल रमाउँथिन् । मिक्स्चर र सीडी प्लेयरबाट डीजेले गीत घन्काउँदा खुब रोमाञ्चित हुन्थिन् । तर, आफैँ डीजे बनूँला भनेर कहिल्यै सोचेकी थिइनन् । किनभने, डीजेजति सबै केटा मात्र थिए । तर, यस्तैमा एउटा पार्टीमा डीजे मैच्याङलाई देखिन्, जो बुथमा बसेर  सयौँ क्राउडलाई एकैपटक नचाइरहेकी थिइन् । यही पार्टी नै जेनीको जीवनको 'टर्निङ प्वाइन्ट' बन्यो । जेनी सम्भिmन्छिन्,
"मैच्याङलाई देखेपछि मैले डीजे बन्ने अठोट गरेँ ।" नभन्दै दृढ स्वभावकी उनले डीजेइङ सिक्न थालिन्, शंखमूलस्थित वेब डीजे एकेडेमीमा । समय र सफलताको ग्राफ केलाउँदा जेनीप्रति आहि्रस  लाग्न सक्छ । तर, यही सफलताका लागि उनले गरेको संघर्ष भने निकै प्रेरणादायी छ ।

जति आधुनिक भएको भनिए पनि डीजेइङ पेसाले अझसम्म उचित सम्मान पाउन सकेको छैन । डीजे भन्नासाथ नाक खुम्च्याउने धेरै छन् । केटाले त यस्तो सहनुपर्छ भने केटीलाई झन् कति गाह्रो हुँदो हो ? अनुमान गर्न सजिलो भए पनि यथार्थ तीतो छ । अधिकांश पार्टी राती हुने, रक्सीले मातेकाहरूमाझ गीत  बजाउनुपर्ने भएकाले लेडी डीजेको थप नकारात्मक छाप बनेको छ । सुरुमा जेनी पनि समाजको यही हीन भावनाको सिकार भइन् । पहिलो अड्चन त परिवारकै थियो । उनका बाबु सेकेन्ड लेफ्टिनेन्ट बनाउन चाहन्थे, आमा नर्स । समाजको परम्परागत आँखाबाट हेर्दा यी दुवै महिलाका लागि सुरक्षित पेसा मानिन्छन् ।  यस्तो अवस्थामा डीजे बन्छु भन्दा उनका अभिभावकले साथ नदिनु अस्वाभाविक होइन । छोरी बिग्रेली भन्ने चिन्ताले सताउँछ नै । तर, उनले बिस्तारै बाबु-आमालाई मनाइन् । छोरीको खुसी र उद्देश्यमाथि उनीहरू बाधक बन्न चाहेनन्, बरू सहायक बन्न थाले । भन्छिन्, "डीजे बन्नासाथ केटीहरू बिग्रन्छन् भन्ने होइन ।  बिग्रनु नै छ भने जुन पेसा अपनाए पनि बिगि्रएकै हुन्छन् । म गलत थिएँ भने सेकेन्ड लेफ्टिनेन्ट भए पनि बिग्रन्थेँ । बुबाआमाले बिस्तारै यो कुरा बुझ्नुभयो ।"

जेनीसँगै डीजे शेर्पिनी, डीजे एन्जल पनि व्यस्त डीजेमा दरिन्छन् । डीजे मैच्याङ त जेनीकी प्रेरणाकी स्रोत भइहालिन् । पुराना डीजे तथा वेब डीजे एकेडेमीका प्रबन्ध निर्देशक प्रज्वल जेबी राणाका अनुसार यी चार अहिले लाइमलाइटमा रहेका लेडी डीजे हुन् । मैच्याङ, जेनी र एन्जल यही वेब डीजे एकेडेमीका उत्पादन  हुन् भने शेर्पिनीचाहिँ बुम इन्टरनेसनलकी ।

भर्खर १९अाैँ वसन्त पार गरिरहेकी डीजे मैच्याङलाई शेर्पिनी र एन्जलले पनि आदर्श मान्छन् । उमेरले कम भए पनि मैच्याङ सिनियर हुन् । जसले १६ वर्षकै उमेरमा डीजेइङलाई पेसाका रूपमा अगाडि बढाएकी थिइन् । यद्यपि, उनी नेपालकै पहिलो लेडी डीजे भने होइनन् ।

सन् २००५ बाट लेडी डीजेको व्यावसायिक यात्रा सुरु भएको मानिन्छ । जसको पहिलो श्रेय जान्छ, डीजे पायललाई । त्यसभन्दा अगाडि पनि डीजे गायत्री, डीजे सीले केही इभेन्ट नगरेका होइनन् तर उनीहरूले पेसाका रूपमा अगाडि बढाउन नसकेको पुराना डीजेहरू बताउँछन् । डीजे गायत्री एयर होस्टेस थिइन् भने  डीजे सी ट्याटु आर्टिस्ट । पायलले भने वार आफ डीजे नामक टेलिभिजन रियालिटी सोमा सहभागिता जनाइसकेपछि डीजेइङलाई पेसाकै रूपमा अगाडि बढाएकी थिइन् ।

लेडी डीजेको अभाव भएकाले पायलको माग अत्यधिक बढ्यो । काठमाडौँभित्र र बाहिर हुने ठूला इभेन्टमा उनी निर्विकल्पजस्तै थिइन् । पारिवारिक साथ उनका लागि प्लस प्वाइन्ट थियो । तैपनि, बिस्तारै डीजेइङ दुनियाँबाट टाढा हुँदै गइन् । उनले नेपालमा पार्टी नगरेको झन्डै चार वर्ष बितिसकेको छ । हाल उनी मुम्बइर् मा ब्युटिसियनका रूपमा काम गर्दै छिन् ।

यसबीच डीजे विम्स -विमला श्रेष्ठ), डीजे अंशु -अंशु नकर्मी), डीजे जिना -जिना गुरुङ), डीजे न्यासिजम सिस्ट -सविना लामिछाने), डीजे केन्जी -करिश्मा जिरेल)लगायतका लेडी डीजे आएका थिए तर नियमितता दिन सकेनन् । मैच्याङ भन्छिन्, "यो पेसामा डीजेइङको क्षमता मात्र भएर हुँदैन । अरूले कुरा काटे भने  पचाउन सक्ने खुबी पनि हुनुपर्छ । होइन भने पलायन हुनुको विकल्प हुँदैन ।"

डीजे मैच्याङको खास नाम दीपिका केसी हो । तर, यो नाम अचेल उनी आफैँलाई पनि नौलो लाग्न थालिसकेको छ । कारण, मैच्याङबाट प्रसिद्धि कमाइरहेकी छन्, त्यही नाम प्यारो लाग्छ । मैच्याङ भाग्यमानी दरिन्, यस अर्थमा कि सुरुआतमै परिवारको हौसला पाइन् । किनभने, उनका दाजु आयुष पनि डीजे नै थिए ।

अझ राती हुने पार्टीमा पुर्‍याउने र घर ल्याउने अरू कोही नभएर, उनका बुबा हुन्छन् । हुन पनि परिवारबाट यति मीठो साथ नपाएको भए १६ वर्षमै डीजेइङ गर्न कहाँ सम्भव हुन्थ्यो र ? अभिभावकको यो विश्वास उनलाई सफलताको सिँढी चढाउन सहायक सिद्ध भएको छ ।

मैच्याङ महिनामा औसत आधा दर्जन इभेन्ट भ्याउँछिन् । न्यु इयर, भ्यालेन्टाइन्स डे, क्रिसमसजस्ता उत्सवमा त भ्याइनभ्याइ हुन्छ । राजधानीमा हुने एउटा इभेन्टबाट कम्तीमा १५ हजार रुपियाँ लिने उनी काठमाडौँबाहिर जानुपर्दा ३० हजार रुपियाँसम्म लिन्छिन् । बुटवल, पोखरा, वीरगन्ज, नारायणगढ, धरानलगायत  सहरमा उनले डीजेइङको जादु छरिसकेकी छन् । डीजे भएपछि क्राउडको डिमान्ड र मनोविज्ञान बुझेर गीत घन्काउनुपर्ने हुन्छ । तर, उनी आफैँलाई भने कमर्सियल, डब स्पेट, टेक्नो, हाउस शैलीका गीत पि्रय लाग्छ ।

धरानकी याङ्जी शेर्पाले ६ कक्षामा पढ्दा टीभीमा 'चन्ना भे घर आजा रे...' बोलको हिन्दी गीत देखिन् । भिडियोमा एउटी केटी कानमा हेड फोन लगाएर आफू नाच्दै अरूलाई पनि नचाउँदै थिइन् । याङ्जीलाई पनि त्यही केटीजस्तो बन्न मन लाग्यो । अलि पछि थाहा पाइन्, त्यसरी नचाउने मान्छेलाई डीजे भनिँदो रहेछ  । त्यही बेलादेखि उनमा डीजे बन्ने हुटहुटी पलायो । तर, त्यो सपना काठमाडौँ पुगेपछि मात्र पूरा भयो । उनी हुन्, डीजे शेर्पिनी । जो दुई वर्षदेखि पूर्णकालीन डीजेइङ गरिरहेकी छन् । उनको कथा पनि जेनी र मैच्याङको भन्दा फरक छैन । सुरुमा परिवारको अवरोध, पछि सहयोग । भन्छिन्, "नयाँ र ग्ल्यामरस पेसा  भएकाले सुरुमै परिवारले विश्वास गर्दैन तर आफूले राम्रोसँग बुझाउने हो भने साथ नदिने कुरै हुँदैन ।" बिन्दास र हक्की स्वभावकी शेर्पिनी प्रतिइभेन्ट १५ देखि २० हजार रुपियाँसम्म लिन्छिन् । डीजेइङबाटै कमाएको पैसाले म्यजिक प्रोडक्सन हाउस खोल्ने तयारीमा छिन् उनी । यसबाट पनि उनको कमाइ अन्दाज

लगाउन सकिन्छ ।

एन्जल शाही अर्थात् डीजे एन्जललाई नेपालकै पहिलो भर्चुअल लेडी डीजे मानिन्छ । जो सीडी प्लेयर र मिक्स्चरभन्दा ल्यापटप र कन्ट्रोलरबाट रिमिक्स गीत पस्किन्छिन् । कमर्सियल र इलेक्ट्रो शैलीका गीत घन्काउनु उनको विशेषता हो । क्लब जाँदा जाँदै उनमा डीजे बन्ने रहर पलायो तर परिवार, समाज र साथीभाइको  डरले केही समय चाहना दबाएर राखिन् । लेडी डीजेको उपस्थिति बढ्दै गएपछि आत्मविश्वास पलायो र डीजेइङको तालिम लिन थालिन् । लेडी डीजेलाई हेप्नेभन्दा सम्मान गर्ने बढी भेटाएको उनले अनुभव सुनाइन् । त्यसैले रहरले डीजेइङमा तानिएकी उनी अब पेसाकै रूपमा अपनाउन कम्मर कसेकी छन् ।

एन्जलजस्तै अधिकांश युवती रहरले डीजेइङमा आकषिर्त भएका हुन्छन् । तर, उचित परामर्श र वातावरण पाए भने करिअर नै बनाउन खोज्ने पनि नहुने होइनन् किनभने लेडी डीजेको माग उकालो लागिरहेको छ । इभेन्ट आयोजकले क्राउड लोभ्याउन लेडी डीजेलाई पहिलो प्राथमिकतामा राख्न थालेका छन् । फेरि डीजे इङ ग्ल्यामरस पेसा हो । त्यसैले आउटफिट आकर्षक हुनुपर्छ । नेपालकै सेक्सियस्ट डीजेका रूपमा ख्याति कमाएकी जेनी भन्छिन्, "तर, ग्ल्यामरस फिल्ड भएकाले डीजेइङसँगै लुक्स, पर्फमेन्स र आउटफिटमा ख्याल राख्नुपर्छ ।"

यति हुँदाहुँदै पनि लेडी डीजेहरू पलायन हुने क्रम रोकिएको छैन । दुई-चार इभेन्ट गरेपछि डीजेइङ दुनियाँबाट टाढा रहनेको संख्या धेरै छ । किन त ? अल नेपाल डीजे एसोसिएसनका संस्थापक डीजे साकार भन्छन्, "तत्कालका लागि परिवार र समाजको नकारात्मक नजर त छँदै छ । विवाहपछाडि पनि डीजेइङलाई  अगाडि बढाउन कठिन भएको देखेर बेलैमा अर्को पेसा रोजेका हुन सक्छन् ।"

साकारको भनाइ धेरै हदसम्म सत्य छ । तर, जेनी र शेर्पिनी विवाहपछि डीजेइङलाई निरन्तरता दिने योजनामा छन् । बिहे गरेपछि पारिवारिक दायित्व थपिने भए पनि पेसा नै छाड्नुपर्ने अवस्था आउन नदिने शेर्पिनी बताउँछिन् । जेनी अझ दृढ देखिन्छिन् । पाखुरामा खोपेको 'डीजेइङ इज माई प्यासन' ट्याटु देखाउँदै  उनले भनिन्, "ट्याटुको मान राख्न भए पनि डीजेइङ छाड्दिनँ । होइन भने ट्याटुले नै मलाई गिज्याउँछ ।"

अझ पनि धेरै छोरी-चेली साँझ नपर्दै घर र्फकनुपर्ने बाध्यतामा छन् । अलि ढिला भयो भने परिवारको गाली सहनुपर्छ, छिमेकीको छेडखानी । त्यसैले अक्सर नाइट लाइफ बिताउनुपर्ने डीजेइङ पेसा महिलाका लागि निकै चुनौतीपूर्ण छ भन्नेमा द्विविधा छैन । तर, आत्मविश्वासी र चुनौतीसँग लड्न सक्ने साहस हुने हो भने  डिजेइङ पेसा महिलाका लागि फलदायी हुनेमा पनि शंका छैन । नयाँ क्ष्ाेत्र भएकाले अवसरको सम्भावना पनि धेरै छ । मैच्याङ भन्छिन्, "मिहिनेत र अनुशासनलाई आत्मसात् गर्ने हो भने डीजेइङबाट बदनाम हुनु पर्दैन, बरू नाम र दाम दुवै मनग्य कमाइन्छ ।" नेपाली डीजेइङ संसारमा लेडी डेजीको जगजगी उनको यही  भनाइमा अडेको छ ।



डीजे जेनी

नेपाली डीजेइङ दुनियाँमा जेनीको परिचय सेक्सियस्ट डीजेका रूपमा बनेको छ । कुपन्डोलस्थित टीजीआईएफ लाउन्जमा हरेक शुक्रबार उनको प्रस्तुति हेर्न सकिन्छ । उनी पनि प्रतिइभेन्ट २० हजार रुपियाँसम्म लिन्छिन् । छिट्टै थप डीजेइङ कोर्स गर्न भारतको दिल्ली जाने योजना छ उनको । त्यहाँ उनले चर्चित डीजे  किरणसँग प्रशिक्षण लिनेछिन् ।



डीजे मैच्याङ

१६ वर्षकै उमेरमा डीजेइङ सुरु गरेकी मैच्याङ अहिलेकी व्यस्त र महँगी लेडी डीजे हुन् । काठमाडौँमा प्रतिइभेन्ट कम्तीमा १५ हजार र बाहिर २५ हजार रुपियाँ उनको पारिश्रमिक हो । डीजेको औपचारिक कोर्स गरेकी उनी भविष्यमा पनि यस पेसालाई निरन्तरता दिने योजनामा छिन् ।



तस्बिरहरू : लक्ष्मीप्रसाद ङाखुसी


साभार : नेपाल साप्ताहिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis