CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » वर्षका बार्‍ह चर्चित नेपालीहरु

वर्षका बार्‍ह चर्चित नेपालीहरु

नेपाली समाजले वर्ष २०७१ मा थुप्रै सकारात्मक उपलब्धि तथा नकारात्मक अनुभवहरू बेहोर्‍यो । यस्ता अनुभव निर्माणमा केही खास र केही आम व्यक्तित्वले महत्वपूर्ण भूमिका निर्वाह गरे । तीमध्ये केही जनताको नजरमा परिवर्तनका संवाहकका रूपमा स्थापित भए भने केही आफ्ना नकारात्मक गतिविधिका कारण चर्चामा रहे । गत वर्ष समाचारको शीर्ष स्थान ओगट्न सफल केही पात्रको संक्षिप्त चर्चा :



डा. गोविन्द केसी, चिकित्सक

मुलुकको स्वास्थ्य शिक्षा एवं स्वास्थ्य सुविधाको क्षेत्रमा देखा परेको बेथितिका विरुद्ध लगातार संघर्ष गर्दै आएका चिकित्साशास्त्र अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक तथा प्राध्यापक डा. गोविन्द केसीले पाँचौं पटक अनशन बस्नुपरेको घटना यो वर्ष मुलुकको प्रमुख समाचार बन्यो । गत चैत ८ गतेदेखि १२ दिनसम्म अनशन बसेका डा.केसीले सरकारले माग पूरा गर्ने वचनवद्धता प्रकट गरेपछि अनशन तोडे । आफ्नो यो उपलब्धिलाई ३ करोड नेपाली जनताप्रति समर्पित गर्दै डा. केसीले भनेका छन्—'अब जे गर्छन् नेपाली जनताले नै गर्नेछन् ।' 

कालीप्रसाद बासकोटा, गायक/संगीतकार

नेपाली चलचित्रको एउटा गीतका कारण कुनै गायक अथवा संगीतकार कतिसम्म लोकप्रिय बन्न सक्छ भन्ने उदाहरण पेस गरेका छन् युवा संगीतकर्मी कालीप्रसाद बासकोटाले । प्रदर्शनको तयारीमा रहेको चलचित्र 'रेशम फिलिली' को 'जालैमा' गीतका कारण विश्वभरिका नेपालीमाझ लोकप्रिय भएका यी संगीतकर्मीको उक्त गीतका कभर भिडियोहरू सामाजिक सञ्जालमा भाइरल बनेका छन् । गीतकार मानस केसीसँग मिलेर आफैंले शब्द तयार पारेपछि संगीत भरेका कालीप्रसादले नव गायिका सोमिया रसाइलीसँग मिलेर गाएको यो गीतको वास्तविक भिडियो सार्वजनिक भएको छैन, तर बालबालिकादेखि वृद्ध उमेरका दर्शकहरूले सम्म यो गीतमा कम्मर मर्काइसकेका छन् । सांगीतिक क्षेत्रमा सक्रिय भएको करिब एक दशकपछि २०७१ को उत्तरार्द्धमा प्राप्त यो सफलताका कारण कालीप्रसादले इमान्दारिता र धैयर्ता भए सफलता आत्मसात गर्न गाह्रो पर्दैन भन्ने कुरा प्रमाणित गरिदिएका छन् । 

आस्था पोखरेल, मोडल

अभिनय एवं गायनमार्फत यसअघि पनि नेपालीले बलिउडमा तहल्का नमच्चाएका होइनन्, तर वर्ष २०७१ मा नेपाली मोडल आस्था पोखरेलले भारतको मोडलिङ क्षेत्रमै तहल्का मच्चाइन् । एउटा भारतीय टेलिभिजन च्यालनको मोडलिङमा आधारित रियालिटी शो 'किङफिसर सुपरमोडल-२' मा विजयी हुँदै आस्थाले पहिलो नेपाली मोडलका रूपमा भारतको चर्चित किङफिसर क्यालेन्डर-२०१५ मा प्रस्तुत हुने अवसर पाइन् । क्यालेन्डरमा प्रस्तुत भएर भारतका स्थापित मोडलहरूलाई समेत चुनौती दिएलगत्तै आस्थाले बलिउडका अभिनेत्रीहरूसँग प्रतिस्पर्धा गरिन् । आस्था 'टाइम्स मोस्ट डिजारेवल वुमन-२०१४' को प्रतिस्पर्धामा समेत छनौट भइन् । बलिउडको पछिल्लो पुस्ताका अभिनेत्रीहरूको बाक्लो सहभागिता रहेको यो प्रतियोगितामा पनि आस्थाले स्थान पाउनुलाई ठूलो उपलब्धिका रूपमा लिइएको छ । 

विज्ञानराज शर्मा, एआईजी

समाजमा शान्ति सुरक्षा कायम गर्ने कार्यमा प्रहरीको भूमिका सबैभन्दा ठूलो हुन्छ । वर्ष २०७१ मा देशको राजधानी काठमाडौंका जनताले विगतको तुलनामा बढी सुरक्षा अनुभव गर्न पाएका छन् । खासगरी महानगरीय आयुक्त कार्यालयका प्रमुख एआईजी विज्ञानराज शर्माको सक्रियता शहरमा गुन्डागर्दी नियन्त्रण मात्र होइन, विभिन्न अपराधमा संलग्न अपराधीहरूसमेत धमाधम पक्राउ पर्न थालेका छन् । विगतमा एआईजी शर्मा काठमाडौंको सवारी महाशाखा प्रमुखका रूपमा कार्यरत छँदासमेत काठमाडौंको ट्राफिकजामको समस्याबाट राजधानीवासीले केही हदसम्म छुटकारा पाएका थिए । 

कुमार कट्टेल, हास्यकलाकार

वर्ष २०७१ मा सर्वाधिक लोकप्रिय हुन सफल हास्य श्रृंखला 'भद्रगोल' का मुख्य कलाकार हुन्— कुमार कट्टेल । श्रृंखलामा 'जिग्री ब्रो' को भूमिका निर्वाह गर्ने यी कलाकार लोकप्रिय हास्यकलाकार सीताराम कट्टेल 'धुर्मुस' का सहोदर भाइ हुन् । 'भद्रगोल' को लेखन तथा मुख्य सहायक निर्देशनमा समेत सक्रिय कुमार यो वर्ष हास्य कलाकारितालाई नै नयाँ उचाइमा पुर्‍याउन सफल भए । विगत केही सातादेखि प्रसारण अवरुद्ध भए पनि 'भद्रगोल' बाट अत्यन्त लोकप्रिय भएका कुमार स्वदेश तथा विदेशका सांस्कृतिक कार्यक्रममा समेत उत्तिकै सक्रिय छन् । 

पारस खड्का, क्रिकेटर 

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का नेपालकै सबैभन्दा लोकप्रिय खेलाडी हुन् भन्दा फरक पर्दैन । नेपाली क्रिकेट टिमलाई पहिलो पटक टी-२० विश्वकपमा छनौट गराउन अग्रणी भूमिका खेलेका कप्तान पारस खड्का नेपाली युवाहरूका आइडल पनि हुन् । नेपाली क्रिकेट टिमलाई आफ्नो कप्तानीमा डिभिजन-५, डिभिजन-४ तथा डिभिजन-३ को उपाधि दिलाएका खड्काले नेपाली टिमलाई पहिलो पटक एसीसी ट्रफीको उपाधिसमेत दिलाउन महत्त्वपूर्ण भूमिका खेलिसकेका छन् । 

लीलामणि पौडेल, मुख्य सचिव 

नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेललाई एक उदाहरणीय प्रशासकका रूपमा चिन्न थालिएको छ । प्रशासनका दैनिक कार्यबाहेक पौडेलले काठमाडौंको मुटु मानिने बाग्मती नदी सफा गर्ने अभियानलाई उचाइमा पुर्‍याएको श्रेय पाएका छन् । २०७० साल भदौमा प्रारम्भ भएको बाग्मती सफाइ अभियानले यही साता एक सयौं श्रृंखला पूरा गर्दैछ र यसको सफलताका पछाडि मुख्य सचिव पौडेलको महत्त्वपूर्ण योगदान छ । प्रत्येक शनिबार सञ्चालन गरिने यो अभिनयबाट हालसम्म हजारौं टन फोहोर बाहिर निकालिसकिएको छ । बाग्मती सफाइ अभियानको १ सयौं श्रृंखलासम्म आइपुग्दा मुख्यसचिव पौडेल जम्मा दुईवटा शनिबार मात्र गयल भएका छन्, दसैं मान्न गाउँ जानुपरेकाले । 

डा.कुमुद धिताल, चिकित्सक

अस्ट्रेलियाको सेन्ट भिन्सेन्ट अस्पतालमा वरिष्ठ मुटुरोग विशेषज्ञका रूपमा कार्यरत डा. कुमुद धितालले यो वर्ष मुटु प्रत्यारोपणमा एउटा 'चमत्कार' नै गरे । गत कात्तिकमा डा. धितालले गरेको सफल प्रत्यारोपणले उनलाई एकातिर विश्व चिकित्सा क्षेत्रमै 'हिरो' बनाइदियो भने अर्कातिर मुटुका गम्भीर बिरामीहरूका लागि उनी आशाको केन्द्रसमेत बने । सिड्नीस्थित सेन्ट भिन्सेन्ट अस्पतालमा कार्यरत एसोसियट प्रोफेसर धितालले मृत्यु भैसकेको व्यक्तिको मुटु अर्को व्यक्तिमा सफल प्रत्यारोपण गर्ने काम सफलतापूर्वक सम्पन्न गरिसकेका छन् । प्रत्यारोपण गरिएका व्यक्ति स्वस्थ्य भैसकेपछि मात्र अस्पतालले यो कुरा सार्वजनिक गरेको हो । मृत व्यक्तिको 'मुटु' निकालेर त्यसलाई विशेष मेसिनमा राखेर पुनर्जीवित गरी बिरामी व्यक्तिमा प्रत्यारोपण गर्ने डा. कुमुद धिताल विश्वकै पहिलो चिकित्सक हुन् भने यो विश्वमै पहिलो घटना पनि हो ।

सौगात विष्ट, कान्छा निर्देशक

अघिल्लो वर्ष चलचित्र 'लभ यू बाबा' को शुभमुहूर्त समारोहमा आठ वषर्ीय सौगात विष्टले यो चलचित्र निर्देशन गर्दैछन् भन्ने घोषणा गरिँदा अधिकांशले नाक खुम्च्याए । धेरैले यो कुराप्रति अविश्वास जनाए । जब चलचित्र प्रदर्शन भयो, गिनिज बुक अफ वल्र्ड रेकर्ड्सले सौगातलाई विश्वकै सबैभन्दा कान्छा निर्देशकको प्रमाणपत्र दियो । गत मंसिर २६ गते प्रदर्शन गरिएको उक्त चलचित्रले व्यवसायिक सफलता हासिल नगरेपनि सौगातले विश्वकै कान्छा निर्देशकको पहिचान बनाए । 

सेभेन समिट महिला पर्वतारोही 

नेपालका सात जना महिला पर्वतारोहीको समूहले विश्वका सातै महादेशका उच्च हिमालको सफल आरोहण गरेर नेपालको नाम विश्व समुदायसम्म फैलाएका छन् । यो समूहले २०७१ मा सातै महादेशका अग्ला शिखर आरोहण गरिसकेको छ । साहसिक महिला पर्वतारोहीहरूको यो समूहमा पूजना आचार्य, शैली बस्नेत, माया गुरुङ, आशाकुमारी सिंह, निमाडोमा शेर्पा, पेमा डिकी शेर्पा तथा चुनु श्रेष्ठ छन् । समूहले अन्तिम पटक अन्टार्कटिकाको माउन्ट भिन्सन मस्सिफको आरोहण गरेको थियो । उक्त हिमाल आरोहणपछि यो समूह सातै महादेशका अग्ला चुचुरामा पाइला टेक्ने विश्वकै पहिलो महिला समूह भएको हो । यो टोलीले सन् २००८ मा सगरमाथा, सन् २०१० मा अस्ट्रेलियाको कोसिअस्को, रूसको एलब्रस, सन् २०१३ मा तान्जानियाको किलिमञ्जरो, सन् २०१४मा दक्षिण अमेरिकाको अकोन्कागुआ तथा अलस्काको डिनाली आरोहण गरेको थियो ।

सुनिल थापा, कलाकार

नेपाली चलचित्र क्षेत्रमा 'राते काइँला' उपनामले लोकप्रिय कलाकार सुनिल थापाका लागि वर्ष २०७१ भाग्यमानी सावित भयो । विगतमा बलिउडबाटै डेब्यु गरेका थापाले यो वर्ष हिन्दी चलचित्र 'मेरी कोम' मा अभिनय गरेर भारतमा समेत चर्चा कमाए । मेरी कोमको भूमिका निर्वाह गर्ने अभिनेत्री प्रियंका चोपडाको गुरुको भूमिकामा सुनिल थापाले गरेको अभिनय दर्शकहरूले निकै मन पराए । फेसबुक तथा टि्वटरमा भारतीयहरूले समेत थापाको प्रशंसा गरे । 

तेरिया मगर, डीआईडी च्याम्पियन

४० हजार भारतीय बालबालिकालाई पछि पार्दै नेपालकी तेरिया मगर जिटिभीको नृत्यमा आधारित रियालिटी शो 'डिआईडी लिटिल मास्टर-३' को उपाधि जित्न सफल भइन् । उपाधिसँगै तेरियाले नगद ८० लाख रुपैयाँका साथै एउटा कार पनि जितिन् । बुटवलकी स्थायी बासिन्दा तेरियाले अडिसन राउन्डदेखि नै आफूलाई अब्बल सावित गर्दै आएकी थिइन् । ११ वषर्ीया तेरियाले १४ वर्षसम्मका ४० हजार प्रतिस्पर्धीलाई विभिन्न चरणमा पछि पार्दै दर्शकबाट सबैभन्दा बढी मत पाएर उपाधि जितेकी हुन् । तेरिया नेपालमै जन्मिएर भारतको रियालिटी शोमा यति ठूलो सफलता हासिल गर्ने पहिलो नेपाली हुन् । यसअघि सन् २००७ को इन्डियन आइडलमा नेपालीभाषी प्रशान्त तामाङ विजयी भएका थिए । 



नकारात्मकताका प्रतीक

जीवन विक, एसिड काण्ड


काठमाडौंको वसन्तपुरमा ट्युसन पढिरहेका दुई किशोरी संगीता मगर तथा सीमा बस्नेतमाथि एसिड छ्यापेको आरोपमा गिरफ्तार भएका जीवन बिक वर्ष २०७१ का ठूला खलनायकका रूपमा चित्रण गरिए । रामेछापका २० वषर्ीय जीवन यतिबेला हनुमानढोकामा बन्दी जीवन बिताइरहेका छन् । एसिड प्रहार गरिएको २६ दिनपछि विकलाई सार्वजनिक गरिएको थियो । विकले फागुन १० गते संगीता र सीमामाथि एसिड छ्यापेका थिए । पीडित संगीता तथा उनको परिवारसँग उत्पन्न मनमुटावका कारण बदला लिने उद्देश्यले उक्त घटना गराइएको बताइन्छ ।

कन्हाइ गुप्ता, बलात्कारी

कलैया, बाराकी ६ वर्षीया बालिका पूजा साहको बलात्कारपछि हत्या गर्ने कन्हाई गुप्ता नेपाली समाजमा नकारात्मकताको प्रतीकका रूपमा उजागर भएका छन् । गुप्तालाई जिल्ला अदालत बाराले सर्वस्वसहित जन्मकैदको फैसला सुनाइसकेको छ । फैसलालगत्तै अभियुक्त गुप्तालाई वीरगन्ज कारागार चलान गरिएको छ । पीडित बालिकाको उपचारका क्रममा काठमाडौंमा निधन भएको थियो । 

चरीको इन्काउन्टर र खुश्बु ओली 

डनका रूपमा परिचित दिनेश अधिकारी 'चरी' को प्रहरी इन्काउन्टरमा निधन भएको प्रसंगले वर्ष २०७१ मा सञ्चारमाध्यममा राम्रै स्थान पायो । विभिन्न आपराधिक घटनामा नाम जोडिएका चरी प्रहरीको हिट लिस्टमा थिए । चरीको इन्काउन्टरपछि उनकी प्रेमिका तथा मोडल खुश्बु ओली पनि चर्चामा आइन् । खासगरी खुश्बु आफ्ना प्रेमी चरीको हत्या भएको भन्दै प्रहरीविरुद्ध जाइलागेकी थिइन् । साउन २१ मा काठमाडौं नजिकै भीमढुंगामा प्रहरीसँगको दोहोरो भिडन्तमा मारिएका भनिएका चरीको निधन भएको घटना सेलाएपछि खुश्बु गत भदौमै बेलायत पलायन भएको समाचार पनि सार्वजनिक भयो । 

मनराज गुरुङ र प्रमेश चौहान, रानीबारी हत्याकाण्डका आरोपी

१२ वर्षअघि काठमाडौंको रानीबारीमा बसोबास गर्ने इन्जिनियर दम्पती हेमन्त श्रेष्ठ र अञ्जली श्रेष्ठको हत्या गरेको आरोपमा केन्दी्रय अनुसन्धान ब्युरोले यही चैत महिनामा दुई जना आरोपीलाई गिराफ्तार गर्‍यो । 'साइलेन्स सर्च अपरेसन' मार्फत पक्राउ परेका मनराज गुरुङ तथा प्रमेश चौहानको गिरफ्तारीसँगै मनराजको रातारातको प्रगतिको आपराधिक कथा पनि बाहिर आयो ।

सञ्जय स्माइली मगर बम हत्यारा

सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बममाथि गोली प्रहार गर्ने मुख्य योजनाकार सञ्जय स्माइली मगरलाई प्रहरीले साउदी अरबबाट गिरफ्तार गर्‍यो । इन्टरपोलमार्फत जारी गरेको डिफ्युजन नोटिसका आधारमा मगरलाई साउदी प्रहरीले गत चैत १० गते पक्राउ गरेको थियो । पहिलो संविधानसभा निर्वाचनमा चुरेभाबर पार्टीका उम्मेदवारसमेत रहेका घटनाका मुख्य सुटर भगवान भनिने सञ्जय स्माइली मगर विदेशमा भएकाले प्रहरीले उनीविरुद्द इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेको थियो । 

गणेश थापा, भ्रष्टाचार

चरम आर्थिक अनियमितताको अभियोगमा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापालाई गत कात्तिक महिनामा निलम्बन गर्‍यो । फिफाको अनुशासन समितिले थापाले भ्रष्टाचार गरेको भन्दै चार महिनासम्म फुटबलसम्बन्धी कुनै पनि गतिविधिमा सहभागी हुन नपाउने गरी उनलाई निलम्बन गरेको थियो । 

पारस शाह, पूर्वयुवराज

पूर्व युवराज पारस शाहको बैंकक बसाइ कहिल्लै सुखद रहेन । लागूऔषध कारोबार अभियोगमा उनी पटक-पटक बैंककको जेलमा बस्न बाध्य भए । जेल बाहिर रहँदासमेत उनी विभिन्न क्रियाकलापका कारण चर्चामा आइरहे । बैंकक बसाइ त्याग्दै पारस गत साता नै स्वदेश फर्किएका छन् । स्वदेश आए पनि उनलाई आफ्नै परिवारका सदस्यले तिरस्कार गरेको बताइन्छ । श्रीमती हिमानी शाह उनलाई भेट्दै नभेटी भारत प्रस्थान गरेको समाचार प्रकाशनमा आइरहेका छन् भने ज्ञानेन्द्र शाहले पनि पारसका लागि निर्मल निवासको ढोका बन्द गरेको प्रसंग गसिपका रूपमा चर्चामा छ । 

आयुषा राई र मुनाल शिशिर, कास्टिङ काउच

नायिका आयुषा राई तथा निर्देशक मुनाल शिशिरबीचको विवादले पनि सञ्चारमाध्यममा राम्रो चर्चा पायो । नायिका राईले निर्देशक शिशिरमाथि यौनशोषण गर्ने प्रयास गरेको आरोप लगाइन् । नायिका राईले फेसबुकमार्फत आफूलाई निर्देशक मुनाल शिशिरलेअस्वभाविक रूपमा यौन सम्पर्क गर्ने प्रस्ताव राखेको आरोप लगाएपछि चलचित्र क्षेत्रमा अझै पनि यौन शोषणका घटना घटिरहेका छन् भन्ने तथ्य सार्वजनिक भएको हो । 

अञ्जु पन्त, गायिका

हरेक वर्ष कर्णप्रिय गीत गाएर श्रोताहरूको मन जित्दै आएकी गायिका अञ्जु पन्तले वर्ष २०७१ मा सोच्दै नसोचेको समस्यासँग जुध्नुपर्‍यो । लामो समयदेखि क्रिस्चियन धर्म अँगालेकी गायिका पन्तले गत दसैंताका एउटा भजन रेकर्ड गर्न अस्वीकार गरेपछि उनको सामाजिक सञ्जालसहित सञ्चारमाध्यमहरूमा तीव्र आलोचना भएको थियो । गायिका पन्तले आफूले कुनै पनि धर्मको विरोध नगरेको भन्दै स्पष्टीकरण दिएपछि मात्र यो प्रसंग सेलाएको थियो । 


साभार : साप्ताहिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis