CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » नक्कली भूकम्पपीडितकै फुर्ती

नक्कली भूकम्पपीडितकै फुर्ती


नक्कली भूकम्पपीडितको खोजीमा ललितपुरको दक्षिणी भेग दलचोकी पुगियो, जेठको अन्तिम साता । भोटुडाँडाका एक पाका शिक्षकले केही गाउँलेको नामै किटेर भने, “कुरा पक्का छ, तिनीहरूले राहत रकममा गडबडी गरे ।” चोर आँैलाले घर नै देखाइदिएपछि राहत रकममा लामो हात गर्नेको घरै पुगियो । भत्केको घरबाट जस्तापाता निकाल्दै उनी टहरो बनाइरहेका रहेछन् । कानुनी रूपमा छुट्टिए पनि एकै चुलोमा भात खाने उनले बा र आफ्ना नाममा राहत रकम लिएको स्वीकारे । कानुनविपरीत राहत रकम लिएको भन्दै उनको नाममा जिल्ला प्रशासन कार्यालयमा उजुरीसमेत परेको रहेछ । सोही उजुरीका आधारमा उनको नाम अखबारमा समेत छापिएछ । 


पत्रकार भन्ने सुइँको पाएपछि उनले उल्टै म र सहकर्मी लक्ष्मीप्रसाद ङाखुसीमाथि प्रश्न बर्साउन थाले । उनले पाखुरी सुर्काएको शैलीमा हामीसँग रिस मात्रै पोखेनन्, परिचय नदिएसम्म कुरा गर्न र फोटो खिच्न नमिल्ने कुरा सुनाए । उनको आग्रह टार्न सकिएन । तर, प्रकाशनगृहको परिचय खुलाउँदा उनी झनै धेरै रिसाउने पक्का थियो । हामीलाई उनको रिस र आक्रोश झेल्नु थिएन । मैले हत्त न पत्त अक्कल लगाएँ, हामी अनलाइनमा काम गर्छौं । उनले परिचय खुल्ने कागज देखाउन अत्तो थापे । अब परेन फसाद ।

के गर्नु र कसो गर्नुको बीचमा मैले फेरि अक्कल लगाएँ, सहकर्मी ङाखुसीको फोटोसम्बन्धी निजी अनलाइन पोर्टल छ र उनले त्यसैको भिजिटिङ कार्ड बनाएको पनि थाहा थियो । मैले त्यही पोर्टलको नाम लिएर भनेँ, “हामी त्यहीँ काम गर्छौं ।” कुरामा विश्वास नगरेपछि उनले परिचयपत्र नै मागे । मैले हत्त न पत्त भिजिटिङ कार्ड मागँे र टक्र्याएँ । त्यसपछि बल्ल उनले मेरो कुरा पत्याए । हामीले फोटो खिच्यौँ, आवश्यक सूचना बटुल्यौँ । अक्कलले काम गरेको देखेर म त खुसी भएँ तर ङाखुसी भने आफूलाई फोन गरेर हैरान खेलाउने हुन् कि भनेर अतासिए ।



मन्त्रिणीको मन

मन्त्रीसँग भेट्न समय मिलाउनु उति सजिलो काम लाग्दैन । अक्सर स्वकीय सचिव मन्त्रीको व्यस्त तालिका देखाउँछन् । समयका लागि केही दिन पर्खिन आग्रह गर्छन् र समय मिलाएपछि पनि फुत्त फुत्त अरू मान्छे छिराएर कुराकानी बिथोल्छन् । तर, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको हकमा भने त्यस्तो अनुभव रहेन । मोबाइल फोन उनी आफँैले उठाए, फ्याट्ट समय मिलाए । क्वार्टर पुग्दा मन्त्रिणी विमला महत घरबाहिर निस्कनै आँटेकी रहिछन् । विनम्र भाकामा उनले हामीलाई स्वागत गरिन् । झन्डै दुई घन्टा कुराकानी सकेर निस्कनै लाग्दा मन्त्रिणीसँग फेरि भेट भयो । दुई–दुईवटा गाडी परिसरमा हुँदाहँुदै पनि उनी पैदल हिँडेर बजार पुगेकी रहिछन् । कुरा बुझेपछि पो थाहा भयो, त्यसै दिन मोरङ हिँड्न लागेका पतिसँग घरमा लगाउने ताल्चा पठाउन उनी त्यतिका परसम्म पैदल हिँडेकी रहिछन् । उनले तीनवटा पसलमा सोधेर भाउ बुझीवरी ताल्चा किनेको बताइन् । मन्त्रिणीको स्वभाव र शैली देखेपछि लाग्यो, लालबाबु जति सरल र मितव्ययी छन्, मन्त्रिणी त्यसभन्दा कम रहिनछिन् ।



सम्झिरहने पात्र

अन्तर्वार्ता गरिएका केही पात्र हुन्छन्, सधँै सम्झिरहने । तिनको जादुयी बोली र दुनियाँ बदल्ने आँटले सधँै झकझकाइरहन्छ । वर्षौंदेखि सुनेको, पढेको तर भेट्न नपाएका दुई पात्रलाई झन्डै चार वर्षको अन्तरालमा भेट्ने सुयोग मिल्यो । एक थिए, सर्वोदय श्रमदान अभियानबाट दुनियाँमा ख्याति कमाएका श्रीलंकाका एटी अरियारत्ने र अर्का थिए, शिक्षाको विश्वव्यापी पहुँच विस्तारमा खटिएका

जोन उड ।

बहुराष्ट्रिय कम्पनी माइक्रोसफ्टको जागिर छाडेर विश्वव्यापी शिक्षाको विस्तारमा होमिएका उडको पहिलो किताब माइक्रोसफ् टदेखि बाहुनडाँडासम्म प्रकाशन हुँदा म कलेजको विद्यार्थी थिएँ । सात वर्षअघि उडको किताबले मोहनी मात्रै लगाएन, मनमा समाजका निम्ति केही गर्नुपर्छ भन्ने हुटहुटी पनि जगाएको थियो । असार अन्तिम साता काठमाडौँमा भेट्दा उनमा नेपालप्रतिको आशक्ति देखेर म छक्कै परेँ । दुनियाँ बदल्ने उनको आँट र हिम्मत उनकै मुखबाट सुन्दा द्रवित भएँ । झन्डै चार लाख फलोअर भएको ट्वीटर अकाउन्ट हेरेपछि झनै थाहा भयो, भूकम्पपछि यिनले नेपालबारे कति धेरै चासो र चिन्ता व्यक्त गर्दै कैयन् ट्वीट गरेका रहेछन् ।

मानवीयता र करुणाका अर्का सत्पात्र एटी अरियारत्नेलाई भने साढे तीन वर्षअघि काठमाडौँ आएका बेला भेट्ने सुयोग मिलेको थियो । म्यागासेसे पुरस्कार विजेता अरियारत्नेका बारे स्नातकोत्तरमा कोर्समै पढिएको थियो । सरलताका प्रतिमूर्ति अरियारत्नेले आँट र हिम्मत भए दुनियाँ बदल्न सकिन्छ भनेर प्रमाणित गरेका थिए । उड र अरियारत्नेजस्ता दुनियाँ बदल्ने आँट भएका मान्छेको नेपाल प्रेम देखेपछि भन्न करै लाग्छ, केही मान्छेकै कारण दुनियाँ त्यति सजिलै बिगिँ्रदैन ।

साभार  : ईकान्तिपुर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis