CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » किन मारिए घैँटे ?

किन मारिए घैँटे ?

  • → पटक–पटकको पक्राउ र रिहाइको लुकामारीपछि ‘इन्काउन्टर’
  • → पेस्तोल देखाएर राहत माग्ने र गाउँगाउँ पुगेर बाँड्ने गर्थे घैंटे : नेपाल प्रहरी
  • -मनबहादुर बस्नेत
ठ्याक्कै १० वर्षअघि काठमाडौँ सहरको मध्यभागमा अवस्थित बागबजारको सो गर्ल नामक रेस्टुराँको छतबाट बाटोमा रोकिराखेको प्रहरीको गाडीमा राती बियरको बोतल र इँटा प्रहार भयो । गाडीको सिसा फुट्यो र अन्यत्र सामान्य क्षति भयो । प्रहरीको गाडीमा आक्रमण गर्ने त्यतिबेला भर्खरै
जन्मिएको कुमार श्रेष्ठ ‘घैँटे’को आपराधिक समूह थियो । खासमा अर्को अर्थात् प्रतिस्पर्धी समूह काभ्रेलीका केटाहरू ठानेर घैँटेको समूहले माथिबाट आक्रमण गरेको थियो । तर, त्यहाँ प्रहरी अपराध महाशाखा (केरकार)का निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक ( डीएसपी) सर्वेन्द्र खनालको टोली थियो । प्रहरी भएको सुइँको पाएपछि घैँटेको समूह भाग्यो । पछि घैँटे समूहले केस सामसुम पार्‍यो । 
१२ वर्षमा खोलो फर्किन्छ भनेजस्तै प्रहरीमाथि आक्रमण गर्ने तिनै घैँटे महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरीकै गोलीले मारिए, ३ भदौमा । संयोग कस्तो पर्‍यो भने उतिबेला महाशाखाका निमित्त प्रमुख रहेका खनाल अहिले त्यसका प्रमुख छन् ।प्रहरीमाथि नै आक्रमण गरेर चर्चामा आएको घैँटेको समूह त्यसयताको एक दशक अपराधको दुनियाँमा जगजगी मच्चाउन सफल भयो । बाँच्दा अपराध कर्मबाट जसरी चर्चामा रहे, प्रहरी भिडन्तमा मारिएपछि पनि गुमनाम भएनन् । एक वर्षअघि महाशाखाकै टोलीसँगको इन्काउन्टरमा नेकपा एमालेनिकट गुन्डा नाइके दिनेश अधिकारी ‘चरी’ मारिएपछि नै घैँटेले आफूलाई असुरक्षित महसुस गरिसकेका थिए । त्यही भएर उनी चरी मारिएलगत्तै मलेसिया हानिए । त्यसपछि भारतको नयाँ दिल्लीमा कांग्रेस आईका स्थानीय नेताको संरक्षणमा बिताए । गत वैशाखको महाभूकम्पका बेला घैँटे भूकम्पपीडितलाई राहत दिन समाजसेवीको आवरणमा नेपाल आएका थिए । तर, उनले राहत होइन, आहत दिए । घैँटेले व्यवसायीसँग राहतका लागि भनेर जबरजस्ती रकम असुलेका थिए । पेस्तोल देखाएर राहत माग्ने र गाउँगाउँ पुगेर बाँड्ने गरेको प्रहरीको भनाइ छ । महाशाखाका एसएसपी खनाल भन्छन्, “समाजसेवाको आवरणमा धेरै मानिसलाई दु:ख दिएको रहेछ ।” 

निर्माण व्यवसायी, अस्पताल सञ्चालक, म्यानपावर र घरजग्गा व्यवसायीलाई घैँटेले धम्क्याएर रकम असुल्ने गरेका उजुरीसमेत महाशाखामा आउन थालेका छन् । केही समयअघि मात्रै घैँटेको समूहले गजुरमुखी कन्स्ट्रक्सनमार्फत वीरगन्जमा एक करोड रुपियाँको ठेक्का हात पारेको थियो । उक्त ठेक्का घैँटेले धम्क्याएर आफ्नो फर्मलाई पारेको प्रहरी बताउँछ । घैँटेले सामाखुसी र गोँगबु क्षेत्रमा व्यवसायीबाट असुली गर्थे । एक वर्षअघि चरी मारिएपछि नयाँबजार क्षेत्रमा समेत असुली क्षेत्र विस्तार गरेका थिए उनले । 

प्रहरी विवरण अनुसार घैँटेले सामाखुसी र गोँगबु क्षेत्रका हरेक विद्यालय, कलेज, म्यानपावर, तरकारी पसल र कवाडी गोदामहरूबाट मासिक १० प्रतिशत रकम संकलन गर्न केटाहरू परिचालन गरेका थिए । जसमध्ये सात प्रतिशत घैँटे आफैँले राख्थे भने बाँकी परिचालित केटाहरूलाई बाँड्थे । “धेरै मान्छे मुख खोल्न डराउँछन् तर उनीबाट रोएर बाँचेकाको संख्या ठूलो छ,” खनाल भन्छन् । 

घैँटेले निर्माण व्यवसायी महासंघ र निर्माण कम्पनीबाट छुट्टाछुट्टै कुल ठेक्कापट्टाको ०.२५ प्रतिशत हिस्सा लिने गरेको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ । गजुरमुखी कन्स्ट्रक्सनले वाग्मती करिडोर निर्माण, गोँगबु–गल्कोपाखा सडक, कालीमाटी–कीर्तिपुर सडक पिच गर्ने, बबई सिँचाइ आयोजना र जनकपुर–बर्दिवास रेलवे निर्माणको ठेक्का लिएको छ । प्रहरी अनुसन्धानमा यी ठेक्का लिन घैँटेको समूहले अन्य प्रतिस्पर्धी कम्पनीलाई ठेक्कामा भाग लिने प्रक्रियाबाटै रोकेको पत्ता लागेको थियो । “सके प्रतिस्पर्धामा आउनै नदिने । त्यहाँसमेत रोक्न नसके ठेक्का पाएका कम्पनीबाट प्रतिशत लिने गरेको देखियो,” खनालले अनुसन्धानबाट खुलेका निष्कर्ष सुनाए । 

घैँटे मारिएको भोलिपल्ट ४ भदौमा टेकुस्थित महानगरीय प्रहरी परिसरमा गोँगबुका एक होटल व्यवसायी प्रहरीलाई दुई हात जोडेर धन्यवाद दिइरहेका थिए । उनी भनिरहेका थिए, “पेस्तोल ताकेर पैसा मागेपछि नदिएर के गर्ने ? कसलाई भन्ने ? कसले दिन्छ सुरक्षा ?” 

यस्ता गुनासा धेरै भए पनि व्यवसायी प्रहरीकहाँ उजुरी दिन जाँदैनन्, कुनै पनि बेला निसानामा परिने डरले । घैँटे मारिएपछि भने केही लिखित उजुरी आएका छन् तर नाम गोप्य राख्ने सर्तमा । “अझै पनि उसका केटाहरू छन् । हामीलाई भोलि अप्ठ्यारो पर्न सक्छ,” त्यस्ता व्यवसायीको भनाइ उद्धृत गर्दै खनाल भन्छन् । 

जबरजस्ती रकम असुल्न थालेपछि प्रहरीले राजधानीका गुन्डा समूहविरुद्ध विशेष टोली परिचालन गरेको थियो । हतियारसहित घुमेर यस्ता समूहले व्यवसायीलाई टार्गेट गरेको सुराक महाशाखामा दुई महिनाअघि नै पुगेको थियो । त्यही अप्रेसनको सिलसिलामा घैँटेसँग इन्काउन्टर भएको प्रहरी स्रोतले बताएको छ । प्रहरीले नियमित चेकजाँचका क्रममा घैँटेले फायरिङ खोलेपछि जवाफी कारबाहीमा मारिएको दाबी गरेको छ । तर, घैँटेका आफन्त र नेपाली कांग्रेसका उनीनिकट सभासद्हरूले भने त्यसलाई हत्याको संज्ञा दिएका छन् । जसले गर्दा घैँटेको मृत्यु यसअघि इन्काउन्टरमै मारिएका भनिएका दिनेश अधिकारी ‘चरी’ काण्डजस्तै विवाद र बहसमा तानिएको छ । 

अपराधको संसारमा निर्धक्क सयर गर्दासमेत राजनीतिक नेता र प्रहरीकै कतिपय उपल्ला अधिकारीको संरक्षणका कारण घैँटेलाई कानुनी कारबाहीको दायरामा ल्याउन सकेको थिएन प्रहरीले । पटकपटक पक्राउ र रिहाइको लुकामारीले आजित भइसकेको थियो प्रहरी । त्यसैले प्रहरी कुख्यात अपराधीहरूलाई इन्काउन्टर गर्ने निर्णयमा पुगेको हुन सक्छ । तर, यसले इन्काउन्टरका नाममा प्रहरीले जोकसैलाई गोली हान्न सक्ने खतरा रहेको अपराधशास्त्रमा दक्खल राख्ने अधिवक्ता रजितभक्त प्रधानांग बताउँछन् । भन्छन्, “कानुनभन्दा प्रहरी माथि छ भन्ने सन्देश गएमा त्यसले अर्को संकट निम्त्याउन सक्छ ।” 

आफ्नो फेसबुक स्ट्याटसमा कुमार घैँटेले लेखेका छन्, ‘भूकम्पपछिको नयाँ जीवन । नयाँ सोच, नयाँ जोसका साथ अब बाँकी भएको जिन्दगी यो मेरो देशका लागि । जय नेपाल ।’ तर, उनको नयाँ सोच र जोस पुरानै स्वरूपमा दोहोरिएकाले हुन सक्छ, देशका लागि भन्दा आपराधिक कर्मका लागि बढी ऊर्जाशील बन्यो र अन्तत: प्रहरीको गोलीको सिकार भए ।
प्रकाशित: भाद्र ७, २०७२

साभार :ईकान्तिपुर 



Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis