CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » बर्फि जस्तै गुलियो मिठो ! - फिल्म समिक्षा

बर्फि जस्तै गुलियो मिठो ! - फिल्म समिक्षा


 काठमाडौं, असोज २ - बलिउडका फिल्ममा नेपाली कलाकारले जतिसुकै सानो भूमिका पाए पनि समाचार ठूलो हुने गर्छ, भलै फिल्म हेरेपछि दर्शक निराश किन हुन नपरोस्। फिल्म नहेरुन्जेल गुरुकुलका रंगकर्मी भोलाराज सापकोटाको अभिनय रहेको 'बर्फी'प्रति पनि निर्धक्क हुने आधार थिएन। फिल्म रिलिज भयो। धन्न, भोलामाथि भलो गरिएको रहेछ। 
फिल्मको मुख्य पात्र बर्फी (रणवीर कपुर) बोल्न र सुन्न सक्दैन। बर्फीको लागि प्रेमप
त्र लेखिदिने, बर्फीको दोभाषे बन्ने र बर्फीको विगतको कथा सुनाउने साथीको भूमिका पाएका छन् भोलाराजले। फिल्ममा उनको नाम भोला नै छ। उनले नेपाली लवजमा बोलेको हिन्दी नेपाल र भारत दुवैका दर्शकलाई मिठो र नौलो लाग्नसक्छ।

बर्फी आफैं दार्जिलिङको नेपाली मूलको पात्र हो। एउटा दृश्यमा बर्फीले ढाका टोपी ढल्काउँछ। अरू साधारण पात्रले कतैकतै ऊसँग नेपालीमा संवाद गर्छ। मर्फी ब्रान्डको रेडियोबाट उसको नाम मर्फी राखिएको हुन्छ। परिचय दिने बेला चाहिँ उसको अस्पष्ट जिब्रोले उच्चारण गर्छ, बर्फी।

अधिकांश दृश्य दार्जिलिङकै रहेकोले नेपाली भाषा, ढाका टोपी र मंगोलियन अनुहार ओहोरदोहोर भइरहन्छ। दार्जिलिङको बजार, गाउँ र तराई क्षेत्रका दृश्य यसमा छन्। चियाबगान र छुकछुके सानो रेल छुट्ने कुरै भएन। बंगाली मूलका निर्देशक अनुराग बसुले 'बर्फी'बाट दार्जिलिङलाई ताजा लोकेसन, कथा र पात्रका लागि उर्वर भूमिको रूपमा चिनाउन सक्दो प्रयास गरेका छन्। 
 
फिल्म समीक्षाः
फिल्म : बर्फी
रेटिङः पाँचमा तीन तारा
पटकथा / निर्देशन : अनुराग बसु
निर्माता : रोनी श्रेवाला र सिद्धार्थ रोय कपुर
कलाकारः रणवीर कपुर, प्रियंका चोपडा, इलियाना डित्रु्कज, सौरभ शुक्ला, भोलाराज सापकोटा, रूपा गांगुली आदि। 
 

बर्फी र श्रुति (इलियाना डित्रु्कज)बीच दार्जिलिङको हुस्सुलाग्दो पहाडमा माया टुसाउँछ। तर, आमा (रूपा गांगुली)ले छोरी श्रुतिलाई भावुकताको बादलमा नउड्न सम्झाउँछे। एउटा जंगलमा छोरीलाई लैजान्छे र ढाका टोपी लगाएको एउटा अधवैंसे पुरुषलाई देखाएर आफ्नो तुहिएको प्रेमकथा सुनाउँछे। 'प्रेम जीवनमा एकपटक मात्र हुँदैन र बाँच्नलाई भौतिक बन्दोबस्तको पनि ख्याल गर्नुपर्छ' भन्ने आशयमा आमाले छोरीलाई व्यावहारिक जीवनको पाठ पढाएको प्रसंग फिल्मको एउटा मन छुने दृश्य हो।

श्रुति र बर्फीले कतै पनि एकअर्काका लागि आफूहरू सुहाउँदो छैन भन्दैनन्। तर एउटा विन्दुमा पुगेपछि दुवैले यो महसुस गर्न थाल्छन्। एकदिन श्रुतिले रेल चढेर दार्जिलिङ छाडेको दृश्य टुलुटुलु हेर्न बाध्य हुन्छ बर्फी। जबकि अगाडिको दृश्यमा त्यही रेलमा बसेकी श्रुतिलाई भेट्न बर्फीले 'सटकट'मा घुम्तीहरू छिचोलेको थियो। विछोडको बेला बर्फीसँग कुनै उर्जा बाँकी रहँदैन।

यही दृश्यमा खम्बामा ठोक्किएर उछिट्टिएको बर्फीको साइकलको पाङ्ग्राले सपना चकनाचुर भएको विम्ब उतार्छ। निर्देशक बसुले फिल्ममा दृश्य-विम्ब धेरै सिर्जेका छन्। श्रुतिको घरबाट अन्तिमपटक फर्किने बेला बर्फीले बिग्रेको साइकल र नखुलेको छाता च्यापेर बाटो लागेको, सन् १९७८ को समयबाट एउटा सुरुङमा पसेर सन् १९७२ को समयमा श्रुतिको गाडी फर्केको, गोलाकार पिँजडामा सेतो मुसा घुमिरहेको, बर्फी र झिलमिल (प्रियंका चोपडा)ले भित्तामा ऐनाको सहाराले प्रकाशका डोबहरू खेलाएको जस्ता विम्बात्मक दृश्यले कथा, पात्र र परिवेशलाई बुझ्न अझ सहयोग गर्छ।

श्रुति निस्किएपछि बर्फीको घेराभित्र झिलमिल आइपुग्छे। मानसिक समस्या 'अटिज्म'बाट पीडित झिलमिललाई हतपत कसैले सम्हाल्न सक्दैन। ऊ आफूलाई एक्ली ठान्छे। तर, बर्फीसँगको सामिप्यपछि उसको एक्लोपन हराउँदै जान्छ।

फिल्ममा रणवीर र प्रियंकाले चुनौतीपूर्ण भूमिकालाई न्याय दिएका छन्। 'रकस्टार'पछि रणवीरलाई बिल्कुल फरक पाइन्छ। उनले शारीरिक अभिनय लयात्मक 'टाइमिङ'मा पस्केका छन्। चरित्रमा यति डुबेकी छन् कि, प्रियंकालाई लगभग चिन्नै सकिँदैन। जस्तोसुकै भूमिकामा उनी फिट छिन् भन्ने पुष्टि हुन्छ।

'बर्फी' फिल्मले बारम्बार काउकुती लगाउँछ। यसको कमेडीमा अभिनय, टाइमिङ र सम्पादन कलाको तालमेल मज्जाको छ। कमेडीको नाममा हावादारी दृश्यमा पैसा र कल्पनाशीलता खर्च गर्ने रोहित शेट्टीजस्ता निर्देशकहरूको गालामा गतिलो झापड हो यो।

इन्स्पेक्टर (सौरभ शुक्ला) र बर्फीबीचको लखेटालखेटमा टम एन्ड जेरी र ज्याकी च्यानका फिल्महरूको प्रभाव पाइन्छ। रणवीरको अभिनय चार्ली च्याप्लिनबाट प्रेरित हो कि भन्ने लाग्छ। फिल्मको एउटा दृश्यमा झुलुक्क चार्लीको फोटो पनि देखिन्छ।

फिल्मको तारिफयोग्य पक्ष सम्पादन हो। कन्टिन्युटी मिलाएर जोडजाड गर्ने मान्यताभन्दा माथि उठेको छ यसको सम्पादन। सम्पादकद्वय एन्थोनी गोन्जाल्वेस र अकिभ अलीले 'बर्फी'को कथावाचनलाई खँदिलो र असामान्य बनाइदिएका छन्। कौतुहलता, घटनाको गति र लयलाई रचनात्मक सम्पादनले सन्तुलनमा राखेको छ। 

प्रितमले कम्पोज गरेका गीतहरूमा मिठास छ। संवेदनासँग एकाकार गर्दै गीतहरूले कथालाई अगाडि धेकेल्ने जिम्मेवारी पाएको छ। युरोपका भुगोलमा गएर गाउने र नाच्ने खालका बकम्फुस्रे गीत छैनन्। यसका गीत पूरा बज्दैन, वास्तवमा बज्नु पनि पर्दैन। 

फिल्मले ७० को दशकको दार्जिलिङलाई देखाएको छ। त्यतिबेला दार्जिलिङबासीहरू आवाजविहीन नै थिए। गोर्खाल्यान्डको मुद्दा उठेको थिएन। मूक पात्र बर्फीले दार्जिलिङबासीको यही मौनता र सोझोपनलाई प्रतिनिधित्व गर्छ कि? 

निर्देशक बसुको अघिल्लो फिल्म 'काइट्स'भन्दा निकै गम्भीर र उपलब्धिमूलक कृति हो 'बर्फी'। 'लाइफ इन अ मेट्रो'मा कमाएको साखलाई उनले यसपटक ब्युँताएका छन्। 

सबै हिन्दी फिल्ममा गुलियोपन हुन्छ। तर, धेरैजसो अखाद्य र हानिकारक। 'बर्फी'को गुलियो चाहिँ लाभदायक छ, जिब्रो र हृदय दुवैलाई आनन्द दिने। यो फिल्म एउटा मुडमा अघि बढ्छ र त्यही मुडमा सकिन्छ। दार्जिलिङजस्तै शीतल छ मुड।


दीपेन्द्र लामा, नागरिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis