राहदानी हातमा धमाइदिएपछि ती मुदिर निकै खुसी हुँदै आफ्नो बाटोतिर लागे । राहदानी पाएका धादिङका हरिबहादुर सिंह ठकुरी, हर्कबहादुर आछामे, उदयपुरका टेकबहादुर कार्कीको आँखा भने निकै रसाएका थिए ।
अरूको जस्तो उनीहरूको लगेज थिएन । एउटा झोला थियो । त्यो पनि खाली । फेर्ने कपडा थिएन । उनीहरूलाई आफ्नो मेहनतको फल नपाई घर फिर्नु पर्दा निकै पीडा थियो । 'हामीले त्यस्तो चर्को घाममा दुःख गरी बगाएको पसिना नदिई पठायो,' हरिबहादुरले भने, 'ज्यानको सुरक्षाका लागि घर जान लागेको हो । यहाँ बस्न र खाने ठाउँ नै भएन ।'
त्यसको अघिल्लो दिन बुधबार त्यस मुदिरले त्यति नै तलब नदिई उनीहरूका अरू तीन साथी धादिङकै विनोदप्रसाद धमला, चन्द्रबहादुर नेपाली र रुद्रप्रसाद अधिकालाई पठाएका थिए । 'के सपना बोकेर आएका थियौं ?,' अर्का पीडित टेकबहादुर कार्कीले भने, 'यस्तो हालतमा जानुपर्ने भयो ।'
उनीहरूले ५ महिनाको तलब ५ हजार रियाल -एक लाख १५ हजार रुपैयाँ बढी) नलिई स्वदेश फिर्न बाध्य भए । यहाँ घर बनाउने काममा काम गर्न उनीहरूले एजेन्ट शिव खतिवडालाई पनि त्यतिकै बुझाएर १५ महिनाअघि आएका थिए ।
'हाम्रो दूतावासले नागरिकलाई गर्ने व्यवहार गरेन । अरूको के आशा गर्नु ?,' हर्कबहादुर भन्दै थिए, 'दूतावासले बस्न मात्रै व्यवस्था गदिएको भए हामीले यस्तो पीडा पाउनुपर्ने थिएन ।'
बुमुत्रा कम्पनीले तलब नदिएपछि आश्रय खोज्दै भदौ २४ गते दूतावास पुगेका थिए । राजदूतले आश्रय दिन नसक्ने बताएपछि उनीहरू त्यस दिनबाट सडकमै सुत्न बाध्य भए । 'दूतावासले बाहिर निकालेपछि केही घन्टा दूतावासकै गेटमा बसिरह्यौं । सुरक्षाकर्मीले प्रहरी बोलाइदिएपछि हामीलाई पक्रेर लगेको थियो । अब एसीमा सुत्न पाउँछौं भनेर खुसी भयौं । तर बाटोमै लगेर छाडिदियो,' धादिङका विनोदप्रसाद धमलाले भने, 'यहीं मर्नुरहेछ भने मरिन्छ भन्दै सडकमै चार रात कटाउन बाध्य भयौं । पछि सनैयामा एउटा नेपालीको क्याम्पमा राति छतमा बस्न पायौं ।'
उनीहरू प्रवासी नेपाली समन्वय समितिको सहयोगमा कतारको राष्ट्रिय मानव अधिकार आयोगमा पुगे । कतार फाउन्डेसनको मानव अधिकारकर्मी टोली उनी बसेको ठाउँमा गए । सबैबाट पहल हुन थालेपछि स्पोन्सर आत्तिएर तलब नदिई हत्तपत्त स्वदेश पठाइदिएको हो । 'बस्न मात्रै ठाउँ पाएको भए तलब नलिई र्फकने थिएनौं । यहीं मरिने डर भयो,' हरिबहादुरले भने, 'ज्यान भए त पैसा अन्त पनि कमाइन्छ ।' यस विषयमा नेपाली दूतावास बेखबर छ ।
होम कार्की , ई कान्तिपुर २०६९ आश्विन १६ ०८:२८

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !