CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » दशरथ रंगशाला झन्डै रणभूमिमा परिणत

दशरथ रंगशाला झन्डै रणभूमिमा परिणत


प्रकाश तिमल्सिना, काठमाडौं, माघ ११ - ए डिभिजन लिग फुटबल चलिरहेको दशरथ रंगशाला बुधबार झन्डै रणभूमिमा परिणत हुनपुग्यो। ठूलो क्षति भने केही भएन। हिमालयन शेर्पा क्लबसँग १-० को पराजयसँगै रेलिगेसनमा परेको भक्तपुरे टोली मध्यपुर युथका पदाधिकारी र समर्थनले रेफ्री विकास महतमाथि हातपातको प्रयास गरे। त्यसपछि उत्पन्न विवादले झन्डै ४५ मिनेट रंगशाला तनावग्रस्त बन्यो।
मछिन्द्र र एनआरटीबीचको दोस्रो खेललाई फिफा धुन बजिसकेपछि दुई टोलीका खेलाडीको हात मिलाउने क्रम चलिरहँदा मध्यपुरका पदाधिकारी र समर्थक मैदान प्रवेश गर्दा खेल अवरुद्ध भयो। एक जनाले रेफ्री श्रवण लामाको हातबाट बल खोसेर
लात हान्दै खेल बिथोले।
रेफ्रीको निर्णयको प्रतिवाद गर्दा विगतमा पटकपटक खेल अवरुद्ध भए पनि एउटाको नतिजाले अर्को खेल प्रभावित भएको यो पहिलो घटना हो।
मध्यपुरका पदाधिकारी र समर्थक रेफ्री महतसँग क्रुद्ध हुनुको बहाना भने ७४औं मिनेटमा पेनाल्टी नपाउनु थियो। हिमालयनका सोमबहादुर मल्लले पेनाल्टी बक्सभित्र सामान्य ट्याकल गर्दा निराजन रायमाझी लडेपछि मध्यपुरका पदाधिकारीले पेनाल्टी अपिल गरे। यता टेक्निकल लाइनमा पदाधिकारीले पेनाल्टी अपिल गरिरहँदा मैदानमा खेल भने जारी थियो। खेल सकिएपछि मध्यपुरका प्रशिक्षक तथा अध्यक्ष उपेन्द्रमान सिंह, उपाध्यक्ष अष्टकुमार कवे, क्लबका अन्य पदाधिकारी र समर्थक मैदानबाट बाहिरिँदै गरेका रेफ्रीलाई हात हाल्न तम्सिए। हातपात हुनबाट रेफ्री महतलाई सुरक्षाकर्मीले जोगाएपछि मध्यपुर पदाधिकारीले टेबलकुर्सीमा लात हान्नुका साथै प्लास्टिकका कुर्सी फाले। यता भिआइपी प्यारापिटबाट मध्यपुरका समर्थकले कुर्सी भाचेर ट्रयाकमा फाल्न थाले। स्थिति सम्हाल्न एन्फा पदाधिकारी, स्वयम्सेवक र सुरक्षाकर्मीलाई हम्मेहम्मे पर्यो ।
रेफ्रीलाई नभेटेपछि लगातार विवाद गरिरहेका मध्यपुरका पदाधिकारी अर्को खेल रोक्न मैदानकै मध्यभागमा गएर बसे। पदाधिकारी र अफिसियलले बोलाएपछि समर्थकहरू प्यारापिटबाट ओर्लेर मैदानमा पुगे। मैदानबाट रहेकै बखत एक सुरक्षाकर्मीले उपेन्द्रलाई समेत हात हालेका थिए।
रेफ्रीको निर्णय चित्त नबुझ्नु, समर्थकले गाली गर्नुलाई फुटबलमा समान्य मानिए पनि राष्ट्रिय टोलीका पूर्वकप्तान उपेन्द्रमान सिंहबाट त्यस्तो व्यहारको अपेक्षा गर्न नसकिने आयोजक एन्फाका एक पदाधिकारीले बताउँछन्। 'उपेन्द्रलाई फुटबल नियम सिकाउने कुरा भएन। उनले चाहेको भए यो घटना साम्य हुने थियो। स्थिति साम्य पार्नु कता हो कता उनी आफै त्यसमा सहभागी भए,' ती पदाधिकारीले भने, 'यो फुटबल र स्वयम् उपेन्द्रका सुहाउने काम होइन। कप्तान र राष्ट्रिय टोलीका सहायक प्रशिक्षक भएका उनले एउटा क्लबको प्रशिक्षक वा अध्यक्ष भएर मात्र सोच्न मिल्दैन। समयमा सुरक्षाकर्मी आइनपुगेको भए आज जे पनि हुनसक्थ्यो। यस्ता घटनाले फुटबल संस्कार बन्दैन उल्टो बिग्रन्छ।' २०६३ मा स्थापित मध्यपुरले छोटो समयमा ए डिभिजनको यात्रा तय गर्दा निकै समर्थक पाएको थियो। लिगमा सनसनीपूर्ण सुरुआत गरे पनि मध्यपुर अन्तमा ए डिभिजनबाट घटुवामा पर्ने तेस्रो टोली बनेको छ।
एन्फा पदाधिकारी, स्वयम्सेवक र सुरक्षाकर्मीको लगातारको प्रयासपछि मध्यपुरका पदाधिकारी र समर्थकले मैदान खाली गरेका थिए। एन्फा प्रवक्ता ललितकृष्ण श्रेष्ठले घटनालाई दुःखद भन्दै खेलको अनुशासन कायम राख्न छानबिनपछि आवश्यक कारबाही गरिने बताए। 'हामीले म्याच कमिस्नर, टेक्निकल कमिटीलगायत सबैसँग रिपोर्ट मागिसकेका छौं। हामीसँग भिज्युल पनि छ,' उनले भने, 'त्यो सबैको अध्ययनपछि अनुशासन समितिले दोषीप्रति आवश्यक कारबाहीको निर्णय लिनेछ।' मध्यपुरले पनि रेफ्रीविरुद्ध उजुरी दिएको जनकारी दिँदै श्रेष्ठले, 'सबै विषयमा छानबिन गरेर जतिसक्दो छिटो कारबाही प्रक्रिया अघि बढाइनेछ।'
पोस्टम्याच कन्फ्रेन्समा उपस्थित नभएका मध्यपुर प्रशिक्षक उपेन्द्रले टेलिभिजन च्यानलहरुलाई प्रतिक्रिया दिँदै घटनाप्रति कुनै पश्चाताप नभएको जनाए। 'हामीलाई यस्तो हुन्छ भन्ने पहिल्यै थाहा थियो। हामीले एन्फालाई यो रेफ्री नराख्न पहिला नै अनुरोध गरेका थियौं। किनकि उनी जावलाखेलका हुन्। यो जावलाखेल बचाउने र हामीलाई रेलिगेसनमा पार्ने षडयन्त्र हो। यसकारण मलाई घटनामा कुनै पश्चाताप छैन।' मध्यपुरको हारपछि १४औं स्थानमा रहेको जावलाखेल ए डिभिजनमा सुरक्षित भएको छ।
बुधबारको घटनाका विषयमा हुने कारबाहीका विषयमा प्रतियोगिता नियमावली मौन छ। कुनै पनि वादविवाद समाधान गर्ने अन्तिम अधिकार संघमा निहित हुने नियमावलीमा उल्लेख छ। मध्यपुरमाथि प्रतिबन्ध हुन्छ भन्ने प्रश्नमा प्रवक्ता तथा उपाध्यक्ष श्रेष्ठको जवाफ थियो, 'अहिले यसै हुन्छ भन्न सकिन्न। तर घटनाको छानबिन पछि आवश्यकताअनुसार कारबाही हुन्छ।' एन्फाले मध्यपुरविरुद्ध ठूलै कारवाही गर्ने सम्भावना बढेको छ।
नेपाली फुटबलको नजिर हर्ने हो भने रेफ्रीमाथि हातपात गर्ने क्लबमाथि प्रतिबन्ध समेत लागेको छ। २०३८ सालमा थ्री स्टारविरुद्ध बी डिभिजनको निर्णायक खेलमा रेफ्रीमाथि हातपात गरेपछि ठमेल-११ माथि २ वर्ष तथा चार खेलाडीलाई ३ वर्षको प्रतिबन्ध लगाइएको थियो।

--nagarik 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis