जीवनको नयाँ अध्याय शुरु गरूँ यार। माया नयाँ, सम्बन्ध नयाँ, सम्झौता नयाँ। तिमी कसैको श्रीमती, म कसैको श्रीमान्।'
त्यसपछि मैले गुगलमा निकै बेर खोजेँ। बेसेस रिलेसनको भरपर्दो र गतिलो अर्थ पाइएन। तैपनि ती पुरुषले भनेको भन्दा फरक अर्थ पाइएन। एउटा पात्रले अरू पनि पात्रहरूसँग सम्बन्ध बनाउने तर त्यो पात्रको पहिलो सम्बन्धलाई प्रभाव नपार्ने गरी।
कामकाजी पुरुषहरूको यौन जीवन ध्वस्त हुँदै छ। उनीहरू कामको बोझ, अनावश्यक चाप र दबाबले सायद वैवाहिक जीवनमा निरस हुँदै छन्। कमाइले परिवार हाँसीखुशीमा चले पनि सबै सन्तुष्ट नभएको पाइन्छ। अर्कातिर झम्केसाँझमा मदिरामा लट्ठ हुने यी पुरुष पनि समाजका नयाँ अनुहार होइनन्। सात समुन्द्रपारि पत्नीले कसरी कमाएकी छे, त्यो पैसा खातामा आएपछि मदिरामा लट्ठिएर अरूको पत्नीका फरमाइस पूरा गर्न लालायित छ। अरूका पत्नीमाथि आकर्षणको तेजाब छर्केर आफ्नै जीवन जलाउनेलाई के भन्ने?
गाउँदेखि शहरसम्म अचेल यस्तै सत्यकथा सर्वत्र छन्। विदेशमा भएका बुढाले कमाएको पैसा गाउँकी बुढीले फुर्मास गरेको कथा आउँछ। उसले त रमाइलो गरी नै बिचल्लीमा बिचरा कलिला नानीबाबु पर्छन्। अस्तितिर धादिङको एउटा कथा आएको थियो- 'छोराछोरीलाई होम ट्युसन पढाउन भनेर गएका शिक्षकलाई आमासँग गाउँलेले रंगेहात फेला पारे रे।' शिक्षकको घरकी पत्नीले विष खाइन्। धन्न बेलैमा अस्पताल पुग्दा बाँचिन्। यता आमा गाउँ बस्न नसकेर माइत गइन्। छोराछोरीको बिचल्ली। उता बुढाले भन्दै थिए रे, 'कमाएर पठाएको पैसा कता गयो, बुढेसकालमा बेमानले पारी आपद्मा।' शिक्षक पनि गाउँ बस्न नसकेर शहरमा छिरे। उनको परिवार पनि छिन्नभिन्न भो।
शहरका कथा यस्तै छन्। पत्नी विदेशमा कमाउन गएको वर्षौं भएको छ। बच्चाहरू कि त मामाघरमा छन्, कि त होस्टेलम। पतिका चाहना बग्रेल्ती छन्। छाती सल्बलाएर आउँदो हो। हुने हार, दैव नटार भनेझैँ कहीँ न कतै त भेटिहालिन्छ भड्किएका आत्माहरू। अनि हुन्छ यसरी नै मधुमास, मिलन अर्थात् बेसेस रिलेसन।
हो, समाजमा यौन वर्जित छ। पसलपसलमा कन्डम किन्न पाइन्छ। तर, प्रयोग गर्न पाइन्न। पार्कमा गए झापामा जस्तो सामूहिक बलात्कारमा परिन्छ। होटलमा गए प्रहरी सार्वजनिक ठाउँमा असामाजिक कार्य गरेको भन्दै समातेर लैजान्छ। त्यतिमात्रै होइन, सिटामोल नपाइने ठाउँमा भियग्राका क्याप्सुल पाइन्छ। पाठ्यक्रमका किताब नपुगेको गाउँमा अश्लील फिल्मका सिडी पुग्छन्। अनि यौन प्रसाधनका सामग्री उत्तिकै पुग्छन्। समाज अराजक, भडि्कलो र भ्रष्ट हुँदै गएको छ।
समाज आर्थिक भ्रष्टाचारमो मुद्दामा फसिरहेको छ। धाराको टुटी खायो रे, कपडा पसलबाट स्टेसनरीको बिल बनाएर खायो रे। अलि अघि सुनिएको थियो- महँगो औषधिको बिल भनेर सुत्केरी हुँदा खाने फोर्टुम पनि खाए रे। अहिले आर्थिक भ्रष्टाचारका समाचारले अखबार, टिभी भरिएको देखिन्छ। तर, मानिस यसरी सामाजिक र नैतिक रूपमा भ्रष्टाचारमा लिप्त भएको कुरा लुकेको छ। भोलिको समाज कस्तो होला? त्यता पनि चिन्ता गर्ने बेला भइसकेको छ।
खोइ, चिन्ता पनि के गर्ने? गीतहरू उस्तै छन्। फिल्महरू उस्तै छन्। पत्रिकाका पाना उस्तै छन्। टिभीका विज्ञापन उस्तै छन्। तातो पानी तताएर खान नपुग्नेहरूको हातमा पत्रिका छ र पत्रिकामा यौन स्वास्थ्यका तन्दुरुस्तीका विज्ञापन छन्। अनि कसरी समाज ब्रह्मचर्यमा बसोस्। त्यसमागि जीवनका हर रहर पूरा हुन्छन् भने किन समाज लुकीछिपी बेसेस रिलेसनमा नलागोस्। भ्रष्ट छ समाज। अचेल को गाउँछ र, 'गाई त बाँध्यो ढुंग्रोमा मोई छैन।' सबैका मुखमा झुन्डिएको छ, 'तिर्खा लाग्यो पानी खाएँ मैले के बिराएँ।' हो, समाज बेसेस रिलेसनमा डुबिरहेको छ।
-- रामकुमार एलन-

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !