काठमाडौ, माघ २३ - लासभेगास -एजेन्सी)- अमेरिकाको लास भेगासका ७४ वर्षे चिकित्सक जेफरी लाइफ बूढो हुनबाट बँच्ने तरिका सिकाउँछन् । शरीरको बनावट र कार्य क्षमताले उनलाई आफ्नो उमेरभन्दा आँधी देखाउँछ । भर्खरका युवामा पनि उनको झैं पुष्ट मांसपेशी देख्न पाइन्न ।
हँसिलो स्वभावका जेफरी मृदुभाषी र फूर्तिलो छन् । पेशाले चिकित्सक उनी दीर्घायुको
कामना गर्ने कारोबारका 'पोस्टर ब्बाई' बनेका छन् । ५० वर्षको उमेरमा भुँडे आकृतिको शरीरले उनमा मृत्युको त्रास उत्पन्न भएको थियो । 'यतिबेला मेरो उमेर गजब आकृतिको हुन गएको थियो,' उनी भन्छन्, 'बोसोले उत्पन्न मधुमेह र मुटुको रोगले हैरान थिएँ ।'
तनावमा दिन बितिरहेको बेला कुनै रोगीले उनको क्लिनिकमा एक दिन मांसपेसीलाई गठिलो बनाउने पत्रिका बिर्सेर गएछन् । यही पत्रिकाबाट प्रेरित भएर उनले आफ्नो शरीरलाई सही आकारमा ल्याउने निर्णय गरे । उनले एक वर्षभित्र जिममा अभ्यास गरेर शरीरलाई युवा रूप दिन सफल भए । सन् १९९८ मा उनले शरीरमा नाटकीय परिवर्तन ल्याउन सफल व्यक्तिहरूको प्रतियोगिता 'बडी फर लाइफ' मा सहभागी भए । ५५ वर्ष उमेरमाथि सहभागी यो प्रतियोगितामा उनी प्रथम भए ।
'यो प्रतियोगिताले उमेरका बारेमा व्याप्त परम्परागत धारणामा परिवर्तन ल्यायो,' उनी भन्छन्, 'जीवन परिवर्तन भयो, मेरो लागि यो राम्रो अनुभव थियो ।' तर, उमेर बढ्दै जाँदा शारीरिक सन्तुलन कायम राख्न उनलाई कठिन भयो । ६० वर्षको उमेर पार गरेको बेला लास भेगासमा भएको चिकित्सकीय सम्मेलनमा उनको भेट 'सेनेजेनिक्स' नामक एज म्यानेजमेन्ट कम्पनीसँग भयो । यो कम्पनीले ग्राहकलाई युवा देखाउन र महसुस गराउने दाबी गर्दै आएको थियो ।
प्रकाशित मिति: २०६९ माघ २३ ११:०७
