एघार हजार भोल्टको करेन्ट उनको ज्यानले कतिबेर सहन सक्थ्यो ! ती व्यक्ति ३० फिट अग्लो खम्बाबाट तल खसे । धन्न सिधै भुइँमा बजारिएनन् । २८ फिटजतिमा उनको दाहिने खुट्टा बिजुलीको तारमा अल्झियो । उनको जीउ उत्तानो परेर तुर्लुंग भुइँतिर झुन्डिरह्यो।
वरपरका सारा व्यक्तिको सास घाँटीमै अड्किएको थियो । कसैको होसहवास थिएन । न आँखा चिम्लन सक्थे, न मद्दतको हात बढाउन सक्थे । डरले आँखा झिमिक्क नगरी यस्तरी हेरिरहे, मानौं आकाशमा उड्दाउड्दैको जहाज जमिनमा ठोक्किन आउँदैछ।
‘हामीलाई त सपना देखेजस्तै भयो,’ प्रत्यक्षदर्शी ट्राफिक प्रहरी कर्ण कुमालले भने, ‘माथि बिजुलीको तारमा जिउँदै जलिरहेको मान्छे तुर्लुंग झुन्डिरहेको थियो, सपना हो कि बिपना छुट्याउनै गाह्रो ।’
उनलाई सपनाजस्तो लागे पनि करेन्टको तारमा झुन्डिरहेका कपिल श्रेष्ठका सहोदर भाइ रविन्द्रको निम्ति भने त्यो तितो यथार्थ थियो।
जलिरहेका दाइलाई झार्न रविन्द्र दायाँबायाँ केही नहेरी खम्बामाथि चढे।
उनको आँटले अरूको पनि होस फिर्यो ।
रविन्द्र २८ फिटको उचाइँमा अल्झिएका दाइलाई तान्न थाले । अरू दुई कामदारले उनलाई सहयोग गरे । बाँकी भुइँमा हात फैलाएर कपिललाई समात्न अघि सरे।
रविन्द्रले जलिरहेका दाइको शरीरलाई भुइँतिर धकेले । निर्वस्त्र कपिल सहयोगी हातहरूको जालीमाथि खसे । अघिसम्म डरले आँखा चिम्लन नसकेकाहरू नै आखिरमा उनको सहारा बने । उनलाई २८ फिटबाट भुइँमा बजारिन दिएनन्।
यति भइसकेपछि बल्ल प्रहरी घटनास्थलमा आइपुग्यो।
एक ट्याक्सी ड्राइभरले आफ्नै सक्रियतामा ढिलो नगरी घाइतेलाई टिचिङ अस्पताल पुर्याउन मद्दत गरे।
...
...
रामेछाप गजपानीका ३३ वर्षे कपिल श्रेष्ठ अहिले टिचिङको ‘बर्न वार्ड’ मा छन्।
एघार हजार भोल्टको करेन्ट सरेर उनको देब्रे हात पूरै जलेछ । डाक्टरहरूले साउन ७ गते राति कुहिनोभन्दा तल काटेर फाले । टाउकोदेखि मुनि छातीको भाग जम्मै जलेको छ । अनुहारबाट छालाको पत्र यस्तरी निस्किएको छ, परिचितहरूले पनि उनलाई सजिलै खुट्टयाउन सक्दैनन् । खुट्टामा ब्यान्डेज छ । माथिबाट थोपा–थोपा झरेको सलाइन पानीको तप्किनले उनको ज्यान थामेको छ, अहिलेसम्म।
कपिल होसमै छन् । बोल्न भने सक्दैनन् । बेलाबेला उनको देब्रे आँखाबाट तर्र आँशु झर्छ । लाग्छ उनलाई जलेको शरीरको मात्रै पीडा छैन । त्योभन्दा बढी पीडा छ, जलेका सपनाको।
गाडीमा बालुवा लोड गर्ने कामले ९ जना परिवारको गुजारा नचल्ने भएपछि कपिललाई पेसा परिवर्तन गर्ने विचार आयो।
सरकारले धमाधम काठमाडौंका बाटो चौडा बनाइरहेको थियो । उनले त्यसमा राम्रो आम्दानीको बाटो देखे । एउटा कम्पनीमा बिजुलीको काम पाए । दैनिक आठ घन्टा खट्दा खाईपाई गरेर पाँच सय रुपैयाँ हात पथ्र्यो । पाँच महिनादेखि यसैगरी कमाएको पैसा घरमा बुवा, आमा, तीन भाइ, श्रीमती र छोराछोरीलाई पालनपोषण गर्न पठाउँदै आएका थिए।
चित्तबुझ्दो कमाइ भएपछि उनले एक महिनाअघि साइँलो भाइ रविन्द्र श्रेष्ठलाई पनि यही पेसामा ताने । दुई भाइको कमाइले सगोल घरमा व्यवहार चलाउन सजिलो हुन्थ्यो।
पाँच महिनादेखिको यो सपना त्यतिबेला चकनाचुर भयो, जब बिजुली बनाउन सांग्रिला होटल अगाडिको खम्बा चढ्दा कपिलले मुख्य लाइनको तार छुन पुगे।
‘अस्पताल पुर्याउँदासम्म दाइको हात डढेर पूरै गन्हाइरहेको थियो, डाक्टरले अब काम लाग्दैन भनेर कुहिनोदेखि तलको भाग काटेर फालिदिए,’ कपिलका भाइ रविन्द्रले भने, ‘धन्न ज्यान बच्यो ।’
त्यो दिन आफू पनि सँगै काम गरिरहेका भए दाइको ज्यान नबच्ने उनी बताउँछन्।
त्यो दिन आफू पनि सँगै काम गरिरहेका भए दाइको ज्यान नबच्ने उनी बताउँछन्।
उनले दाइको दुर्घटनाको खबर भोलिपल्ट मात्र घरमा सुनाएका थिए । बूढा भइसकेका आमाबुवा गाडीको सास्ती झेलेर आउन सक्ने कुरा भएन । श्रीमती शान्ताको मन भने कहाँ अडिन्थ्यो र !
खबर सुन्नादेखि उनी घाइते पन्छीजस्तो छट्पटाउन थालिहालिन् । मन अतासिएर घरिघरि मुर्छै मरिएलाजस्तो हुन्थ्यो रे । बुधबार साँझ ९ वर्षे छोरी च्यापेर काठमाडौं आइन् । श्रीमानको अनुहार आँखाअगाडि परेपछि मात्र उनलाई सास फर्केजस्तो भएको छ।
किसानीबाट वर्षभरि परिवारको पेट पाल्न नपुग्ने भएपछि उनैले श्रीमान्लाई काठमाडौं जान जोडबल गरेकी थिइन् । आफूले नजाने पनि सिक्छु भनेर कपिल बिजुलीको काम गर्न सुरिएका थिए । उनको त्यही आँटले जीवन अपांग बनाइदियो।
‘दिनभरि काम गरेर बेलुकीको छाक टार्नुपर्छ,’ भाइ रविन्द्रले भने, ‘दाइ यस्तो भएपछि अब कसरी गुजारा चल्छ?’
...
...
बिजुलीको काम गर्दा यसरी दुर्घटनामा पर्ने कपिल एक्ला होइनन्।
उनीजस्ता ज्ञान नभएका, तर रोजगार चाहिएकालाई यस्तो जोखिमपूर्ण काममा लगाउँदा वर्षेनी एक दर्जनजति दुर्घटना हुने गरेका छन् । यसमा कतिले ज्यानै गुमाउँछन्, कतिको कपिलजस्तै अंगभंग हुन्छ । बिजुलीजस्तो अतिसंवेदनशील र जोखिमपूर्ण क्षेत्रमा दक्षता भएका कर्मचारीमात्रै लिनुपर्छ । तर, ठेकेदार कम्पनीहरू बिजुलीको कामै नजानेकालाई पनि सिकाउँदै काममा लगाउँछन् । यसले दुर्घटनाको जोखिम बढाउँछ । अदक्ष कामदार सस्तोमा पाइने लोभले पनि ठेकेदार कम्पनीहरू यस्ता जोखिम मोल्न तयार हुन्छन्।
ठेकेदार कम्पनी ‘सृष्टि बिल्डर्स’का मुख्य ठेकेदार अमर शाक्यले त्यस्तै व्यक्तिहरूलाई पाँच महिनाअघि काममा लगाएका थिए । कपिलको दुर्घटना भएकै दिनदेखि अमर बेपत्ता छन् । उनको मोबाइल त्यही दिनदेखि ‘स्विच अफ’ छ । कपिललाई त्यस दिन काम लगाउने नाइके हरि खड्काले उनको उपचार खर्च बेहोरिरहेका छन्।
‘उपचार कसले गर्ने भन्ने कुरा ठूलो होइन,’ रविन्द्रले भने, ‘हामीजस्ता निमुखाले कहिलेसम्म यस्तो मार खेपिरहने?’
विद्युत प्राधिकरणले बिजुलीका खम्बामा काम गर्ने जिम्मा ठेकेदार कम्पनीलाई दिन्छ । ठेक्कामा लगाए पनि प्रत्येक ठाउँमा कामदार पठाउनुअघि बिजुली निभाए/ननिभएको, सतर्कता उपाय र जोखिम कम गर्ने साधनहरूको सुपरीवेक्षण जिम्मा प्राधिकरणकै हो।
‘त्यस दिन हामीले आफ्नो कर्मचारी सुदर्शन महर्जनलाई खटाएका थियौं,’ विद्युत प्राधिकरण महाराजगन्ज वितरण केन्द्रका कार्यालय प्रमुख अनिरुद्र यादवले भने, ‘उहाँले तलको ४ सय भोल्टको तारमा काम गर्न पठाउनुभएको रहेछ, तर कामदारले माथिको ११ हजार भोल्टको तार छुँदा यस्तो दुर्घटना भयो।’
आफ्नो गल्तीबाट मजदुरको ज्यानै जाने स्थिति आउँदा पनि प्राधिकरणले कामदारकै गल्ती भनेर ढाकछोप गर्न खोजेको छ।
यसरी वर्षैपिच्छे गुमनाम मजदुरको ज्यानै जाने वा अंग भङ्ग हुनथालेपछि विद्युत प्राधिकरण सञ्चालक समितिले बोर्ड मिटिङ राखेर सुरक्षा अपनाउनु पर्ने निर्णय गर्यो ।'विजुलीको पोल चढ्नुअघि के कस्तो सावधानी अपनाउनुपर्ने भन्ने बोर्ड मिटिङबाटै हामीले निर्णय गर्यौ',पूर्व सञ्चालक मोहनराज पन्तले भने,' तैपनि यसरी अनाहकमा दुर्घटनामा पर्नेको संख्या घटेको छैन ।'
‘ठेकेदारलाई नै जिम्मा दिए पनि उनीहरूले नन–टेक्निकल मान्छे राख्न नहुने कडा व्यवस्था गर्नुपर्छ,’ प्राधिकरणकै एक कर्मचारीले भने, ‘ठेकेदारलाई दिएपछि उसैले उपचार गरिहाल्छ भन्दा यस्ता दर्दनाक घटना वर्षैपिच्छे हुन्छन्।’
ठेकेदारलाई दिए पनि प्रक्रिया पुर्याएर, दुर्घटनाको कुनै सम्भावना नहुने भएपछि मात्रै काममा लगाउनुपर्ने उनले बताए ।
यसरी लागेको थियो कपिल श्रेष्ठलाई करेन्ट हेर्नुहोस् तस्विरमा(तस्विर सौजन्य:सुवेच्छा भडेँल)
साभार : सेतो पाटी

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !