रु.३ अर्ब ठगेर अमेरिका पुगेका पवनकुमार कार्कीलाई फर्काएर कारबाही गर्ने सरोकारवाला निकायको कठिन प्रयास जारी छ।
१२ वर्षअघि काठमाडौंमा मासुको सानोतिनो व्यापार गर्दा पनि ब्याङ्क खोलेर अर्बौं कमाउने महत्वाकांक्षा साथीभाइलाई सुनाउने पवनकुमार कार्की (४५) ले बत्तीसपुतलीमा 'क्यापिटल मर्चेन्ट ब्याङ्किङ एण्ड फाइनान्स' खोल्ने सफलता हासिल गरे। सो फाइनान्सको प्रबन्ध संचालक र संस्थापक शेयर होल्डर बनेका उनी आफ्नै ससुरा शम्भुबहादुर केसी, फाइनान्सका अध्यक्ष विज्ञानप्रसाद पौडेल, मनोज खनाल, राजु कार्की र हरिहर खड्कालाई फसाउँदै करीब तीन अर्ब रुपैयाँ कुम्ल्याएर दुई वर्षअघि अमेरिका भाग्न सफल भए।
वरिष्ठ अधिवक्ता शम्भु थापा पनि यो प्रकारको ठगी गरेर अमेरिका पुगेको मानिसलाई फर्काउन गाह्रो हुने बताउँछन्। युद्ध अपराधमा संलग्न वा अपराधमा रकम प्रयोग गरेको प्रमाणित नभएसम्म इन्टरपोलले वारेण्ट जारी गर्दैमा अमेरिकाले कसैलाई पक्राउ नगर्ने तथा सम्पत्ति शुद्धीकरणको 'केस' अमेरिकाबाट फर्काउने गरी बलियो हुन नसक्ने उनको भनाइ छ। थापा भन्छन्, “स्थायी बसोबास गर्ने अधिकार पाएको मानिसलाई अमेरिकाले सुरक्षा दिने हुनाले नेपाल सरकारको बलियो कूटनीतिक पहल विना पवनलाई पक्राउ गराउन र फर्काउन सकिने सम्भावना छैन।”
भान्दाइ शम्भुबाट ठगिएका श्रीराम खत्रीले प्रहरीसँगको बयानमा फाइनान्सको संस्थापकको संख्या पुर्याउन कागजात मागेकाले दिएको र विश्वासमा परी कागजातको बेहोरा समेत नपढी सहीछाप गरिदिएको बताउँदै भने, “मेरो नाममा कसले के कति लगानी गरी के कसरी मेरो शेयर राखी कारोबार गरे मलाई केही थाहा भएन।”
काठमाडौंको बानेश्वर हाइटमा घर (हे. तस्वीर) भएका पवनकुमार कार्कीले २०५५ मा जयबागेश्वरीमा भाडाको एउटा सटरमा मासु पसल खोलेका थिए। होटल र रेष्टुरेण्टमा मासु सप्लाई गर्न पाएपछि व्यापार अरू बढेकाले उनले धुम्बाराहीमा साझेदारीमा 'राजधानी कोल्ड स्टोर' खोले। त्यसको कमाइले उनले विनोद राणासँग मिलेर नयाँबानेश्वरमा डान्स रेष्टुरेण्ट पनि शुरू गरे। मासु पसल र डान्स रेष्टुरेण्टको हिसाब हेर्ने शिखर लम्सालसँग मिलेर त्यही बेलादेखि छिटै पैसा कमाउने धुनमा उनी अनेकौं योजना बुनिरहेका हुन्थे।
शम्भुबहादुर केसी
२०५५ जयवागेश्वरीमा खोलेको मासु पसल २०५६ पछि धुम्बाराहीको यो घरमा विस्तार
नक्कली परियोजनाका लागि ऋण लिएर रु.३ अर्ब ३८ करोड ५९ लाख ४९ हजार हिनामिना गरेका पवन अहिले अमेरिकाको टेक्सासमा 'नमस्ते इन्डिया ग्रसरी स्टोर' चलाएर बसिरहेका छन् भने उनले फसाएका सबै यहाँ थुनामा छन्। सबैलाई जिल्याएर सात समुद्रपारि पुग्न सफल उनलाई नेपाल र अमेरिकाबीच सुपुर्दगी सन्धि नहुनु तथा अदालतले अभियोगबारे फैसला गरिनसक्नु जस्ता कारणले यहाँ झुक्काएर कारबाही गर्न सरकारले सकेको छैन। त्यसो त, नेपालको वित्तीय क्षेत्रमा पछिल्लो तीन वर्षमा भएका ठूला घोटालामा रु.११ अर्बभन्दा बढीको ठगी भएको देखिन्छ (हे. छुट्टै रिपोर्ट)।
झुक्काउने प्रयास जारी
सर्वसाधारणको निक्षेप फिर्ता गर्न नसकेपछि नेपाल राष्ट्र ब्याङ्कले क्यापिटल मर्चेन्ट फाइनान्सलाई समस्याग्रस्त घोषणा गर्र्दै अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ। २५९८९७६ नम्बरको राहदानी भएका पवनलाई नेपाल झुक्काउन नेपाल प्रहरीले इन्टरपोललाई आग्रह गरेको छ भने अर्थ मन्त्रालयले पनि कूटनीतिक पहल गरिरहेको छ। तर, अमेरिकामा कानूनी रूपमा स्थायी बसोबास गर्न पाउने ग्रीन कार्ड रहेका उनलाई फर्काउन अमेरिकाले अरू कागजपत्र खोजेको छ।
पवन कार्की
रेडकर्नर नोटिस जारी गर्न अदालतको फैसला चाहिने भए पनि पुनरावेदन अदालत पाटनले पवनको नाममा जारी गरेको हाजिर हुन आउने सूचनालाई आधार बनाउँदै नेपाल प्रहरीको इन्टरपोल शाखाले अमेरिकी प्रहरीको इन्टरपोललाई 'डिफ्युजन नोटिस' पठाएको छ। सोही नोटिसका आधारमा अमेरिकाले उनलाई पक्राउ गरी इन्टरपोल मार्फत यहाँ पठाउन सक्ने नेपाल प्रहरीका एक माथिल्लो तहका अधिकृत बताउँछन्।
पवनलाई झुक्काउन अर्थ मन्त्रालयले सम्पत्ति शुद्धीकरणको प्रक्रियाबाट पनि कारबाही अघि बढाउँदैछ। यो प्रक्रिया अघि बढाइरहेको अर्थ मन्त्रालयका एक अधिकृत अमेरिका समेत यो प्रक्रियाप्रति सकारात्मक रहेकाले पवनलाई फर्काउन सकिने विश्वास गर्छन्। तर, राष्ट्र ब्याङ्क, प्रहरी र सम्पत्ति शुद्धीकरण विभागको संयोजनमा अघि बढ्नुपर्ने यो प्रक्रिया त्यति सजिलो नरहेको उनै अधिकृत बताउँछन्। तैपनि, अमेरिकी सरकारले मागे अनुसार गृहले अर्थ हुँदै परराष्ट्र मार्फत कार्कीको औंलाको छाप भने पठाइसकेको छ।
२०५७ बत्तीसपुतलीमा क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स सञ्चालन
नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता भाष्करमणि ज्ञवाली चाहिं ब्याङ्किङ कसुर गरेर विदेश भागेका पवन जस्तै अरूलाई पनि स्वदेश फर्काउने गरी सरकारबाटै कूटनीतिक पहल भइरहेको दाबी गर्छन्।
आफन्त नै फसे
पवन र ससुरा शम्भुले मिलेर ४४ जना आफन्त, छिमेकी र गाउँलेलाई कम्पनी खोल्न लगाई आफ्नै फाइनान्सबाट ऋण झिक्न लगाएका थिए। पवनको बद्मासीका कारण अहिले यो फाइनान्स प्रकरणमा प्रतिवादी ७४४ जना विरुद्ध ४६ वटा मुद्दा परेको छ।
ऋण पाएका उनीहरूलाई चेकमा सही गर्न लगाएर फाइनान्सकी कर्मचारी रिना तण्डुकारलाई प्रयोग गर्दै शम्भुले नेपाल इन्भेष्टमेन्ट ब्याङ्क लि., ब्याङ्क अफ काठमाण्डू, एभरेष्ट ब्याङ्क र रोयल मर्चेन्ट ब्याङ्किङ एण्ड फाइनान्स लि.मा रहेको आफ्नो खातामा सबै रकम सारे। त्यसरी निकालिएको रु.२ अर्ब ५० करोड शम्भुले पवनलाई दिए भने रु.६० करोड पवन अमेरिका भाग्दासम्म उनकै खाताबाट कारोबार भएको थियो।
पुस २०६८ मा काठमाडौं नक्सालबाट पक्राउ परेपछि भने प्रोग्रेसिभ फाइनान्सका पनि सञ्चालक रहेका शम्भुले पवनकै योजनामा सबै काम गरेको बयान दिएका छन्।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का तत्कालीन प्रहरी नायब निरीक्षक ओम अधिकारी कागजात र चेक लिन शम्भुले आफन्तहरूलाई 'गाउँमा ज्वाईंको जमीन धेरै भएकोले हदबन्दी लाग्ने वा माओवादीले कब्जा गरिदिने सम्भावना रहेकाले त्यो जमीन दिने' जस्ता लोभ देखाएका थिए। कतिलाई चाहिं छोराछोरी विदेश पढ्न पठाउन सजिलो हुने खालको कागज बनाउने लोभ देखाउँदै उनीहरूले नागरिकता र तस्वीर हात पारेको अधिकारी बताउँछन्। यसरी हात पारेको कागजात प्रयोग गर्दै खोला, भीरका सस्ता जमीन किनेर उनीहरूले आफ्नै फाइनान्सबाट ऋण निकालेका थिए।
बिलाश राई
नेपाल प्रहरीले दिएको विवरण अनुसार गुगल अर्थबाट लिइएको अमेरिका स्थित पवन कार्कीको सुपरमार्केट।
प्रहरीको अनुसन्धानबाट ३०७ रोपनी डाँडा र खोलाका जमीन प्रयोग गरेर ऋण निकालिएको पत्ता लागेको छ। कैयौं मानिस पवन भागेर अमेरिका पुगेपछि प्रहरी खोज्दै आउँदा मात्र आफ्नो नाममा ऋण निकालिएको थाहा पाएर छक्क परेका थिए। त्यसरी ठगिएका शान्ति केसी सहित ४४ जनाले आफूहरू निर्दोष रहेको बताउँदै ठगीका नाइकेहरूलाई कारबाही गर्न नेपाल राष्ट्र ब्याङ्कमा निवेदन दिएका छन्।
नेपाल राष्ट्र ब्याङ्कको टोलीले त्यस सम्बन्धी कागजपत्र अध्ययन गर्दा गौरीशंकर इन्भेष्टमेन्ट कम्पनी प्रा.लि., बलदेव खड्का, श्रीराम खत्री, विजेश्वरी आवास विकास कम्पनी, मदनबहादुर खड्का, सुशोभन डेभलपर्स, उद्यम मल्टी इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ्ग कम्पनी, बूढा महाँकाल खाद्य प्रोडक्ट, संयोग हाउजिङ्ग एण्ड डेभलपर्स लगायतका ऋणीहरूको कर्जा फर्जी कागजातको आधारमा दिइएको पत्ता लगायो। कैयौं कम्पनी र ऋणीहरूलाई त टोलीले भेट्न पनि सकेन।
सबै कसूर स्वीकारेका शम्भुलाई प्रमाण पनि जुटेपछि ब्याङ्किङ कसूर तथा सजाय ऐन २०६४, ब्याङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन २०६३, नेपाल राष्ट्र ब्याङ्क ऐन २०५८ र राष्ट्र ब्याङ्कले ब्याङ्क तथा वित्तीय संस्थाहरूलाई जारी गरेको एकीकृत निर्देशन २०६७ बमोजिम जेल पठाइएको छ।
नियत नबुझेर फसेकाहरू
जो फसेः पवन र शम्भुको नियत थाहा नपाएर फसेका फाइनान्सका संचालक, संचालक समितिका अध्यक्ष तथा प्रबन्ध संचालक विज्ञानप्रसाद पौडेल (८५), कम्पनी सचिव तथा प्रमुख संचालन अधिकृत शिवराम जोशी (७०)।
पवन र शम्भुको नियत थाहा नपाएर फसेका फाइनान्सका संचालक, संचालक समितिका अध्यक्ष तथा प्रबन्ध संचालक विज्ञानप्रसाद पौडेल (८५), फाइनान्सका वरिष्ठ अधिकृत मनोज खनाल, महाप्रबन्धक, कम्पनी सचिव तथा प्रमुख संचालन अधिकृत शिवराम जोशी, फाइनान्सकै संचालकहरू लक्ष्मणप्रसाद पौडेल, विनयकुमार गुप्ता, सुष्मा के.सी, सोमराज रेग्मी अझै थुनामा छन्।
महाप्रबन्धक, कम्पनी सचिव तथा प्रमुख संचालन अधिकृत शिवराम जोशीले (७०) पवन र शम्भुको निर्देशन अनुसार २८ जनालाई ऋण दिने कागजमा हस्ताक्षर गरेका थिए। १४ पुस २०६८ मा पक्राउ परेका जोशीले बयानमा भनेका छन्, “ब्याङ्किङ प्रक्रिया अनुसार ऋण शाखाबाट सिफारिश भई आएको फाइलमा निर्णयका लागि कर्जा समितिमा पेश गरेर कर्जा समितिको निर्णय कार्यान्वयन गराउन संचालक समितिमा पेश गर्ने गरी हस्ताक्षर गरेको हुँ।” आन्तरिक प्रशासन र अर्थ व्यवस्था हेर्ने उनको जिम्मेवारी भए पनि कर्जा रकम क–कसले दुरुपयोग गरे भन्ने थाहा नभएको उनको भनाइ छ। फाइनान्सका अध्यक्ष पौडेल पनि ऋण टिप्पणी, धितो निरीक्षण, मूल्याङ्कन लगायत कर्जा शाखाबाट सदर भएर आएकाले ऋण सदर गरेको बताउँछन्।
महत्वाकांक्षाले ठगी
फाइनान्सबाट छिटै पैसा कमाउन सकिने बुझेपछि पवनले २०५७ मा बत्तीसपुतलीको एउटा घरमा दुई फ्ल्याट भाडामा लिएर 'क्यापिटल मर्चेन्ट ब्याङ्किङ एण्ड फाइनान्स लिमिटेड' खोले । फाइनान्स खोल्नुअघि नै उनले राष्ट्र ब्याङ्क तथा अन्य ब्याङ्क/वित्त संस्थामा काम गरिसकेका धेरै पूर्व कर्मचारीहरूलाई विश्वासमा लिइसकेका थिए। फाइनान्समा निक्षेप पूँजी र लगानी धेरै भएपछि उनले ऋणका नाममा पैसा निकालेर भाग्ने योजना बनाए। जसलाई ससुरा शम्भुबहादुर केसी (५३) ले साथ दिए। उनले सबै रुपैयाँ चार/पाँच वर्षको बीचमा हुण्डी मार्फत अमेरिका पुर्याएका थिए। फाइनान्सलाई चाँडै वाणिज्य ब्याङ्क बनाउने महत्वाकांक्षी योजना सुनाएर सर्वसाधारण र शेयरधनीको ध्यान आफूतिर तानेका पवनको बद्मासीले संस्थामा रु.३ अर्ब ३८ करोड ५९ लाख ४९ हजार घोटाला भयोभने रु.९३ करोड ५० लाख चुक्ता पूँजी भएको कम्पनीमा अरू सबै सर्वसाधारणको निक्षेप हिनामिना भएपछि अहिले फाइनान्स समस्याग्रस्त बनेको छ।
'ज्वाईंकै योजनामा काम गरें'
मेरा आफ्नै ज्वाईं क्यापिटल मर्चेन्ट ब्याङ्किङ एण्ड फाइनान्स लिमिटेडका पूर्व प्रबन्ध संचालक एवं संस्थापक शेयर होल्डर पवनकुमार कार्कीको योजनामा सबै काम भएको हो। ज्वाईं अहिले अमेरिकाको टेक्सासमा हुनुहुन्छ।
उहाँकै योजनामा अभिलेख डेभलपर्स प्रा.लि. समेतका कम्पनीका शेयर धनी तथा संचालक, विभिन्न उद्योग एवं उद्योगका प्रोप्राइटर र धितो जमानत दिने जमानतकर्ता कृत्रिम रूपमा खडा गरियो। फाइनान्स व्यवस्थापन समितिको सहमतिमा आफन्त, दाजुभाइ, इष्टमित्र, नातागोताका व्यक्तिलाई संलग्न गराई कम्पनी र उद्योग दर्ता गराएँ। केही दर्ता भइसकेका उद्योग एवं फर्मका जमीन धितो राखेर आफ्नै फाइनान्सबाट कर्जा स्वीकृत गराएपछि नाताका मानिस र फर्महरूको नाममा जमीन खरीद गरी त्यही जमीन फेरि धितो राखेर कर्जा लियौं।
ब्याङ्कको संचालक र व्यवस्थापनको सहमतिमा ब्याङ्कको रकमबाट खरीद गरिएको जमीन ब्याङ्कमै धितो राख्न ४४ जनाबाट मन्जुरीनामा गराएर ऋण निकाले। उनीहरूले मेरै विश्वासमा कागजात समेत नहेरी हस्ताक्षर गरे। त्यसैले कागजी रूपमा ती ऋणीकै कानूनी दायित्व भए पनि ब्याङ्कमा तिर्नुपर्ने सबै दायित्व लिन र भोग्नुपर्ने सजाय भोग्न म तयार छु।
(हाल जेलमा रहेका केसीले २ कात्तिक २०६८ मा प्रहरीलाई दिएको बयान)
- डम्बरकृष्ण श्रेष्ठ, हिमाल

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !