CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » कामदारको भिडियो खिच्ने कतार पुलिसको फन्दामा

कामदारको भिडियो खिच्ने कतार पुलिसको फन्दामा

कतारमा आप्रवासी कामदारहरुलाई दाससरह व्यवहार गरी काममा लगाइएको खुलासा बेलायती पत्रिका गार्डियनले गर्‍यो। विश्वभर यो खबर फैलियो,कतारको आलोचना भयो। सबभन्दा पीडित नेपाली कामदार थिए। नेपालमा पनि यो खबरलाई निकै चासोका साथ हेरियो।कतार ड्यामेज कन्ट्रोल गर्न तर्फ लाग्यो। त्यसलाई साथ दिए नेपालकै ‘सप्लाइ’ धन्दावालाहरुले। कतार
एनआरएनका अगुवाले विरोध गर्दागर्दै पनि लन्डन र अमेरिकामा विरोध प्रदर्शन भयो।
यस‍ैबीच कतारले फेरि एउटा नचाहिने काम गरेको छ। कामदारको भिडियो खिच्ने दुई जना जर्मनलाई त्यहाँको प्रहरीले पक्रेर २७ घण्टा हिरासतमा राखेको छ।
उनीहरुले दोहाको मर्क्योर ग्रान्ड होटलको बरन्डाबाट २०२२ विश्वकपका लागि पूर्वाधार निर्माण गरिरहेका आप्रवासी कामदारहरुको भिडियो खिचेका थिए।
म्युनिखमा कार्यालय रहेको प्रोडक्सन कम्पनीका प्रमुख तथा फिल्म निर्माता पिटर गिसेल र क्यामेराम्यान रबिन आहनेलाई भिडियो खिचेको आरोपमा प्रहरीले २७ घण्टा नियन्त्रणमा राखेर छाडेका थिए।
गार्डियनसँग कुरा गर्दै गिसेलले आफूहरुले कामदारहरुसँग कुरा गरेर दङ्गा भड्काएको भन्दै जेलमा राखिएको बताए। हिरासतमा रहँदा राम्रो व्यवहार गरिएको बताउँदै उनले अनुमति बिना खिचेको भन्दै उपकरणहरु भने जफत गरिएको बताए।
उनीहरुले नेपाली दूतावासमा केही भिडियो दृश्य खिचेका थिए। त्यहाँ कामदारहरुको हुल आफ्ना पासपोर्ट र कागजात फिर्ता लिन लाम लागेका थिए। कतारी अधिकारीहरुले त्यहाँका केही भिडियो मेट्न लगाउँदै केहीलाई म्यानिपुलेट गर्न लगाउने प्रयास गरे। खासमा उनीहरुले सुटिङ नै सकाइसकेका थिएनन्। तर त्यस्तो व्यवहार भएपछि उनी अब काम गर्ने जाँगरै मरेको बताउँछन्।
उनीहरुका साथी र आफन्तले कतारको जर्मन दूतावासमा खबर गरेपछि जर्मन सरकारको मानवअधिकार आयोगले चासो दिएपछि बल्ल हिरासतमुक्त भए।
कतार आफ्ना गल्ती लुकाउन चाहन्छ भन्ने त यसबाट झनै प्रष्ट भएको छ। खासमा कतारमा आप्रवासी कामदारहरु बस्ने लेबर क्याम्पमा जान निकै कडाइ गरिन्छ। पत्रकारहरुलाई त त्यहाँ जानै दिइँदैन। पत्रकार भन्ने बित्तिकै भिसामा पनि कडाइ गरिन्छ। साझा सवालका नारायण श्रेष्ठ लगायतको टिम कतारमा पत्रकारको भिसामा गएका थिएनन्। यसबारे कतार सरकारले स्पष्टिकरण लिएपछि उनीहरुको टिमलाई कालो सूचिमा राख्ने जानकारी दिइएको राजदूत मायाकुमारी शर्माले परराष्ट्र मन्त्रालयलाई खबर गरेकी थिइन्।
कतारमा रहेका नेपाली पत्रकारहरु पनि पत्रकारको भिसामा छैनन्। कान्तिपुर कतारका लागि केही वर्ष रिपोर्टिङ गरेका देवेन्द्र भट्टराई त्यहाँ इलेक्ट्रिसियन भिसामा थिए। यसबारे उनले आफ्नो अनुभव रेगिस्तान डायरीमा लेखेका छन्। लेखकको अनुमतिमा यहाँ त्यसका केही अंश साभार गरिएको छ-

म एक विद्युत प्राविधिक!

‘ए बिजुली बाजे…के छ?’
एक बिहान दोहाको नेपाल चोकमा सुलेमानी पिइरहेका बेला मोबाइलमा एउटा चिने झैं स्वर गुन्जियो। ‘हजुर, हेल्लो’ केही भन्न नपाई फेरि चर्को स्वर सुनियो-’ओ, बिजुली बाजे…!’
त्यही नेपालचोक रेष्टुराका नेपाली बाजे(पदमपाणी खरेल)को फोन पो कतै मेरोमा झुक्किएर आएछ कि भन्ने सुरुमा लाग्यो। तर होइन रहेछ। फ्रान्सेली समाचार संस्था एएफपीमा काम गर्ने पत्रकार मित्र सुवेल भण्डारीले मेरो हैसियत पत्तो पाएर काठमाडौंबाट फोन गरेका रहेछन्।
कत्रो सान र चिनारीसहित दोहास्थित पत्रकारको ‘पताका’ (परिचय पत्र) लिउँला भन्ने थियो। तर सुरुमा आफूले पाएको अस्थायी भिसामा ‘इलेक्ट्रिक टेक्निसियन’ उल्लेख रहेकाले त्यहीअनुसार म कतार हानिएको थिएँ। स्थायी भिसामा पेशा परिवर्तन हुने आश्वासनका भरमा दोहा उत्रिएको थिएँ।
खाडी पुग्नासाथ गल्फ टाइम्समा काम गर्ने मित्र सुमन मल्लले आश्वस्त तुल्याएका थिए-’धन्न तिमी इलेक्ट्रिक टेक्निसियन रहेछौ, म त लेबर भिसामा यता झरेको…!’
Electric Techinician PATAKAA
यसरी अनौठो हैसियतमा काम गर्नु थियो। एक महिनापछि मेडिकल चेक(अप सहितका प्रकृया टुङ्गिएपछि पनि त्यही पहिलेकै हैसियतमा पताका आयो। किनभने पेशागत हैसियत बदल्नलाई सम्बन्धीत रोजगारदाता कम्पनीले छ महिनासम्म श्रमिकको खातामा तोकिएको तलब(सुविधा डिपोजिट गरिदिएको बैंक स्टेटमेन्ट पनि जरुरी पर्ने रहेछ। त्यो स्टेटमेन्ट लिएर श्रम बिभागमा दर्ता गर्दै सबै प्रकृया पुरा गरेपछि प्रोफेसन फेरिने रहेछ। त्यसमा पनि यो पत्रकारको हैसियत पाउन सबैभन्दा बढी प्रकृया पार गर्नुपर्ने रहेछ। गल्फ टाइम्सका पत्रकार सुमन त्यही पत्रिकाको स्थानीय कामदार भएकाले उनको पेशा परिवर्तन सहजै भयो पनि तर, मेरा हकमा स्पोन्सर मात्रै कतारी कम्पनी भएकाले र तलब आफ्नो खातामा हाल्ने अथवा स्टेटमेन्ट तयार गर्नेसम्मको सम्भावनै थिएन। यसकारण खाडी बसाइभर ‘इलेक्ट्रिक टेक्निसियन’ पदमैं पत्रकारिता गरिरहें।
कतारसहितका खाडी मुलुकको नियममा पताकामा व्यवसायको हैसियत एउटा भएर अर्कै काम गरेको पाइएमा समेत जेल सजायसहितका दण्ड/जरिवाना बेहोर्नु पर्ने रहेछ। ‘इलेक्ट्रिक टेक्निसियन’ पत्रकार भएको धेरैपछि मात्रै मलाई यो कडाइ प्रावधान भएको थियो। त्यसपछि भने सकेसम्म सार्वजनिक स्थल अथवा भीडभाडमा कुरा गर्ने, हस्पिटललगायतका क्षेत्रमा जादा फ्लायस नबाली तस्वीर खिच्नेसम्मका उपायहरु सिक्दै गएँ। अस्पताल र सार्वजनिक स्थलमा तस्वीर लिंदा सकेसम्म फ्लायस नबाली र बिशेषत मित्र श्यामसुन्दर शशीले गोप्य तवरमा तस्वीर लिइरहेका थिए। किनभने मभन्दा छ महिनापछि कतार छिरेका शशीको हालत पनि उही थियो, उनी पनि एक पत्रकार होइन, प्रशासक थिए-भिसा र पताकामा।
यसकारण ठूला होटलमा भएका कार्यक्रमको सूचना डेस्कमा म ‘पताका’ दिन सक्दिनथे। बरु ड्राइभिङ लाइसेन्स र पत्रकारको भिजिटिङ कार्ड दिएर ‘आइ वर्क फर न्युजपेपर’ भन्दै उम्किन्थें। बिशेषत ठूला होटल र बिशिष्ट सार्वजनिक स्थलमा हुने कार्यक्रमहरुबारे जानकारी गराएर आन्तरिक मामिला मन्त्रालयका सुचना अधिकृत फैजल हुन्डाइले निकै सहयोग गरेका थिए।
कहिलेकाहीं के लाग्थ्यो भने म पनि कतै गैर कानूनी हैसियतमा बसिरहेको त छैन? जस्तो ‘इलिगल स्टाटस’मा भएका कामदारहरु प्रहरी(प्रशासनको नजरमा छलिएर हिंड्नुपर्थ्यो, आफ्नो पत्रकारिता कर्म धानिरहेका बेला आफ्नो पताका हैसिययतका कारण धेरैपटक खुम्चेर काम गर्नुपर्थ्यो। एकपटक गधा चढ्ने धुनमा समालको मरुभूमीमा पुगेका थियौं। ‘खाडी आएका बेला गधा र उँट चढ्ने अनुभव सँगालेर जाऔं न त’ भनेर पाल्पाका मित्र छत्रबहादुरको सहयोगमा मरुभूमीमा गधा यात्राको कार्यक्रम राखेका थियौं। त्यही हुलमा मजरा(बगैंचा)मा काम गर्ने गोर्खाका साथी दीपक ‘टेन्सन’ पनि थिए जो भिसा(पताकाबिना गैर कानूनी हैसियतमा रहेछन्। हाम्रो दुर्भाग्य कस्तो रह्यो भने गधा चढ्ने अभ्यासमा मरुभुमीमा गधाले बुर्कुसी मार्दा भुई लडेर दीपकको हात ठोकिएको थियो। ‘खासै केही भएको छैन’ भनेपछि हामी त रातसाँझ दोहा शहर फिर्यौं। तर दीपकको हात सुनिंदै गएर भोलीपल्ट हलचल गर्नै नमिल्ने भएको रहेछ। अब के गर्ने?
यता दाहेामा भारतको केरला घर भएका एक स्थानीय डाक्टर केएमआर म्याथ्युसँग मेरो व्यक्तिगत चिनजान भएको थियो। चिनजानको कारण पनि उनको छोरो केएम म्याथ्यु भने काठमाडौंको एक मेडिकल कलेजमा एमबीबीएस पढिरहेका कारण काठमाडौंकैं पत्रकारसँग निकटता राख्न चाहेको बहानामा मेरो डाक्टर म्याथ्युसँग नजिकैको हायहेल्लो थियो। उता आफूसँगै गधा चढ्ने दीपकलाई जसरी पनि दोहामा उपचारमा ल्याउनु थियो। दोहाबाट झण्डै सय किलोमिटर टाढाको समाल मरुभूमीबाट कान्तिपुर कार्यालयमा झिकाएर उनलाई डाक्टर म्याथ्युले नै लुकिछिपी मलमपट्टी गरिदिएका थिए। दीपकजस्तै समाल, जमेलिया, दुःखान, उमबब, सहानियातिरका धेरै गैर कानूनी हैसियतका दुःखीया नेपाली कामदारहरुलाई मलमपट्टी बाँढ्दै हिंड्नुपरेको अनुभव अहिले सम्झदा आफैंमा बिरक्तिभावले भरिएको थियो। किनभने खाडी नियममा गैर कानूनी हैसियतमा जो कोही, जहिल्यै पनि प्रहरी(प्रशासनको निगरानीमा भैरहेका हुन्थे। अस्पतालमा गएर उपचार गर्नै पनि कि पासपोर्ट, मेडिकल कार्ड अथवा पताका जरुरी हुन्थ्यो। अथवा बिशेष असहज अवस्थामा कुनै कागजात बिना पनि उपचार त हुन्थ्यो। तर उपचारलगत्तै उसलाई जेल चलान गरिन्थ्यो।
यस्ता थुप्रै घटना आँखैसामु देखिएका थिए। कतिपय कम्पनीमा महिनौं र बर्षौदेखि गैर कानूनी बनाइएका कामदारलाई बिरामी पर्दा उपचारका लागि सरकारी अस्पतालमा ल्याउने र त्यहींबाट पक्राउ गराएर जेल पुर्‍याउने नेपाली मालिकहरुलाई पनि चिन्न पाइएको थियो। यसकारण पनि ‘इलेक्ट्रिक टेक्निसियन’ पताका हैसियतमा पत्रकारको काम गरिरहँदा मनमा बारम्बार डर उब्जिरहेको हुन्थ्यो। तर कान्तिपुर प्रकाशनको प्रभावकारी पहुँच, बीबीसी नेपाली सेवामा गरिने रिपोर्टिङ, नेपाली दुतावासको पहँुच र आन्तरिक मामिला मन्त्रालयका दृष्टिमा म पूर्ण व्यवसायिक पत्रकार भएकाले कुनै अप्ठ्यारो बेहोर्नुपरेन।
व्यवसायिक धर्म निभाएकै कारण हुन सक्छ, कहिले इराक त कहिले इजरायलको गाजा क्षेत्रबाट नेपाली दाजुभाइहरु कान्तिपुर अथवा बीबीसीको नाम लिएर फोन गरिरहन्थे। लेबनानदेखि ओमानसम्मका समाचार स्रोतहरु परेका बेला सधैं जागा रहन्थे। अझ म्यानपावर कम्पनीहरुले गर्ने गरेको मानव तस्करीको बिरुद्धमा सधैं लागीपर्ने भएकाले मध्य पुर्वका सबैजसो र बिशेषत पीडित कामदारहरु आफ्नो ब्यथा सुनाउन हत्ते गरिरहेका हुन्थे। एकपटक इराकमा कामदार लैजाने गिरोहलाई संयुक्त अरब इमिरेट्सको आबुधावीस्थित नेपाली नियोगले पक्राउ गरेको खबर तस्करको तस्वीरसहित प्रकाशनमा ल्याएपछि इराकको कोड नम्बरबाट तत्कालै फोन आएको थियो। मोबाइलमा ती इराकस्थित मित्र बोलिरहेका थिए-’तपाईको पुरानो घर ताप्लेजुङ होइन? तपाईहरु ७ दाजुभाइ होइन? अहिले झापा, दमकमा घर छ होइन? तपाईले पत्रकारिता गरेको दश बर्ष होइन? ठीक छ, सबै कुरा हामीलाई पनि थाहा छ। कुनै दिन त नेपाल फिर्नुहोला नि…!’ अनि फोन काटियो पनि। जे होस, ती इराकस्थित मेरा शुभचिन्तक मित्रलाई मेरो पत्रकारिता कर्मबारे राम्रै जानकारी रहेछ भन्ने लाग्यो।
यसकारण पनि ‘बिजुली बाजे’को मेरो व्यवसायिक हैसियत छिनभरको अथवा परिबन्दकारी थियो कि भन्ने लाग्छ। तर काठमाडौंबाट एएफपीका सुवेलजस्ता दिग्गज र जानिफकार मित्रहरुले यति टाढाबाट सम्झेर फोन गर्दा पनि यही बिरोधाभाषपूर्ण सम्बोधन गरिरहेका बेला भने लाग्थ्यो-’अचानाको चोट खुकुरीलाई थाहा हुँदैन।’
(पत्रकार देवेन्द्र भट्टराईको रत्न पुस्तक भण्डारबाट तीन वर्षअघि प्रकाशित ‘रेगिस्तान डायरी’ पुस्तकबाट साभार अंश।)

साभार : माई संसार 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis