"यहाँ कति वर्ष बिताइयो भनेर गन्न आवश्यक नै छैन किनभने पोखरा कसैलाई
कहिल्यै पुग्दैन।" अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा नदीपुर, पोखराका
स्वयंशु श्रेष्ठ, २३, ले फेसबुक स्ट्याटस लेखे। हुन पनि, स्वयंशुलाई पोखरा
कहिल्यै पुरानो लाग्दैन। त्यसैले त पोखरा छाड्नु नपरे
हुन्थ्यो भन्ने
लागिरहन्छ।न्यु इयर इभका लागि तयार भएको पोखरा, त्यसमाथि लेक साइड। फेवाताल छेवैमा 'पोखरा स्टि्रट फेस्टिभल'का लागि सजाइएको तीन किलोमिटर लामो बाटो इभको माहोलमा खचाखच छ। बिस्तारै हिँड्नेले पनि तीन किलोमिटर दूरी ३० मिनेटमा सजिलै काट्न सक्छ। तर, न्यु इयरको लेक साइड तीन किलोमिटर दूरी वा ३० मिनेटको समयले मात्र व्याख्या गर्न सक्दैन। त्यहाँ के मात्र थिएन ? पाइलैपिच्छे हिन्दुस्तानी क्लासिकदेखि पश्चिमा रकसम्मका अनेकौँ संगीत, मानिसका गालामा विभिन्न भावभंगी झल्कने फेस पेन्टिङ्। अझ सडकको ठेलमठेलबीच अलिकति अग्लिएर हेर्न खोज्ने हो भने त्यहाँ हलिउड अभिनेता विल स्मिथ, क्यानेडियन गायक जस्टिन विवर, गायिकाहरू रिहाना, माइली साइरस, फुटबलर डेबिड बेक्यामजस्ता थुप्रै सेलिब्रिटीको हेयर स्टाइलको झल्को पनि देखिन्छ।
लेक साइडको माहोल स्वच्छन्द छ। सन् '६० र '७० को दशकमा काठमाडौँको झोछेँजस्तै। नहोस् पनि किन, पोखरा पनि त्यस बेला हिप्पीहरू यात्रा गर्ने दक्षिण एसियाली भूमार्गको सुन्दर गन्तव्यजस्तो न थियो।
पोखरेलीमा यसले एउटा यस्तो संस्कारको विकास भएको छ कि उनीहरू रमाउने मामिलामा पश्चिमाजस्तै बिन्दास छन्। लेक साइडको माहोल चियाउँदा सजिलै देखिन्थ्यो, यहाँ कसैलाई कसैको मतलब छैन। न बाटोमा हिँड्दा लाग्ने धक्कालाई उनीहरू समस्या ठान्छन्, न त हिँडिरहँदा कोही अगाडि आएर क्यामेरा तर्साउँदा नै झोकिन्छन्। बरू उल्टै पोज दिन तम्सिन्छन्। पोखरा विश्वविद्यालयमा स्नातक अध्ययन गररिहेकी विन्दु लामिछाने, २३, भन्छिन्, "कसैलाई नराम्रो गर्न पो भएन, नत्र एकअर्कासँग परिचित हुन पाउनु त सबैका लागि राम्रै हो नि!" त्यही विशेषताका कारण पोखरेलीलाई समेत हरेकपल्ट आफ्नै ठाउँ घुम्दा फरकपनको महसुस हुन्छ रे! मतलब यहाँ रमाइलोको मात्रै अर्थ छ, नेपाली हुनु वा पश्चिमा हुनुको होइन।
प्रवेशद्वार पनि
रोयल ट्रेक त सन् '८० को दशकमा बेलायती युवराज चाल्र्सले पदयात्रा गरेको रुट हो, जसबाट उनी मोहित नै भए। र, पछि यो मार्ग रोयल ट्रेकको नामबाट चिनिन पुग्यो। अन्नपूर्ण पदमार्गको पुनहिल होस् वा धम्पुस, पोखरा छेवैको सराङकोटबाट देखिने सूर्योदयको दृश्य होस् वा सूर्योदयअघिको राताम्मे हिमाल, जोकोही मोहित हुन्छन्। हिन्दू तथा बौद्धमार्गीले पुज्ने मुक्तिनाथ होस् वा उपल्लो मुस्ताङको साहसिक यात्रा, सुरुआत पोखराबाटै हुन्छ। पोखराको मुटु फेवातालको त कुरै भएन, माछापुछ्रेको छायाँमा दिनभर टहलिन र नौकाविहार गर्न कम्ती रोमाञ्चक हुन्न। त्यही भएर फेवातालमा व्यावसायिक रूपमा चल्ने डुंगा मात्र झन्डै सात सयभन्दा बढी छन्।
पछिल्लो समय पोखरामा पर्यटकलाई अझ बढी समय 'होल्ड' गर्न थुप्रै विकल्प खुलेका छन्। स्टि्रट फेस्टिभलको सुरुआत पनि यहाँ आउने पर्यटक न्यु इयरका बेला भारतको गोवातिर जाने क्रमलाई रोक्न भनेर भएको थियो। फेस्टिभलका सडक शृंगार संयोजकसमेत रहेका व्यवसायी ज्याक तामाङ भन्छन्, "न्यु इयरमा पर्यटक होल्ड त हामीले चाहेजसरी भयो नै, त्यसले आन्तरकि पर्यटनको अनपेक्षित सफलतामा पनि पुर्यायो।"
रोमाञ्चक गन्तव्य
अल्ट्रालाइटतर्फ सन् १९९६ देखि एभिया क्लबले आफ्नो उडान सुरु गरेको थियो भने सन् २०१२ यता थप दुई कम्पनी पोखरा अल्ट्रालाइट र फिस्टेल अल्ट्रालाइट थपिएका छन्। खेलौनाजस्ता दुई किसिमका हलुका जहाजमा पोखराको ३ सय ६० डिग्रीको अवलोकन गर्ने र हिमाललाई अझ स्पष्ट र नजिकबाट हेर्ने अवसर जुराउँछ यसले।
एक खाले बन्द ककपिटसहितको 'फिक्स्ड विङ् एयरक्राफ्ट' छ भने अर्को खाले खुला ककपिटसहितको 'डेल्टा विङ् एयरक्राफ्ट', जसले पाइलटका साथ दुई जनालाई उडाउँछन्। एयरपोर्टको रनवेबाटै उडान भर्ने यी साना जहाज १२ हजार फिटसम्मको उचाइमा उड्न सक्छन्। १५ मिनेट आधा घन्टा र एक घन्टा गरी तीन खाले प्याकेजमा उड्ने यी जहाजले पोखराको फेरो लगाउँदै, फेवातालमाथि पि|mफल हुँदै माछापुछ्रेको फुटहिलसम्मै पुर्याउँछन्। "हिमाललाई नजिकबाट हेर्न चाहनेलाई यस्तो उडान सबैभन्दा रोचक हुन्छ," एभिया क्लबका निर्देशक प्रविन गौचन भन्छन्, "त्यसमाथि विश्वमै यसको व्यावसायिक उडान पहिलोपटक नेपालमा भएको हो र संसारका एक-दुई देशले मात्र बल्ल यसलाई व्यावसायिक बनाउने तरखर गर्दै छन्।"
दुई वर्षदेखि भने सराङकोट डाँडाबाट हेम्जाको फेदीसम्मको १.८ किलोमिटरको दूरीमा तारमा यात्रा गरिने 'जिप ड्राइभ' सञ्चालनमा छ, जसमा ६ सय मिटरको त 'भर्टिकल ड्राइभ' नै हुन्छ। जिप फ्लायरका अपरेसन म्यानेजर दिनेश महर्जन भन्छन्, "प्रकृतिसँगै अब साहसिक खेलको अनुभव लिन भनेरै मानिस पोखरा धाउन थालेका छन्।"
सफल उडान भइसक्दा पनि कतिपय साहसिक खेल सरकारी नीति र जनशक्ति अभावमा व्यावसायिक हुन सकेका छैनन्। जस्तो: प्यारामोटरको सहयोगले कुनै डाँडा नचढीकन समथर जमिनबाटै उचाइ लिई उड्न सकिन्छ। बिनाइन्जिन अल्ट्रालाइटमा झैँ उड्न सकिने ह्यान्डग्लाइडरको समेत परीक्षण उडान भइसकेको छ।
सन् २०११ मा विभिन्न नौ देशका पाइलटले हिमालयन पारामोटर यात्रा गरे, जस अन्तर्गत उनीहरू पोखराबाट काठमाडौँ, नारायणगढ, लुम्बिनी, बुटवल हुँदै पोखरा नै फर्केका थिए। एभिया क्लबकी संस्थापक नताशा श्रेष्ठ भन्छिन्, "हवाई खेलमा पोखराले यस्ता एकपछि अर्को प्रोडक्टहरू दिन सक्छ, मात्र त्यसलाई सहयोगी हुने गरी उड्ययन नीति बनाउँदै लैजानुपर्छ।" उनले त्यसो भनिरहँदा नौपटकका विश्व ग्लाइडिङ् च्याम्पियन सिबास्टिन कावा पोखरालाई विश्वको ग्लाइडिङ् केन्द्र बनाउने उद्देश्यका साथ अध्ययनका लागि निजी ग्लाइडरमा पोल्यान्डदेखि पोखरा आएका थिए।
कलाको संगम
पोखराको 'फ्युजन' विविध स्थानीय संस्कृतिमा मात्र नभई त्यहाँका गीतसंगीतमा पनि झल्किएका छन्। स्थानीय गायकहरू लोकपपका अग्रणी पोखरेली गायक अमृत गुरुङलाई आदर्श मान्छन्। नेपथ्य, बोफिन्स ९८, डिमोर्चा, कन्दराजस्ता थुप्रै ख्याति कमाएका ब्यान्डका थुप्रै गीत नेपालीको मुखमा झुन्डिरहेकै छ। नेपहप संगीतमा पछिल्लो समय र्याप ब्याटलका कारण चर्चाको शिखरमा पुगेका आशिष राना 'लाहुरे' भन्छन्, "स्थानीय स्वादका गीत सुन्ने छुट्टै सर्कल छ यहाँ, ती एल्बमका रूपमा कम, मोबाइलका ब्लुटुथबाट धेरैमाझ पुग्छन्।"
पोखरेलीको डायस्पोरा सर्कल पनि ठूलो र प्रभावशाली छ, जसले उनीहरूका गीत-संगीत छिट्टै धेरैबीच पुग्छन्। पछिल्लो कडीको रूपमा लाहुरेको र्याप ब्याटललाई नै लिन सकिन्छ, जुन युट्युबको माध्यमबाट रातारात चर्चाको शिखरमा पुगेको थियो। १६ माघमा कोरियाको राजधानी सोलमा पोखरेलीले एक कन्सर्ट 'गोल्डेन लाइभ कन्सर्ट' गर्दै छन्, जसमा पोखराका तीन सांगीतिक समूहहरू भाइ गुरुङ, डिमोर्चा र लाहुरे सहभागी हुँदै छन्।
पश्चिमा संगीत र फेसनको प्रभाव पोखरामा धेरैअघिको हो। लाहुरे भएर ब्रिटिस आर्मीमा जानेहरू घर र्फकंदा उनीहरूसँगै पश्चिमा प्रभाव पनि पोखरा भित्रिएको हो। गीतसंगीतका सोखिन ब्रिटिस आर्मीका क्याप्टेन मीनबहादुर गुरुङले '३० को दशकमा आफ्नै घरमा एउटा हल बनाएर व्यावसायिक गायनको सुरुआत गरेका थिए, जुन डाँफे कला मन्दिरको नामबाट चर्चित थियो। "पोखरा एउटा उत्कृष्ट मध्यमवर्गीय समाज हो, जहाँका मानिसलाई खान-लाउन कहिल्यै ठूलो समस्या बनेन," प्रकाशन गृह फाइनप्रिन्टका संस्थापक अजित बराल भन्छन्, "जसले पोखरेलीलाई तुलनात्मक रूपमा बढी स्वच्छन्द र सिर्जनशील बनाउन सहयोग पुर्यायो।"
पोखराको माहोललाई कुनै प्रभावशाली लेखकले सिर्जनशीलताको प्रतिविम्बका रूपमा आफ्नो पुस्तकमा बुन्दो हो त त्यो पोखरा प्रवर्द्धनको राम्रो शैली हुने ठान्छन् बराल । किनभने, यो सहर सांस्कृतिक रूपमा पनि बाहुन, नेवार, मगर, गुरुङ र थकालीको संगमस्थल हो।
पछिल्लो समय काठमाडौँलाई कर्मथलो बनाएका बराल जब आफ्नो गृहनगर र्फकन्छन्, यहाँको दिनचर्याले मोहित हुन्छन्। भन्छन्, "काम/लक्ष्य भन्दै दिनरात कुदिरहेको काठमाडौँबाट एकै छिन फुर्सद निकालेर पोखरा पुग्दा पनि जाडोमा घाम तापिरहेको वा नेपाल बन्दमा घरमा आराम गरेझैँ महसुस हुन्छ।"
पोखरामा तालले मात्र रंग फेर्दैन। न्यु इयरमा 'वाइल्ड' बन्ने पोखरा अर्को दिनदेखि नै शान्त हुन थालिहाल्छ। जब अर्को महिना चिनियाँ नयाँ वर्ष सुरु हुन्छ, यहाँ चिनियाँ प्रतिविम्ब देखिन थाल्छन्। अक्टोबर-नोभेम्बर विभिन्न वर्णका पर्यटकको रंगीचंगी जमघटले भरन्िछ। सारमा पोखरा वर्षभरि विभिन्न रंग फेररिहन्छ। तर, रंग फेर्ने दौडमा कतै यो विख्यात सहरले आफ्नो स्थानीयता त भुलिरहेको छैन ?
साभार : नेपाल

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !