त्यही जेलबाट छुटेका नरेश नामका एक भारतीयले पाकिस्तानी पत्रिका ‘डन’सित गरेको कुराकानीका क्रममा त्यहाँ एक नेपाली नागरिक पनि कैद रहेको खुलेको हो।
‘मैले तपाईँलाई एउटा के कुरा सुनाउनै पर्छ भने कसैले नेपालको उच्चायुक्तलाई गएर सूचित गराइदिनुस् कि एक नेपाली नागरिक पनि नारा जेलमा कोचिएर दिन बिताइरहेका छन्,’ १६ महिनापछि रिहा हुन लागेका नरेशले पाकिस्तानी पत्रिकालाई बताए।
ती नेपाली नागरिकको परिचय खुल्न सकेको छैन। किन उनलाई पक्रेर पाकिस्तानको जेलमा राखिएको हो, त्यो पनि समाचारमा खुलेको छैन। भारतीय माझीहरुसँगै पाकिस्तानी सीमा क्षेत्रमा माछा मार्न जाँदा पाकिस्तानी सुरक्षाकर्मीहरुबाट पक्राउ परेका हुन् कि भन्ने अनुमान गर्न सकिन्छ। त्यसो हो भने भारतीय अधिकारीहरुले भारतीय नागरिक हो भनेर प्रमाणित गर्दा ती बिचरा नेपाली भएकोले प्रमाणित हुन पाएनन्। र, आज छुट्न पनि पाएनन्।
के आफ्नो स्वार्थ अनुकूल भएन भनेर संवैधानिक निकायको विज्ञप्तिको प्रमुख अंश नै लुकाइदिने, केही बेरअघिसम्म अनलाइनमा एउटा समाचार र केही घण्टामै त्यसलाई मेटेर अर्को समाचार राख्ने, ‘शक्तिशाली’को समाचार पत्रिकामा छापिए पनि अनलाइनबाट बिना सूचना डिलिट गर्ने नेपालका प्रमुख मिडियाहरुले एउटा सामान्य नेपाली नागरिकको यो पीडालाई ठाउँ देला त? दिए ती बिचराको कल्याणै हुने थियो।
नत्र सोसल मिडिया छ नि। लौ न सबैले दबाब दिउँ, आखिर को रहेछ पाकिस्तानको जेलमा कैद भएका ती नेपाली नागरिक ? के कारण जेलमा थुनिएछन् उनी? पत्ता लगाउँ। सबले आवाज उठाउने हो भने दबाब पर्छ पक्कै।
लौ न कसैको पावर भए हाम्रा प्रधानमन्त्री सुशील कोइरालाका सहयोगीहरुका कानसम्म पुर्याइदिउँ यो कुरा। के थाहा, हाम्रा प्रधानमन्त्रीको अनुरोधमा पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले ती नेपालीलाई पनि रिहा गर्ने आदेश पो दिन्छन् कि! त्यत्रो १५१ जना भारतीयलाई जेलबाट रिहा गर्ने आदेश उनले दिन सक्छन् भने एक जना नेपालीलाई पनि दिन के गाह्रो भयो र!
कथंकदाचित प्रधानमन्त्रीस्तरमा यो कुरा हुन नसके राजदूतस्तरबाट हुने प्रयासले जेलमा रहेका ती व्यक्ति को हुन्, कहिले र किन पक्राउ परेकाबारे त थाहा हुन्थ्यो। नेपाली नागरिकता भनेको कागजको खोस्टोमात्र हैन, आवश्यक पर्दा आफ्ना नागरिकलाई रक्षा पनि गर्ने दायित्व सरकारको हुन्छ। उनलाई रिहा गर्ने प्रयास त्यसरी पनि हुन्छ कि। आवश्यक छ हाम्रो आवाजको। नत्र ती सामान्य नेपाली नागरिकको लागि कसले बोलिदिन्छ र। आवाजविहीनहरुको आवाज को नै बन्न चाहन्छ र !
(सूचनाका लागि राम बस्नेतलाई धन्यवाद)
साभार : माई संसार

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !