नाइजेरियाबाट आएका एक नाइजर युवाको स्वास्थ्य परीक्षण गर्दा थर्मल इमाजिङ क्यामराले ती युवामा उच्च तापक्रम रहेको देखायो । पछि तापक्रम मापन गर्ने गनले पनि उक्त आशंकालाई पुष्टि गर्यो ।
त्यसपछि इबोलाको संक्रमणको आशंका बढेपछि हेल्थ डेस्कमा खटाइएका कर्मचारीहरु आफैं अल्मलमा परे कि अब ती युवालाई के गर्ने ? भनेर । किनकि त्यहाँ विरामीलाई सुताउँन छुट्टै कोठाको त के कुरा एउटा ओछ्यानको समेत व्यवस्था गरिएको थिएन । आवश्यक स्रोत साधानको व्यवस्था विना नै स्थापित नाम मात्रको हेल्थ डेस्कका कर्मचारीहरुले ती युवालाई टेकुस्थित शुक्रराज ट्रोपिकल अस्पतालमा लगेर स्वास्थ्य परीक्षण गराउँन प्रहरीलाई अनुरोध गरे । तर प्रहरीले पनि त्यो आफ्नो दायित्वभित्र नहरने भन्दै ठाडै अस्वीकार गर्यो ।
संक्रमणको आशंका देखिएपछि आत्तिएका ती युवा विमानस्थलका स्वास्थ्य डेस्कका कर्मचारीर र प्रहरीको हर्कतले अझ त्रस्त बने । त्यसैले उनी त्यही रुन थाले । त्यसपछि बल्ल अस्पतालबाट एम्बुलेन्स मगाएर उनलाई अस्पताल पुर्याइयो ।
अस्पताल पुगेपछिको अवस्था अझ उल्लेखनीय छ । एम्बुलेन्सबाट अस्पताल पुर्याइएका ती युवाको स्वास्थ्य परीक्षण गर्न शुक्रराज अस्पतालका चिकित्सकहरुले कुनै तत्परता नै देखाएनन् । त्यसको कारण ती चिकित्सकहरुमा इबोलाबारे पर्याप्त ज्ञान नहुनु र संक्रमणको डर थिए । किन भने कुनै पनि चिकित्सक संक्रमणको खतरा मोल्न तयार थिएनन् । इपिमियोलोजी शाखा पनि रमिते मात्र बनिरह्यो ।
तर समस्याको साधान भने नसोचिएको कोणबाट निस्कियो । अर्थात ती युवामा देखिएको उच्च तापक्रम विस्तारै आफैं घट्दै गयो ।
पछि सुरक्षा अधिकारीहरुले ती युवाको बारेमा छानविन गर्दा उनी अवैध रुपमा नेपाल प्रवेश गरेको पुष्टि भयो । उनलाई फुटवल खेल्न स्थानीय क्लबले बोलाएको रहस्य पनि खुल्यो । त्यसपछि ती नाइजेरियाली युवालाई एक रात प्रहरी हिरासतमै राखेर शनिवार विहान उनी आएकै विमानमा राखेर प्रहरीले फिर्ता पठायो ।
योसँगै एउटा नाटकको त अन्त भएको छ । तर इबोला नेपाल भित्रिन नदिन उच्च सतर्कता अपनाएको र कडा स्वास्थ्य परीक्षण डेस्क सञ्चालनमा ल्याएको सरकारको दाबी र विश्वसनीयतामाथि नै थुप्रै प्रश्नहरु जन्माइदिएको छ ।
साभार : सहयात्री. कम
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !