रुपन्देही रुद्रपुर-६ सुनागाभाचोककी १२ वर्षीया किशोरी तेरिया फौजा मगर हालै भारतको जी टिभीबाट प्रसारित डीआईडी लिटिल मास्टर्स सिजन-३ को उपाधि जित्न सफल भइन् । १४ वर्षमुनिका करिब ४ लाख जनाले भाग लिएको उक्त चर्चित रियालिटी शोमा तेरियाले ४० हजार प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेकी हुन् । यो प्रतियोगिता जित्ने तेरिया प्रथम नेपाली हुन् । उपाधिसँगै १० लाख भारु नगद पुरस्कार जितेर घर फर्किएकी
तेरियासँग नारी मासिकका लागि टोपराज शर्मालेगरेको कुराकानी :डीआईडीमा भाग लिन कसरी पुग्यौ ?
म सानैदेखि नाच्न मन पराउँथे । मेरो नाच देखेर अरुले कति राम्रो नाचेको भन्थे । ८ वर्षकी हुँदा गुल्मीको ठूलो लुम्पेकमा भएको कन्सर्टमा नाच्न गएकी थिएँ । त्यहाँ मेरो नाच देखेपछि गायक रामचन्द्र काफ्लेले तिमी डीआईडीमा भाग लिन सक्छ्यौ । तिम्रो नाच धेरै राम्रो छ भन्नुभयो । त्यसपछि मैले डीआईडी हेर्न थालें । डीआईडीमा नाच्नेहरूलाई देखेर आफूले पनि त्यस्तै नाच्न पाए हुन्थ्यो भन्ने कुरा मनमा आउँथ्यो । म गाउँघरमा, स्कुलमा हुने नृत्य प्रतियोगिताहरूमा सधंै प्रथम हुन्थें । नेपाल टेलिभिजनबाट प्रसारित खोजी प्रतिभाको नृत्यमा पनि टप टेन भएँ, पोहोर साल काठमाडौंमा जापानी संस्थाले आयोजना गरेको डान्स कम्पिटिसनमा पनि फस्ट भएर १ लाख पुरस्कार पाएँ । त्यसपछि ममा डीआईडी लिटिल मास्टर्स पनि जित्न सक्छु भन्ने भावना बढ्यो । घरमा मम्मी, हजुरबाहरूलाई म डीआईडी लिटिल मास्टर्समा भाग लिन्छु भनेपछि हजुरबा, मम्मीहरूले मेरो इच्छा पूरा गरिदिनुभयो ।
डीआईडी लिटिल मास्टर्स जितेपछि कस्तो लाग्यो त ?
सुरुमा त भाग लिन पाए हुन्थ्यो भन्ने थियो । जब ३ वटा अडिसन राउन्ड, मेगा राउन्ड पनि पास गरें त्यसपछि विजेता बन्ने सपना देख्न थालेकी थिएँ । सपना पूरा भएकोमा एकदमै खुसी र सरप्राइज भएँ, अलिकति नर्भस पनि भएँ ।
मुम्बईमा रमाइलो-नरमाइलो के-के पायौ ?
म मुम्बईमा बिल्कुलै नयाँ थिएँ । हिन्दी पनि त्यति नजानेकी मलाई घरिघरि एक्लो फिलिङ हुन्थ्यो तर मेरा कोरियोग्राफर सार्थक मिश्रले एकदमै माया गरेर नृत्य सिकाउनुभयो । त्यहाँ मैले ज्याज, कत्थक, म्याजिक एक्ट, क्रम्पिङ, युबी एक्ट आदि डान्स सिकें । नेपालमा १ घन्टामात्र डान्स सिके पुग्थ्यो तर त्यहाँ दिनमा ५-६ घन्टादेखि ग्रान्ड फिनालेको तयारीसम्म पुग्दा २२ घन्टासम्म सिक्नुपर्यो जसले गर्दा म धेरै थाकें, सुत्न पनि पाइन । जे होस् धेरै मेहनत गरें । पछिपछि त त्यही रमाइलो लाग्दै गयो । मेरो डान्सलाई ग्रान्ड मास्टर मिथुन, जज गीता सबैले मन पराएर हौसला दिनुभयो ।
भविष्यमा के बन्ने लक्ष्य छ ?
म कोरियोग्राफर र कलाकार बन्छु । राम्रो कोरियोग्राफर बनेर नेपालमा डान्स सिक्न चाहनेहरूलाई डान्स सिकाउँछु अनि भारतमा डान्सको जति चर्चा छ नेपाललाई पनि डान्समा त्यस्तै बनाउँछु ।
डान्सले अध्ययनलाई असर गर्दैन ?
म पढाइलाई पहिलो प्राथमिकता दिन्छु । त्यसैले म सधैं कक्षामा प्रथम हुँदै आएकी छु । डीआईडीमा भाग लिने क्रममा ६ महिना पढाइ छुटेकोमा मलाई चिन्ता छ तर अब राम्रोसँग पढ्छु । पढाइसँगै डान्सलाई पनि अघि बढाउँछु । सन्तुलन मिलाउन सके डान्सले पढाइलाई असर गर्दैन । यसले शरीर स्वस्थ राख्न मद्दत गर्नुका साथै मानसिक रूपमा पनि फाइदा पुर्याउँछ ।
सेलिब्रेटीहरूको विवाह मौसम
सार्क फिल्मबाट उत्कृष्ट नायिका गरिमा
साभार : नारी
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !