अनमोल आपत्ति
अनमोल केसीको डेब्यु फिल्म साथी म तिम्रो हो तर उनलाई चम्काउने फिल्मचाहिँ होस्टेल हो । जेरीले पनि उनको सफलतालाई निरन्तरता दियो । यी दुई फिल्म के हिट भएका थिए, अनमोलको भाउ ह्वात्तै बढिहाल्यो । त्यसमाथि भुवन–पुत्र भएको घमण्ड त छँदै थियो । भर्खरै मात्र होस्टेल निर्माता सुनील रावलसँगको सम्बन्धमा तनाव सुरु भएको चर्चा चलेको छ । होस्टेल रिटन्र्सको प्रवद्र्धनमा अनमोल सक्रिय रहेको आशयका खबर सार्वजनिक भएपछि उनले खण्डन गरेका हुन् । एक फिल्मी अनलाइनलाई भिडियो अन्तर्वार्ता दिँदै उनले आफू प्रमोसनमा हिँडेको खबर गलत भएको दाबी गरेका हुन् । केही दिनअघि होस्टेल रिटन्र्सका कलाकारसँग उनले खिचाएका तस्बिर सामाजिक सञ्जालमा छ्यापछयाप्ती छाएको थियो । यसो हुँदा धेरथोर फिल्मको प्रमोसन पनि
भयो होला तर यत्तिमै अनमोलले अन्तर्वार्ता दिएरै प्रवद्र्धन नगरेको भन्न आवश्यक थियो र ? आखिर उनलाई चर्चित बनाएको त होस्टेलले नै हो । उता, निर्माता सुुनील भने अनमोललाई होस्टेल रिटन्र्सको प्रमोसनका लागि आफूले कहिल्यै नभनेको दाबी गर्छन् ।चकलेटी पूजना
फिल्मी यात्रा सुरु गरेको डेढ दशक बितिसक्दा पनि दर्शकमाझ ‘मार्क’ नभएकी हिरोइन हुन्, पूजना प्रधान । जबकि, उनीसँग एउटै फिल्म हिरोबाट डेब्यु गरेकी अर्की नायिका रेखा थापा सर्वाधिक लोकप्रिय नायिकामा दर्ज भइसकेकी छन् । तर, पूजनाको हालत भने अझै खराब छ । चर्चा नपाएपछि उनले अंग प्रदर्शनको बाटो पनि रोजिन् । फिल्म रक्षामा खुलेर बेड सिन दिइन् तर माखो मरेन । चर्चा होइन, चर्को आलोचनाचाहिँ खेप्नुपर्यो । त्यसपछि करिब दुई वर्ष गुपचुप बसेकी पूजना निर्मात्री बनेर रजतपटमा फेरि देखा परिन् । सडक बालबालिकाको पीडा देखाइएको फिल्म चकलेटमा मुख्य भूमिका उनकै छ । तर, पोस्ट प्रोडक्सन सकिएको लामो समय बितिसक्दा पनि रिलिज गर्न नपाउँदा छटपटिएकी छन् । फिल्मले १८ मंसिरको रिलिज मिति त पाएको छ । तर, भूकम्पले करिब चार महिना नयाँ फिल्मको रिलिज रोकिएकाले चकलेटले कम्तीमा तीन फिल्मसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । त्यसैले अन्तिम समयमा चकलेटको रिलिज सर्यो भने अचम्म मान्नु पर्दैन ।
साभार : ईकान्तिपुर
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !