हाम्रो सम्बन्ध्-बिच्छेदको कुरो भएदेखी श्रीमती र म बिच शारिरीक सम्बन्ध भएको थिएन | उनको अनुरोध बमोजिम पहिलो दिन जब मैले तिनलाई बोकेँ, हामी दुवैलाई कस्तो कस्तो अप्ठ्यारो महसुस भएको थियो | ड्याडिले मम्मीलाइ बोक्नुभयो भनेर छोरो हाम्रो पछाडि ताली पिटदै थियो | छोराले त्यसो भन्दा मैले नजानिन्दो पिडा महसुस गरेँ | श्रीमतीलाई बोकेर शयन्-कक्षदेखी बैठक कोठा हुँदै मुलढोकासम्म करीब १० मिटर म हिँडे हुँला | मैले तिनलाई बोकिरहेको बेलामा तिनले आँखा बन्द गरेर मधुर स्वरमा भनिन: हाम्रो सम्बन्ध-बिच्छेदबारे छोरालाई नभन है | मैले दुखी भएर स्वीकृतिसुचक टाउको हल्लाएँ | तिनी काममा जान बस बिसौनितिर लागिन भने,म एक्लै गाडी हाँकेर अफिस गएँ |दोस्रो दिनको बोकाइमा हामी दुवैले केही सजिलो अनुभव गर्यौँ, तिनले टाउको मेरो छातीमाथि राखिन, तिनको ब्लाउजबाट मिठो अत्तरको सुगन्ध आइरहेको थियो | तिनको मुहारलाई राम्ररी नियालेर हेरेँ,तिनी अब पहिले जस्तो जवान थिइनन,निधार र आँखाका छेउछाउ हल्का चाउरीहरु देखेँ, केश पनि कहीं कहीँ फुलेको थियो|वैवाहिक जीवनले नै तिनलाई यस्तो तुल्याएको थियो|म आँफैले पो तिनलाई वास्ता नगरेको निकै भएछ |
चौथो दिन जब मैले तिनलाई बोकेँ, एक किसिमको आत्मियता मैले महसुस गरेँ | यिनी तिनै महिला थिइन,जसले बिगत दश बर्षादेखी मलाई साथ दिँदै आएकी थिइन | पाँचौ र छैठौँ दिन पनि त्यो आत्मियता झन झन प्रगाढ हुँदै गएको मैले पाएँ | जती जती समय बित्दै गयो, तिनलाई बोक्न झन झन सजिलो हुँदै गयो | शायद प्रत्येक दिनको बोकाइले म बलियो पो हुँदै गएँ की ! एक बिहान तिनी लुगा छान्दै थिइन,चार पाँच चोटि लुगा फेरिसकेपछी लामो सुस्केरा हालेर भनिन: मेरा सबै लुगाहरु खुकुलो भैसके, कुनैपनि जीउमा मिल्दैन | मैले ध्यान दिएर तिनलाई हेरेँ, कस्ती दुब्ली भईछे, त्यसैले पो होला मलाई बोक्न सजिलो भएको ! आफ्नो मनभित्र अथाह् पीडा, ब्यथालाई लुकाएर तिनी बाँचेकी रहिछिन भन्ने कुराले मलाई अत्यधिक पीडाबोध भयो | एकाएक अर्धचेतनमा मैले तिनको शिर छोएँ | त्यति नै बेला छोरो करायो: मम्मीलाइ बोकेर बाहिर लाने बेला भएन र ? उसको बाबुले आमालाई बोक्ने काम दिनचर्या जस्तो ठानिसकेको थियो मेरो छोरोले | मेरी श्रीमतीले छोरोलाई नजिक आउन साउती गरिन र बेस्कन अंगालो हालिन | आफ्नो अडानमा बिचलन नआओस भन्ना खातिर मैले टाउको अन्तै मोडेँ | शयन-कक्ष, बैठक कोठा, हलवे हुँदै म श्रीमतीलाइ बोकेर पाइला चाल्दै थिएँ, तिनको हातहरु मेरो घाँटिमा आरामसंग बेरिएका थिए,हाम्रो विवाह् अवसरमा झै मैले तिनको शरीरलाई बेस्मारी च्यापेको थिएँ |
तिनको हलुँगो वजन देखेर म चिन्तित थिएँ | अन्तिम दिन जब मैले तिनलाई बोकेँ,किन किन मैले पाइला चाल्न सकिरहेको थिइन | छोरो स्कुल गैसकेको थियो | मैले तिनलाई बेस्मारी च्यापेर भनेँ: हामी दुई बीचको आत्मीय सम्बन्धमा कमी भएको त मलाई हेक्कै भएन | म काममा हिँडे,अफिस पुगेपछी गाडीमा चाबी नै नलगाइ सरासर उक्लेँ | केही बेरको ढिलाइले मेरो मन परिवर्तन होला भन्ने मलाई डर थियो | माथ्लो तल्लामा उक्लेपछी जेनले ढोका खोली दिइन | आफु सम्बन्ध-बिच्छेद नगर्ने निर्णयमा पुगेको कुरा जेनलाई बताएँ | जेनले छक्क परेर मतिर हेरिन र मेरो निधार छामिन | तिमीलाई जरो आएको छ ? तिनले सोधिन | निधारबाट तिनको हात हटाउँदै मैले फेरी दोहोर्याएँ: म सम्बन्ध-बिच्छेद नगर्ने भएँ, हाम्रो वैवाहिक जीवन यसरी रसहीन हुनाको कारण हामीले एकार्कालाई माया नगरेर भएको होइन रहेछ,जिन्दगीका झिना मसिना कुराहरुलाई महत्वहीन ठानेकाले नै यस्तो भएको रहेछ | विहेको अवसरमा मेरी श्रीमतीलाई मैले बोकेर घरभित्र भित्र्याए झै जिन्दगीको अन्तिम क्षणसम्म पनि त्यही भावना राख्नु पर्ने रहेछ भनेर म अहिले महसुस गर्दैछु | जेन जुरुक्क उठिन,बेस्कन मेरो गाला चडकाएर ढोका ड्याम्म थुनेर डाँको छोडेर रुन थालिन | म गाडी चढेर घरतर्फ लागेँ | बाटोमा फुल पसलमा रोकिएर एउटा फुलको गुच्छा किन्न लाग्दा फुल पसल्नीले सोधी: कार्डमा के लेखिदिउँ ? कार्ड तिनको हातबाट लिएर मैले मुस्काएर लेखेँ - जीवनको अन्तिम घडीसम्म प्रत्येक बिहान म तिमीलाई बोक्नेछु!!!
हातमा फुल, मुहारमा मुस्कान लिएर हतार हतार त्यस साँझ म घर पुगेँ | दगुर्दै भर्र्याङ् उक्लेँ | यसरी हतारिएको त मेरी श्रीमतीलाई मृतावस्थामा फेला पार्नु पो रहेछ | म जेनको प्रेममा यसरी डुबुल्किएको थिएँ कि मेरी श्रीमती महिनौँ देखी क्यान्सरको बिरामी भएको कुरो समेत मैले थाहा पाउन सकिन रहेछु | आफ्नो मृत्यु चाँडै नै हुँदैछ भन्ने कुरा तिनलाई थाहा रहेछ | हाम्रो सम्बन्ध्-बिच्छेद भैगएको भए त्यसको नकारात्मक असर छोरामा नपरोस र छोराको नजरमा म दोषी नदेखियोस भनेर मलाई बचाउन तिनले त्यसो गरेकी रहेछिन - फलस्वरुप छोराको नजरमा म मायालु लोग्ने हुन पुगेँ |जीवनका झिना-मसिना कुराहरु नै वैवाहिक सम्बन्धलाई टिकाउने खम्बाहरु हुन, न की भब्य महल, गाडी, जग्गा-जमीन र पैसा --यी चिजहरुले त केही टेवा दिने मात्र हो, मुख्य कडी यी होइनन!!!!
तसर्थ आफ्नो ब्यस्त दिनचर्याबाट केही समय निकालेर आफ्नो जीवनसाथीसंग आत्मीयता गाँसौ र जिन्दगीका झिना-मसिना ठानिएका कुराहरुलाई अंगालेर त हेरौँ ! यिनै महत्वहिन ठानिएका कुराहरुले नै वैवाहिक जीवन भत्किनबाट जोगाउँछ| सफलताको कारक तत्वहरुलाई पहिचान गर्न नसक्दा नै मानिसहरुले असफलता बेहोर्छ |
(घर सुन्दर छ भने न समाज पनि सुन्दर बन्छ भन्ने कुरालाई हृदयंगम गरी यो कथा पाठकहरु समक्ष प्रस्तुत गरेको छु | यो मेरो मौलिक लेख होइन, एउटा अज्ञात लेखकले समाजलाई माया गरी लेखेको कथा हो,फिक्सन पनि हुन सक्छ, सत्यकथामा आधारित पनि हुनसक्छ,जे भएपनि कथा मार्मिक छ, हामी बाँचेकै जिन्दगीको बर्णन छ | फेसबुक मार्फत प्रचार प्रसार गर्न अनुरोध गरिएको थियो | मौलिक लेख अंग्रेजिमा थियो र मैले नेपालीमा अनुवाद गर्ने जमर्को गरेको छु | कतिपय हरफहरुमा शब्दानुवाद् नगरि भावानुवाद् गरिएको छ्| मेरो यो अनुवादले कुनै नेपालीको भत्किन लागेको घरलाइ टेको दिन समर्थ भयो भने मैले गरेको कार्य सार्थक भएछ भनेर ठान्नेछु| पाठकहरुको प्रतिकृयाको अपेक्षा राख्दै.....)
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !