शहरमा पढ्न गएकी छोरी लामो सामयपछि आज आउने कुराले सबै खुसी भएपनि आमा विशेष खुसी छन् । छोरीलाई कतिबेला देखूँजस्तो छटपटीले समय बितिरहेको छैन भने पकाउने ख्वाउने परिकारको घरमा अभाव भएजस्तो लागिरहेको थियो । सायद सबैका आमा वा सबै आमा यस्तै हुन्छन् । गाडीबाट ओर्लिएर पनि दुई घन्टा हिंडेपछिमात्र घर पुगिन्छ । गाउँमा यस्तै हुन्छ भन्ने लागेकी आमालाई गाउँबाट नगरपालिका हुँदा पनि उस्तै हुँदा ‘गर’पालिका नभई ‘नगर’ पालिका भएकाले केही नगरेको होला भन्ने लाग्थ्यो । बेलुका आइपुग्ने छोरीका लागि आमा भने बिहानैदेखि छट्पटी र झझल्कोको शिकार बनेकी छन् ।
उता छोरी पनि गाउँ प्रवेश गरी । नाम ईश्वरी थियो । शहरपसेपछि ‘एसु’ बन्न पुगी । गाउँ उसै प्यारो । त्यसमाथि घर पुग्ने हतारो । हुनेभए उडेर जानेथिई ऊ । तर बाटोमा भेटिने जति
सबैले उसँग हाँसेरै बोलेपनि सबै उमेरकाको हेराइमा भने अलि अनौठोपन थियो । पहिलेजस्तो बाटोमा पर्ने हरेक घरका मान्छेले आइज, बस, खा भनेन् । सामान्य बोलचाल गर्यो बस् † सकियो । तर, हरेकका नजर भने उसका शरीरको पैंतालिस डिग्रीकोणदेखि एकसय असी डिग्रीकोणसम्ममा केन्द्रित थिए । कारण केटी नभएर उसका लुगा थिए । जिन्सको पेन्ट र जिन्सकै सर्ट उसको प्रिय पोसाक हो पहिले पनि लगाउँथी तर यसपालि भने सर्ट र पेन्ट दुवै ठाउँठाउँमा फाटेका, च्यातिएका थिए । गाउँका गरीब–दु:खीसँग हुँदैन तसर्थ त्यस्ता लाउनु तिनीहरूको बाध्यता हो तर ईश्वरी वा एसु त खानलाउँन पुग्नेकै छोरी थिई । मान्छेले उसलाई हो वा फाटेको ठाउँहरूमा खूब हेरे । फाटेकै लुगाको नियतिमा बाँच्ने गाउँले अरुलाई यसरी कसैले हेरेन । तर एसुका फाटेका ठाउँ सबैले हेरिए तर नजर लुकाएर । कि पूरै छोपिएको कि पूरै खुलामा चासो हुँदैन तर देखिनु र छोपिनुको अवस्थामा आँखाको कौतूहल अलि ज्यादा चकचके हुन्छ सायद ।
एसुले फाटेका लुगा लगाउनुको कारण सोध्ने साहस कसैले गरेन । धनीकी छोरी उसमाथि उच्चशिक्षाले सुसज्जित र जसलाई पनि ओठे जबाफले मुख बन्द गर्ने उसको स्वभाव थाहा छ भने किन चलाउने ? धेरैलाई यस्तो लागेपनि खुल्दुली त लाग्ने नै भयो । एसु घर पुग्दा–नपुग्दा आ–आङ्खनै किसिमले कारण निर्माण भएर उसको घरमा पनि पुगे । केही थान कारण यस्ता थिए:–
क) भिउसिनेको जङ्गलमा पाकेका ऐँसेलु टिप्न पस्दा काँढाले लुगा च्यात्यो । ख) बाँदरको बच्चालाई जिस्क्याउँदा माउहरूले चिथोरे र लुगा च्यातिए ।
ग) अर्कै गाउँका गुन्डाले हातपात गर्दा जोगिने र भिड्ने काम गर्दा लुगा च्यातिए ।
घ) गरीब नै गरीबले भरिएको गाउँका मानिसका फाटेका लुगालाई होच्याउन वा खिसी गर्न ।
ङ) आफूलाई पनि गाउँलेकै अवस्थामा ढालेर समभाव प्रदर्शन गर्न र विनम्रता देखाउन ।
च) उसमा बेलाबेला पागलपन चढ्छ । आजपनि बाटोमा एकछिन चढ्यो र स्वयंले लुगा च्याती । आदि आदि ।
एसु घर पुग्दा निकै मानिस जम्मा भइसकेका थिए । छोरी आएको खुसीभन्दा च्यातिएका लुगाको यो रुप देख्नासाथ मनमा चिसो पसेकी आमाले कसरी लुगा ठाउँ–ठाउँमा च्यातिएर बिरुप भइस् ? भनी सोधिन् । एसुले सहज भावमा उत्तर दिई ‘‘यो फाटेको नभएर फेसन हो ।’’
आमाले भनिन् अनि गाउँका गरीब मानिस सबैले फाटेका लगाएका छन् । के ती फेसन हुन् ? एसुले च्याठ्ठिएर भनी ‘‘तपाईहरू कालो अक्षर भैंसी बराबरलाई के थाहा शहर र त्यहाँको फेसन ?’’ नजाने गाउँको बाटो नसोध्नु भनेको थाहा छैन ? गाउँ यति सानो कुराले विभाजित भयो । एकथरीले भने ‘‘ठाउँ–कुठाउँमा प्वाल परेर नदेखिनुपर्ने दिखिएलाजस्तो लुगा फाटेकै हो ।’’ अर्को थरीले भने ‘‘पढेलेखेकीले भनेपछि फेसन नै हो ।’’ र तेस्रो थरीले भने ‘‘गरीब गाउँलेका लुगा एसुकाजस्ता भए फाटेका हुन् र शहरमा बस्नेले गरीबकै जस्ता फाटेका–टालेका लगाएर आए भने फेसन हो ।’’
अरु काम छोडेर भीड बढ्ने र तर्कवितर्क गर्ने क्रमको निरन्तरता थियो ।
† – कृष्ण वस्ती -
साभार : साँघु साप्ताहिक
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !