मंसिरको पहिलो साता । राती ९ बजे । जति–जति रात छिप्पिँदै जान्छ, पूर्वी नेपालको ट्रान्जिट सहर इटहरीमा मानिसको उतिउति चहलपहल र भीडभाड बढ्दै जाँदो रहेछ । तराई आन्दोलनका कारण इटहरी सहरको शैली साँच्चै फेरिएछ । इटहरी बसपार्क पुग्दा मानिस र सवारी साधनको अनौठो भीड देखिन्छ, मानौँ त्यहाँ भर्खर उज्यालो हुँदैछ । काठमाडौँ र
नेपालको पश्चिम क्षेत्रमा गुड्ने सवारी साधनहरू इटहरीमा भेला हुँदा रहेछन् राती ८ बजेदेखि नै । राती ११/१२ बजे प्रहरीको स्कर्टिङमा गुड्दा रहेछन् । राती ११ बजे हिँडेको गाडी सुनसरीकै भन्टाबारीमा घ्याच्च रोकियो । बजारका सटरहरू बन्द थिए । तर, बाहिर मिनरल वाटरको बोतलमा पहेँलो पदार्थ बोकेका युवादेखि बूढाहरूसम्म थिए । गाडी रोकिनसक्दै हातमा उनीहरू बोतल बोकेर कराउन थाले, ‘लौ आयो, पेट्रोल । मात्र एक लिटरको दुई सय रुपियाँ !’ यसरी गाडी रोकिनासाथ पहिले यहाँ हातभरि केरा बोकेर सस्तोसस्तो भन्दै आउँथे । चिसो पानीका बोतल ल्याउँथे । तर, अहिले पेट्रोल बेच्दा रहेछन् । झ्याल खोलेर बाहिर हेर्दा खुला आकाशमुनि ठाउँठाउँमा राखिएका खाटमा लहरै पेट्रोल ठड्याइएको थियो । हातहातमै पेट्रोल थमाउने तमासा हेरेर सप्तकोसी आउनै लाग्दा फेरि गाडी रोकियो । अन्धकार भएकाले स्थान यकिन गर्न सकिएन । त्यहाँ ६० लिटरका जर्किनमा थुप्रै डिजेल लोड गरियो । गाडीको प्यासेज डिजेलका जर्किनले भरिए, छतमा पनि अटुन्जेल खाँदियो । यात्रुवाहक सवारी साधन हो वा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर, खुट्याउन मुस्किल पर्यो । प्यासेजमा राखिएका जर्किनबाट डिजेल चुहिएर गन्धले यात्रु टाउको दुख्यो भन्दै चिच्याए तर गाडीका सहचालकले रातभरि नसुनेझैँ गरेरै टारिदिए । चुरोट खाने यात्रु कसैले झुक्किएर आगो पारिदिएमा बसमा दनदनी आगो लाग्न बेर लाग्दैन थियो । तर, जोखिमबारे बसका कसैले पनि केही बोलेनन् । पैसाका अगाडि ज्यानको के कुरा ? फेरि जंगलमै कमरेड पूर्वी नेपालको माझकिराँत भनेर चिनिने भोजपुरको ट्याम्के डाँडामा किराँत गणतन्त्र स्मारक टावर बन्ने भनेर शिलान्यास भएको चार वर्ष बितेको थियो । रमणीय यो डाँडामा सपिङ कम्प्लेक्स, सुविधासम्पन्न होटल, रेस्टुराँदेखि भ्यु टावरसम्म बनाउने गुरुयोजना छ । त्यसैले भोजपुर पुगेका बेला यो डाँडा चढ्न मन लाग्यो । जाँदाजाँदै ट्याम्केको फेदमा जंगलको बीचमा चिटिक्कको कलात्मक भवन देखियो । निर्जन ठाउँको घरलाई तारबारले घेरिएको थियो । केही पर गाइबस्तुको गोठ थियो । चउर खनेर तरकारी लगाउन ठीक्क पारिएको बारी रहेछ । तर, मानिस थिएनन् । केहीबेर घर नियालेर अघि बढ्यौँ र ट्याम्के चढ्यौँ । फर्कंदा भने हाफ पाइन्ट, घुँडासम्म आउने प्लास्टिकको बुट लगाएका एक अधबैँसे त्यहाँ मालिंगो काटिरहेका थिए । घरका सिसा फुटेका रहेछन् । बोल्ने मेसो त्यही भयो, “यति राम्रो घर कसले बिगारेछन् ?” “मानिसभित्र राक्षस हुँदोरहेछ, त्यही जन्तुले,” उनले भने । उनी आफू टावर विकास समितिको अध्यक्ष भएको बताए । सोलुखुम्बुका उनले यतै पशुपालन र खेती किसानी गरेर बस्ने बताए । “पूर्वसंस्कृतिमन्त्री गोपाल किराँतीका दाजुभाइ होलान् । अनुहार त्यस्तै छ,” मैले सँगै गएका साथीहरूसँग अड्कल काटेँ, “आफ्नै मानिस ल्याएर राखेछन् । नातावादी रहेछन् ।” सदरमुकाम आएपछि थाहा भयो, उनी त गोपाल किराँती नै रहेछन् । सदरमुकाममा हल्ला थियो, ‘गोपाल किराँतीले ट्याम्केको जंगलबाट आफूलाई उपराष्ट्रपति नबनाए जे पनि हुन सक्ने भनेर प्रचण्डलाई थर्काए रे !’ समयमै गोपाल भनेर चिन्न नसक्दा जंगलमा भेटिएका उनीसँग आफ्ना केही जिज्ञासा छुटेकामा चुकचुकाएँ । प्रहरी स्कुलमै कालोबजारी वर्षको सुरुमै भूकम्पले जनजीवन अस्तव्यस्त भयो । सर्वसाधारणले आर्थिक–भौतिक क्षति मात्र बेहोरेनन्, यो प्राकृतिक विपत्तिका कारण धेरैको मनोबलमा हलचल पैदा गरिदियो । यस्तो विपत्तिग्रस्त मनोविज्ञानलाई आडभरोसा दिन मनकारी व्यक्ति, संस्था र समूहहरूले सकेको योगदान गरे । र, नेपाली समाजलाई माथि जान प्रेरित गरे । अहिले नाकाबन्दीका बेला पनि यस्तै एकअर्कालाई सहयोग र सहुलियत दिने अभियानहरू जनस्तरमा जारी छन् । विडम्बना ! राज्यले विपत्तिका बेला हुने कालोबजारी रोक्न त सक्दो रहेनछ नै । उल्टै राज्यकै निकाय सहायक पनि बन्न पुग्दा रहेछन् । झन्डै यस्तै कालोबजारीको परिभाषासँग मेल खाने काम नेपाल प्रहरी उच्चमावि, साँगाले गरेछ । भूकम्पको डेढ महिनापछि खुलेको स्कुलले लगत्तै मासिक शुल्कमा पाँच सय रुपियाँ बढाएछ, अभिभावकलाई थाहै नदिई । जबकि, शैक्षिक शुल्क बढाउन शिक्षा विभागको अनुमति चाहिन्छ । त्यसका पनि निश्चित मापदण्ड र विधि छन् । तर, प्रहरीको स्कुलले नै विधि र प्रक्रियामा जान आवश्यक ठानेनछ । बर्सेनि शैक्षिक सत्रको सुरुमै शिक्षा विभागको स्वीकृतिमा शुल्क निर्धारण हुन्छ । बीचमा बढाउन पाइँदैन । प्रहरी स्कुलको यो शैली कालोबजारी होइन ? कानुनको कार्यान्वयन गर्ने र निहत्था नागरिकलाई न्याय दिलाउने निकायकै प्रत्यक्ष निगरानी र नियन्त्रणमा रहने संस्थाबाट यस्तो हुन्छ भने पद्धति र सुशासन खोज्न हामी कहाँ जाने ?
साभार : ईकान्तिपुर
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !