प्रहरी हिरासतमा रहेका कुख्यात लागूऔषध कारोबारी दिलबहादुर (डीबी) गुरुङको अनुहारमा कुनै डर र पश्चात्ताप देखिँदैन । उनको आत्मविश्वास देखेर अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूसमेत चकित छन् । नहोऊन् पनि किन ? पटकपटक सजाय भोगका गुरुङले आफ्नो धन्दालाई निरन्तरता दिइरहेकै छन् ।
ब्युरोद्वारा गिरफ्तारीमा पर्दासमेत लागूऔषध कारोबारमा ‘ह्यासिस किङ’का रूपमा परिचित गुरुङको ‘माल’ कार्गोबाट इटाली गइरहेको थियो । गुरुङकै समूहबाट क्यानडा, हङकङ, इटाली, भारत र चीन पठाउन ठिक्क पारिएको ९० किलोग्राम चरेस बरामद भएको थियो । ०५४ सालदेखि चरेस कारोबारमा संलग्न गुरुङ १८ वर्षभित्र चार वर्ष जेल बसिसकेका छन् । पाँचपटक प्रहरीले पक्राउ गरिसकेको छ । यस अवधिमा उनले धरौटी मात्रै १२ लाख १० हजार रुपियाँ तिरे । तर पनि उनले आफूलाई सुधारेनन् । बरू आफ्नो कारोबार फैलाइरहे ।
प्रहरीका अनुसार गुरुङ लागूऔषधको अन्तर्राष्ट्रिय गिरोहसँग सम्पर्क भएका व्यक्ति हुन् । उनले व्यवसायीको भेषमा विश्वका विभिन्न मुलुक घुम्ने गरेको भेटिएको छ । अधिकांश समय हङकङ बस्ने गुरुङ प्रहरीको पन्जामा पर्नुभन्दा एक दिनअघि मात्रै नेपाल आएका थिए ।
लागूऔषधको अवैध ओसारपसारमा संलग्न हुनेहरूका लागि अन्य अपराधको तुलनामा कानुनी कारबाही कडा मानिन्छ । त्यसैले समाजका लागि सदैव घातक रहन सक्ने र जतिपटक सजाय तोक्दासमेत नसुध्रिने अपराधीलाई प्रहरीले नै लागूऔषध थमाइदिएर जेलमा थन्काइदिने चलन छ । तर, नेपालका लागूऔषध कारोबारी सबभन्दा कडा सजाय भोगेपछि पनि त्यही काम पछ्याइरहेका छन् ।
लागूऔषध ओसारपसारको थालनी चरणमै पक्राउ परेर सजाय पाएका अर्का कुख्यात कारोबारी देवेन्द्रविक्रम रोका छपालीले त्यसपछिका साढे तीन दशक चरेस र हिरोइनको कारोबार फैलाए । तेस्रोपटक ०६९ सालमा पक्राउ पर्दा के खुल्यो भने छपाली सीतापाइलास्थित आफ्नो निवासमा चरेस प्याकिङ गर्ने कारखाना नै खोल्न सफल भइसकेका रहेछन् ।
राजधानीमै चरेस कारखाना खोलेका छपाली नेपालका ठूलो आपूर्तिकर्ता भएको प्रहरीको दाबी छ । छपालीको समूहबाट प्रहरीले १ सय ३६ किलो चरेस फेला पारेको थियो भने हङकङ र जापानका प्रतिष्ठित बैंकहरूमा समेत खाता रहेको भेटिएको थियो । उनको हङकङस्थित हङकङ बैंक र जापानको बैंक अफ योकोहोमामा खाता रहेको फेला पर्यो ।
“उसले निकै शक्तिशाली सन्जाल बनाएर आफ्नो धन्दा चलाएको थियो,” लागूऔषध नियन्त्रण ब्युरो छँदा छपालीको सन्जाल केलाएका प्रहरी नायव महानिरीक्षक (डीआईजी) नवराज सिलवाल भन्छन् । छपालीले चीन, थाइल्यान्ड, जापान, क्यानडा, युरोपेली मुलुकमा कारोबार फैलाएको प्रहरी अनुसन्धानले फेला पारेको छ ।
धादिङका छपाली मुलुकमा गाँजा/चरेस प्रतिबन्ध भएसँगै सलबलाएका कारोबारी हुन् । ०३३ सालमा नेपालमा गाँजा र चरेस कारोबारमा प्रतिबन्ध लागेको थियो । छपाली भने त्यसलगत्तै सक्रिय भएका हुन् । उनी त्यतिबेला देवेन्द्रबहादुर नेपालीका नाममा कारोबार चलाउँथे । ०३९ सालमा ६ वर्ष कैद र २० हजार रुपियाँ जरिवाना फैसला भएको थियो उनलाई । यो सजाय पाएपछि पनि छपालीको धन्दा रोकिएन । बरू विश्व बजारमा अझ महँगोमा बिक्री हुने खैरो हिरोइनको कारोबारतिर फड्को मारे उनले । उनी ०४२ सालमा २४ ग्राम खैरो हिरोइनसहित पक्राउ परेका थिए । यस मुद्दामा ६ वर्ष कैद र २० हजार रुपियाँ जरिवाना सजाय पाए ।
पटकपटक कारोबार गरेकामा ०४६ सालमा तत्कालीन वाग्मती विशेष अदालतले थप दुई वर्ष कैद र एक हजार रुपियाँ जरिवानाको फैसला सुनाए, जसलाई एक वर्षपछि मध्यमाञ्चल क्षेत्रीय अदालतले कैद अवधि घटाएर एक वर्षमा झारिदियो । पटकपटक सजाय भुक्तान गरे पनि उनको बानी सुध्रिएन । बरू नियामक निकायको आँखा छल्दै छपालीले निर्वाध गतिविधि बढाए ।
खैरो हिरोइन तस्करीमै पटकपटक सजाय काटेका अर्का पात्र हुन्, जयप्रकाश लामा र अमरबहादुर थापा । लामा ०६१ सालमा १६ ग्राम खैरो हिरोइनसहित काठमाडौँको टेकुबाट पक्राउ परेका थिए । पाँच वर्ष जेल बसेर निस्किएपछि समेत उनले कारोबार त्याग्न सकेनन् । परिणाम उनी पुन: प्रहरीको फन्दामा परे, गत माघमा । लामा साढे तीन ग्राम खैरो हिरोइनसहित पक्राउ परेका थिए । जेलबाट निस्किएपछि लामाले समेत तस्करीको समूह बनाएको प्रहरी अनुसन्धानमा खुल्यो । उनी १५ वर्षयता खैरो हिरोइनको कारोबारमा लागेका हुन् ।
अमरबहादुर थापासमेत यस्ता कारोबारी हुन्, जसलाई सजायको कुनै पर्वाह छैन । उनी समेत ०६१ सालमा पक्राउ परेपछि पाँच वर्ष जेल सजाय काटेका व्यक्ति हुन्, जो ०७१ माघमा १० ग्राम हिरोइनसहित पक्राउ परे । दुवै जना हाल पुर्पक्षका लागि थुनामा छन् ।
तीन पुस्तै अपराधमा
डाइजोपाम, वुप्रिनफ्रिन, एम्पोल, सुईजस्ता औषधीजन्य लागूपदार्थको कारोबार गर्नेहरूको पटके प्रवृत्ति केलाउने हो भने झनै भयानक तस्बिर चित्रित हुन्छ । चिकित्सकको सिफारिसमा मात्रै किनबेच हुनुपर्ने यस्ता औषधिजन्य लागूपदार्थका कारोबारी प्राय: सजाय काटेर पुन: सोही काममा लागेका देखिन्छन् । कम गम्भीर प्रकृतिका मानिने यस्ता लागूपदार्थका कारोबारी कमै हुन्छन्, जो दोस्रोपटक प्रहरीको फन्दामा नपरेका हुन् । आधा दर्जनपटकभन्दा बढी सजाय भोगेर समेत यसैमा संलग्न हुने पनि छन् ।
गम्भीरमान श्रेष्ठ र नानीमैयाँ श्रेष्ठको लागूऔषध कारोबारबारे अनुसन्धान गर्न खटिँदा उनीहरूका नाति सुजनलाई नाबालकै देखेका थिए प्रहरी अधिकारीहरूले । तर, सुजन अहिले लागूऔषधको कारोबारी बनिसकेका छन् । श्रेष्ठ दम्पतीले सातौँपटक पक्राउ परेर सजाय भुक्तान गर्दा समेत कारोबार त छोडेन नै, बरू उल्टै आफ्ना सन्ततिलाई समेत सिकायो ।
श्रेष्ठ परिवारको तीन पुस्ता औषधीजन्य लागूऔषध कारोबारमा जोडिएको छ । श्रेष्ठ दम्पतीका छोरीहरू सीता, उर्मिला र बुनु तथा सीताका छोरा सुजन लागूऔषध किनबेचमा संलग्न छन् । अझ रमाइलो पक्ष त के भने उनीहरू सबैले सजाय दोहोर्याएका छन् । “हामीले सचेत गराउने काम त कति गर्यौँ कति,” ब्युरोका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्रबहादुर चन्द भन्छन्, “उनीहरूका लागि प्रहरी–प्रशासन र अड्डाअदालत धाउनु पानीपँधेरोसरह हो ।”
झन्डै दुई दशकदेखि यो परिवार मेडिसनजन्य लागूऔषधको कारोबारमा संलग्न छ । कैद भुक्तान, धरौटी, रिहा र पुन: कारोबार उनीहरूको नियमित रुटिन बनेको छ । गम्भीरमानले ०६३ सालमा २ वर्ष १४ दिन कैद र एक लाख रुपियाँ जरिवाना तिरेका थिए भने नानीमैया ०६२ मा दुई वर्ष जेल बसिन् । ०६७ र ०६८ सालमा समेत गम्भीरमान पक्राउ परेर धरौटीमा रिहा भए । अहिले दुवै जेलमा छन्, ०७० सालमा पक्राउ परेपछि ।
पटकेमा सबैभन्दा कुख्यात कारोबारी हुन्, काठमाडौँ मूलपानीकी नानीमाया फुयाल । उनी ०६६ सालदेखि नै सजाय काट्दै छुटेर लागूऔषधको कारोबारमा संलग्न पात्र हुन् । प्रहरीका अनुसार फुयाल सातौँपटक कारोबारमा संलग्न भएको पाइएको छ । ०६६, ०६८, ०७० र ०७२ चारपटक त उनी प्रहरीकै कारबाहीमा परिसकेकी छन् । गत जेठमा डाइजापोम, वुप्रिनफ्रिनसहित काठमाडौँको जडीबुटीबाट पक्राउ परेकी फुयाल कैद सजाय काटिरहेकी छन् । रमाइलो त के भने फुयालले समेत आफ्ना छोराद्वय सन्तोष र सम्पूर्णलाई कारोबारमा होमेकी छन् । सन्तोष दुईपटक पक्राउ परिसकेका छन् ।

किन हुन्छ यस्तो ?
लागूऔषधको कारोबारमा संलग्न व्यक्तिलाई कानुनले दशीको मात्रा हेरेर जन्मकैदसम्मको सजाय व्यवस्था गरेको छ । कडा कानुनी व्यवस्थाले समेत कारोबारीहरूलाई रोक्न नसक्नुको मुख्य कारण आकर्षक आम्दानी नै हो । अवैध अर्थतन्त्रमा लागूपदार्थ संसारमै सबै बढी नाफा हुने हतियारपछिको दोस्रो कारोबार मानिन्छ । “भूमिगत यो कारोबारका प्रयोगकर्ता धनाढ्य र कुलीन वर्गका हुन्छन् । यसमा नाफासमेत छ,” ब्युरोका डीआईजी जयबहादुर चन्द भन्छन्, “रातारात धनी बन्ने लालसाका अगाडि सजाय फिक्का भएको देखिन्छ । यो निकै डरलाग्दो प्रवृत्ति हो ।”
अदालती फैसलाका कारणसमेत कारोबारीहरू नियन्त्रणमा नआएको प्रहरीको आरोप छ । “कानुनका छिद्रहरूमा टेकेर सबैभन्दा कम सजायको फैसला दिने प्रवृत्तिले सजाय काटेकाहरू फेरि धन्दामा फर्कन्छन्,” डीआईजी चन्द भन्छन् ।
प्रकाशित: फाल्गुन २५, २०७२लागूऔषधको कारोबारमा संलग्न व्यक्तिलाई कानुनले दशीको मात्रा हेरेर जन्मकैदसम्मको सजाय व्यवस्था गरेको छ । कडा कानुनी व्यवस्थाले समेत कारोबारीहरूलाई रोक्न नसक्नुको मुख्य कारण आकर्षक आम्दानी नै हो । अवैध अर्थतन्त्रमा लागूपदार्थ संसारमै सबै बढी नाफा हुने हतियारपछिको दोस्रो कारोबार मानिन्छ । “भूमिगत यो कारोबारका प्रयोगकर्ता धनाढ्य र कुलीन वर्गका हुन्छन् । यसमा नाफासमेत छ,” ब्युरोका डीआईजी जयबहादुर चन्द भन्छन्, “रातारात धनी बन्ने लालसाका अगाडि सजाय फिक्का भएको देखिन्छ । यो निकै डरलाग्दो प्रवृत्ति हो ।”
अदालती फैसलाका कारणसमेत कारोबारीहरू नियन्त्रणमा नआएको प्रहरीको आरोप छ । “कानुनका छिद्रहरूमा टेकेर सबैभन्दा कम सजायको फैसला दिने प्रवृत्तिले सजाय काटेकाहरू फेरि धन्दामा फर्कन्छन्,” डीआईजी चन्द भन्छन् ।
साभार् : नेपाल साप्ताहिक
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !