CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » नेपाल गुलाम बनेन, नेपालीहरु गुलामी गर्न संसारभर पुगे

नेपाल गुलाम बनेन, नेपालीहरु गुलामी गर्न संसारभर पुगे

वनस्पतिशास्त्री तीर्थबहादुर श्रेष्ठलाई नेपाल साहित्य महोत्सवको उद्‌‌घाटन समारोहमा प्रमुख मन्तव्य दिन लगाइएको थियो। उनले नेपाल र नेपालीको बारेमा केही मननयोग्य भनाई राखेका थिए। नेपाल चिनौँ
शीर्षकमा केही प्रमुख अंश अडियोसहित सुनौँ-
सबै नेपाली नेपालमा छैनन्। कोही प्रवासमा छन्। कोही गैरआवासीय नेपाली भनेर विदेशमा छन्। कोही श्रमिक बनेर गुलामी गर्दैछन्। गुलामी गर्दा पनि ब्रिटिस गोर्खाका गोर्खालीहरू ब्रिटिस साम्राज्यका प्रजा होइन रहेछन् भनेर अचम्म पर्थे तिनका अंग्रेज हाकिमहरू। किनभने नेपाल कसैको गुलाम बनेको छैन। उपनिवेश बनेको छैन। नेपालीहरू भने गुलामी गर्न लाहोरदेखि संसारभर पुगिसकेका छन्। तिनकै रगतपसिनाका कमाइ खाएर नेपालभित्रै बसेर विदेशीको गुलामी गर्ने नेपालीको पनि कमी छैन यो नेपालमा। नेता होस् या कार्यकर्ता, किसान होस् या जवान, कसैले पनि नेपालीको सलामी खाएर विदेशीको गुलामी गर्छन् भने तिनको मलामीमा नेपाली आँसु बग्दैन भन्ने शाश्वत साहित्यकारहरूले बुझेका छन्। साहित्यकारका कलमहरूले त्यो कुरा छोडेका छैनन् र छोड्ने पनि छैनन्।
- फूल फुल्ने वनस्पति प्रजाति संख्याका आधारमा चीन नेपालभन्दा पाँच गुणामात्र ठूलो छ, ६५ गुणा हैन। भारत पनि तीन गुणामात्र ठूलो छ, २२ गुणा हैन। त्यस्तै चरा प्रजातिको अभिलेखले नेपालमा विश्वको १० प्रतिशत चरा प्रजाति पाइन्छ। विश्व मानचित्रमा नेपालले ओगट्ने भूभाग मात्र ०.१ प्रतिशत छ। पन्छीको अनुपातमा लैजाने हो भने नेपालको क्षेत्रफल १०० गुणाले बढ्न जान्छ। चीनभन्दा ठूलो हुन्छ। त्यसैले त महाकवि प्रश्न गर्छन्- के नेपाल सानो छ?
-नेपाललाई चार जात र छत्तीस वर्णको फूलबारी भनेर हाम्रो भौगोलिक, सांस्कृतिक, भाषिक आदि विविधतालाई सम्मान गर्दै आएका छौं। उहिलेका कुरा गर्दा जात, पात, भान्छामात्र हैन; आपसमा हुक्का र पानी पनि बारिन्थ्यो। भाषा पृथक थिए। आपसी संवादमा समस्या थियो। पहिरन बेग्लै थियो। पहिरनले पनि चार जात छत्तीस वर्ण छुट्टिने अवस्था थियो। ती भए उहिलेका कुरा। अहिलेको पुस्तामा त्यो पाइँदैन। सबै नेपाली एकै जात र एकै वर्णमा परिणत हुँदैछन्। त्यसमा कुनै शंका छैन।
-यदि सही मिसन छ भने नेपाली सधैं एकजुट हुन्छन्। फुटाएर फुट्दैनन्। त्यो कोरिया जाने लस्कर होस् वा अस्थायी प्रहरीको जमात। अथवा राष्ट्रिय टिमलाई हौस्याउने रंगशालाका फुटबल दर्शक।
-जातभात मिल्ने बुहारी वा ज्वाइँ खोज्ने वा रोज्ने काम अब असान्दर्भिक बन्दैछ। शान्तिसम्झौतापछि चर्काइएका जातीय नारा र राज्य पुनर्संरचनाको प्रान्तीय रडाको युवापुस्ताले लत्याउँदैछन्। जातीय पहिचानको प्रान्तले गैरआवासीय हुनुको पीडा यत्रतत्र छरिने देखिन्छ।
-यदि ‘रेमिन्ट्यान्स’ अर्थात् श्रमसेवाबाट जति आम्दानी हुन्छ, त्योभन्दा बढी व्यापार र उद्योगधन्दाबाट आम्दानी हुन सक्यो र त्यसभन्दा अझ बढी आम्दानी कृषि खेतीपातीबाट हुन सक्यो भने नेपालको स्थायित्व बढ्छ। दिगो विकासको सूत्र त्यही हो। उर्वरा नेपाललाई मरुभूमि बनाएर मरुभूमिलाई पसिनाले पोस्नु आजको बाध्यता होला तर भोलिको वास्तविकताले त्यसलाई मान्नेछैन।


Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis