झन्डै साढे ११ वर्षअघि राजधानीको सामाखुसी रानीबारी क्षेत्रमा कम्प्युटर
व्यवसायी दम्पतीको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो। ०५९ साल असार
३१ मा भएको उक्त घटनाको अहिले पनि धेरैलाई मधुरो सम्झना होला। प्रहरीको
असफल अनुसन्धानको कोटिमा पर्ने उक्त हत्याकाण्डमा संलग्नलाई पक्राउ
गरिनुपर्ने भन्दै बेलाबेलामा आवाजसमेत उठ्छ।
भुइँतलामा बस्दै आएका सफ्टवेयर इन्जिनियर ३६ वर्षीय हेमन्त श्रेष्ठलाई शयन
कक्षमा र २९ वर्षीया श्रीमती अञ्जलीलाई भान्छामा मारिएको थियो। उनीहरूकी ६
वर्षीया छोरी (सुरक्षाका कारणले नाम नखुलाइएको) घाइते भए पनि भाग्यले
बचेकी थिइन्। उनीहरू उक्त भाडाको घरमा बस्नुका साथै कम्प्युटरको हार्डवेयर र
सफ्टवेयर व्यवसाय पनि सञ्चालन गर्थे। यतिका वर्ष वितिसक्दा पनि प्रहरी
उनीहरूको ज्यान लिने दुई खुकुरीधारीसम्म पुग्न सकेको छैन। प्रत्यक्षदर्शीको
सहयोगमा प्रहरीले शंकास्पद व्यक्तिहरूको स्केच पनि बनाएको थियो। वैदेशिक
रोजगारीमा संलग्न घरबेटी (नाम गोप्य) लाई दिनहुँजसो केही व्यक्ति खोज्दै
आउने गरेको र उनी छलिएर बस्ने गरेको समेत त्यतिबेला खुलासा भएको थियो।
उनलाई धेरै पटक बोलाएर प्रहरीले वास्तविकता खोतल्ने प्रयास गरेको थियो, तर
उनीबाट पनि प्रहरीले हत्यारासम्म पुग्ने भरपर्दो सूचना प्राप्त गर्न सकेन।
उनले तत्कालको अवस्थामा सफाई पाएकी थिइन्। घटनाको दिन माथिल्लो तल्लासम्म
आक्रमणकारी पुग्नुअघि नै घरबेटी ज्यान जोगाएर छिमेकीकहाँ पुगिसकेकी थिइन्।
त्यसपछि दुवै आक्रमणकारी सामाखुसीतर्फ लागेको धेरैले देखेका थिए। पक्राउ
पर्नेसमेत पर्वाह नभएका उनीहरू कसैलाई पनि जीवित छाड्ने मनस्थितिमा नरहेको
देखिएको घटनास्थलको प्रकृतिले छर्लङ्ग पारेको थियो। उनीहरू घटनास्थलबाट
करिब डेढ सय मिटर उत्तरमा खुकुरी फाली हिंडेका थिए।
अन्धाधुन्ध खुकुरी हान्दा आफैं घाइते भएका उनीहरूले आरामले नजिकैको पसलमा
घाउमा लगाइने टेप किनेको र केही पर शरीरमा लागेको रगत पखालेका थिए। उनीहरू
त्यहींबाट गाडी चढेर गन्तव्यतर्फ लागेका थिए। घट्नामा संलग्नहरूका बारेमा
देखेबुझेका हरसम्भव जानकारी स्थानीय बासिन्दाले प्रहरीलाई दिएका थिए।
त्यतिबेला प्रहरीले फुर्ती नदेखाउँदा हत्याराहरू सहज ढंगले भागेको समेत
स्थानीय बासिन्दाले आरोप लगाएका थिए। प्रहरीले त्यतिबेला घरबेटीको विगत र
वर्तमान खोतल्यो। हेमन्तको आर्थिक, सामाजिक गतिविधि एवं विवाहपूर्वको प्रेम
प्रसंगलाई समेत केलाएर हेर्यो। सबैभन्दा बढी शंकास्पद मानिएकी घरबेटीसँग
लगातार सोधपुछ गरे पनि भारतीय नागरिकसँग विवाह गरेकी हेमन्तकी
पूर्वप्रेमिकासम्म भने प्रहरी पुग्न सकेन।
मुलुकको अस्थिर राजनैतिक अवस्था, बदलिंदो घट्नाक्रम एवं कार्यालय
प्रमुखहरूको सरुवा-बढुवासँगै प्रहरीको फाइलको थुप्रोमा यो घटना हराउँदै
गयो। अन्य थुप्रै गम्भीर अपराधका घटनाजस्तै यसमा पनि अनुसन्धान अधिकृतहरू
कहिल्यै कुनै नतिजामा पुग्न सकेनन्। महानगरीय प्रहरी अपराध महाशाखाले हालै
फेरि यस सम्बन्धमा एउटा टोली बनाएर अनुसन्धान सुरु गरेको छ। प्रहरी
महानिरीक्षक उपेन्द्रकान्त अर्यालले हालै यस्ता नसुल्भिmएका घट्नाहरूको
अनुसन्धान पुनः सुरु गर्ने घोषणा गरेपछि ढिलै भए पनि वास्तविकता पत्ता
लाग्ने झीनो आशा भने पलाएको छ।
साभार :साप्ताहिक
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !