CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » विश्व शारीरिक सुगठनमा चार नेपाली खेलाडी

विश्व शारीरिक सुगठनमा चार नेपाली खेलाडी

विश्व सुगठनमा चार खेलाडीकाठमाडौं- नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले छैटौं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा नेपाली खेलाडीले पदक जित्ने विश्वास लिएको छ। च्याम्पियनसिप भारतको मुम्बईमा शुक्रबार सुरु भएको छ। राष्ट्रिय खेलकुद परिषद्मा बिहीबार आयोजित बिदाइमा सम्भावना बोकेका खेलाडीलाई मात्र सहभागी गराइएको  भएकाले पदक आशा गरिएको संघका महासचिव दिनेश राजभण्डारीले बताए।
'च्याम्पियनसिपमा १२ खेलाडीले भाग लिन पाउने प्रावधान छ ,' उनले भने, 'एकातिर आर्थिक पाटो आउँछ। अर्कोतिर ठूलो प्रतियोगितामा राम्रो प्रतिस्पर्धा दिन सक्ने खेलाडी जानुपर्छ भन्ने संघको मान्यता हो।' ४ खेलाडीसहित ९ सदस्यीय टोली शुक्रबार भारत प्रस्थान गरेको छ । टोलीको नेतृत्व संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले गर्नेछन्। 
भाग लिने सबै राष्ट्रिय स्तरका च्याम्पियन हुन् भने त्यसमध्ये दुईले अन्तर्राष्ट्रियमा सहभागिता समेत जनाइसकेका छन्। रुजेश शाहीले ५५ केजी, रामहरि खनालले ६० केजी र महेश महर्जनले ७० केजीले प्रतिस्पर्धा गर्नेछन्। विमललाल श्रेष्ठले फिजिकल फिटनेसमा  १ सय ७० सेन्टिमिटर उचाइसम्मका पुरुषको समूहमा भाग लिनेछन्। फिजिकल फिटनेसतर्फ नेपालले भाग लिन लागेको यो पहिलो अवसर हो। 
विश्व सुगठनमा चार खेलाडीमिस्टर हिमालयका विजेता रामहरि र रुजेशले पहिलोपल्ट अन्तर्राष्ट्रियमा भाग लिन लागेका हुन्। 'दुई ठाउँमा तयारी गरिरहेको छु। तयारी राम्रै भएको छ,' रामहरिले भने, 'पहिलो अन्तर्राष्ट्रिय सहभागिता भए पनि सफल नतिजासाथ फर्कने विश्वास लिएको छु।'
मिस्टर हिमालयका ६० केजीका विजेता रुजेशले आफ्नै क्लबमा नियमित प्रशिक्षण गर्दै आएका छन्। 'हामीबाट संघले ठूलो अपेक्षा राखेको छ। संघले पनि धेरै सहयोग गरेको छ,' उनले भने, 'हामी कुनै न कुनै पदक जितेर फर्कने लक्ष्यसाथ जाँदैछौं।'
संघको आफ्नै फिटनेस सेन्टर नभएका कारण खेलाडीलाई अलग अलग तयारी गराउनुपरेको संघका अध्यक्ष श्रेष्ठले बताए। ४७औं एसियाली शारीरिक सुगठनमा ७५ केजीमा प्रतिस्पर्धा गरिसकेका महेश धर्मश्रीमा सोही तौलसमूहका विजेता हुन्। उनले विगतको अनुभवले च्याम्पियनसिपमा फाइदा पुग्ने विश्वास लिएका छन्।
चार वर्षअघि दक्षिण एसियाली शारीरिक सुगठनमा भाग लिएका विमलले भने फिजिकल फिटनेस आफ्ना लागि पनि नयाँ अनुभव भएको सुनाए। महासचिव राजभण्डारीले यसमा खेलाडीको व्यक्तित्व लगायत विभिन्न पोजको प्रदर्शन गर्नुपर्ने बताए।
चार वर्षअघि भारतमा सम्पन्न दोस्रो डब्लुबिपिएफ विश्व पुरुष शारीरिक सुगठनमा श्याम श्रेष्ठले ६५ केजी तौलमा कांस्य पदक ल्याउनु नै नेपालको अहिलेसम्मको ठूलो सफलता हो।
मुम्बई जाने टोलीको अफिसियलमा उत्तम सिलवाल, अन्तर्राष्ट्रिय निर्णायकमा दिनेश श्रेष्ठ तथा सर्टिफिकेसनका लागी ईश्वरमान श्रेष्ठ र सुनील श्रेष्ठ पनि छन्। संघका प्रथम उपाध्यक्ष विजयलाल कायस्थले टोलीको बिदाइ गरे।
साभार : नागरिक न्युज 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis