CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , » सक्किगो नि !

सक्किगो नि !

भद्रगोल हेर्ने दर्शकले यी संवाद सहजै बुझ्न सक्छन्, नहेर्नेहरूले पनि सहरमा चलेका यी थेगोका बारेमा कतै न कतै सुनेकै हुनुपर्छ । बुझे राम्रै भो, नबुझे त फेरि सकिगो नि ! टेलिभिजनमा प्रसारण हुने हास्यटेलिश्रृंखलाहरूमा अहिलेको नम्बर वान हास्यश्रृंखला हो— भद्रगोल । भद्रगोल हेरिरहेको अवस्था ! हल्का खाना खाइरहेको अवस्था, आपुई निन्द्रा पो लाग्यो, अब सुत्नुपर्ने अवस्था, यस प्रकारका संवाद युवा जमात सामान्य हुँदै गएको छ । हल्का, आपुई, सकिगो नि जस्ता जिग्री बोरोले बोल्ने संवाद अहिले आमनागरिकले समेत प्रयोग गर्न थालेका छन् ।
यस्तै पाँडेको डाम्ना, मेरी आम्मै नि, खत्तम भो, बर्बाद भो, काटिज, मारी, बेलासेको तनावै तनाव छ गोजीमा दुई रुपैयाँ छैन, सिते बाको ए हो, ठीकै छ नि त, वरिष्ठेको हजुर वरिष्ठ हस् त नमस्ते, खुपीका बाउको के त भन्दा आखिरीमा हो नि त, मानेको मैले बुझें जस्ता थेगो पनि चल्तीमा छन् । एउटै हास्यश्रृंखलाका यति धेरै थेगो जनमानसमा स्थापित हुने पहिलो हास्यश्रृंखला पनि हो— भद्रगोल । भद्रगोलका १० भिन्न चरित्रका प्रशंसक नेपालभर छन् । 

शुक्रबार बेलुका ८:५५ मा प्रसारण हुने भद्रगोलले ६८ भागको यात्रा तय गरिसकेको छ । झन्डै डेढ वर्षको अवधिमा यसले हरेकको मन जितेको छ । दिनभरको तनावबाट मुक्त गराउन यो श्रृंखलाका पात्रले गर्ने अभिनय पर्याप्त हुन्छ । यो हास्यश्रृंखलाले ग्रामीण भेगका किसान, मजदुरदेखि कर्पोरेट कल्चरमा अभ्यस्तहरूको समेत मन जितेको छ । दुई जनाको भेटघाटदेखि समूहगत छलफलमा समेत यसले चर्चा पाएको छ । 

यो हास्यश्रृंखलाले लोकप्रियताको शिखर यात्रा तय गरेकै कारण यसका स्टार कलाकारहरू अहिले बेफुर्सदिला छन् । मुलुकभित्रका महोत्सवदेखि विदेशका स्टेजसम्म उनीहरूको माग छ । केही समयअघि यो हास्यश्रृंखलाका मात्र ५ जना कलाकारलाई कार्यक्रमका लागि हङकङ निम्त्याइएको थियो, जबकि विदेशी भूभागको कार्यक्रममा शीर्ष २ वा ३ कलाकारलाई मात्र निम्तो गरिन्छ । यो साता मलेसियाका विभिन्न स्थानमा आयोजित कार्यक्रममा पनि भद्रगोलका शीर्ष कलाकारले दर्शकको वाहवाही बटुले । 

यो हास्यश्रृंखलाको प्रभाव सामाजिक सञ्जालहरूमा पनि उत्तिकै छ । टि्वटर र फेसबुकका प्रयोगकर्ताहरूमाझ अत्यधिक प्रयोगमा आउने 'सक्किगोन्त' सक्किगो नि कै अपभ्रंश हो । केही अघि पत्रकार नारायण वाग्लेले एउटा प्रसंगलाई 'सक्किएन्त' भन्दै टि्वटेका थिए । यस्तै पत्रकार गुणराज लुइँटेलले त 'सक्किगोन्त' शीर्षकमा सेतोपाटीमा लेख लेख्दै यो ट्रेन्ड सामाजिक संजालमा कति लोकप्रिय छ भन्ने कुरा प्रस्ट्याएका थिए । सक्किगो नि मै पनि धेरै स्टाटस लेखिएका छन् । यस्तै यो हास्यश्रृंखलाका अरू थेगोले पनि स्टाटस, लेख तथा विचारहरूमा स्थान पाएका छन् । 

भद्रगोल, अभिनयको क्षेत्रका स्ट्रगलर र न्यूकमरहरूको साझा प्रयासमा तयार भएको हास्यश्रृंखला हो । प्रसारण भएको एक महिनाभित्रै उनीहरूले भद्रगोलको सुरक्षित भविष्यको संरचना तयार गरिसकेका थिए । आमदर्शकमा लोकप्रिय हुन भने उनीहरूलाई ६ महिना लाग्यो । त्यसपछि भने यो टिमले पछाडि फर्किनुनपर्ने गरी श्रृंखलालाई ब्रान्डिङ गरिसकेका छन् । सबै चरित्रको गेटअप र स्टाइल दर्शकले रुचाएका कारण उनीहरूले जे-जस्तो अभिनय गरे पनि दर्शकले त्यसलाई स्वभाविक रूपमा ग्रहण गर्दै आएका छन् । 

किन लोकप्रिय भयो त भद्रगोल ? जनमानसमा तीतो सत्य, जिरे खुर्सानी, मेरी बास्सैजस्ता चलेका हास्यश्रृंखलाको बलियो दबदबा भएका बेला यो हास्यश्रृंखलाले ती सबैलाई पछाडि छोड्दै अघि बढ्नुको मुख्य कारण यसको विविधता नै हो । समाजमा देखिने चरित्रलाई दुरुस्तै उतारिएका विभिन्न पात्रले सामान्य कथामा स्वस्थ मनोरन्जन प्रस्तुत गर्दै आएका छन् । समाजमा देखिने भलाद्मी, फटाहा, गरिब, धनी सबै चरित्र त्यहाँ कमेडी स्टाइलमा प्रतिनिधित्व भएका छन् । त्यसमा पनि अहिलेको तन्नेरी पुस्तालाई छुने गरी जिग्री, बले र कक्रोचजस्ता बेरोजगार युवाले सोलमारीको दबाका स्टेसनमा टुच्च लगाउनेदेखि युवतीलाई आकषिर्त गर्न बुनेका योजनाहरूले यो श्रृंखलालाई सबैमाझ लोकप्रिय बनाएको छ । अहिले त हास्यश्रृंखलाका पात्रहरूले भद्रगोलदेखि स्टेजसम्मको आम्दानीले खल्ती गरम बनाएका छन्, तर त्यसभन्दा अघि उनीहरूको बेरोजगार जीवनको दैनिकी यस्तै थियो, जसको अनुभवलाई उनीहरूले हास्यश्रृंखलामा उतारेका छन् । निर्देशक शंकर आचार्य भन्छन्- 'बान्की परेको टिमवर्कका कारण हामी सफल भयौं, यो टिममा सहभागी हरेक सदस्यको बराबरको भूमिका यसको सफलताको रहस्य हो ।'



अर्जुन घिमिरे पाँडे

अभिनयको क्षेत्रमा एक दशकदेखि निरन्तर संघर्षरत व्यक्ति हुन्, पाँडे सोल्टी अर्थात् अर्जुन घिमिरे । हास्यश्रृंखलामार्फत लोकप्रियता कमाएका नामहरू देखेर उनी लोभिएका थिए । केही नाम चलेका हास्यश्रृंखलामा 'पासिङ' क्यारेक्टरका निम्ति पनि उनले अभिनय गरे । त्यही बेला स्ट्रगलर रहेका केही व्यक्ति सफल भएपछि उनको झनै हुटहुटी अझ बढेको थियो । ८ वर्षअघि पाँडेले प्याक्क दिक्क नामको डमी सिरियल खिचेका थिए, जसमा उनले गाउँका एक वृद्धको चरित्र निर्वाह गरेका थिए, जुन अहिलेको पाँडे क्यारेक्टरसँग ५० प्रतिशत मिल्छ । अहिले पाँडेले प्रयोग गर्ने कतिपय अराजक शब्द र बानीबेहोरा पनि ती वृद्धबाट कपि गरिएको हो । अर्जुनका अनुसार तिनै वृद्धले त अझै रफ बोल्थे, जुन टेलिभिजनमा राख्न नमिल्ने भएकाले कपि गरिएन । डमी सिरियल प्याक्क दिक्क त्यत्तिकै थन्कियो । धेरै पछि हास्यश्रृंखला सिस्नुपानी झ्याम्मैमा पनि पाँडेका रूपमा ती वृद्धको चरित्रमा अर्जुनले अभिनय गरे । सिस्नुपानी झ्याम्मैमा कलाकारका रूपमा प्रवेश गरेका अर्जुनले ६ भागपछि त्यसको जिम्मेवारी आफैंले बहन गर्नुपर्ने भयो । यही क्रममा उनले एक सञ्चारकर्मीको सहयोगमा जिग्री बोरो अर्थात् कुमार कट्टेललाई भेटे । कुमारसँगको भेटपछि पाँडेको चरित्रलाई उनीहरूले अझै परिष्कृत गरे । छोटो समयमै कुमारसँग बलियो समझदारी बनेपछि उनीहरूले एक साथ यात्रा तय गर्ने निर्णय लिए । 'कुमारजीसँग ट्युनिङ मिल्यो' अर्जुनले भने- 'मन मिलेकाले काम गर्न सजिलो भयो, हामी एक-अर्काप्रति खुलस्त रूपमा प्रस्तुत हुन थाल्यौं ।' बलियो आत्मविश्वास भएका अर्जुनले सिस्नुपानी झ्याम्मै प्रसारणताका कथा तयार पार्नेदेखि विज्ञापन खोज्ने, कलाकारहरूको व्यवस्थापन गर्ने काम सबै आफैंले गरेका थिए । उनले टेलिभिजनलाई प्रतिभाग १ लाख ५९ हजार बुझाएर हास्यश्रृंखला प्रसारण गर्ने आँट गरे । सिस्नुपानी झ्याम्मै १८ भाग प्रसारण भएर बन्द भयो । 

कुमारसँगको सहयात्राले उनलाई केही सहज बनाएको थियो, तर विज्ञापन खोज्न नसकेपछि त्यो श्रृंखला लोकप्रिय हुने क्रममै बन्द भएको थियो । अपरिपक्व भएकाले सिस्नुपानीको टिममा पनि समस्या उब्जिएको थियो, अर्जुन भन्छन्- 'महत्त्वाकांक्षी साथीभाइको चाहना पूरा गर्न नसक्दा आफैं बाहिरिनुपर्‍यो, तर सँगै सिरियल पनि बन्द भयो ।' त्यसपछिका ११ महिना अर्जुन र कुमारका निम्ति सकसपूर्ण रहे । 'भद्रगोल' शीर्षकको नयाँ सिरियलको तयारी त भयो तर त्यसलाई जन्माउन उनीहरूले धेरै पापड बेल्नुपर्‍यो । 

टेलिभिजनमा आफ्नो वास्तविक उमेरभन्दा तेब्बर उमेरको वृद्धको गेटअपमा देखिने अर्जुनलाई आफ्नो नियमित गेटअपमा धेरैले चिन्दैनन् । आमदर्शकले नचिनेको उनलाई फाइदा नै भएको छ, अर्जुनका अनुसार उनले चरित्रप्रति न्याय गरेका छन्, कलाकारका रूपमा यो भन्दा गर्वको कुरा के नै हुन्छ र, साथै उनले सहज ढंगले हिँडडुल गर्न पनि पाएका छन् । अर्जुन भन्छन्- 'सफलता नपाउँदासम्म सफल हुने हुटहुटी अब लोकप्रिय भएपछि लोकप्रियता जोगाउने चुनौती छ, एकाएक पिकअप लिएको हास्यश्रृंखलालाई एउटै रफ्तारमा हिँडाउनुपर्ने जिम्मेवारी छ ।'



रक्षा श्रेष्ठ 'रक्षा'


रक्षा श्रेष्ठ मोडलिङमा सक्रिय युवती हुन् । उनलाई लागेको थिएन, अभिनयमा सक्रिय रहेर त्यसमा पनि हास्यश्रृंखलाबाट उनले यो नाम बनाउँछन् । भद्रगोलकी नियमित कलाकारमा महिलालाई प्रतिनिधित्व गर्ने एक मात्र अभिनेत्री हुन्— रक्षा । भद्रगोलले उनलाई नयाँ परिचय दिएको छ । श्रृंखलामा उनको सुन्दरता थप खुलेको छ । यसले उनको मोडलिङ करियरलाई अझ उजिल्याएको छ । रक्षा सिरियलमा जिग्री बोरोकी गर्लफ्रेन्डजस्ती भएर आधुनिक युवाहरूले खोज्ने डि्रम गर्लका रूपमा देखिन्छिन् । उनी असल जिग्री बोरोलाई मन पराउँछिन् तर जिग्री असल हुने बाटोमै छैन । डेढ वर्षअघि होर्डिङ बोर्डको विज्ञापनबाट करियर सुरु गरेकी रक्षाले हालसम्म २१ वटा विज्ञापनमा अभिनय गरिसकेकी छिन् । म्यागजिन कभरदेखि फोटोसुट, पेपर एड हुँदै उनी अब ठूलो पर्दाको नायिका बन्ने बाटोमा अग्रसर छिन् । सिरियलकी ग्लामर रक्षाले जगदम्बा स्टिल, ग्लोबल आइएमई, अग्नि सिमेन्ट, टोक्ला चिया, होन्डा बाइक आदिका विज्ञापनमा अभिनय गरेकी छिन् । 'चामल, तेललगायत थुप्रै उपभोग्य वस्तुका विज्ञापनमा काम गरिसकेकी थिएँ,' रक्षाले भनिन्- 'एक दिन निर्माता-निर्देशकले सिटी सेन्टरमा बसिरहेका बेला अचानक भद्रगोलका निम्ति प्रस्ताव गर्नुभयो, मैले उपयुक्त मानेर नै अभिनय गर्ने निर्णय लिए ।' 

भद्रगोल टिम पनि सुन्दर युवतीलाई सिरियलमा प्रवेश गराउन चाहिरहेको थियो तर भनेजस्ती युवती पाइरहेको थिएन, भद्रगोल प्रसारण भएको केही समयपछि मात्र देखिन थालेकी रक्षा अहिले टिमकै महत्त्वपूर्ण सदस्य बनिसकेकी छिन् । उनको प्रवेशले पुरानो टिमलाई कुनै नकारात्मक असर गरेन, उल्टो राम्रो प्रभाव पर्‍यो । काठमाडौंका र्‍याम्प सोजहरूमा पनि प्रशस्त देखिने रक्षाले म्युजिक भिडियोमा पनि अभिनय गर्न थालेकी छिन् । चलचित्र नायिकाका निम्ति आएका प्रस्तावमा के गर्ने भन्ने निर्णय लिन उनलाई गाह्रो भएको छ । रक्षा भन्छिन्- 'राम्रो प्रस्ताव आएको खण्डमा अवश्य काम गर्छु, परिवारले पनि राम्रो वा मन लागेको काम गर्ने छुट दिएको छ ।' 



सुवास कार्की 'बेलासे’

भद्रगोल जन्माउन मुख्य भूमिका निर्वाह गर्नेमध्येका एक निर्माता सुवास कार्की अर्थात् बेलासेले यो हास्यश्रृंखला निर्माण गर्ने क्रममा 'तनावै तनाव छ गोजीमा दुई रुपैयाँ छैन' भनेका थिए भने सम्भवत: यो श्रृंखला दर्शकले हेर्न पाउने थिएनन् । यो उनले प्रयोग गर्ने थेगो हो । व्यवसायबाट राम्रो स्थिति बनाएका सुवास स्वयंलाई पनि आमदर्शकमाझ चिनाउने भूमिका पनि भद्रगोलले नै निर्वाह गर्‍यो । सुरुवातमा सुवासले भद्रगोल बनाएपछि अहिले भद्रगोलले उनलाई बनाएको छ । 'तनावै तनाव छ, गोजीमा दुई रुपैयाँ छैन,' सुवासले बोल्ने यो थेगो अहिले सर्वाधिक लोकप्रिय छ । स्कुले जीवनमा नाटकमा अभिनय गरे पनि उनले पर्दामा काम गरेका थिएनन् । पर्यटन व्यवसाय एवं वैदेशिक शिक्षाको क्षेत्रमा कार्यरत सुवास ब्याडमिन्टनका राम्रा खेलाडी हुन् । कार्कीले केही समयअघि स्वरूपराज आचार्यले गाएको गीतको म्युजिक भिडियोमा अभिनय गरेका थिए । रंगमन्चबाट करियर सुरु गरे पनि भद्रगोल उनका निम्ति टर्निङ प्वाइन्ट नै बनेको छ ।

भद्रगोल प्रसारण भएको पाँच महिना नबित्दै उनी देश-विदेशका कार्यक्रम व्यस्त भैसकेका थिए । अहिले बाटोमा हिड्दा सबैले तनावैतनाव छ भनेर जिस्क्याउन थालेका छन् । 'मलाई भद्रगोलले सेलिब्रेटी नै बनाइदियो,' सुवास भन्छन्- 'अब चलचित्रमा काम गर्ने प्रस्ताव आउन थालेको छ । अभिनयले चाँडै सेलिब्रेटी बनाउने रहेछ, खुसी छु ।



मधुसूदन पाठक 'सिते बा’


एहो, ठीकै छ नि !' अरूले जस्तो संवाद बोले पनि सिते बा अर्थात् मधुसूदन पाठक यसरी नै प्रतिक्रिया जनाउँछन् । गम्भीर विषयमा पनि ए हो, ठीकै छ नि ! भनेपछि दर्शक हाँस्ने भैहाले । अनुहारमा कुनै फरक एक्सप्रेसन नभए पनि सिते बाको क्यारेक्टरले थेगो प्रयोग गर्दै चोटिलो संवाद बोल्छ । हास्यश्रृंखलामा निख्खर कालो वर्णको ७० वर्षीय वृद्ध देखिए पनि वास्तविकतामा २६ वर्षीय युवा मधुसूदन गोरो वर्णका छन् । मधुसूदन स्कुले उमेरमा नाटकमा अभिनय गर्थे, तर उनको अभिनय यात्रालाई व्यापारले खर्लप्पै निल्यो । हाल ज्येष्ठ ग्रुप अन्तर्गत ज्येष्ठ सहकारी, ज्येष्ठ विद्यालय, ज्येष्ठ ट्राभल, आइडियोलोजी मिडिया आदिका सञ्चालक पाठकले भद्रगोलमा ९ भाग देखि अभिनय गर्न थालेका हुन् । 

खासमा पाठकले थाइल्यान्डको एक कार्यक्रममा सिताराम कट्टेल धुर्मुसका साथमा बस्दा एक वृद्धले जे कुरामा पनि ए हो, ठीकै छ नि भनेको सुनेपछि त्यसलाई टपक्क टिपेका थिए, जसलाई भद्रगोलमा प्रयोग गरियो र उनीहरू सफल पनि भए । २६ वर्षका मधुसूदनलाई ७० वर्षीय वृद्धको भूमिकामा काम गर्दा आफैंलाई पनि अचम्म लाग्छ । एकातर्फ आफू लक्का जवान अर्कातर्फ अभिनयमा वृद्धले गर्ने आचरण उतार्नुपर्ने, गजबकै फरक महसुस भएको अनुभव पाठकको छ । 



गोविन्द कोइराला 'जयन्ते'


पाँडे काकाको कटेजमा बस्ने भतिज हुन् जयन्ते अर्थात् गोविन्द कोइराला । का....का भनेर लामो हात फैलाउदै अट्टहास छोड्ने जयन्तेले काका पाँडेको थप्पड थुप्रै पटक भेटेका छन् । चामलको भात नख्वाउने काकाले उनलाई डाम्ना भन्दै पिट्दा यता दर्शक भने गलल हाँस्न बाध्य हुन्छन् । पाँडेको पिटाइकै कारण उनी मोटाउन नसके जस्ता देखिन्छन् । न्युरोडमा व्यापार सम्हाल्दै आएका गोविन्दलाई अर्जुनले अभिनय क्षेत्रमा डोर्‍याएका हुन् । सिस्नुपानी झ्याम्मैबाट अभिनयमा डेब्यु गरेका गोविन्दले भद्रगोलमा छोटो भए पनि लोकप्रिय पात्रका रूपमा आफूलाई स्थापित गरेका छन् । उनको आफ्नो थेगो नै त छैन, तर उनले का...का भनिनसक्दै दर्शक हाँस्न रेडी भैसक्छन् । जयन्तेले ठूला पर्दाका चलचित्रमा समेत अभिनय गरेका छन् । उनी आफूलाई अहिले पूर्णकालीन अभिनेताका रूपमा अगाडि बढाउन चाहन्छन् ।



शंकर आचार्य 'वरिष्ठे'

४४ सालताका भद्रगोल शीर्षकमा भिडियो चलचित्र निर्माण गरेर चुर्लुम्म डुबेका थिए— शंकर आचार्य । यद्यपि अढाई दशकपछि त्यही शीर्षकको हास्यटेलिश्रृंखला निर्देशन गरेर उनी शिखरयात्रामा छन् । त्यसो त कुमार कट्टेलले श्रृंखलाको शीर्षक भद्रगोल सुनाउँदा झसंग हुँदै शंकरले उक्त शीर्षक नराख्न सुझाएका थिए । '२६ वर्षअघि भद्रगोल नै भएको भद्रगोल भिडियो फिल्म सम्झिएर अर्को शीर्षक जुराउन भनेको थिएँ,' शंकरले भने- 'तर भाइहरू (कुमार र अर्जुन) ले सबै तयारी भैसकेको कुरा बताएपछि म अर्को शीर्षकको जिद्दीबाट पछि हटें ।' केटाकेटी छँदा २०३४ सालमा काभ्रेमा राजारानी उपस्थित स्टेजमा प्रस्तुत एउटा नाटकमा अभिनय गरेर करियर सुरु गरेका शंकरले त्यसपश्चात् नाटक लेखन, निर्देशन एवं अभिनय गर्दै आएका थिए । ४४ सालमा उनले राष्ट्रिय नाचघरमा निरन्तर १ महिनासम्म निर्मल गंगा शीर्षकको नाटक लेखन, निर्देशन र अभिनय गरे । 

त्यसपछि धर्मपुत्र, फेसन, चुनावपछिको चुनावजस्ता नाटकमा मुख्य भूमिका निर्वाह गरे पनि पैसा हात नपरेपछि यो क्षेत्रबाट टाढिने निर्णय लिएको उनले बताए । केही वर्ष ग्याप नहुँदै निर्देशक रुद्रराज पाण्डेले रुपमती, भोक र भित्ता टेलिश्रृंखलामार्फत उनलाई पुन: अभिनयमा सक्रिय गराए । करियरका साढे तीन दशकमा कलाकारको पहिचान बनाए पनि शंकरले उच्चतम सफलता भने हास्यश्रृंखला भद्रगोलबाटै हासिल गरेका छन् । शंकरले ४ दर्जनजति टेलिश्रृंखला एवं १ दर्जन ठूला पर्दाका चलचित्रमा अभिनय गरिसकेका छन् । 

आलाकाँचा उमेरका अर्जुन र कुमारलाई निर्देशकका रूपमा पत्याउन असहज मानिरहेको अवस्थामा भद्रगोलमा शंकर आचार्यको आगमन भएको थियो । सुरुवातमा शंकरले प्रस्ताव अस्वीकार गरेका थिए । 'उच्च महत्त्वाकांक्षा, उमंग र सपना देखेर आएका युवाहरूको योजना सुनेर म हच्किएको थिएँ,' शंकरले सम्झिए- 'हास्यश्रृंखला असफल भयो भने अपजस आइलाग्ने, सफल भए पनि त्यसलाई निरन्तर त्यही उचाइमा राखिरहनुपर्ने चुनौती सिर्जना हुने अनि कलाकार हिट हुने, अरू पछि पर्ने जस्ता कुरा सोचेर मैले गर्दिनँ भनेको थिएँ ।' अहिले दिनरात नभनी अहोरात्र खटिरहेको शंकरले बताए । उनका अनुसार अन्य हास्यश्रृंखला भद्रगोलभन्दा माथि रहँदासम्म खासै डर हुँदैनथ्यो, तर अब शिखरमा पुगेपछि त्यहीं टिकिरहनु छ । कार्यक्रम खस्किएला कि भन्ने त्रास छ । 

भद्रगोल सफल हुनुको कारण प्रत्येक साता यसको कथा फरक हुनुलाई मान्छन्— शंकर । भरसक एउटा कथा एउटै श्रृंखलामा सक्ने प्रयास भद्रगोलले गरेको छ । यसले दर्शकलाई सजिलो त बनाएको छ नै, स्क्रिप्ट राइटर र निर्देशकमाथि उत्तिकै लोड पनि थपेको छ । भद्रगोल सफल हुनुको मुख्य कारण भने यसको फरक किसिमको प्रस्तुति भएको शंकरले बताए । गाउँले जीवनभित्र पनि फरक-फरक किसिमका पात्र छन्, स-साना कुरामा हँसाउने प्रयास गरिएको छ । शंकर भन्छन्— अन्य हास्यश्रृंखलामा एकै किसिमको कथा त्यसमा पनि राजनैतिक विषयवस्तु घुसाइन्छ, यसमा त्यो छैन । सामान्य कथामै हेरुन्जेल रमाइलो बनाइएको छ भद्रगोललाई । भद्रगोलको स्क्रिप्ट अर्जुन र कुमारले लेखे पनि परिपक्व निर्देशकका रूपमा शंकरले प्रस्तुतिमा विशेष ध्यान दिएका छन् । स्मरण रहोस्, शंकर तीतो सत्यका चर्चित बालकलाकार राज आचार्यका पिता हुन् । 



हरि निरौला 'कक्रोच'


डेडलक केशको दह्रो मुठ्ठो उत्तरतर्फ ठड्याएर जस्ट स्लो मोसनको थेगो प्रयोग गर्दै हरि निरौला कक्रोच सोलमारीमा टुच्च लगाइरहेका हुन्छन्, हास्यश्रृंखलामा । २५ वर्षीय यी युवाले पनि अभिनय क्षेत्रमा करिअर बनाउन दह्रै संघर्ष गरेका छन् । सिस्नुपानी झ्याम्मैको ४ भागमा अभिनय गरेपछि उक्त हास्यश्रृंखला नै बन्द भयो । अभिनयको पहिलो अनुभव उनले त्यही हासिल गरेका थिए । त्यसअघि मेरी बास्सैमा फाट्टफुट्ट अनुहारसम्म देखाउन पाएको कक्रोचले बताए । ७ वर्षे कलाकारिता जीवनको प्रारम्भमा उनी नृत्यका विद्यार्थी थिए । उनले हालसम्म पनि नृत्यलाई क्यारी गरिरहेका छन् । निरौलाले विद्यालय एवं इन्स्टिच्युटहरूमा डान्स टिचरका रूपमा पनि काम गरे । उनले कोरियोग्राफरका रूपमा दर्जनौं म्युजिक भिडियोका लागि काम गरिसकेका छन् । लेखन तथा निर्देशनमा पनि हरिको बलियो पकड छ । भद्रगोलको स्क्रिप्ट लेखनमा उनी सहयोगीको काम गर्छन् । २५ वटा म्युजिक भिडियो निर्देशन गरिसकेका हरिले संघर्षका क्रममा ५ सयभन्दा बढी गीतमा कोरस डान्सरको काम पनि गरेका थिए । पछिल्लो समयमा अनुहार चलेपछि उनलाई हिरो बनाएर केही म्युजिक भिडियो निर्माण भएका छन् । यस्तै बर्ड मोबाइलको ब्रान्ड एम्बासडरका रूपमा बले (सागर लम्साल) र उनले जिम्मेवारी पाएका छन् । 

हरिको केश आफैं डेडलक भएको हो, डेडलक गरिएको होइन । 'केश लामो थियो,' स्नातक अध्ययनरत निरौलाले भने- 'नकोरेपछि आफैं डेडलक भयो, यो नेचुरल डेडलक हो ।' कक्रोचका रूपमा ख्याति कमाएका हरिका लागि यो स्टारडम सम्हाल्नभन्दा केश स्याहार्ने चुनौती ठूलो भएको छ । हरि भन्छन्- '२ पटक नुहाउन ठूलो एक डब्बा स्याम्पु र झन्डै एक ट्यांकी पानी चाहिन्छ ।' बाइकमा हिँड्दा छेउको साथीलाई दह्रो गरी समात्नुपर्ने अर्को टेन्सन उनले सुनाए । मोटरसाइकलमा हिँड्दा हावाले हानेर टाउको नै बाङ्गो हुने उनको तर्क छ । यस्तै हिजोआज कार्यक्रममा जाँदा एकपटक कपाल छुनुपर्‍यो भन्नेहरू पनि उत्तिकै हुन्छन् । सबैलाई छुन दिँदा केश भताभुङ्ग हुने भएकाले पुलिसको सुरक्षा लिनुपरेको अनुभव पनि उनले सुनाए । 'केही प्रशंसक त एक लट्टो कपाल दिन आग्रह गर्नुहुन्छ,' सोलुखुम्बु नेचा बतासेमा जन्मिएका हरिले भने- सबैलाई एक-एकका दरले बाँड्ने हो भने एक महिनामा मेरो यो केश नै सखाप होला ।' हरिले बलेलाई जोडी बनाएर देश-विदेशका महोत्सवमा प्रहसन गरिरहेका छन् ।



सागर लम्साल 'बले'


एआम्मा हो, बोरोलाई लास्टै रिस उठेजस्तो छ, आज नबाँचिने भैयो, सुस्त गतिमा बले अर्थात् सागर लम्सालले बोल्ने यो संवाद धेरैलाई प्रिय लाग्छ । जिग्री बोरो र कक्रोचको टिममा बले थपिने बित्तिकै रौनक बढिहाल्छ । बलेको अभिनय यात्रा पनि पूरै फिल्मी छ । प्लस टु उत्तीर्ण भएपछि स्पेन जाने सपना साँचेर भिसा अप्लाई गरेका लम्साल भिसा रिजेक्ट भएपछि सिए पढ्न दिल्लीतर्फ हान्निएका थिए, तर दिल्ली पुगेको केही समयमै सिएको सपना पनि उनले बिसाइदिए । दिल्लीमा विद्यार्थीहरू बस्ने लक्ष्मीनगरबाट गुडगाउँ सरे । इन्दिरा गान्धी विश्वविद्यालयमा बिबिएमा भर्ना भए । त्यसपछि दोस्रो सेमेस्टरसम्मको अध्ययन पूरा गरिसक्नेबित्तिकै उनी दिल्ली बस्न नसक्ने अवस्थामा पुगे । स्याङ्जामा जन्मिएर काठमाडौंमा बसोबास गर्दै आएका यी २५ वर्षीय युवालाई दिल्लीको खपिनसक्नुको गर्मीले साह्रै सतायो । खाना खानै नसक्ने भएपछि उनी छुट्टीको समयमा आमा भेट्न नेपाल आए । 'आमाले नजा भन्नुभयो,' सागरले भने- 'मलाई पनि त्यही चाहिएको थियो ।' 

शंकरदेवमा बिबिएस ज्वाइन गरेर आईएलटिस गर्दागर्दै एक दिन पुतलीसडक चहारिरहँदा मोडलिङ एजेन्सीको अफिसमा उनको आँखा पुग्यो । मोडलिङ सिक्ने हुटहुटी चल्यो । त्यहाँ पुगेपछि वीरेन्द्र हमालले एक्टिङ क्लास चलाउँछन् भन्ने कुरा सुने । म गरिबको छोरा भनेर ढाँटी उनले सस्तो शुल्कमै वीरेन्द्रसँग एक्टिङको कोर्स पनि पूरा गरे । एक्टिङ सिक्ने क्रममै उनले नाटकमा अभिनय गरिसकेका थिए । यसबीच आदित्यविक्रम लम्सालले उनलाई चलचित्र लोफरका निम्ति अवसर दिने बताए । सुरुवातमा असिस्टेन्ट डाइरेक्टरका रूपमा अवसर पाएका सागरले पछि सानो भूमिका पनि निर्वाह गर्न पाउने भए, तर स्क्रिप्टको तयारीका क्रममा उनको भूमिका बढ्दै गयो । २ सिनबाट बढेर उनले थु्र-आउट भूमिकामा काम पाए । दयाहाङ राई, आर्यन सिग्देल आदि शीर्ष कलाकारहरूद्वारा अभिनीत लोफरमा सबैभन्दा प्रशंसा सागरले नै पाए । लोफरबाटै उनी सह-अभिनेता एवार्डका निम्ति नोमिनेसनमा पनि परे । 

त्यसपछि उनले चलचित्र लज्जामा पनि काम गरे । चलचित्रका प्रस्ताव पनि थुप्रै आए, तर चित्त नबुझेर काम नगरेको सागरले बताए । एक दिन अचानक उनलाई भद्रगोलका निम्ति अभिनय गर्न कुमार कट्टेलले प्रस्ताव गरे । सागरले लोफर र भद्रगोलमा गरेको क्यारेक्टर उस्तै हो । भद्रगोलको १८ औं भागमा प्रवेश गरेका सागरले २६ भागसम्म काम गरेपछि स्नातकोत्तर अध्ययनका निम्ति क्यानाडाको भिसा प्राप्त गरेका थिए । साथीहरूले नेपालमै करिअर बनाउनुपर्छ भनेपछि उनले हालका निम्ति क्यानाडा जाने सपना पनि त्यागेका छन् । सागर भन्छन्- 'अहिले भद्रगोल मात्र होइन, कक्रोचसँगको जोडीमा स्टेज शो, विज्ञापन, म्युजिक भिडियो मोडलिङ, सर्ट मुभी आदि काम गर्न पाइरहेको छु, देशभित्रको अवसर छोडेर किन बिदेसिनुजस्तो लाग्यो ।'



सुजित थापा 'माने’

जागिरे जीवनमा रमाइरहेकै बेला २०६३ सालमा 'मेरी बास्सै' मा ब्रेक पाएपछि सुजित थापामा अभिनयको स्वाद गड्यो । लोकप्रिय थेगो 'मैले बुझें भान्दाइ' का यी सर्जकले विगत सम्झिने क्रममा मेरी बास्सै, घरबेटी बा, कलेज, दृष्टि, सिस्नुपानी झ्याम्मै' मा अभिनय गरेको बताए । अभिनयको तिर्सना मेट्ने क्रममा सुजितले जागिरे जीवन नै त्यागिसकेका छन् । अझैसम्म पनि अभिनयले आत्मनिर्भर नबनाए पनि भविष्यमा सफल हुने सपना थापाले देखेका छन् । थापा भद्रगोलको म्यानेजरका रूपमा यसको व्यवस्थापन पनि हेर्छन् । 

भद्रगोलमा 'माने' नामको चरित्रमा उनी नाके बोलीका साथ देखिन्छन् । वरिष्ठेलाई भान्दाइ भन्ने सुजित भद्रगोल प्रसारणको २५ भागपछि माने चरित्रमा अभिनय गर्न थालेको बताउँछन् । सुरुवातदेखि नै टिममा रहेका थापा त्यसअघि विभिन्न चरित्रमा छोटो भूमिकामा अभिनय गर्थे ।मिडियाप्रतिको आकर्षणकै कारण रेडियो कार्यक्रम सञ्चालक र विज्ञापन एजेन्सी सञ्चालन गरेका थापाले आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरेका छन् । सुजितले अहिले जयन्ते अर्थात् का...कासँग जोडी कसेका छन् । उनीहरू पनि स्टेज सोमा उत्तिकै सक्रिय छन् । 'हाम्रो जोडीको प्रस्तुतिलाई स्टेजका दर्शकले पनि उत्तिकै रुचाउनुभएको छ,' भक्तपुरमा जन्मिएका सुजित भन्छन्- 'अर्थपूर्ण एवं लोकप्रिय हास्यजोडीका रूपमा स्थापित हुने हाम्रो चाहना छ ।'



कमलमणि नेपाल 'खुपीका बाउ’

कमलमणि नेपाल अर्थात् खुपीका बाउ पुराना कलाकार हुन् । डेढ दशकभन्दा लामो अभिनय करियरका क्रममा भद्रगोलले उनको करिअरलाई झनै चम्काएको छ । रंगमन्चमा लामो समयदेखि सक्रिय कलाकार कमलमणिलाई भद्रगोलमा मात्र सीमित रहँदा कमेडी टाइपको कलाकार भइन्छ कि भन्ने त्रास थियो तर विविधतामा काम गर्न सक्ने बलियो आत्मविश्वास भएकाले उनले आफूलाई सानो घेराबाट निकाले । भद्रगोलभन्दा अगाडि उनले तितो सत्यका लागि विभिन्न चरित्रमा अभिनय गरिसकेका थिए । 

नाचघरबाट १ वर्षे अभिनय प्रशिक्षण लिएका कमलमणिले सुनिल पोखरेलको गुरुकुलमा २ वर्ष अध्ययन गरे । त्यसपछि गुरुकुल बन्द नहुन्जेल १० वर्ष त्यहीं काम गरे । त्यसपछि फ्रिलान्सरका रूपमा सक्रिय नेपालले गुरुकुलमा रहदा दर्जनौं नाटकमा अभिनय गरेको विगत सम्झिए । गम्भीर विषयवस्तुमा नायक, गुन्डादेखि हास्यव्यंग मुलकसम्म फरक-फरक चरित्रमा नाटक गरेका कमलमणिले पछिल्लो समयमा चलचित्र धन्दामा मार्क हुने भूमिकामा काम गरे । यस्तै चलचित्र अन्तरालमा अशिश्मा नकर्मीको को-एक्टरका रूपमा अभिनय गरे । उनले चलचित्र लोफर र कबड्डीमा पनि अभिनय गरे । तान्द्रो नेपाल अभिनीत प्रदर्शाेन्मुख चलचित्र हो । चलचित्र कबड्डीको सिक्वेल कबड्डी-कबड्डीका लागि पनि उनी अनुबन्धित भैसकेका छन् । 

कुमार र अर्जुनको प्रस्ताव पछि भद्रगोलमा अभिनय गर्ने क्रममा प्रयोग गरेको थेगो लोकप्रिय भएकाले उनलाई खुसी मिलेको छ । दर्शकले साह्रै राम्रो प्रतिक्रिया दिएका छन्, भूमिका केही बढाए हुन्थ्यो भन्ने दर्शकको चाहना छ, कमलमणिले भने- 'त्यो कुरा स्क्रिप्ट राइटरमा निर्भर हुने भएकाले आफूले केही गर्न सक्ने अवस्था छैन भन्छु ।' पछिल्ला दिनमा कमलमणिले सिते बा अर्थात् मधुसूदन पाठकसँग जोडी बनाएर केह स्टेज शोमा प्रहसनसमेत गरेका छन् । कमलमणिलाई आगामी दिनमा फरक चरित्रको कमेडि क्यारेक्टरमा जमेर काम गर्ने इच्छा छ ।



कुमार कट्टेल 'जिग्री बोरो’ 


चर्चित हास्यकलाकार सीताराम कट्टेल धुर्मुसका सहोदर भाइ हुन्— कुमार कट्टेल । यद्यपि अब उनलाई चिनाउन धुर्मुसको भाइ भन्न नपर्ने भएको छ । कुमार सोलमारीमा टुच्च लगाउने जिग्री बोरोका रूपमा स्थापित भैसकेका छन् । उनलाई मन पराउने लाखौं दर्शक छन् । तीन दाजुभाइमध्येका माहिला कुमारले अभिनय यात्रा भने दाइ धुर्मुसले निर्देशन गर्ने मेरी बास्सैबाटै सुरु गरेका हुन् । जिग्रीहजुरका रूपमा उनको मेरी बास्सैको क्यारेक्टरले पनि एक समय दर्शकलाई आकषिर्त गरेको थियो, तर त्यो दीर्घकालसम्म प्रसारण नभएकाले उनी फेरि ओझेलमा परे । यद्यपि धेरैपछि सुरु भएको जिग्री हजुरको त्यो चरित्रलाई जिग्री बोरोका रूपमा परिमार्जन गर्दै उनी स्थापित भए । प्रारम्भमा उनको यो चरित्र खासै जम्दैन भनेर मिडिया हब र अन्य अग्रजले नयाँ क्यारेक्टर सिर्जना गर्न सल्लाह दिएका थिए, तर अन्तत: उनको क्यारेक्टर जिग्री बोरो नै स्थापित भयो । गाउँले फटाहा टाइपको बेरोजगार युवा भए पनि सहरको ट्यापे युवाजस्तो देखिने, हल्का टुच्च लगाइरहनुपर्ने जिग्री बोरोको थेगो सक्किगो नि अहिले सर्वाधिक लोकप्रिय छ । 

कुमारले पनि पछिल्लो आधा दशकभन्दा बढी समय अभिनय कर्मको संघर्षमा खर्चिएका छन् । एसएलसी उत्तीर्ण गरेर काठमाडौं आएका कुमार विज्ञान विषयमा उच्च शिक्षा हासिल गर्न चाहन्थे तर लोकप्रिय कलाकार दाइको भाइ भएकाले पनि उनमा अभिनयको भूत सवार हुनथाल्यो । दाइलाई सहयोग गर्ने क्रममा स्क्रिप्टदेखि निर्देशनसम्ममा सहयोग गरेपछि उनले एउटा चरित्रमा अभिनय पनि थाले । अब्रोड स्टडीको क्रेज बढेको समयमा अध्ययनका निम्ति बेलायत पुगेर अध्ययन पूरा नगरी फर्किएका कुमारले रूस जाने प्रयास पनि गरेका थिए । बीचको केही समय मिडियासम्बन्धी काम गर्दै विज्ञापन एजेन्सी सञ्चालन गरे । यद्यपि ती सबै सहायक मार्ग मात्र थिए, उनको मूल उद्देश्य भनेकै अहिलेको जिग्री बोरोजस्तो लोकप्रिय कलाकार हुनु थियो ।

अभिनय र निर्देशनको उत्कट इच्छा पूरा गर्ने क्रममा उनले सहयात्रीका रूपमा अर्जुन घिमिरे पाँडेलाई भेटेका थिए । पाँडेसँगको भेटपछि सिस्नुपानी झ्याम्मै हुँदै भद्रगोलको अहिलेसम्मको यात्रामा उनीसँगैको सहयात्रामा छन् कुमार । अहिले कुमार अर्जुनका साथमा सिरियलको सहायक निर्देशन र स्क्रिप्टको जिम्मेवारी वहन गरिरहेका छन् । महत्त्वाकांक्षी स्वभावका कुमार भविष्यमा ठूलो पर्दाको चलचित्र निर्देशन गर्ने बताउँछन्, जसका लागि उनले स्क्रिप्ट पनि तयार गरिसकेका छन् । पछिल्लो समय देशविदेशका स्टेज कार्यक्रममा व्यस्त कुमार गाउँदेखि सहरसम्मका फरक कथा समेटिएकाले भद्रगोल सफल भएको बताउँछन् । 'सनातन हिसाबले चलिरहेका हास्यश्रृंखला भन्दा फरक स्वाद दिएका छौं,' कुमार भन्छन्- 'त्यसैले दर्शकले पनि छोटो समयमै पर्याप्त माया दिनुभएको छ ।' हास्यश्रृंखलालाई निरन्तर दर्शकको रोजाइमा राख्न नयाँ-नयाँ चरित्र निर्माण गर्दै लाने सोच उनले बनाएका छन् । त्यसो त कुमारले रणभुल्ल, मजाक छ यारजस्ता सिरियलको लेखन-निर्देशन पहिले नै गरेका हुन् तर तिनले उनलाई पर्दाको हिरो बनाएनन् । विज्ञापनमा पनि छाउन थालेका कुमारले एक दर्जनजति गीतका म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । 

उनको अभिनय शैलीलाई अहिलेको युवापुस्ताले विशेष मन पराएको छ । युवाहरू बाटोमा भेट्दा उनलाई नै सक्किगो नि, हल्का, अवस्था भनेर जिस्क्याउँछन्, जसमा उनी मनमनै दंग पर्छन् । कुमार भन्छन्- 'सामाजिक घटनाक्रमलाई अर्थपूर्ण ढंगले प्रस्तुत गर्दा दर्शकले माया गर्दा रहेछन् । मैले प्रयोग गर्ने यी शब्द नयाँ होइनन्, तर चरित्र सुहाउँदो भएकाले दर्शकले मन पराइदिनुभएको छ ।' 

साभार : ईकान्तिपुर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis