CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » यसरी हँसाएछन् हाम्रा केजरीवालले ! मर्छु कि क्याहो हाँसेरै

यसरी हँसाएछन् हाम्रा केजरीवालले ! मर्छु कि क्याहो हाँसेरै

अलि अस्तिको कुरा हो । अरविन्द केजरीवाल भन्ने नेताले दिल्लीलाई मात्र होइन, काठमाडौँलाई पनि हँसाए । चुनावमा नयाँ दिल्लीलाई पूर्ण रूपमा कब्जा गर्दा पनि उनी रामलीला मैदानमा विपक्षीविरुद्ध डुक्रिएनन्, बुरुक बुरुक उफ्रिएनन् । धोती खोलेर नाचेनन् । मैले यत्रो ठूलो सफलता हात पारेँ, म अब प्रधानमन्त्री हुन्छु  भनेर कुर्लिएनन् । अर्को चुनावमा कांग्रेस र भाजपालाई बढारेर हिन्द महासागरमा डुबाइदिन्छु भन्ने घोषणा गरेनन् ।

केजरीवालले मजैले हँसाएछन् । उनले दक्षिण एसियाकै नेताका रूपमा सुनामीजस्तो अघि बढेका प्रधानमन्त्री मोदीको पार्टीलाई दिल्लीमा धूलो चटाउँदा पनि आफूलाई एकदमै सानो मान्छे भनेर भाषण गरे अरे ! अर्को चुनावमा मोदीले मुलुकभरिबाट चार सिट पनि ल्याउँदैन भनेर मञ्चबाट मुट्ठी बटार्दै उफ्रिएको भए  आपका
कार्यकर्ताले कति मिनेटसम्म लगातार ताली बजाउँथे होलान् । कति चर्को सिटी फुक्थे होलान् । उल्टै उनले त आउँदो चुनावमा दिल्लीबाहेक अन्त गएर चुनाव उठ्छु भनेर हतारको अभिव्यक्ति दिने आफ्ना पार्टीका नेताहरूलाई हप्काएछन् पो ! पाँच वर्षलाई जनताले दिल्लीमा मात्र काम गर्न खटाएका हुन्, भारत  नै जिम्मा दिएका होइनन् भनेर लुते कुरा गरेछन् ।

केजरीवाल हँसाइरहँदा रहेछन् । उनी दिल्लीका सडकमा निस्कँदा कालो सिसावाला गाडीमा चढेर घन्टौँसम्म सडक अवरुद्ध गर्दै नदौडिने रे ! 'भीआईपी' संस्कृतिका विरोधी रे उनी ।

मन्त्रिमण्डल गठन गर्दा दुई-चारवटा मन्त्रालय आफूसँग राखेर पछि काका, मामा, जेठान, ससुरा, हारेका कार्यकर्ता, चुनावमा चन्दा दिने व्यापारी, विदेश घुमाउने र हेलिकप्टर सयर गराउने तस्कर आदिलाई मन्त्री बनाउनुपर्नेमा एउटा पनि मन्त्रालय आफूसँग नराखेर पनि उस्तै हँसाएछन् ।

९६ प्रतिशत सिट जितेपछि नियमानुसार त विपक्षी दलका नेतालाई हरुवा छेरुवा भनेर सत्तोसराप गर्नुपर्ने हो । तर, उनले त विपक्षी दलकी किरण वेदीलाई ठूलो सम्मान गर्ने र उनको मार्गदर्शन लिने पो बताएछन् । आफ्ना नेता-कार्यकर्तालाई अहंकार नगर्नू पनि भनेछन् । उसो भए मानिसमा अहंकार, उन्माद, घमन्ड  भन्ने भाव भगवान्ले कहिलेका लागि उब्जाइदिएका हुन् त भन्ने प्रश्न नेपाली नेताका तर्फबाट उनलाई सोध्न पाए उनी क्या नाजवाफ हुन्थे होलान् ! अहंकार गर्‍यो भने अर्कोपल्ट ध्वस्त होइन्छ भनेर यिनले मोदीलाई सिकाएका हुन् कि हाम्रा नेतालाई ?

यिनले मेरो शक्ति, सामथ्र्य, परिश्रम र चमत्कारले यति ठूलो विजय प्राप्त गरेँ भन्नुपर्नेमा त्यो पनि भनेनछन् । 'मैले गरेँ', 'मैले भनेँ', 'मैले गर्दा', 'म' भनेर ढुस्स फुल्नुपर्नेमा यो सफलता हाम्रो मिहिनेतले मात्र होइन, भगवान्ले पनि साथ दिएर भएको हो भनिदिएछन् । सायद चुनाव जिताउन भगवान्ले पनि साथ  दिएकाले पापकर्मबाट जोगिनुपर्छ भनेका हुन् कि ! एक्काइसौँ शताब्दीमा केको भगवान्, केको पाप ! हँसाए केजरीवालले !

हामीकहाँ भएको भए शून्य सिट ल्याउने थियो, त्यो कुनै वाद साद नभएको आपले । न माक्र्सवाद, न माओवाद, न प्रजातान्त्रिक समाजवाद, न बहुदलीय जनवाद, न हिन्दुवाद, न जातीयतावाद । त्यो केजरीवाल न राजनीति गरेर कहिल्यै जेल बसेको न कहिल्यै भूमिगत भएको, न एक जना मान्छेको टाउको फुटाएको, न  कसैलाई सहिद बनाएको । के हेरेर भोट हाले दिल्लीका जनताले केजरीवाललाई ? केजरीवालले मात्रै होइन, दिल्लीका जनताले पनि हँसाए यसपालि हामी छिमेकीलाई ।


साभार : नेपाल साप्ताहिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis