रात परेकै छ। घाम लागेकै छ। पानी पनि परिरहेकै छ। हिउँद र बर्खा बराजुका पालामा पनि हुन्थ्यो। जाडो र गर्मीको अनुभव बाजेहरूले पनि गर्नुहुन्थ्यो। हाम्रा पालामा पनि घाम पूर्वबाटै उदाएको छ। छोराका समयमा घाम अस्ताउने लगभग पश्चिमबाटै हो। नाति, पनाति र खनातिको युगमा पनि समय आफ्नै गतिमा घुमिरहने पक्का छ, तर पनि हामी किन भन्छौं-
समय बदलियो हेर्नोस् त, पहिले र अहिलेमा कत्रो फरक आयो ! उहिले- तीजमा चेलीहरू माइत जान्थे, मीठो-मसिनो खान्थे। सुख-दुःख बाँडिन्थ्यो, संस्कृतिको रक्षा गरिन्थ्यो। अहिलेको तीज 'डिस्को डान्स' ले भरिन्छ। गहना प्रदर्शनको कन्सर्ट गरिन्छ। फेसन शोको गोलचक्करमा परिन्छ।
त्यसैगरी तिहारको महत्व अर्कै थियो। दिदी-भाइ भेला भइन्थ्यो। देउसी-भैलो खेल्न गइन्थ्यो। सांस्कृतिक गाथा गाइन्थ्यो। अहिले र्याप सङ्सको आगो बालिन्छ। जुवा-तासको खालमा
श्रीसम्पत्ति हालिन्छ।
झन् दसैंको महत्व भिन्नै हुन्थ्यो। अग्रजको आशीर्वाद थापिन्थ्यो। दही-च्युरा खाइथ्यो। मामाघर गइन्थ्यो, तर अहिले दसैं भनिन्छ, सोमरसको घ्याम्पोले पेट भरिन्छ। बाटोमा लफडा गरिन्छ र दोस्रो मामाघरतिर लागिन्छ, तर दहीच्युरा खान होइन, डन्डा खान (दोस्रो मामाघरः प्रहरी कस्टडी)।
उहिलेको होलीमा रङको रमाइलो हुन्थ्यो। गाईजात्रामा हाँसो र व्यंग्यको बाढी आउँथ्यो। ल्होसार, इद र चासोक तङ्नाममा परम्परा पछ्याइन्थ्यो। पहिचानलाई जीवित बनाइन्थ्यो, तर अहिले परिस्थिति भिन्नै खालको छ। होलीमा हल्ला ज्यादा हुन्छ, संस्कृतिभन्दा छिटो गाँजा र भाङले छुन्छ। गाईजात्राको नाम गरिन्छ, गाली र बेइज्जतिले रंगमञ्च र पत्रिकाहरू भरिन्छ। ल्होसार भनिन्छ, अंग्रेजी गीतको ओसारपसार गरिन्छ। साकेला भनिन्छ, विदेशी संस्कृति थोपरेर साकेलालाई 'अकेला' बनाइन्छ।
उहिले र अहिलेमा यत्रो फरक किन होला ? प्रश्न गम्भीर छ। धेरैले भन्नुहुन्छ- यो 'समय बदलिएको' हो तर गजुरियल विश्लेषण फरक छ। वास्तवमा यो समय बदलिएको होइन, हामी मान्छेमात्र बदलिएका हौं। होला, पछिल्लो केही वर्षमा जलवायु परिवर्तनले समयलाई धेरथोर तलमाथि पार्यो होला तर मान्छेको मनस्थिति नै बिगार्ने गरी समय पटक्कै बौलाएको छैन।
किनभने समय आफ्नै गतीमा दौडिइरहेको छ। उहिले हुने त्यो बिहान अहिले पनि भएकै छ। रात परेकै छ। घाम लागेकै छ। पानी पनि परिरहेकै छ। हिउँद र बर्खा बराजुका पालामा पनि हुन्थ्यो। जाडो र गर्मीको अनुभव बाजेहरूले पनि गर्नुहुन्थ्यो। हाम्रा पालामा पनि घाम पूर्वबाटै उदाएको छ। छोराका समयमा घाम अस्ताउने लगभग पश्चिमबाटै हो। नाति, पनाति र खनातिको युगमा पनि समय आफ्नै गतिमा घुमिरहने पक्का छ, तर पनि हामी किन भन्छौं- समय बदलियो !
गजुरियल बुझाइ छ- हामी मानिसहरू बडो स्वार्थी छौं। सफलताको जस आफू लिन्छौं। विफलताको दोष अरूलाई दिन्छौं। यदि हाम्रो संस्कृति अधोगतितिर लाग्यो भने त्यसलाई 'समयको खेल' भनेर पन्छिन्छौं, तर कुनै उन्नति भयो भने त्योचाहिँ 'मानिसको सिर्जना' मानेर गमक्क पर्छौं तर गजुरियल ठम्याई छ- आधुनिकताका नाममा देखिइरहेका 'अत्याधुनिकता' को कारकतत्व हामी मान्छे नै हौं। किनभने हामी मान्छेहरू समयलाई पनि जितेर दौडन खोज्छौं। हाम्रो संस्कृतिका देखिएका विकृतिको कारकतत्व यही नै हो।
वास्तवमा सृष्टिको 'रिमोट कन्ट्रोल' समयको हातमा हुन्छ, मान्छेको 'रिमोट कन्ट्रोल' हाम्रै विवेकमा हुन्छ। समयले सबैलाई समान अवसर दिन्छ, मान्छेले समयलाई कसरी प्रयोग गर्छ, त्यो उसकै विवेकमा निर्भर रहन्छ। समयले बलियालाई धेरै अवसर दिने वा कमजोरलाई कम अवसर दिने भन्ने हुँदैन।
हेर्नोस्, सृष्टिले महात्मा गान्धीका लागि 'स्पेसल क्यालेन्डर' बनाइदिएको थिएन। उहाँका लागि ४ सय ७५ दिनको एक वर्ष हुने भएकाले सफल र सम्मानित हुनुभएको पनि होइन। त्यसैगरी हिटलरका लागि एक दिनको १२ घण्टामात्र हुन्छ भनेर समयले तोक आदेश गरेको थिएन। झरी परेर वा बादल लागेकाले हिटलर हार खाएका पटक्कै होइनन्। समयले सबैलाई समान व्यवहार गर्छ। जसले समयको सदुपयोग गर्न सक्यो, ऊ सफल भयो। जो समयभन्दा ढिलो वा चाँडो दौडन खोज्यो, त्यो विफल बन्यो, अप्रिय भयो।
manoj gajurel - saptahik
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !