CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » डलर ओसार्ने हवल्दार पक्राउ

डलर ओसार्ने हवल्दार पक्राउ

काठमाडौं, २६ पुस
अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकन डलरलगायत विदेशी मुद्रा तस्करीमा संलग्न एसएसपी रविराज श्रेष्ठका चालक प्रहरी हवल्दार शोभित कार्की तीन महिनापछि पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो -सिआईबी)ले कार्कीलाई बिहीबार मोरङब्ााट पक्राउ गरेको हो । 
एसएसपी श्रेष्ठको निर्देशनमा हवल्दार कार्कीले विदेशी मुद्रा र सुन ओसार्ने गरेको आरोप छ । श्रेष्ठ निलम्बनमा छन् भने हवल्दार कार्की सुन विमानबाट बरामद भएलगत्तै फरार भएका थिए । 
मोरङको एक गाउँमा आफन्तको घरमा लुकेर बसेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालय उच्च स्रोतले बताएको छ । हवल्दार कार्कीलाई राजस्व अनुसन्धान विभागले विदेशी मुद्रा अपचलनमा मुद्दासमेत दायर गरिसकेको छ । 
गत १९ असोजमा उड्न लागेको फ्लाई दुबईको खानतलासी गर्दा सवा करोड रुपैयाँबराबरको अवैध विदेशी मुद्रा फेला परेको
थियो । सो रकम भारतीय नागरिक सोनीलाई हवल्दार कार्कीले गोप्य रूपमा लगेर विमान चढ्नुअघि दिएका थिए । चेकिङको क्रममा पत्ता लाग्ने भएकाले त्यसरी अर्काे बाटोबाट आएर कार्कीले सोनीलाई सो रकम दिएका थिए । भारतीय नागरिक सोनीलाई ललितपुर जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरिसकेको छ । 
प्रहरीकै मिलेमतोमा त्यसरी मुद्रा तस्करी भएको संकेतको आधारमा प्रहरी प्रधान कार्यालयले एआइजी भीष्म प्रसाईंको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । छानबिनलेे एसएसपी श्रेष्ठको संलग्नता औंल्याएपछि प्रहरी प्रधान कार्यालयको सिफारिसमा श्रेष्ठलाई विमानस्थलबाट प्रधान कार्यालय झिकाइएको थियो । त्यसको केही दिनमै उनलाई निलम्बन गरिएको थियो । तीन महिनाका लागि श्रेष्ठलाई निलम्बन गरिएकोमा उनको निलम्बन अवधि १० दिनपछि सकिँदै छ । सोही अवधिबाट उनलाई विभागीय कारबाही गर्नुपर्ने हुन्छ । 
निलम्बन अवधि समाप्त हुने वेला उनका चालक कार्की पक्राउ परेका हुन् । कार्कीमाथि अनुसन्धान गरेपछि प्रहरीले उनलाई राजस्व अनुसन्धानमै बुझाउनेछ । 
हवल्दारमाथि सिआइबीले कत्तिको गहन रूपमा अनुसन्धान गर्न सक्छ, त्यही आधारमा एसएसपी श्रेष्ठमाथिको कारबाही निर्भर हुनेछ । हवल्दार कार्कीले एसएसपीकै गाडीमा राखेर सुन र डलर तस्करी गर्दै आएका थिए । एसएसपीको सहयोगविना हवल्दार कार्की एक्लैले त्यसरी तस्करी गर्न सम्भव नरहेको र फोन रेकर्डलगायतका घटनाले पनि एसएसपीको संलग्नतालाई पुष्टि गरेको थियो । हवल्दार कार्की एसएसपीका विश्वासिला पात्र थिए । उनी जहाँ गयो, त्यहीँ उनलाई लिएर जाने गर्दथे । 
असइ हरिकाजी कुमालेको बयानले पनि तस्करीमा एसएसपीको संलग्नतालाई पुष्टि गरिसकेको छ । उनले सुन र डलर ओसारेबापत एसएसपीले १० हजार रुपैयाँ दिने गरेका बताएका छन् । उनी पनि निलम्बनमै छन् । 
एसएसपी श्रेष्ठले विमानस्थलमा कार्यरत तत्कालीन डिआइजी नारायण बस्ताकोटीलाई समेत थाहा नदिई तस्करीको लाइन खुलाएका थिए । सो कुरा थाहा पाएपछि डिआइजीनिकट व्यक्तिले नै बम रहेको हल्ला फिँजाएर विमानबाट डलर बरामद गराएको स्रोत बताउँछ । 
स्रोतका अनुसार पक्राउ परेका हवल्दार कार्कीले एसएसपी श्रेष्ठलाई पोल्ने सम्भावना कम छ । एसएसपीलाई सामान्य विभागीय कारबाही गरेर चोख्याउन अन्तिम समयमा उनलाई पक्राउ गरिएको हुनसक्ने कतिपयको आशंका छ । 
अवैध विदेशी मुद्रासहित पक्राउ परेका भारतीय नागरिक सोनीले हवल्दार कार्कीको नाम मात्र पोलेका छन् । उनले कार्कीको पैसा आफूले विदेश पठाउन लागेको उनको भनाइ छ । सोही आधारमा राजस्व अनुसन्धानले दुईजनालाई मात्र मुद्दा चलाएको हो । 
तस्करीमा संलग्न दरबारमार्गस्थित इबिसु ज्वेलर्सका मालिकहरू मुरारी जमेलिया -गोयल), पवन अग्रवाल, विमल पोदारलगायतलाई भने मुद्दा चलाइएको छैन । त्यस्तै व्यापारीसँग मिलेर प्रत्यक्ष रूपमा तस्करीमा संलग्न एसएसपी रविराज श्रेष्ठलाई पनि उन्मुक्ति दिइएको छ ।
राजस्व अनुसन्धान विभागले भने घटनामा व्यापारी र एसएसपीको संलग्नता स्थापित गर्न नसकेकाले मुद्दा नचलाएको बताउँदै आएको छ । 
नेपाल प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनमा स्पष्ट रूपमा नै सो रकम इबिसु ज्वेलर्सका मालिकको भएको उल्लेख गरिएको छ । एआइजी अर्याल छानबिन समितिको रिपोर्टमा मुरारी जमलिया, पवन अग्रवालको नाम उल्लेख गरिएको छ । तर, विभागले भने उनीहरूलाई मुद्दा चलाएन । विभागले प्रहरीको छानबिन प्रतिवेदन मागे पनि प्रहरी प्रधान कार्यालयले नदिएर आरोपीलाई उन्मुक्ति दिन सहयोग गरेको छ । 
विमानमा बमको रहेको भन्दै हल्ला चलेपछि उडान रोकेर चेकजाँच गर्दा विमानबाटै अवैध विदेशी मुद्रा बरामद भएको थियो । सो अवैध विदेशी मुद्रा एसएसपी श्रेष्ठको निर्देशनमा उनका चालकसमेत रहेका हवल्दार कार्कीले विमान चढ्नुअघि भारतीय नागरिक सोनीलाई दिएका थिए जुन कुरा सिसिटिभीको भिडियो रेकर्डबाट समेत पुष्टि हुन्छ । अनुसन्धानको क्रममा पटकपटक एसएसपीको निर्देशनमा उनका तल्लो तहका प्रहरीले तस्करीमा प्रत्यक्ष रूपमा व्यापारीलाई सघाउँदै आएका थिए । एआइजी अर्याल संयोजकत्वको छानबिन प्रतिवेदनले त डलरका साथै सुनसमेत प्रहरीकै मिलेमतोमा हुने गरेको तथ्य उजागर गरिसकेको छ । तस्करीमा प्रत्यक्ष रूपमा एसएसपी श्रेष्ठको संलग्नता देखिएपछि उनलाई गृह मन्त्रालयले तीन महिनाका लागि कात्तिकको पहिलो साता निलम्बन गरेको थियो ।





















--- नवराज मैनाली/नयाँ पत्रिका
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis