दैलेख, माघ १ - पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले 'आमालाई भेटेर सञ्चो बिसञ्चो सोधौ भनेर छिरेको' मात्र के भनेका थिए, गंगादेवी थापाले एक झमक आँखाबाट बररर आँसु झार्दै मनभित्रको बिसञ्चो पोखिन् । वातावरण स्तब्ध बन्यो ।
केहीबेरपछि परेलीका डिल पुछ्दै उनले भनिन्, 'के सञ्चो हुन्छ र ? बाहिरबाट पत्रकार आएपछि छोराको मुख अगाडि आउँछ ।' भेट्न पुग्ने प्रत्येक पत्रकारको अनुहार छोरा डेकेन्द्रराज थापाकै झैं लाग्छ उनलाई । उनीसँग बोल्नका लागि धेरै शब्द छैनन्, अनुहारको भाव र आँखाबाट निरन्तर झर्ने आँसुमार्फत संवाद
गरिरहिन्छन् ।
'मैले त्यस दिनबाट टीभी हेर्न छाडिदिएँ,' उनी फेरि सुक्सुकाइन् । गंगादेवीले टीभी हेर्न छाडेको दिन थियो २०६१ साउन २७ गते । जुन दिन उनका माइला छोरा डेकेन्द्रको हत्या भएको थियो । ६५ वषर्ीया गंगादेवीका अन्य तीन छोरा र पाँच छोरी छन् । छोराछोरीले डेकेन्द्रबारे पत्रपत्रिका, टीभीमा समाचार आयो भन्छन्, उनी 'मलाई नसुनाओ' भनेर आग्रह गर्छिन् ।
प्रहरीले डेकेन्द्र हत्याका आरोपीलाई पक्राउ गरेपछि र अभियुक्तले पनि हत्या स्वीकार गर्दै पश्चाताप गर्ने बताएको जानकारी पाएपछि गंगादेवीको निराशा अलिकति कम भएको थियो । 'दोषीहरूले सजाय पाएपछि छोराको आत्माले शान्ति पाउँछ कि, अर्को यस्तै घटना दोहोरिन्नथ्यो कि,' उनले भनिन् । तर प्रधानमन्त्रीका कानुनी सल्लाहकार तथा महान्यायाधिवक्ताले प्रहरी अनुसन्धान रोक्न र मुद्दा नचलाउन उर्दी जारी गरेको सुनेपछि माघको जाडोमा उनको मुटु झनै चिसिएको छ ।
'प्रधानमन्त्रीले त्यस्तो बलमिच्याइँ गर्न मिल्छ र ? प्रधानमन्त्रीले नै अपराधीलाई बचाउ गरेपछि देश कस्तो होला ?' उनले भनिन् ।
स्थानीय प्रहरीले पहलकदमी लिएपछि, काठमाडौंबाटै अधिकारकर्मी, पत्रकारलगायत आएर अपराधीलाई न्यायिक दायरामा ल्याउन दबाब सिर्जना गरेपछि गंगादेवीको हौसला बढेको थियो । 'सबैको सहयोगबाट न्याय पाउँछु कि भन्ने थियो,' उनले भनिन् ।
प्रधानमन्त्रीका कानुनी सल्लाहकारको जंगी आदेश डेकेन्द्रलाई हत्या गर्न आएको आदेशजस्तै लागेको छ, यतिखेर उनलाई । स्थानीय तहमा पि्रय मानिएका पत्रकार डेकेन्द्र हत्याका आरोपीले सजाय पाएको हेर्न चाहन्छन्, स्थानीयवासी पनि । आखिर नगरवासीकै भलो गर्न खोज्दा डेकेन्द्र आततायीको सिकार हुनुपुगेका थिए ।
सदरमुकामस्थित सुरक्षा निकायलाई अप्ठ्यारोमा पार्नका लागि युद्धकालमा माओवादीले यहाँ आउने पानीको पाइप नै काटिदिएका थिए । जसका कारण स्थानीयवासी नै काकाकुलको अवस्थामा पुगे । खानेपानीसम्बद्ध सरोकारवाला माओवादीसँग वार्ता गर्न डराएपछि डेकेन्द्र अघि सरेका थिए ।
'सदरमुकामवासीलाई काकाकुलको अवस्थाबाट मुक्त गर्न पहलकदमी लिँदा ज्यान गएकाले पनि उहाँप्रति यहाँका जनताको ठूलो सद्भाव छ,' हत्या प्रकरणको अनुसन्धान गरिरहेका प्रहरी निरीक्षक विनोद शर्माले भने । त्यसबाहेक समाज सुधारका अन्य अभियानमा पनि डेकेन्द्र सक्रिय थिए ।
परिवारजन र स्थानीयलाई सबैभन्दा आश्चर्यमा पारेको विषय हो, हत्या आरोपीले अपराध स्वीकारेर प्रायश्चित गर्ने बताउँदासमेत प्रधानमन्त्रीले किन छुटाउन उर्दी जारी गरेका छन् ? 'चरम यातनापछि जिउँदै पुरेको' भन्ने आरोपीको बयान सुनेपछि जमिनमुनिको धर्ती नै भासिएझैं लागेको थियो गंगादेवीलाई । स्थानीय प्रहरीको सक्रियतामा पाँच आरोपी पक्राउ परेपछि भने आफ्नो आत्मा रोए पनि छोराको आत्माले चिरशान्ति पाउने विश्वास थियो उनको ।
प्रधानमन्त्रीलाई केही भन्न चाहनुहुन्छ आमा ? भन्दा फेरि उनी भक्कानिइन् । 'प्रधानमन्त्रीज्यू तपाईंले किन यस्तो गलत काम गर्नुभएको ? अपराधीलाई छुटाउनु अपराध होइन ? भनेर सोधिदिनुहोस्' यति भनेर गंगादेवीले दुवै हत्केलाले रसाएका आँखाको डिलमा बाँध हालिन् ।
प्रकाशित मिति: २०६९ माघ १ ईकान्तिपुर
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !