CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » महिला किन अवला ?

महिला किन अवला ?

काठमाडौ, पुस २७ - 
एउटा युवक सडकमा हिंड्दै गरेकी युवतीको हात समातेर तान्छ, युवती ऊतिर हुत्तिन्छे, नजिक पुग्छे र हात झड्कारेर हिंड्छे । युवकले अगाडि पुगेर युवतीको बाटो छेक्छ, युवती अडिन्छे । युवकले युवतीको हात समातेर आफूसँगै घुमाउँछ, युवती अनुहारमा मन नपरेको भाव भए पनि युवकसँगै घुम्छे । यो क्रममा युवकले कतिखेर युवतीलाई अँगालो हाल्छ, कम्मरमा समातेर तान्छ, चुम्बन गर्न खोज्छ आदि क्रियाकलापले युवतीलाई हैरान पार्छ । युवतीको अनुहारमा हैरानीको भाव भए पनि ऊ ती क्रियाकलाप
गर्छे । यस्तो गतिविधिको समयमा त्यो युवकले गीत गाइरहेको हुन्छ । यो नेपाली फिल्ममा प्रायः समावेश गरिने दृश्य हो । फिल्मअनुसार यस्तो दृश्यको स्थान- गाउँ, सहरको सडक, स्कुल क्याम्पस वा पार्क -जहाँ भए पनि, नायिकाको इच्छाविपरीत नै नायक यस्तो क्रियाकलाप गरिरहेको हुन्छ । नेपाली फिल्ममा देखाइने यस खालको दृश्यले महिलाप्रतिको खास अवधारणलाई देखाउनुका साथै त्यसैलाई बल पुर्‍याइरहेको पनि छ ।

बितेको डेढ महिना नेपाली मिडिया 'महिला हिंसा'सँग सम्बन्धित सामग्रीले भरिए । मंसीर १० गतेदेखि सुरु भएको 'महिला हिंसाविरुद्धको १६ दिने अभियान' र त्यसपछि नेपाली मिडियामा रिपोर्टिङ भएका महिलामाथिका हिंसाका घटना र त्यसविरुद्धको अभियानले नेपालमा 'महिलामाथि हुने हिंसा' बहसमा छ । 'अकुपाई बालुवाटार' चलिरहेको छ । महिलामाथि हुने हिंसाका कारणहरू बहुआयामिक छन् । कानुन, राज्यतन्त्र, धर्म, सामाजिक संरचना, समाजमा आएको परिवर्तन, शिक्षा, सञ्चारमाध्यम, आदि । तर यो बहुआयामिक समस्या 'कडा कानुन र त्यसलाई लागू गर्ने संयन्त्र' बनाउने कुरामा मात्र केन्दि्रत भएको महसुस हुँदै छ । 'महिलाविरुद्धको हिंसा' रोक्न कडा कानुन र त्यसलाई प्रभावकारी हिसाबले लागू गर्नुपर्ने कुरा महत्त्वपूर्ण हो । समस्याको निदान छिट्टै हुनुपर्छ । तर यो अभियानले महिलाविरुद्धको हिंसासँगै जोडिएका अन्य पेचिला कुराहरूलाई पन्छाउन हुँदैन । महिला हिंसाविरुद्धमा विद्यमान कानुन किन प्रभावहीन भए भन्ने पनि महत्त्वपूर्ण प्रश्न हो ।

कानुन लागू गर्ने राज्यतन्त्र, प्रहरी-प्रसाशन, न्यायालय आदिले आफैं काम गर्ने त होइनन् । ती ठाउँमा पुग्ने व्यक्तिको व्यवहारले नै ती संस्थाको प्रभाव निक्र्योल हुन्छ । ती व्यक्ति पनि यही समाजकै अंग हुन् । यही समाजको सामाजिकीकरणबाट आएका हुन् । सामाजिकीकरणले व्यक्तिको धारणा, दृष्टिकोण र व्यवहारलाई आकार दिन्छ । राजनीतिक परिवेश, सामाजिक संरचना, धर्म, परम्परा, रीतिरिवाज, शिक्षा, आर्थिक अवसर आदि विभिन्न पक्षसँगको अन्तरक्रियाले व्यक्तिको धारणा र मनस्थिति, विचार र दृष्टिकोण निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्छ । धारणा र मनस्थितिले मानिसको व्यवहारलाई निर्देशित गर्छ ।

सामाजिकीकरणमा शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ भने प्रविधिको विकासले गर्दा आमसञ्चार अत्यन्त प्रभावकारी साधन भएको छ । पत्रपत्रिका, रेडियो, टेलिभिजन, चलचित्र आदिले अहिले हाम्रो जीवनशैलीलाई प्रभावित गरिरहेको छ, आकार दिइरहेको छ । पत्रपत्रिका र रेडियोजस्ता पढ्ने र सुन्ने आमसञ्चारका माध्यममा उपभोक्ताले ग्रहण गर्दा त्यसलाई आफ्नै किसिमले बुझ्ने अवस्था केही मात्रामा भए पनि बाँकी रहन्छ । तर टेलिभिजन, चलचित्रलगायतका हेर्ने माध्यममा उपभोक्तालाई त्यो थोरै ठाउँ पनि हुँदैन । पत्रपत्रिका वा रेडियोमा महिला भन्ने शब्द पढ्दा वा सुन्दा व्यक्तिले आफ्नो मस्तिष्कमा महिलाको विम्ब उसको धारणा अनुकूलको बनाउँछ । तर टेलिभिजन वा चलचित्रजस्ता दृश्य माध्यममा आउने महिलाको विम्ब भने 'इम्पोज्ड' हुन्छ, जस्तो देखाइन्छ व्यक्तिले त्यस्तै ग्रहण गर्नुपर्ने हुन्छ । त्यसैले चलायमान चित्रका माध्यमहरू फिल्म, टेलिभिजनलाई निरङ्कुश माध्यम मानिन्छ ।

प्रविधिमा भएको तीव्र विकासले हामी चलचित्र वा चलायमान चित्रबाट घेरिएका छौं । जीवनमा चलायमान चित्रको हस्तक्षेप बढ्दो छ । टेलिभिजन, फिल्म, भिडियो गेम, विज्ञापन, एनिमेसन चित्र आदि चलचित्र वा चलायमान चित्रका विभिन्न रूप हुन् । दैनिक यस्ता चलचित्रका सम्पर्कबाट गुज्रनुपर्छ । बिहान बिछ्यौनामै चलचित्रले बिउँझाउँछ भने राति निद्रा पनि चलचित्रको सम्पर्कमै पर्छ । यो सूचनाको युगमा सूचना र मनोरञ्जनका लागि चलचित्र अनिवार्य हुँदै गएको छ । चलचित्रबिना हाम्रो जीवन अहिले कल्पना गर्न पनि नसकिने भएको छ ।

मानिसको जीवनमा चलचित्रको यस्तो व्यापक उपस्थितिको प्रभाव पनि व्यापक छ । मानिस आपmना आवश्यकता, रुचि, पक्षधरता, जीवन मूल्यको निर्धारण चलचित्रबाटै गर्न थालेको छ । चलचित्रको प्रभावले हाम्रा रुचि, चाहना, मनस्थिति, पक्षधरता, दृष्टिकोण, विचार, मान्यता, बुझाइ आदिमा पार्ने असरले हाम्रो जीवनशैलीमा परिवर्तन आइरहेको छ । एकातर्फ यस्तो प्रभाव र परिवर्तन फेसन, बोलीचाली, वस्तुको उपभोग, खानपान आदिमा छिटो र सजिलै महसुस हुने गरी परिरहेको छ भने अर्कोतर्फ सोचाइ, विचार, दृष्टिकोण, मान्यता आदिमा भने प्रभाव बिस्तारै र गहिरो गरी परिरहेको हुन्छ । चलचित्रले निश्चित मूल्य, मान्यता, आचरणको संवर्द्धन वा विघटनमा सघाउँछ । चलचित्रले समाजका मूल्यलाई प्रतिविम्बित गर्नुका साथै तिनलाई पुनस्र्थापित गर्न पनि भूमिका खेलिरहेको हुन्छ । चलायमान चित्रका विभिन्न रूपहरूमध्ये फिल्म अत्यन्त महत्त्वपूर्ण विधा हो ।  

हाम्रा धारणा, दृष्टिकोण, रुचिलाई आकार दिन महत्त्वपूर्ण भूमिका भएको फिल्मको प्रभावका बारेमा सामाजिक बहसमा महत्त्व दिएको पाइँदैन । नेपाली फिल्ममा महिलाको चित्रण कसरी गरिन्छ ? त्यस्तो चित्रणले महिलाको बारेमा कस्तो अवधारणालाई प्रोत्साहित गर्छ ? कमजोर कानुन, महिला अधिकार र सशक्तिकरणका कमीका साथमा हाम्रो समाजमा भएको महिलासम्बन्धी निश्चित अवधारणाले महिलाविरुद्धको हिंसा भइरहेको छ । नेपाली फिल्ममा गरिने महिलाको चित्रणले महिलाविरुद्धको हिंसालाई कस्तो प्रभाव पार्छ ? सामाजिकीकरणको महत्त्वपूर्ण साधन नेपाली फिल्ममा महिलाको चित्रण र त्यसले 'इम्पोज' गर्ने अवधारणाको बारेमा बहसको खाँचो छ ।  

नेपाली फिल्मको पर्दामा आउने कथा मुख्य रूपमा पुरुषको द्वन्द्व, उसको सपना, उसको चाहना, उसको बदला र उसको नायकत्वको चित्रण हुन्छ । आफ्नो सपना पूरा गर्न वा द्वन्द्व समाधान गर्न पुरुषले क्रियाकलाप गर्छ । महिला 'फिलर'को रूपमा आउँछे, खाली ठाउँ भर्न, सजावट बनेर । फिल्मको कथामा महिला त पुरुषको आमा, पत्नी वा प्रेमिकाको रूपमा मात्र आउँछे, व्यक्ति बनेर होइन । उसको अस्तित्व पुरुषको साथमा जोडेर मात्र स्विकारिएको हुन्छ । कथामा आउने उतारचढावमा महिलाको भूमिका नगन्य हुन्छ । उसको भूमिका पुरुषलाई उत्पे्ररित गर्नेसम्मको हुन सक्छ । महिलाले आफ्नो निर्णय आफैं गर्दैनन् । सबै निर्णय पुरुष आधारित हुन्छन् । छोरा बालकै भए पनि उसलाई आमाको संरक्ष्ाकको रूपमा प्रस्तुत गरिन्छ । दिदीभाइको सम्बन्धमा पनि यही सूत्र प्रयोग हुन्छ । यसले पुरुषको संरक्षणबिना महिलाको अस्तित्व हुँदैन भन्ने मान्यतालाई बल पुर्‍याउँछ ।

महिलालाई आफ्ना इच्छा, विचार, धारणासहितको व्यक्तिको रूपमा होइन, परिवार र पतिको लागि आफ्ना इच्छाहरू दबाएको कुरालाई आदर्श बनाएर प्रस्तुत गरिन्छ । आफ्ना विचार, धारणा र इच्छा भएको स्वतन्त्र महिलालाई रक्सी पिउने, धूमपान गर्ने, रात्रिक्लब जाने, प्रेमी फेरिरहने रूपमा समाजमा भएको 'चरित्रहीन'को अवधारणालाई बल पुर्‍याउने गरी देखाइन्छ । त्यस्ता 'स्वतन्त्र' महिलालाई फिल्मको अन्त्यमा मृत्यु गराएर वा अन्य किसिमले सजाय पाएको देखाइन्छ । यसरी पवित्रताको अवधारणालाई अगाडि सारेर परिवारको इज्जत महिलाको व्यवहार र चरित्रमा अडेको हुन्छ भन्ने कुरालाई नै नेपाली फिल्मले बल पुर्‍याउँछन् ।

कथामा हुने थोरै भूमिकामा देखाउँदा पनि महिलालाई प्रस्तुत गर्ने निश्चित तौरतरिका छन् । नायक वा खलनायकलाई पहिलोपटक फिल्ममा देखाउँदा खुट्टाबाट क्यामरा बिस्तारै माथि सर्दै गएर वा अन्य किसिमले देखाउँदा शरीर र उसको व्यक्तित्व पूर्ण रूपमा आउने गरी देखाउँछ । नायिकालाई देखाउँदा आँखा, ओठ, वक्ष, र नितम्बको छुट्टाछुट्टै 'क्लोजअप' देखाएपछि मात्र पूरै शरीर देखाइन्छ यसले नायिकालाई सग्लो व्यक्ति नभएर ती अङ्गहरूको योगको रूपमा प्रस्तुत गरिएको हुन्छ । यस्तो प्रस्तुतिले निश्चित अङ्गमा महिलालाई सीमित गराउँछ । नायिका सुन्दर हुनुपर्ने, दृश्यमा त्यो सुन्दरता देखिने र 'सेन्सुअल' बनाउने गरी क्यमराले खिचिएको हुन्छ । यसरी महिलालाई पुरुषको यौन चाहनाको वस्तु बनाउँछन् । छोटा कपडा वा पातलो कपडामा पानीमा भिज्ने दृश्यको उपयोग पनि यस्तै अवधारणाका लागि हुन्छ । फिल्ममा पुरुष पात्रलाई  विभिन्न क्रियाकलाप गरेको देखाइन्छ तर महिला दृश्यमा देखापर्छे । फिल्ममा नायक नायिकाको हेराहेरलाई पनि भिन्न किसिमले प्रस्तुत गरिएको हुन्छ । नायकले नायिकालाई हेर्छ, नायिकाले आफूलाई हेरेको हेर्छे र त्यसैमा दंग परेको देखाइन्छ । यसरी फिल्ममा महिलाको उपस्थिति दर्शकको मनोरञ्जनका लागि भएको हुन्छ । यसले महिलालाई पुरुषको मनोरञ्जनका माध्यमको अवधारणालाई नै बल पुर्‍याउने काम गरिरहेको छ । फिल्ममा महिला अर्थ बाहक हो, उसले के कुरालाई प्रोत्साहित गर्छे, वा के कुराको प्रतिनिधित्व गर्छे भन्ने कुराले कस्तो धारणालाई प्रोत्साहित गर्छ भन्ने बताउँछ । नेपाली फिल्मले महिलालाई स्वतन्त्र व्यक्तिको रूपमा स्विकार्न सकेको छैन । पुरुषबिना कुनै अस्तित्व नभएको मनोरञ्जनको माध्यमको रूपमा हुने प्रस्तुतिले माथि वर्णन गरिएको 'एउटा युवाले आफूले मन पराएकै आधारमा युवतीको इच्छाविपरीत जिस्काउनु र चलाउनुलाई' स्वाभाविक बनाउँछ ।

फिल्मले निर्माण गर्ने यस्ता अवधारणाले महिलाको अवस्थामा परिवर्तन ल्याउन बाधा पुर्‍याउँछन् । नेपालमा व्यापक मात्रामा हेरिने नेपाली र हिन्दी दुवै फिल्ममा महिलाको प्रस्तुति उस्तै किसिमले गरिन्छ । फिल्ममा हुने महिलाको प्रस्तुति, त्यसको अर्थ र असरको बारेमा हुने छलफलले महिलाको अवस्थामा परिवर्तन गर्न सघाउनेछ भने कथामा महिलाको उपयोग र फिल्ममा महिलालाई देखाउने तरिकामा नेपाली फिल्मलाई जिम्मेवार बनाउनेछ ।


प्रकाशित मिति: २०६९ पुस २८ १०:५४


अनुप सुबेदी , इकान्तिपुर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis