देहरादुनको नेपाली बिहे
काठमाडौँका आँखाले हेर्दा देहरादुन (भारत)को नेपाली समुदायको विवाह धेरै फरक लाग्छ । कताकता भारतीय संस्कृतिसँगै मिसिँदै गएजस्तो । तर, उनीहरू आफैँचाहिँ यो स्वीकार्न तयार छैनन् । देहरादुनस्थित गुराँस सांस्कृतिक कला केन्द्रकी कोषाध्यक्ष प्रभा शाह भन्छिन्, "हामीले नेपालीपन जोगाएर राखेका छौँ । यो अन्य भारतीयको विवाह संस्कृतिसँग
मेल खाँदैन ।" शाहले देहरादुनी नेपालीको विवाहका मौलिक पक्षका रूपमा चिनाएका प्रमुख झलक, जुन उनकै छोराकोविवाह-एल्बममा आधारित छ :
दुलाहा पवित्र होस् भनेर भाउजू, काकी, आमा र फुपूहरू बुकुवा (हलेदो)द्वारा स्नान गराउँछन् ।
लाहालाई जनै पहिर्याउँदै पण्डित । नेपाली समुदायले हरिद्वारमा पढेका नेपाली पण्डितलाई नै पुरोहित बनाउँछन् ।
विवाहअघि अँगुठी साट्दै दुलहादुलही ।
अन्य भारतीयले खुलै सिउँदोमा सिन्दूर हाल्छन् तर नेपालीले सेतो कपडाले छोपेर मात्र सिन्दूर हाल्छन् ।
बिदा हुँदा दाइले बहिनीलाई र काका-ससुराले दुलाहालाई बोकेर गाडीमा चढाउँछन्, हिँड्न दिइँदैन ।
दुलही पहिलो गृहप्रवेशमा बत्ती बालेर, दैलो पुजेर भित्र पस्छिन् ।
सासूससुरालाई मुख देखाएपछि दुलहीले खुट्टामा ढोग्छन् ।
'दाइको बिहे भयो, मेरो पालो आयो’ भन्दै भाइ खुकुरीले जग्गेको केराको थाम काट्छन् ।
विवाहको तेस्रो दिनमा दुलहीका बाबुआमा दुलाहाको घरमा जानुपर्छ, जसलाई सम्धीभेट भन्छन् । त्यतिबेला बोका काट्नुका साथै मदिराका साथ भुटुवा खुवाइन्छ ।
रामबहादुर रावल, नेपाल