काठमाडौं । ‘यहाँ ब्लडप्रेसर, डायबिटीज, थाइरायड, ग्यास्टिकहरुको स्थायी उपचार गरिन्छ………’, ‘पाइल्स, पत्थरी, पिनास, निको नभए पैसा फिर्ता……’, हेपाटाइटिस, छातीको दाग, पत्थरी, पायल्स, हाइड्रोसिलको विनाअपरेशन ग्यारेन्टी उपचार…..’ हिजोआज रेडियो, टेलिभिजन र पत्रपत्रिकामा यस्ता
विज्ञापन छरपस्ट रुपमा हेर्न, सुन्न र पढ्न पाइन्छ । रत्नपार्कको फूटपाथ व्यापारीले झैं स्वास्थ्य संस्था चलाउनेले बिरामीलाई आफूतिर आकषिर्त गर्न यसैगरी लोभलाग्दो विज्ञापन गरिरहेका छन् ।
आफूलाई नेपालका एकनम्बर दाबी गर्ने दैनिक पत्रिकाहरुमा दर्ता नभएका अज्ञात संस्थाका तर्फबाट मानिसको स्वास्थ्यसँग सम्बन्धित विज्ञापन निर्वाधरुपमा छाप्ने गरेका छन् । यौन दुर्बलता हटाउने, लिंगको विकास गर्ने, स्तन बढाउने र योनी टाइट गर्ने जस्ता विज्ञापन नेपाली पत्रपत्रिकामा यत्रतत्र पाइने गरेको भए पनि त्यसप्रति न मेडिकल काउन्सिलले अनुगमन गरेको छ, न नेपाल प्रेस काउन्सिलसँग विज्ञापनसम्बन्धी कुनै नीति छ । यस्ता विज्ञापनहरुमा संस्थाको दर्ता नम्बर र स्पष्ट ठेगाना उल्लेख नगरी फोन नम्बरमात्रै दिने गरिएको छ ।
मेडिकल काउन्सिल नियमावलीको नियम २२ मा चिकित्सकहरुको आचारसंहिता उल्लेख गरिएको छ, जसमा आˆनो नाम चलाउने अथवा धन कमाउने उद्देश्यले कुनै परिचय पाटी वा प्याडमा आफ्नो नाम, पाएको डिग्री, डिप्लोमा र कुनै पदको प्रचार गर्न नपाइने उल्लेख छ ।
स्वास्थ्यसम्बन्धी ऐनअनुसार कसैले पनि अनुमति वा इजाजत नलिई कसैको स्वास्थोपचार सम्बन्धी कार्य गर्न पाइादैन । तर, यतिबेला देशमा पत्रिकामा विज्ञापन गरेर मानिसहरुको खुट्टदेखि टाउकासम्मका सबै अंगहरुको उपचार गर्ने अबैध ‘डाक्टर’हरुको संख्या बढिरहेको छ । यसबारे अनुगमन गर्नुपर्ने मेडिकल काउन्सिलसमेत बानमा तेल हालेर बसेको छ ।
कानुन अनुसार अनुमति नलिई कसैको उपचार गर्नमात्रै होइन, स्वास्थ्य सेवाको विज्ञापन गर्नसमेत पाईंदैन । तैपनि नाम कहलिएका ठूला अस्पतालदेखि शहरमा पाइलैपिच्छे खुलेका स्वास्थ्य संस्था र उपचार केन्द्रहरुले जथाभावी विज्ञापन गर्न छाडेका छैनन् । ‘अरुले पनि विज्ञापन गरेको देखेर हामीले पनि गरेका हौं’ ग्यारेन्टीका साथ उपचार गर्ने भनेर विज्ञापन गर्दै आएको पुरानो बसपार्क स्थित विष्णुपूर्ण आयुर्वेदका वैद्यनारायण रेग्मीले अनलाइनखबरसित भन्नुभयो-’विज्ञापन नगरे त मान्छे नै आउँदैनन् नि ।’
बोल्नेको पीठो पनि बिक्छ भन्ने मान्यता पछ्याउँदै स्वास्थ्य संस्था सञ्चालकहरुले यसरी जथाभावी विज्ञापन गर्दा बिरामीले उल्टो तनाव भोग्नुपरेको छ । यस्तो समस्या भोग्नेमा ढाड, कम्मर, पिनास, पत्थरी, ब्लडप्रेसर, डायबिटीज, ग्यास्टिक लगायतका दीर्घरोगी बढी छन् । घाउखटिरा, चोटपटक, झाडापखाला, रुखाखोकी, ज्वरोलगायतका रोगहरुका उपचार त जुनसुकै स्वास्थ्य संस्थामा पनि हुन्छ । तर, अस्पताल धाउँदा-धाउँदा निको हुन नसकेर भौंतारिएका दीर्घरोगीहरु त्यहाँ जाँदा चाहिँ केही भैहाल्ला कि भन्ने आशाले विज्ञापन पछ्याउँदै ठाउँठाउँमा पुग्छन् ।
जहाँ गए पनि डाक्टर र स्वास्थ्य कार्यकर्ताले जाँच गर्छन् र औषधिको भारी थुपारिदिन्छन् । नयाँ ठाउँमा गएर फर्केको एकदुई दिनमा सञ्चो भएजस्तो पनि हुन्छ । तर फेरि बल्भिmहाल्छ । यसरी देखे र सुनेजति सबै अस्पतालमा धाउँदा पनि रोग निको हुन नसकेकाहरुलाई जथाभावी विज्ञापन गर्नेहरुले तनाव थप्ने काम मात्रै गरेका छन् ।
नयाँ नीति आयो, कार्यान्वयनको टुंगो छैन
स्वास्थ्य सम्बन्धी ऐनअनुसार अहिले पनि स्वास्थ्य संस्थाले आफ्नो सेवाको बारेमा विज्ञापन गर्न पाउँदैनन् । जथाभावी विज्ञापन रोक्न स्वास्थ्य मन्त्रालय अन्तर्गत अनुगमन महाशाखा पनि छ । ‘हामीले अनुगमन गरिरहेका छौं, समस्या बढ्न थालेपछि अब नयाँ नीति बनाउने तयारीमा छौं’ मन्त्रालयका प्रवक्ता कविराज खनालले अनलाइनखबरलाई जानकारी दिनुभयो -’निजी लगानीमा खुलेका अस्पताल, नर्सिङहोम र शिक्षण संस्थाले आफूखुसी विज्ञापन गर्न नपाउने तथा विज्ञापन प्रकाशन तथा प्रसारण गर्नुअघि मन्त्रालयको अनुमति लिनुपर्ने गरी नीति बन्दैछ ।’ अघिल्लो सरकारले नियमन तथा नियन्त्रण नीति बनाउने निर्णय गरेपनि यो अझै बनेको छैन । ‘निर्णय भएर मस्यौदा तयार भैसकेको छ, नीति बनाउने क्रममा छौं’ प्रवक्ता खनालले भन्नुभयो ।
आचारसंहिता नमान्ने चिकित्सकमाथि कारबाही गरिने
यसैवीच राससका अनुसार नेपाल चिकित्सक सङ्घ चितवनले आचारसंहिता नमान्ने चिकित्सकमाथि कारबाही गर्ने भएको छ । मेडिकल सिटीका रुपमा विकास भइरहेको चितवनमा चिकित्सकहरुले आचारसंहिता उल्लङ्घन गर्ने गरेको गुनासो बढ्न थालेपछि सङ्घले कारबाही गर्न लागेको हो ।
अहिले सचेतनाको काम सुरु गरिएको छ । अनुगमनबाट आचारसंहिता उल्लङ्घन गरेको पाइए त्यस्ता चिकित्सकमाथि कडा कारबाही गर्ने नेपाल चिकित्सक सङ्घ चितवनका अध्यक्ष डा कृष्ण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार दर्ता नगरी पेसामा संलग्न हुने, चिकित्सकको नाम र तस्बिर राखेर सञ्चारमाध्यमबाट विज्ञापन प्रसारण तथा प्रकाशन गर्नेहरुमाथि कारबाही गर्ने सङ्घले जनाएको छ । यस्ता गतिविधिले नक्कली चिकित्सकलाई फाइदा पुग्ने भएकाले सङ्घले चिकित्सकलाई नियममा बाँध्न पहल थालेको अध्यक्ष पौडेलको भनाइ छ । चितवनमा दुई ठूला सरकारी अस्पताल, दुई सुविधासम्पन्न मेडिकल कलेज र दुई दर्जनभन्दा बढी निजी अस्पतालहरु रहेका छन् । यहाँ करिब पाँच सय चिकित्सक कार्यरत छन् । मेडिकल सिटीका रुपमा विकास भइरहेको चितवनमा स्वास्थ्य समस्या बेलैमा समाधान गर्न नसके अवस्था जटिल बन्दै जाने चिकित्सक डा भक्तमान श्रेष्ठले बताउनुभयो । डा भोजराज अधिकारीले चिकित्सा क्षेत्रका समस्याबारे अहिले अनुगमन भइरहेको बताउनुभयो ।
- साभार अन्लाईन खबर
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !