CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » हे हे हे ... बल्ल श्रीमान गम्भीर हुनुभाछ : जितु नेपाल

हे हे हे ... बल्ल श्रीमान गम्भीर हुनुभाछ : जितु नेपाल

मुन्द्रा लगाउन छोड्नुभएको हो?
होइन। कार्यक्रममा मात्रै लगाउने गरेको छु। अरू बेला लगाउँदिनँ।
पुलिसले समात्छ भनेर हो कि क्या हो?
होइन। पहिलेदेखि नै कार्यक्रममा मात्रै लगाउने गरेको थिएँ।
नेपाल पुलिसको अभियानलाई खुब व्यंग्य गरियो है?
यो हावा अभियान हो। मुन्द्रा लगाउनु पाउनु मान्छेको अधिकारको कुरा हो। कुख्यात
अपराधीलाई समात्न छोडेर जाबो मुन्द्रा लगाउने सर्वसाधारण बिचरालाई के दुःख दिएका होलान्!
यहाँले मुन्द्रा लगाउन थालेको निकै समय पो भइसक्यो त।


साढे नौ वर्षजति भयो। 'जिरे खुर्सानी' सुरु भएदेखि नै मुन्द्रा लगाउन थालेको हुँ, साठी सालदेखि। यो नै पाँच सय भाग पुग्न आँटिसक्यो।
यो पात्रबारे आइडिया चाहिँ कसरी आयो?
'जिरे खुर्सानी'का लागि पात्रहरू खोज्दै थियौँ। शिवहरि पौडेल दाइले नेताको रोल गर्नुहुने भयो। उहाँका दुइटी श्रीमती हुने भए। म चाहिँ कान्छिपट्टिको, अलि बदमास, लम्फू र हरिलट्ठक खालको छोरो हुने भएँ। कानमा मुन्द्रा लगाएर टोलमा हाहाहुहु गर्दै हिँड्ने, काम केही नगर्ने। नेताको छोराझैँ दादागिरी गर्दै हिँड्ने भूमिका भएकाले उक्त पात्रको नाम मुन्द्रे राखियो।
मुन्द्रे बन्नका लागि कान पनि छेड्नुपर्‍यो होला।
सुरुका चारपाँच वर्ष मुन्द्रालाई च्यापेरै काम चलाएँ। तर, एकपटक हङकङ जाँदाको कुरा हो। मुन्द्रा-सुन्द्रा केही नलगाई एकदम साधारण भएर गएको थिएँ। मुन्द्रे भएर मुन्द्रा नलगाउने, यो के चाला हो? भनेर दर्शक, आयोजक, साथीभाइ सबैले गाली गरे। र, त्यहीँका साथीभाइले झ्यापझुप समातेर जबर्जस्ती कान पनि छेडिदिएका थिए।
मुन्द्रे हिट भयो भन्ने कुरा कहिले थाहा भयो?
बीस भागतिर पुगेपछि थाहा भयो। त्यतिबेला युवा वर्ग र विशेषगरी, केटाकेटीहरूले मेरो नक्कल गर्न थालेका थिए। 'एसएलसी पास' भन्ने थेगो सर्वत्र छाएको थियो।
मुन्द्रे यातायात कत्तिको चलिरा'छ?
दोधारा-चाँदनी र म्याग्दीमा राम्रै चलिरा'छ। तर, मेरो चाहिँ होइन है। बैंककमा देखेर सिरियलमा देखाएको थिएँ। यही सिको गरेर त्यहाँ सञ्चालनमा ल्याएछन्। उद्घाटनमा बोलाएका थिए, जानै पाइनँ।
आफू युवा वा टिनएजर हुँदा हाहाहुहु गरियो कि नाइँ?
मोजमस्ती गर्ने उमेरमा संघर्ष गरियो, मुन्द्रा लगाउने त होसै आएन। गजबको कुरा त के भने, मैले अभिनय गरेका पात्र र ममा जहिल्यै आकाश-पातालको अन्तर हुन्छ। मुन्द्रे बन्नुअघि म माइकल बनेको थिएँ। त्यसमा पनि अल्लारे ठिटोकै भूमिका थियो। तर, वास्तविक जीवनमा भने म असाध्यै सिम्पल र गम्भीर खालको छु। फेरि, रोल चाहिँ त्यस्तै उरन्ठेउलो खालको जुर्छ।
सिन्धुपाल्चोकको मान्छे, काठमाडौँ कहिले छिरियो?
विसं २०४७/४८ सालतिर एसएलसी दिएर जागिर खाँदै थप अध्ययन गर्नुपर्‍यो भनेर काठमाडौँ आएको थिएँ। त्यतिबेला एसएलसी पास गरेपछि छोराले ठूलै उपलब्धि हासिल गरेको भन्ठाथे परिवारले। मलाई पनि त्यस्तै ठानियो।
यहाँ आएर सिधै कलाकलार बन्नुभएको हो?
कहाँ त्यति सजिलै कलाकार बन्नसक्नु? सुरुसुरुमा त अनेक गरियो। चौकीदारदेखि तरकारी पसलेसम्म भइयो। तर, पढाइलाई निरन्तरता दिन सकिनँ। इन्टर सकाएपछि पढाइमा पूर्णविराम लाग्यो।
स्कुल-क्याम्पसमा छँदा साभीभाइलाई हँसाउन माहिर हुनुहुन्थ्यो होला?
म यो क्षेत्रमा संयोगले लागेको हुँ भन्दा पनि हुन्छ। सिरियलमा अभिनय गर्नुअघि मैले कहिल्यै यस्तो काम गरेको थिइनँ। जिन्दगीमा के बन्ने भन्नेबारे सोच्न नपाउँदै म यो क्षेत्रतिर तानिएको थिएँ।
कसरी आइपुग्नुभयो यस क्षेत्रमा?
चाबहिलको पशुपति क्याम्पसमा भर्ना भएको थिएँ। आकलझुक्कल कलेज गए पनि सरस्वती शर्मा भन्ने दिदीसँग राम्रै परिचय थियो मेरो। दिदीले त्यसबेलाको सुपरहिट सिरियल 'हिजोआजका कुरा'का निर्देशक तथा कलाकार सन्तोष पन्त दाइलाइ चिन्नु हुँदो रहेछ। उहाँकै सोर्सफोर्सले सोही सिरियलमार्फत टीभीमा मुख देखाउने अवसर पाएँ। मेरो अभिनय केही थिएन। ठिंग उभिने ८-१० जना मान्छेमध्ये म पनि एक थिएँ।
त्यो उभिएको रोलले करिअरमा केही अर्थ राख्यो?
रोलले भन्दा पनि सुटिङका बेला चिनजान भएका कलाकार र निर्देशकहरू पछि निकै काम लागे। तीमध्ये एक थिए, दिनेश डीसी। उनले नै पछि 'ट्वाक्क-टुक्क' भन्ने कार्यक्रममा मलाई अवसर दिए। सन्तोष दाइले पनि साथ दिनुभयो।
भनेपछि तपाईलाई एकपछि अर्को अफर आएको आयै भएछन्। अभिनय नसिकेको मान्छेलाई सबैले पत्याउनुको कारण के थियो?
काँ पाएर अफरको लर्को लाग्नु नि? निर्देशकको दैलौ चहार्दाचहार्दै दिन बित्थे। अधिकांशले 'अहिलेलाई रोलै छैन, पछि बोलाउँला' भन्थे। ती 'पछि' कहिल्यै आएनन्। बल्लतल्ल ट्वाक्क-टुक्कमा खेल्ने मौका पाइयो। त्यसपछि अरूले पनि पत्याउन थाले।
पढी-लेेखी ठूलो मान्छे बन्न काठमाडौँ गएको छोरो टीभीमा ठट्यौली गरेकोे देख्दा बाउआमाले के भन्नुहुन्थ्यो?
फिल्मी दुनियाँमा भविष्य छैन, त्यतातिर नलाग्, जागिर खा भन्नुहुन्थ्यो। तर, 'हिजोआजका कुरा'मा सन्तोष दाइसँगै टीभीमा देखिएपछि त गाउँमा 'यो केटो कसरी त्यहाँ पुग्यो' भनेर उल्कै भएछ। गाउँलेका लागि 'हिरो' नै भएको थिएँ।
अनि, आफूलाई चाहिँ हिरो हुने रहर किन नजागेको ?
म त हिरो नै छु नि, मुन्द्रेका रूपमा। खासमा, कसलाई हिरो भन्ने? यो कुरा प्रमुख हो। बडी-मसल भएको, हाइटी वा ह्यान्डसम पात्र मात्रै हिरो होइन। वास्तवमा कथाको मुख्य पात्र नै हिरो हो। त्यो जो कोही पनि हुनसक्छ। कहिलेकाहीँ जनावर पनि हिरो हुनसक्छ। यसर्थ, 'जिरे खुर्सानी'को प्रमुख पात्रमध्ये एक भएकाले मुन्द्रे नै मेरा लागि हिरो हो।
सधँैभरि हास्यव्यंग्यमै मात्र रहिरहने कि ठूलो पर्दातिर लाग्ने?
ठूलो पर्दामा हास्यव्यंग्यबाहेकका रोल पनि गरेको छु नि। अहिलेलाई भने एक त मिल्दो रोल नै पाइँदैन। त्यसमाथि पारिश्रमिक पनि राम्रो हुँदैन। स्टेज कार्यक्रममा दौडिरहनुपर्छ। आफूसँग फिल्म खेल्ने समय पनि छैन।
स्टेज कार्यक्रममा त यहाँको ज्यादै ठूलो माग छ रे...
किनभने मलाई लगेपछि आयोजकले घाटा बेहोर्नुपर्दैन। म त हँसाउनेमात्रै होइन, उस्तै परे, उद्घोषण गर्ने, नाच्ने, गाउने, भाषण गर्ने सबथोक गर्दिन्छु। त्यही भएर माग भएको होला। हाहाहा...।
क्यारिकेचर त झन् गजबले गर्नुहुन्छ। क-कसको गर्नुभएको छ अहिलेसम्म?
राम्रो गर्ने कोसिस गर्छु। प्रायः नेताज्यूहरूकै नक्कल गरिन्छ। शेरबहादुर देउवाको सबैभन्दा बढी गरेको छु। रामचन्द्र पौडेल, प्रचण्ड, बाबुराम भट्टराई, केपी ओली, माधवकुमार नेपाल, चित्रबहादुर केसीलगायत नेताको नक्कल गरेको छु।
उहाँहरूमध्ये कसैले कहिल्यै केही प्रतिक्रिया दिनुभएको छ?
भेटघाट भएका बेला कुरा निकाल्नुहुन्छ। 'हामीलाई उडाउनु हुन्छ है जितुजी' भन्नुहुन्छ। प्रचण्डले नै कतिपटक यस्तो भन्नुभएको छ।
क्यारिकेचर गर्न सबैभन्दा गाह्रो हुने नेता को हुन्?
झलनाथ खनालको नक्कल गर्न खोजेको खासै सकिएन। शेरबहादुर र रामचन्द्रजीको नक्कल गर्न सजिलै छ भन्छन्। तर, निरन्तर त्यसरी बोलिरह्यो भने घोक्रो सुकेर प्याकप्याकती भइन्छ।
एकताका दमन रूपाखेती र जितु नेपालको जोडी नङ-मासुसरह थियो, हैन?
हो। कतिपयले भविष्यका 'मह जोडी' पनि भन्थे। तर, हाम्रो सहकार्य धेरै समय टिक्न सकेन। म 'जति गर्‍यो, उति काम गर्नु पर्छ, जिन्दगीमा धेरै माथि पुग्नुछ' भन्थेँ। उहाँ 'जे छ, त्यति नै ठीक छ' भन्ने खालको हुुनुहुन्थ्यो। म कतिपय अवस्थामा नबोलाएकै ठाउँमा पनि कार्यक्रम गर्न गइदिऊँ भन्थेँ, उहाँ जानु हुँदैन, इज्जत घट्छ भनेजस्तो गर्नुहुन्थ्यो। हाम्रो स्वभाव मिलेन। त्यसपछि आ-आफ्ना बाटो लाग्यौँ। तर, कुनै दिन उहाँलाई म चाहिएछ भने म जस्तोसुकै सहकार्य गर्न तयार छु।

हास्य कलाकारलाई कतिपयले जोकर भन्दा रहेछन्। किन होला?
त्यो मान्छेको हेर्ने दृष्टिकोण कमजोर भएर हो। उसलाई जोकर र कलाकारबीचको भिन्नता थाहा नभएर हो। हास्य कलाकार कुनै पनि अर्थमा जोकर होइन।
के हो त भिन्नता?
जोकर भनेका हाउभाउले हँसाउने हुन्। उनीहरू आफ्नो पहिरनले नै बच्चाबच्चीलाई हँसाउन खोज्छन्। तर, हामी मान्छेलाई विचार र सामग्रीले हँसाउँछौँ।
आफूलाई दुःख परेको बेला अरूलाई हँसाउन त साह्रै गाह्रो हुँदो हो नि?
मलाई थुप्रै पटक त्यस्तो भएको छ। विशेषगरी स्टेज सो गर्दा आफूलाई कत्रो समस्या आइलागेको हुन्छ, स्टेजअगाडि हजारौँ दर्शक हाँस्नलाई मुख बाएर बसेका हुन्छन्। परेन फसाद! त्यस्तो बेला, जय शम्भो भन्ने, मोबाइल स्विच अफ गर्ने, स्टेजमा उक्लिने, पीर-मर्का सारा बिर्सिने, उखान, टुक्का, व्यंग्य जे-जे सुनाउनुपर्ने सुनाउने, आउने। अरू उपाय नभए'सि के गर्ने त नि!
हास्य कलाकार हुनुको एउटा बेफाइदा भन्दिनुस् न।
पार्टी, बिहे, भोज, भतेरको त कुरा छोड्दिनोस्, कुनै कार्यक्रममा अतिथि बन्न जाँदा समेत 'एउटा व्यंग्य जाओस् न' भन्ने मान्छेहरू फेला पर्छन्। आफू कुन मुडमा भइन्छ, अरूलाई हँसाइदिनुपर्ने रे! अरू त अरू, घरको ल्यान्डलाइन फोनमा समेत 'मुन्द्रेजी, साह्रै टेन्सन भयो, एउटा जोक हान्दिऊँ त' भन्दै फोन गर्छन्। यसलाई बेफाइदा त भन्नुभएन तर कहिलेकाहीँ दिक्क भइन्छ।
मुन्द्रेसँग सम्बन्धित कुनै रमाइलो प्रसंग...
कहिलेकाहीँ बाटोमा हिँडेका बेला आफूभन्दा कान्छोजस्तो देखिने मान्छेले पछाडिबाट ढाडमा प्याट्ट पिटेर 'तँलाई मुन्द्रे डाँका के छ हौ खबर?' भन्दिन्छन्। न हाँस्नु, न नरिसाउनु। वाल्ल परिन्छ!
'जिरे खुर्सानी' सुरु भएदेखि अहिलेसम्म तपाईं जस्ताको तस्तै हुनुहुन्छ। कसरी मेन्टेन गर्नहुन्छ आफूलाई?
हाइट नभएको मान्छेलाई सजिलै हुँदो रहेछ। तर, कपालले चाहिँ टेन्सन गराउँछ। फुलेर सेतै भइसक्यो। रोल छ लक्का जवानको। रङ लगाएर बुढ्यौली छोप्नुपरेको छ। हाहाहा...।
यहाँको ज्यान देखेरै भाउजू लोभिनुभएको त होइन नि?
ए....मैले त बकाइदा मागी विवाह गरेको हो। उनले भन्दा पनि ससुराबाले चाहिँ यत्तिको केटा भए रुखमुनि राखेर भए पनि पाल्छ भनेर छोरी दिनुभएको थियो रे। केको रुखमुनि? घरमै राखेर पालियो नि।
देशको राजनीतिप्रति तपाईंको टिप्पणी के छ?
बल्ल श्रीमान् गम्भीर हुनुभा'छ। अब चाहिँ केही होलाजस्तो छ।
-शुक्रबार 
Share this article :

1 comment:

  1. One of the oldest Music institution in the town which has been providing all kinds of music,dance and vocal classes since 1994.It has been accredited by INTERNATIONAL ACCREDITATION ORGANIZATION (IAO) U.S.A

    ReplyDelete



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis