काठमाडौ, चैत्र ३० - राजस्व अनुसन्धान विभागको थानकोटस्थित चेकपोस्टले आयातीत तयारी सामानमा प्रति मालबाहक सवारीबाट १५ हजार रुपैयाँ असुल्ने गर्छ । थानकोट नाकाबाट दैनिक ३ सयभन्दा बढी आयातित सामान बोकेका मालबाहक सवारी उपत्यका भित्रिन्छन् ।
'हामीसँग क्लियरिङ एजेन्टले भन्सार जाँचपास भएपछि प्रतिट्रक
२५ हजार रुपैयाँ लिन्छन्, बाँकी १० हजार रुपैयाँ बाटोमा पर्ने राजस्व अनुसन्धानका अरू इकाई/प्रहरीको चेक प्वाइन्टमा खर्च हुन्छ ।' पैसा नतिरे ट्रक विभागमा लगेर चेकजाँचका नाममा दुःख दिइने भएकाले भन्सार जाँचपासमा गडबडी नभएका सामानवाला पनि चेकपोस्टको माग स्विकार्न बाध्य भएको ती व्यवसायीले भने । तिनका अनुसार ट्रक विभागमा पुर्याएपछि झन् धेरै खर्च हुन्छ । चेक जाँचका लागि आफैंले कामदार परिचालन गरी सामान अफलोड/अनलोड गर्नपर्छ । 'सामान अफलोड/अनलोड गर्न कामदार बोलाइसकेको अवस्थामा फुर्सद छैन भोलि आउनु भनेरसमेत दुःख दिइन्छ,' तिनले भने । विभागमा ट्रक पुर्याएपछि राजस्व छली फेला नपरे पनि कामदारलाई ज्याला, ट्रकको विलम्ब शुल्क र कर्मचारीलाई दिनुपर्ने ज्याला गरी २/३ लाख घटीमा सामान बाहिर ल्याउन सकिन्न,' तिनले भने, 'बरु २५ हजार रुपैयाँ खर्च गर्नुमै कल्याण छ ।'
उपत्यका ल्याइने अधिकांश आयातित सामान सामान्यतया वीरगन्ज र भैरहवा नाकामार्फत भित्रिन्छ । भैरहवाबाट ल्याउँदा राजस्व अनुसन्धानको बुटवलस्थित क्षेत्रीय कार्यालय छिचोल्नुपर्छ । वीरगन्जबाट ल्याउँदा पथलैयास्थित क्षेत्रीय कार्यालय पर्छ । दुवै नाकाबाट आयात भएका सामान उपत्यका ल्याउँदा सम्बद्ध क्षेत्रीय कार्यालयमा एक प्रति प्रज्ञापनपत्र बुझाएर इन्ट्री गर्नपर्छ । तर पैसा उठाउनकै लागि थानकोटस्थित चेकपोस्टमा पनि इन्ट्री गर्न विभागले बाध्य गरेको छ । थानकोटमा फोटोकप्ाी गरिएको प्रज्ञापनपत्र दिएर इन्ट्री गर्नुपर्छ । काँकडभिट्टा, विराटनगर र नेपालगन्ज नाकामार्फत भित्र्याइएका सामान त दुई वटा क्षेत्रीय कार्यालय र थानकोट चेकपोस्टमा इन्ट्री गराउने गरिएको छ । नेपालगन्जबाट आउँदा कोहलपुर र बुटवल तथा काँकडभिट्टा/विराटनगरमार्फत आयात गरिएको भए इटरी र पथलैया क्षेत्रीय कार्यालय पर्छन् । 'जति ठाउँमा इन्ट्री गर्यो उति ठाउँमा भेटी चढाउनुपर्छ,' उद्योग वाणिज्य महासंघका एक पदाधिकारी भन्छन्, 'भेटी चढाउनैपर्ने भएपछि बरु भन्सारमै राजस्व छल्ने प्रवृत्ति पनि बढ्छ । राजस्व अनुसन्धानको भ्रष्टाचारले गर्दा राजस्व छली निरुत्साहित हुनुको सट्टा प्रोत्साहित भएको तिनले बताए ।
यस्तै तातोपानी नाकामार्फत सामान भित्र्याउँदा धुलिखेल चेकपोस्टमा पैसा बुझाउनुपर्छ । सम्बद्ध व्यवसायीका अनुसार नियमित सामान आयात गर्ने र भन्सारमा धेरै गडबडी नगर्ने व्यवसायी भए १० देखि १५ हजार रुपैयाँमा काम चल्छ । तर सामानको परिमाण र मूल्यांकन नै घटाएर जाँचपास गरे सामान हिँडाउनुअघि नै पैसाको टुंगो लगाउनुपर्छ ।
यसरी सेटिङ गरी सामान हिँडाउनुअघि व्यवसायीले चेकपोस्ट प्रमुखलाई मोबाइलमा कल गर्छन् । 'मोबाइलमा रिङ गए हरियो झन्डा देखाएको सम्झनुपर्छ,' ती व्यवसायीले भने, 'मोबाइल अफ भए रातो झन्डा बुझ्नुपर्छ ।' विभाग वा अन्यत्रबाट अनुगमनका लागि टोली आएको छ भने चेकपोस्ट प्रमुखले मोबाइल अफ गर्ने 'भद्र सहमति' भएको व्यवसायीले बताए । चेकपोस्ट प्रमुख परिवर्तन हुन लागेको भए पनि मोबाइल अफ हुन्छ । लाइन मिलाउनका लागि चेकपोस्ट प्रमुखले आयातकर्ताको लागि छुट्टै मोबाइल प्रयोग गर्छन् । यस्तो मोबाइल हरियो झन्डा देखाउन पर्ने भए रातभर अफ हुँदैन ।
आफू विभागमा सुधारको संकल्प लिएर आएको बिहीबारै राजस्व अनुसन्धानको महानिर्देशकको जिम्मेवारी सम्हालेका खुमराज पुञ्जालीले बताए । 'बहालीकै क्रममा कर्मचारी साथीहरूलाई सुधारको प्रयास थालिहाल्न भनेको छु,' उनले भने, 'टिमवर्क भए केही दिनमै सुधारको संकेत देखिने छ ।'
राजस्व अनुसन्धानले व्यवसायीले यातना दिएर पैसा झार्ने गरेको गुनासो बढेपछि सरकारले महानिर्देशक जन्मजय रेग्मीलाई मन्त्रालयमा सरुवा गरी पुञ्जालीलाई पठाएको हो । अर्थसम्बद्ध स्रोतका अनुसार विभागका निर्देशक -उपसचिव) भरत सुवेदीका कारण आफू पनि बद्नाम भएको भन्दै रेग्मी पनि विभागमा कार्यकाल लम्याउन इच्छुक थिएनन् । पुञ्जालीले पनि सरुवा हुनअघि सुवेदीलाई सरुवा गर्नुपर्ने माग गरेका थिए । 'मन्त्रीज्यूले पनि पहिला काम सुरु गर्नुस् सुवेदीबारे विचार गरौंला भनेपछि गएका हुन्,' स्रोतले भन्यो ।
तैपनि मन्त्री शंकर कोइराला सुवेदीलाई सरुवाभन्दा धेरै छाडा हुन नदिने पक्षमा रहेको स्रोतको भनाइ छ । 'सुवेदी र कोइराला भोजपुरबाट मोरङ झरेको परिवारका त हुन् नै,' स्रोतले भन्यो, 'नातेदार पनि हुन्ा् भन्ने सुनिएको छ ।' यसबाहेक आफूलाई चलाउन खोेजे कांग्रेस पार्टीका नेतामार्फत मन्त्रीलाई दबाब दिन सक्ने हैसियत सुवेदीको छ । अहिले माओवादी निकट रहेका सुवेदी पहिला कांग्रेस निकट कर्मचारीका रूपमा चिनिन्थे ।
पूर्व मुख्य सचिव लोकमान सिंह कार्कीका दाहिने हात मानिने सुवेदीले कांग्रेस सत्तामा छँदा गिरिजाप्रसाद कोइरालाको बेडरुमसम्म पहुँच बनाएको स्रोतको भनाइ छ ।
प्रकाशित मिति: २०६९ चैत्र ३० ०९:४६
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !