३ जेठ, काठमाडौं । पर्यटकको खचाखच भीड र रमझमले सधैं व्यस्त हुने काठमाडौंको ठमेलमा बिहीबार रातिदेखि एकाएक कोलाहल मच्चियो । काठमाडौं गेष्ट हाउससँगै जोडिएको पुरानो घरमा बिहीबार बेलुकी साढे ८ बजे एक्कासी आगलागी भएपछि ठमेल पुरै
आतंकित भएको हो । आगलागीको सूचना पाए लगत्तै प्रहरी र दमकल घटनास्थल पुगे । रातभर आगो निभाउने प्रयास भयो । तर शुक्रबार मध्यान्न मात्र आगलागी पूर्ण रुपमा नियन्त्रणमा आएको छ ।
‘गुड फ्राइडे’ मनाउन भन्दै हरेक शुक्रबार ठमेलमा जम्मा हुने राजधानीबासी र पर्यटक आज भने आगोले तातिएको बजार हेर्न जम्मा भएका छन् । एउटा घरमा आगो लागेपनि त्यसको रापले पुरै ठमेललाई तताएको छ । रातभरी आगो लागेको देख्नेहरु आतंकित छन् । झिमिक्क आँखा नपारीकन आगो निभाउन खटिएका सुरक्षाकर्मी र अग्नी नियन्त्रक भीषण आगलागीको दृश्य सम्झेर थकित छन् । ‘रातभरी सुत्न पाइएन, काठमाडौंमा अहिलेसम्म लागेका आगलागीका घटनामध्ये यो पनि भीषण आगलागी हो’ आगलागी नियन्त्रणमा खटिएका जुद्ध बारुण यन्त्रका प्रमुख लिलाराज गाछाले अनलाइनखबरसित भन्नुभयो ।
पुरानो घर र किताबको गोदाम
पुरानो घर भएकाले आगो छिटो सल्किएको र क्षति पनि बढी भएको अनुमान छ । ‘अरु घरसँग जोडिएको निकै पुरानो र जीर्ण घर रहेछ’ गाछाले भन्नुभयो-’हामीले झ्याल फोरेर आगो नियन्त्रणमा लिन प्रयास गरेका थियौं, हामी पुग्दा घरको दलिन नै खसिसकेको थियो ।’खाना पकाउने ग्याँस विष्फोट भएर एक्कासी फैलिँदा आगोले भीषण रुप लिएको उहाँले बताउनुभयो । ‘रेष्टुरेन्टबाट आगो शुरु भएको देखिन्छ’ गाछाले भन्नुभयो । पुरानो किताब राख्ने गोदाममा आगो लागेकाले पनि निभाउन गाह्रो भएको उहाँको भनाई छ । ‘किताब र परालको कुन्यूमा लागेको आगो निभाउन गाह्रो हुन्छ’ गाछाले भन्नुभयो-’बाहिर आगो निभेजस्तो देखिएपनि भित्रभित्रै आगो सल्किरहेको हुन्छ ।’बाक्लो घर र सानो गल्ली भएका कारण छिटो आगो नियन्त्रणमा आउन नसकेको उहाँको भनाई छ ।
२० करोडको क्षति
२० करोडको क्षति
रेस्टुरेन्टबाट फैलिएको आगोबाट सोही भवनमा रहेको पुस्तक पसल, रेस्टुरेन्ट, कफी पसल, थान्का पसल तथा निर्यातजन्य सामग्री रहेका पसल, ट्राभल्स तथा टे्रकिङ पसललगायत २० वटा पसलमा आगलागी फैलिएको थियो । आगलागीबाट करिब २० करोड मूल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीको अनुमान छ ।आगालागीबाट आफ्नो रेस्टुरेन्टको करिब डेढ करोड मूल्य बराबरको क्षति भएको फेसेसका सञ्चालक राम गिरीले जानकारी दिनुभयो । आगलागी नियन्त्रणका लागि काठमाडौँ, भक्तपुर र ललितपुरका तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दमकल, स्थानीयवासी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अग्नि नियन्त्रकको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।
भिडियो
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !