'आजकाल वाक्मा जान खुब मन पर्छ, सन्तानेश्वर महादेवको डाँडासम्मै पुग्छु,' चार दशक उमेर पार गरिसकेकी नायिका करिश्मा मानन्धरले भनिन्, 'त्यो बाटो उक्लँदा म तिनै रुख देख्छु जो मसँगै हुर्किए।'
ललितपुर झरुवारासीमा ४२ वर्षअघि जन्मिएकी करिश्मा
हिजोआज फिल्म क्षेत्रबाट फुर्सदमा छिन्। दैनिकी पनि त्यसैगरी फेरिएको छ। दिनको दुई घन्टा हिँडाइ, योग र ध्यानलाई छुट्टिएको छ। दुई घन्टा हिँड्दा उनी जम्मा दुई ठाउँमा बस्छिन्। एउटा माथिको चौतारी। अर्को उक्लँदै बाटोमा पर्ने सिँढीहरू। सिँढीनजिकैका रुखहरू करिश्माकै उमेरका हुन् रे। 'बिहान एक्लै हिँड्दै त्यो डाँडासम्म पुग्न खुब मज्जा लाग्छ, ती रुखहरू र म उति नै वर्षका भयौं,' उनले गोदावरीस्थित घरको छतबाट सन्तानेश्वर महादेवको डाँडा देखाएर भनिन्, 'म झरुवारासीमै जन्मिएँ, थोरै समय बिताएको भए पनि मेरो आफ्नोपन छ, म बिहान हिँड्ने बाटाहरूमा।' बिहान हिँड्नुको अर्को मज्जा, उनी मनमा कुरा खेलाउँदै दौडन पाउँछिन्।
सेलिब्रेटी करिश्मा मानन्धर भएर होइन, करिश्मा केसी भएर। सानै उमेरमा फिल्म प्रवेश, त्यसबाट बिरक्तिएर अमेरिका छँदाको स्यान्डविच गर्ल र अहिलेका फुर्सदिला दिनहरू, यिनै कुराहरु मनमा खेल्छन्।
'प्रकृतिलाई नजिकबाट फिल गर्न थालेको छु,' उनले भनिन्, 'कुनै बेला म वर्षको डेढ लाख तिरेर एक्सरसाइज गर्न हायात जान्थेँ, कति कृतिम थियो त्यो, अहिले सम्झँदा मन चुकचुकाउँछ।'
हिँडाइअघि उनी हिजोआज बिस्तारै ध्यानमा बस्न थालेकी छिन्। कतै सिकेर होइन। ध्यानसम्बन्धी केही किताब पढेर। 'ध्यानले मन एकाग्र बनाउँछ नि, त्यसैले सिक्दै छु,' उनले छतको ध्यान गर्ने सानो खुला कोठा देखाएर भनिन्, 'धेरै बेर बस्न सकिनँ भने योगा गर्न थाल्छु । मेरो प्यासन एक्सरसाइज हो। एक किसिमले त्यसलाई पनि म ध्यान नै मान्छु।'
...
साढे तीनतला घरको त्यही छतमा करिश्माको अधिकांश समय बित्छ। उनका पति विनोद भुइँतलामा स्टुडियोदेखि घरको खत्र्याकखुत्रुक काम हेरेर सहयोगीलाई अह्राउँछन्। तीन बज्नै लाग्दा फुलचोकी डाँडामुन्तिर उनीहरूको गाउँमा बाक्लै पानी परेको थियो। पानी रोकिँदा नरोकिँदै विनोदले सहयोगीलाई बगैँचा जाने बाटोको लेउ सफा गर्न लगाए।
कालो रंगमा केबी स्टुडियोज लेखेको ठूलो गेट छिरेपछि एक जोडी सेता कुकुरले ढोकैमा हाम्रो सातो लिए। कुकुर छेक्न उनै विनोद आइपुगे।
'इन्टरभ्यू लिने एक टोली त आइसक्नु भयो त, फेरि तपाईँहरू?' उनले कुकुरको डोरी छोटो बनाएर हामी छिर्ने बाटो फराकिलो पार्दै भने, 'माथि बस्दै गर्नुस्, एकछिन टाइम लाग्छ होला।' करिश्माकी सहयोगी/साथी ऋतु रानाले पहिलो तल्लामा उक्लनेबित्तिकै भनिन्, 'तपाईंहरू १० मिनेटअगाडि नै आइ पुग्नुभएछ। दिदी अर्को टोलीलाई इन्टरभ्यू दिँदै हुनुहुन्छ।'
'दिनको एउटामात्रै अन्तर्वार्ता राख भनेको तिमीहरू मान्दैनौ,' विनोदले ऋतुलाई तल्लै तलाबाट यति भनेर हामीलाई बैठक कोठाको बाटो देखाए, 'बस्दै गर्नुस्, एकछिनमा भइहाल्छ।'
...
घरका भित्ताहरूमा विभिन्न पेन्टिङ झुन्डिएका छन्। भर्याङदेखि कोठाका भित्ताहरूमा विभिन्न कला कुदिँएका ठूला मूर्ति र चित्रकला सजिएका छन्। कुनै कला प्रदर्शनीमा गएजस्तो भित्तैपिच्छे विभिन्न कला। त्यही बाटो हुँदै पुगिने तीन तलामाथिको छतमा करिश्माका दिनहरु बित्छन्। त्यहाँ छिर्ने सानो फलामको गेटमाथि लेखिएको छ, 'प्राइभेट'। त्यहाँ साना तर चिटिक्क लोभलाग्दा चार कोठा छन्। छतमा छुट्टाछुट्टै बनेका फरक आकार र प्रयोजनका। एउटामा करिश्मा सुत्ने, टिभी हेर्ने गर्छिन्। सँगै जोडिएको मिनी किचनमा उनी आफ्ना लागि दुध तताउँछिन्। त्यही प्राइभेट भान्छाको भित्तामा फिट गरिएका ड्रयर छन् जहाँ करिश्माका दर्जनौं जुत्ताहरू सजाइएका छन्।
साढे दुई घन्टा कुरा गरेपछि उनले हामी ओर्लँदा एउटा ड्रयर खोलेर देखाइन्, 'यिनीहरू चाहिँ आजकाल युजका लागि छुट्याइएका हुन्।' अरु मन परेका तर प्रयोग गर्न छाडेका जुत्ता दर्जनौं छन्।
त्यही तलामा केही सिँढी चढेपछि कौशीका पूर्व र पश्चिममा दुई साना कटेज स्टाइलका कोठा छन्। सिसाले ढाकिएका, बाहिर छ्याङ्ग देखिने। साँझपख टहलिन बनाएजस्ता। 'यहाँ म एक्सरसाइज र ध्यान गर्छु,' पूर्वपट्टीको कोठा देखाएर उनले भनिन्। त्यहाँबाट लेउ लागेको कौसीमा चार पाइला पश्चिम हिँडेपछि अर्को अलि ठूलो कोठा पुगिन्छ। उनले धेरै समय बिताउने कोठा यही हो। सुस्ताउने बेड, काउच, कफी टेबल, किताब र्याक, उनले हालसालै पाएका केही अवार्ड र मायाको चिनो सजाइएको छ कोठामा।
'विनोदले साँझपख बस्न मलाई बनाइदिएको,' करिश्माले कोठामा एक चक्कर आँखा दौडाएर भनिन्, 'पहिला लाजिम्पाटमा पनि मलाई उसले छतमा यस्तै ठाउँ बनाइदिएको थियो।' यही छतमा बसेर आजकाल उनी आइप्याडमा पुराना फोटो हेर्ने, क्यान्डी क्रस गेम खेल्ने, म्युजिक सुन्ने, किताब पढ्ने र बेलाबेला गीतिकथा सुन्ने गर्छिन्। विनोदले भान्छा र स्टुडियोका लागि पाँचजना सहयोगी राखेका छन्। तीन महिला, दुई पुरुष। तिनै तीन महिलाले घर सफा गर्ने, करिश्मालाई खाजा बनाएर ल्याइदिने, उनका लुगा–जुत्ता मिलाइदिने गर्छन्।
२८ वर्षको फिल्म करियरमा कति फिल्म खेलिन्, उनलाई हेक्का छैन। 'सयदेखि दुईसय बीचमा होला, अब एकदिन काउन्ट गर्नु छ,' उनले भनिन्। ती फिल्ममा अभिनय गरेको उत्कृष्ट जीवन आफूले वास्तविकमै पाएको अनुभव गर्छिन् उनी। 'मैले जीवनमा यो गुमाएँ भनेर गुनासो गर्नुपर्ने ठूलो कुरा केही छैन, जीवनमा पाएको चाहिँ मेरा दर्शक हुन्,' करिश्माले भनिन्, 'त्यत्रो वर्ष अमेरिकामा बसेर फर्किँदा पनि मेरो स्टारडम कम भएको रहेनछ। मलाई दर्शकले उत्ति नै माया गरेका छन्।' करिश्माको बुझाइमा संसारमा घर, गाडी हुनु नै सफलताको सूत्र होइन। आजकाल बिहान वाकमा जाँदा पनि उनको मनमा धेरै खेल्ने कुरा तिनै हुन्। सन्तुष्टि लियो भने सबै आफैँसँग छ। लिन सकेन भने केही छैन। उनलाई यस्तो सोच आफ्नै आमाको जीवन हेरेर लाग्छ।
...
आर्मीमा काम गर्ने बुवा बित्दा करिश्मा र बहिनी कोपिला सानै थिए। दुई छोरी जन्माइसकेकी आमा नै जम्मा २२ वर्षकी थिइन्। बाबु बहाल हुँदै इलाममा हार्टअट्याक भएर बिते। आमाको जीवनको संघर्ष त्यहीँबाट सुरु भयो। श्रीमान्को पेन्सन लिन, परिवारसँग पाउनुपर्ने अंश लिन आमालाई धेरै गाह्रो भयो। किराना पसल खोलिन्। पुरानो बानेश्वरमा ऊन कातेर बसिन्। आमाको संघर्ष देखे पनि त्यसमा आफूलाई कहिल्यै सामेल गर्नु नपरेको सम्भि्कन्छिन्, करिश्मा।
'मेरो आमाले बहिनी र मलाई कहिल्यै पनि दुख महसुस गर्न दिएन, जति लिनुपर्थ्यो आफैँ लियो,' उनले भनिन्, 'पहिला पहिला करिश्माले कति दुख पाएको थियो भनेर पत्रपत्रिकामा आएको सबै सत्य होइन तर त्यसले मेरो करियरमा राइज गर्न मद्दत नै पुर्यायो।' 'भन्नाले के सत्य होइन?' मैले सोधेँ, 'तपाईं गलैँचा फ्याक्ट्रीमा काम गर्नुहुन्थ्यो भन्ने सही होइन?' 'मेरोबारे लेखेका कुरा म आफैँ पढेर अचम्म मान्थेँ, तर म त्यसलाई हो पनि भन्दिनँ, होइन पनि भन्दिनँ,' करिश्माले कूटनीतिक जवाफ दिइन्, 'सायद दुख पाएको भनेरै मलाई मेरा दर्शकले बढी प्रेम गरेका होलान्।' त्यसो भए तपाईंले खासै दुख केही गर्नु परेन? 'मेरो मामुले चाहिँ दुख गरेको हो। पहिला बुवाको पेन्सन लिन, पछि परिवारसँग अंश छुट्याउन मामुलाई धेरै गाह्रो भयो,' करिश्माले यसपटक पनि छलेर जवाफ दिइन्, 'धेरै दुख पाएर होला मेरो मामु गीता धेरै पढ्छ, जस्तो पनि दुखमा पनि आत्तिदैँन, योगीजस्तो छ।'
तिनै आमाले आजभन्दा २८ वर्षअघि छोरीलाई कला क्षेत्रमा छिर्न रोक लगाइनन् । करिश्मा १४ वर्षकी थिइन्। ठूलो पर्दाको फिल्म 'सन्तान'मा सुपरस्टार भुवन केसीको कोएक्टर भएर खेल्न पाइन्। स्कूल पढ्दै उनी हिरोइन भइसकेकी थिइन् । धेरै केटाहरू स्कुलबाहिर लाइन लाग्थे। उनले पढाइलाई निरन्तरता दिन सकिनन् ।
'८ कक्षाभन्दा बढी पढ्न सकिनँ,' उनले भनिन्, 'तर यो करियरमा लागेर जीवनको धेरै ठूलो पाठ सिकेको छु मैले।' फिल्म करियरमै हुँदा 'कस्तुरी' फिल्म निर्माणको सिलसिलामा बेलायत पुगेका बेला विनोद मानन्धरले बिहेको प्रस्ताव राखे। उनले १८ वर्षको उमेरमा नाइँ भनिनन्। नेवार भनेर पहिला आमा सहमत नभए पनि उनैले करिश्माको कन्यादान विनोदलाई गरिदिइन्।
'कुटुम्व भनेर धेरै इज्जत गर्नुहुन्छ मामुले, अहिले पनि जनैपूर्णिमामा ज्वाइँलाई टीका नलगाई केही खानु हुँदैन,' करिश्माले जनैपूर्णिमा आउनु दुई दिनअघि भनिन्, 'आज बिहानै आएर मामुले जनैपूर्णिमा र दरको निम्ता दिइसक्नुभयो।'
...
सानै छँदा बुवा बितेर परिवा र चलाउन गाह्रो भएपछि करिश्माकी आमाले उनलाई सिन्धुपाल्चोक मामाघर लगेर छाडिन्। करिश्मा आमासँग भन्दा हजुरआमासँग बढी घनिष्ठ थिइन्। 'साथी' फिल्म सुटिङ गरिरहेको बेला खबर आयो, 'हजुरआमा रहनु भएन।'
उनलाई साह्रै दुख लाग्यो, उनका बाल्यकालका धेरै क्षण हजुरआमासँग बितेका थिए। 'जीवनमा जे कुरामा पनि एटेचमेन्ट बढी भयो भने दुख लाग्छ,' उनले भावुक अनुहारमा भनिन्, 'कबु (छोरी कविता) लाई पनि मैले छाड्न सकेर अमेरिका पठाएको होइन, उसको करियरका लागि आफूसँग एटेच्ड बनाउन हुँदैन भनेर हो ।'
आफू हजुरआमासँग हुर्किएजस्तै छोरी कविता पनि मामाघरकै हजुरआमासँग हुर्किन्। 'त्यसले मेरो छोरीलाई राम्रो संस्कार दिएको छ, ऊ दुखको परिस्थितिमा पनि राम्रोसँग कोपअप गर्छ, सुखको पनि,' उनले भनिन्। फिल्म करियरमा लाग्दा करिश्मा छोरीलाई खासै समय दिन पाउन्न थिइन्। छोरीलाई आमाको घरमा छाड्थिन्। सासुससुरा बेलायतमै धेरै बस्थे। आफ्नै सासुसँग पनि उनी खासै नजिक भइनन्।
'माँ (सासु) सँग जम्मा ९ महिनामात्रै सँगै बसेको छु,' उनले सुनाइन्, 'सासुसँग त्यति क्लोज हुन सकिँदैन नि, हाफ प्यान्ट, वान पिस लगाएर निस्कन पनि गाह्रो हुन्छ।' बेलायतमै बस्ने सासुसँग अहिले भने त्यति असजिलो नहुने उनले सुनाइन्।
...
अहिले छोरी कविताजस्तो सेलिब्रेटी परिवारमा करिश्मा हुर्कन पाइनन्। बाबुआमाले आफूले सानो छँदा नपाएको सुखसयल छोराछोरीबाट पूरा गर्छन् । अहिले करिश्माले छोरीलाई कुनै कमी हुन दिएकी छैनन्।
'मेरो एकजना बिर्तामोडमा पान पसल खोलेर बसेकी साथी छ, पोहोर म कबुलाई लिएर उसलाई भेट्न गएको थिएँ,' करिश्माले छोरीको व्यवहार सम्झँदै भनिन्, 'त्यो साथीसँग पनि कबु उत्तिकै रमाएर कुरा गर्यो, गरिबी, अभाव रहेछजस्तो अचम्मको व्यवहार गरेन।' त्यसैले उनको बुझाइमा छोरी कविता बुबाआमाको भर परेर अमेरिकामा बसेकी छैनन्।
'उ आफैँ पार्टटाइम काम गर्छ अनि कलेज जान्छ,' करिश्माले भनिन्, 'एकदमै ह्याप्पी किड छ, कुनै डिमान्ड राख्दैन। मेरै छोरी हो जस्तो लाग्दैन कहिलेकाहिँ, त्यति बुझक्की छ।'
...
कवितालाई अहिले पनि नेपालमा आएको बेला हजुरआमाले पकाएको फर्सीको मुन्टाको झोल र घिउभात नै मनपर्छ रे। करिश्मालाई छोरी त्यति ज्ञानी भएकामा अचम्म लाग्छ। 'म पनि खराबै त होइन तर ऊ जति बुझक्की छैन। कबुमा उसको घरपट्टीको संस्कार बढी आएको पनि होला,' करिश्माले भनिन्, 'त्यसैले बिनोदले कबु र मलाई उस्तै बिहेभ गरेको होला।' आमाछोरीको एउटै डिमान्ड कुकुरमा छ। विनोदले घरमा आउने पाहुनालाई तिनै दुई कुकुर छेकिदिन्छन्। एउटाको नाम कुकी छ। यो छोरी कविताको अति प्रिय कुकुर हो। अनि अर्को फन्नी छ। यो करिश्माले आफ्ना लागि पोखराबाट ल्याएकी हुन्। अहिले कविता उतै फेसनमै लाग्न थालेकी छिन्। करिश्मा र विनोद छोरीको इच्छामा खुसी छन्।
...
विनोदसँग बिहे हुँदा करिश्मा १८ वर्षकी थिइन्। विनोद ३८। विनोदको परिवार पहिल्यैदेखि बेलायत बस्थे। बिहेको केही वर्षपछि करिश्माले कवितालाई जन्माइन्। कविता जन्मँदा पनि करिश्मा उनका अनुसार अहिले जति नै चुलबुले थिइन्।
सुत्केरी बेथा लाग्लाजस्तो भएर आमासँग उनी हस्पिटल भर्ना हुन गइन्। 'गाह्रो भए पनि भेट्न आऊ भन्न अड लाग्यो अनि मैले सुप खान मन लागेको बहाना बनाएँ,' १८ वर्षअघि आफू प्रशव पीडामा भइरहँदाको क्षण करिश्माले सम्भि्कन्। विनोद बुवा हुने खबरले बेलायतबाट त्यही दिन काठमाडौं फर्किएका थिए।
करिश्मालाई आमा हुने उत्साहसँगै अर्को उत्साह थियो, यसपटक विनोदले आफू र जन्मिने नवजात शिशुका लागि के गिफ्ट ल्याएको होला? विनोदलाई ४ बजे फोनमा बोलाए पनि उनी आएनन्। करिश्माको मन बेचैन थियो। आमालाई भनेर टिचिङ हस्पिटलको होचो झ्यालबाट उनी बाहिरिइन्। सुत्केरी बेथा लागे पनि सही नसक्नु भइसकेको थिएन। मन चुलबुल चुलबुल गरिरहेको थियो। ट्याक्सी चढेर घर गइन्। हवाईयात्राले थकित बिनोद निद्रामै थिए। उनले दुई सुटकेस सामान हेरिन्। सबै गिफ्ट लुगा र जुत्ता थिए। हुन त सधैँ त्यस्तै उपहार हुन्छन् तर उनको चुलबुल मन
शान्त भयो।
उनी विनोदलाई नउठाई अस्पताल फर्किइन्। केही बेरपछि सुत्केरी वार्डमा डाक्टरले लगे। कविता ९:३० मा जन्मिइन्। १२ बजेतिर विनोद खसीको खुट्टाको सुप लिएर हतारहतार हस्पिटल छिरे। करिश्मालाई न्यानो फलाटिनको कपडाले बेरेर सुत्केरी वार्डबाट जनरल वार्डमा ल्याईएको मात्रै थियो।
विनोदले बोकेर बेडमा राखिदिए। 'उसले दंग परेर जतन गरी मलाई बेडमा सुताएको म कहिल्यै बिर्सन सक्दिन,' करिश्माले जीवनको उत्कृष्ट लागेको त्यो समय सम्भि्कन्, 'विनोदले मलाई
अहिलेसम्म पनि कबुलाई जस्तै माया गर्छ। त्यसैगरी।' तर आजकाल विनोदले करिश्मालाई गिफ्ट ल्याउन छोडेका छन्। 'आजकाल त विनोदले गिफ्ट ल्याउनै छोड्यो,' उनले लाडे बच्चा पारामा भनिन्, 'अब त बुढो भयो।' 'अनि तपाईं? तपाईंलाई बुढो भएको फिल हुँदैन?' 'हुन्छ नि। स्वभाविकै हो,' उनले हाँसेर भनिन्।
यिनै विनोदसँग करिश्माको केही वर्ष अगाडी दूरी नबढेको होइन। करिश्मा दुई दशकको हिरोइनको एकोहोरो जीवनशैलीबाट वाक्क थिइन्। विनोद र उनले मिलेर बनाएको बाबुसाहेब पूरै घाटामा गएको थियो। त्यो असफलताले यो दम्पतीमा दूरी ल्यायो।
करिश्माले निधो गरिन्। पैसा कमाउन मैले पनि सक्छु। म किन अमेरिका नजाउँ। विनोदले रोकेनन्। उनी अमेरिका पुगिन्। 'कहिलेकाहिँ सम्बन्धलाई ब्रेक दिएकै राम्रो हुन्छ, दुरीले एकअर्काको कमी महसुस हुन्छ, माया बढ्छ,' करिश्माले भनिन्, 'हामीलाई त्यो बेला डिस्ट्यान्स चाहिएको थियो, सल्लाहले नै म अमेरिका गएको थिएँ।'
अमेरिका गएर पनि उनलाई भाषा सिक्नै ६ महिना लाग्यो। स्यान्डविच पार्लरमा काम गर्थिन्, स्यान्डविच बनाउने कला सिक्नै महिनौं लाग्यो। तर उनले बनाएका स्यान्डविचलाई रेकगनाइज गरिन्थ्यो रे। उनी बाल्टिमोर सहरमा बस्थिन्। 'म स्यान्डविच बनाइरहँदा यहाँ हिरोइन भएर नाचेको सम्झँदैन थिएँ,' उनले भनिन्, 'बरु अरु हतारहतार गोलमटोल गरेर सस बनाउँथे, म ससले नाक आँखा मुख बनाएर इन्जोय गरेर काम गर्थेँ।' स्यान्डविच बनाउन छोडेर उनले कोरियन ज्वेलरी पसलमा काम गर्न थालिन्। यी दुबै ठाउँमा उनको कामलाई त्यहाँका मालिकले मन पराएका थिए। करिश्माको आत्मविश्वास बढ्दै गएको थियो। उनी कामबाट फुर्सद मिल्नासाथ बीचमा घुम्न जान्थिन्, हिँउ खेल्न जान्थिन्, लङ ड्राइभमा जान्थिन्। उनलाई त्यसमा रमाइलो लाग्थ्यो।
'मैले कहिल्यै पनि विनोदलाई मिस गरिनँ,' उनले भनिन्, 'मैले त्यही रोजेर अमेरिका गएको थिएँ, त्यसैले रिग्रेट गरिनँ। तर विनोद मलाई टाइमटाइममा भेट्न गइरहन्थ्यो।' दुई ठाउँमा काम गरेर राम्रै पैसा कमाएपछि करिश्माले आफैँ पसल खोलिन्। महिनामै ६ हजार डलर भाडा थियो। त्यो चलेन। उनलाई ७० हजार डलर ऋण लाग्यो। उनै विनोदले अमेरिका गएर सबै ऋण चुक्ता गरिदिए। करिश्मालाई नेपाल फर्किन सुझाए।
'तिमी यहाँ बसेर हुँदैन अब उतै हिँड भनेर मलाई विनोदले कन्भिन्स गर्यो,' करिश्माले तैपनि आफ्नो अडान नछाडेको बताइन्, 'मैले म जादिँन यहीँ बस्छु भनेँ। अचम्म लाग्छ अहिले सम्झँदा।'
जसोतसो विनोदले उनलाई काठमाडौं फर्काए। तर उनी एकदम डिप्रेस्ड थिइन् । आफ्नै आमासँग पनि बोल्न मन नलाग्ने।'त्यही बेला होइन दिशानिर्देश कार्यक्रममा तपाईँ रुनुभएको?' मैले सोधेँ,
'इमोसनल्ली किक हुनु भएको थियो?' उनी संघर्षको कथा सुनाइरहँदा कार्यक्रममै रोएकी थिइन्। बोली रोकिएको थियो।
'हो ठ्याक्कै। म एकदम इमोसनल्ली विक भएको बेला थियो,' उनले भनिन्, 'चार महिना जति त्यस्तो भएपछि म रिकभर भएँ। त्यसपछि फेरि नर्मल लाइफ सुरु भयो।' उनी नेपाली सिनेमासम्बन्धी कार्यक्रममा सहभागी हुन थालिन्। किताब पढ्ने बानी बढ्न थाल्यो। उनलाई सबैभन्दा बढी पुस्तक उपहार दिने उनै विनोद हुन्। विनोदले दिएको सरुभक्तको 'पागल बस्ती' उनलाई एकदम मनपर्यो। 'त्यो उपन्यासमा त फिल्म बन्नुपर्छ। एकदम मोर्डन थटको छ त्यो नोबल,' उनले भनिन्, 'तर त्यसको मुख्य पात्र राजेश हमाल नै भएर खेल्नुपर्छ। उहाँको स्वभाव
अनुसार त्यो रोल सुहाउँछ।' उमेरमा केही जेठा भए पनि करिश्मा र राजेशले धेरै फिल्ममा सँगै अभिनय गरे।
करिश्मालाई राम्रो फिल्म त्यसमा पनि मुख्य भूमिका नआएसम्म आजकाल अभिनय गर्न मन लाग्दैन। तर राजेशले साइडरोलमा पनि अभिनय गरेको देख्दा उनलाई अचम्म लाग्थ्यो। एकदिन यही प्रसंग उठ्दा राजेश हमालले करिश्मालाई भने रे, 'समय अनुसार हामीले आफूलाई परिमार्जित गर्दै लैजानुपर्छ। सिनेमामा कसैको पनि सधैँ एउटै स्थान रहँदैन।' करिश्मा त्यसपछि त्यो कुरामा कन्भिन्स्ड भइन्।
उनीहरू केही महिनाअघि सँगै रुकुम गए। करिश्माले आइप्याडमा फोटो देखाइन् । 'यो सबै राजेशजीलाई मेमोरीका लागि गिफ्ट गर्नु छ,' करिश्माले भनिन्। करिश्मा र राजेशबीच सम्बन्ध चिसो भएको हल्ला आइरहने गरे पनि उनले त्यसमा केही प्रतिक्रिया जनाइनन्। 'समय अनुसार परिवर्तन भइहाल्छ नि' भन्ने भावभंगिमामात्रै अनुहारमा ल्याइन्।
रुकुम र छोरी कविताको फोटो देखाइसकेपछि उनले फेसबुकबाट डाउनलोड गरेको एउटा भनाइ आइप्याडमा देखाइन्, 'डिफिकल्टिज इन योर लाईफ डजनट कम टु डिस्ट्रोय यु। इट हेल्पस् टु रियलाइज योर हिडन पोटेन्सियल।' अमेरिका बसाइ सम्झँदा उनलाई यो भनाइ ज्यादा सार्थक लाग्छ।
त्यहाँबाट फर्किएपछि उनी कर्ण शाक्यका किताब खुब पढि्थन्। 'बिचमा तसलिमा नसरिनको किताब पढ्थेँ तर उनको लेखाइ र व्यवहार समान नभएजस्तो लागेर आजकाल चित्त बुझ्दैन,' उनले भनिन्।
...
करिश्मा भर्खरै फिल्मी दुनियाँमा चर्चामा आउँदा उनलाई देखेर घरकै छतमा हेर्न आउने केटाहरू पनि थिए। एकपटक उनलाई फिल्म क्षेत्रमा ल्याउने अञ्जली दिदीको घरको छतमा लुगा
सुकाइरहेकी थिइन्। एउटा केटाले तल सडकमा उभिएर धेरै बेर उनलाई हेरिरह्यो।
'म पनि भर्खरको केटी थिएँ, मस्त हेरिदिएँ,' करिश्माले हाउभाउसहित सुनाइन्, 'लुगा निचोरेर फेरि सुकाउन खोज्छु त त्यो केटा मेरैअगाडि उभिएको रहेछ । मैले किन अर्काको घरको छतमा आएको भनेर हकारेँ।'
गाली गरेर करिश्मा तल कोठामा झरेकी थिइन्। त्यो केटा त छतमै घुँक्कघुँक्क गरेर रोइरहेको रहेछ। अञ्जली दिदीले करिश्मालाई बोलाएर भनिन्, 'तिमीलाई माया गरेर आएको हो, त्यसरी गाली गर्ने हो त?' अनि करिश्माले फकाइफुल्याई गरेर त्यो केटालाई पठाइन्। कला क्षेत्रमा लागेका मान्छेको स्टारडमले धेरैजसो धोका दिन्छ। आफू पेसामा बिकुन्जेल सबैले वाहवाही गर्छन्। जब त्यो पेसामा आफ्नो आयु घट्दै जान्छ, हिजो चिनेकैले पनि नचिनेजस्तो गर्छन्। आधा दशक अमेरिका बसेर पुरै फिल्म क्षेत्रबाट अलग्गिँदा पनि करिश्माले यस्तो महसुस गर्नु नपरेको सुनाइन्।
'करिश्मा भनेर हिजो मलाई मेरो दर्शकले जति माया गर्थे, आज पनि त्यति नै गर्छन्,' उनले हालसालैको एउटा घटना सुनाइन्, 'म सम्झना रौनियारको प्रोग्राममा गएको थिएँ, दार्जिजिङतिरको मेघा भन्ने एकजना महिला हुनुहुँदो रहेछ। उहाँले मलाई आफूले घाँटीमा लगाएको नेकलेस उपहार दिनुभयो।' करिश्माले कार्यक्रममा ती आफूसँग बोल्न खोजेको देखेपछि नजिकै गएर कुरा
गरेकी थिइन्।
'अरुलाई प्रेज गर्दिनुपर्छ भन्ने बानी मैले अमेरिकामा सिकेको छु,' उनले त्यही पारामा भनिन्, 'यु आर लुकिङ नाईस। योर नेकलेस इज भेरी ब्यूटिफुल भनेको थिएँ। कार्यक्रम सकिएपछि त्यो महिलाले त मलाई यो तपाईं नै राख्नुस् भन्नुभयो। मलाई कस्तो अड लाग्यो।' करिश्मालाई आफ्नो स्टारडम पहिलाको भन्दा नघटेको महसुस भए पनि सधैँ यस्तै कायम रहला भन्ने ढुक्क छैन।
'त्यो त समयअनुसार फरक हुन्छ,' उनले भनिन्, 'भोलि कसले देखेको छ र?' उनले यही बेला नायिका मनिषा कोइरालालाई सम्झिन्। 'म मनिषा कोइरालाबारे रेगुलर अपडेटमा बसेको छु,' उनले सुनाइन्, 'उहाँलाई पनि क्यान्सर होला भन्ने कहाँ थियो होला र?' मनिषाले जीवनसँग लडेर त्यसलाई त्यही सकारात्मक रुपमा स्वीकारेकोमा खुबै हौसला मिल्छ।
'जीवनमा आएका सबै कुरा स्वीकार्दै जाँदा नै मानिस 'ह्याप्पी' हुन्छ,' उनले भनिन्। हिरोइन हुनेदेखि विनोदसँग विवाह गरेको, अमेरिकामा स्यान्डविच बनाएको सबै कुरा लाइफमा लेखिएकै थियो।' उनी लेखिएको कुरामा धेरै विश्वास गर्छिन्। 'म तिनीहरुलाई त्यसैगरी स्वीकार्छु,' उनले भनिन्।
आजकालका फुर्सदिला दिनमा उनको मनमा कुरा खेल्न थालेको छ, 'अब समाजसेवामा हात हाल्नुपर्छ कि क्या हो?' विशेषगरी महिलाका। त्यो पनि उनको भाग्यमा लेखेको रहेछ भने हुन्छ। 'कर्म त सधैँ म पूरै लगाव लगाएर गरिहाल्छु,' घरबाट छुट्टिँदा उनले भनिन्।
तस्विर : प्रकाश लामा/सेतोपाटी विनिता दाहाल / /सेतोपाटी
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !