CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » दशैंमा माछा खानेहरु होशियार ! सरकारी अधिकारी नै विषाक्त माछा व्यापारीका पक्षपोषक !

दशैंमा माछा खानेहरु होशियार ! सरकारी अधिकारी नै विषाक्त माछा व्यापारीका पक्षपोषक !

fish२२, असोज काठमाडौं । कुखुराको मासुमा बर्ड फ्लुको डर ! खसीको मासु अचाक्ली महँगो ! तपाईंले यो दशैंमा माछाको मासु खाने विचार बनाउनुभएको हुन सक्छ । अथवा बर्ड फ्लुको आतंक शुरु भएदेखि नै माछामा बानी लगाउनुभएको पनि हुनसक्छ । खाद्य मापदण्डअनुसार प्रशोधन गरिएको स्वस्थ माछा भेटिए त मानव स्वास्थ्यका लागि अति उत्तम हो । तर, होशियार हुनुहोला, हामीकहाँ बेचिने अधिकांश
माछा स्वास्थ्यका लागि साह्रै खतरनाक छ । उपभोक्तामा सचेतनाको कमी र सरकारी निकायहरुले वेवास्ताका कारण व्यापारीहरुले सिनो कुहिन नदिन प्रयोग गरिने घातक तत्व ‘फर्मालिन’मा राखेको माछा खुलेआम बेच्दै आएका छन् ।
स्रोतका अनुसार काठमाडौं उपत्यकामा मात्र दैनिक २० हजारदेखि ३० हजार केजी माछा खपत हुने गरेको छ । चार्डपर्वका बेला अझ बढी हुन्छ । वीरगञ्जबाट आउने नेपाली किसानले उत्पादन गरेको ‘छडी’ माछा ३ सय देखि ५ सय केजीलाई अलग राख्ने हो भने उपत्यकामा खपत हुने माछाको स्रोत भारतको आन्ध्र प्रदेश हो । जिउँदो बेचिने मुंग्री माछाचाहिँ बंगाल र बिहारबाट कोशी ब्यारेज हुँदै बिनाभन्सार काठमाडौं भित्रिन्छ । नेपाली किसानको उत्पादन भन्दै बेच्ने गरिएका मुग्री माछा पनि छिटो उत्पादनका लागि सिनो, भैसीको बोसो, अखाद्य केमिकल आदि मिसिएको फोहोर पानीमा उत्पादन गर्ने गरेको पाइएको छ ।
खाद्यविज्ञहरुका अनुसार माछाको शरीरमा प्रोटिनको मात्रा बढी हुन्छ । मरेको आधाघन्टाभित्र प्रशोधन गरेर माइनस ३५ डिग्रीमा राखेर फ्रोजन गरिएन भने माछा कुहिन शुरु हुन्छ । त्यही भएर आन्ध्रप्रदेशका माछा उत्पादकहरुले माछामा राखिने बरफ बनाउँदैखेरि ५ प्रतिशत फर्मालिनको झोल मिसाउने गर्दछन् । “फर्मालिन मिसिएको आइसमा नराख्ने हो भने ४-५ दिनको बाटो पार गरेर काठमाडौंसम्म माछा आइपुग्नै सक्तैन नि ।” माछा व्यवसायसँग सम्बद्ध स्रोत भन्छ, “आन्ध्रमा त माछा हुर्काउन प्रयोग गरिने दाना पनि अखाद्य प्रयोग हुन्छ ।”
काठमाडौंबाट आन्ध्र करिव २८ सय किमीको दूरीमा छ । अझ त्यो माछा त आन्ध्रबाट १५ सय किमी उत्तर-पूर्वमा रहेको कलकत्ता हुँदै आउँछ । यति लामो बाटो पार गरेर काठमाडौं आइपुगेको माछा उपभोक्ताको भान्सामा पुग्दा कम्तीमा पनि आठ दिन पुरानो भइसकेको हुन्छ । यद्यपि ‘ताजा’जस्तो देखिन्छ । यसको मूलकारण ‘फर्मालिन’को प्रयोग नै हो । अझ काठमाडौंमा ताजा राख्न प्रयोग गरिने बरफ पनि प्रदूषित हुने गरेको भनाइ जानकारहरुको छ । हामी नेपाली उपभोक्ता भने विषादिका कारण कुहिन नसकेको, फोहरी बरफमा राखिएको माछा निर्धक्क खाइरहेका छौं । हाम्रो पाचनशक्तिलाई मान्नैपर्छ ।
के हो फर्मालिन ?
खाद्यविज्ञ विशेष कट्टेलका अनुसार फर्मालिन भनेको लासलाई सड्न नदिन प्रयोग गरिने केमिकल हो । यसबाट मानोडिहाड भन्ने ग्यास उत्पन्न हुन्छ । यो ग्यास मानव शरीरका लागि अत्यन्तै घातक छ । “फर्मालिनमा राखिएको माछा खायो भने त्यो लिभरमा गएर बस्छ र लिभर क्यान्सरको सिकार बनाउँछ ।” कट्टेल भन्छन्, “किड्नी ड्यामेज, जडिन्स आदि पनि हुन्छ । यसले जिनेटिक शक्तिलाई नष्ट गराउँछ ।” उनका अनुसार फर्मालिनको मात्रा अलि बढी भयो भने मान्छेको ज्यानै पनि जान सक्छ ।
जानकारहरुका अनुसार छिटो कुहिने भएकैले माछा संक्रमण फैलाउने वस्तु हो । तर काठमाडौंमा बेचिने माछामा हत्तपत्त झिंगा बस्दैन । हामी झिंगाले पनि बस्न आँट नगर्ने केमिकलयुक्त माछा निर्धक्क खाइरहेका छौं । देशलाई माछामा आत्मनिर्भर बनाउने कागजी कार्यक्रम तयार पारेर राज्यकोषबाट तलब पचाउँदै आएका सरकारी अधिकारीहरु त्यही विषाक्त माछालाई प्रोत्साहित गरिरहेका छन् । कालीमाटी तरकारी बजारको सरकारी जग्गामा बसेर निर्धक्क बिक्रीवितरण गर्न दिइरहेका छन् ।
सरकारी अधिकारीमाथि बिकेको आरोप
बालाजुमा रहेको सरकारको केन्द्रिय मत्य विकास विकास कार्यक्रमका. प्रमुख रमानन्द मिश्र ‘फर्मालिन’ लाई विषाक्त तत्व मान्दैनन् । “माछामा खास किसिमका रोगहरु लाग्दा उपचारका लागि फर्मालिनको प्रयोग गरिन्छ ।” अनलाइनखबरसँगको कुराकानीमा उनले भने, “लिमिटभन्दा बढी भयो भने मात्र यसले असर गर्ने हो ।” मिश्रका अनुसार “आन्ध्रबाट आउने माछामा फर्मालिन प्रयोग भएको छ भन्नु बेकारको कुरा हो । अरुले कमाएको देखेर आरिस गर्ने केही व्यापारीहरुले गरेको प्रोपोगण्डा मात्र हो ।” आन्ध्रबाट आएको माछामा झिंगा पनि बस्दैन, कसरी फर्मालिन प्रयोग भएको छैन भन्न सक्नुहुन्छ ? भन्ने प्रश्नमा उनले उल्टो प्रतिप्रश्न गरे, “त्यो माछामा फर्मालिन प्रयोग भएको छ भन्ने तपाईंसँग के प्रमाण छ ?”
त्यसपछि सोधियो, तपाईंको यो कुराले त विदेशी उत्पादनलाई सहयोग पुग्दैन ? सरकारका मत्य विकास प्रमुख भएर नेपाली किसानलाई प्रोत्साहित गर्नु सट्टा यस्तो कुरा गर्न मिल्छ ? जवाफमा उनले भने, “हाम्रो उद्देश्य भनेको जनताले सस्तो र गुणस्तरीय माछा खान पाउनु पर्‍यो, त्यो जहाँको पनि हुनसक्छ ।” यो भनाईले त तपाईं आन्ध्रबाट माछा ल्याउने व्यापारीहरुको पृष्ठपोषक हो भन्ने आरोपलाई पुष्टि गर्दैन र ? भन्ने पुरकप्रश्नमा उनले भने “त्यसै आरोप लगाउन पाइन्छ ? नेपाली किसानको माछा किनेर ल्याउने व्यापारीहरुले त्योभन्दा सस्तो दरमा जनतालाई उपलब्ध गराउन् न, उनीहरुको पक्षमा भइहाल्छु नि ।” उनले आन्ध्रको माछासँग प्रतिष्पर्धा गर्न नसकेर नेपाली किसान निरुत्साहित भएको तथ्य पनि अस्वीकार गरे ।
मुंग्री र प्याकेटका माछा पनि अखाद्य
फर्मालिनप्रति सचेत कतिपय उपभोक्ताको रोजाइमा मुंग्री माछा पर्ने गरेको छ । सुनसरीको भीमनगर हुँदै आउने यो माछा खासगरी भारतको औद्योगिक शहर दुर्गापुरका खोलानालहरुको उत्पादन हुने गरेको छ । औद्योगिक केमिकल मिसिएको त्यहाँको पानी शुद्ध पार्न मुंग्री माछाका भूरा हाल्ने गरिएको छ । व्यापारीहरुले तिनलाई छिटो हुर्काउन सिनो र बोसो दिने गरेका छन् । स्थानीयले छुनसमेत अयोग्य ठानेका ती माछा हामी नेपालीले निर्धक्क खाइरहेका छौं । स्रोतका अनुसार काठमाडौं वरपर पालिने मुंग्री माछा हुर्काउन पनि फर्मालिनयुक्त माछाको आन्द्राभुँडी, भैंसीको मासुको अखाद्य अंश, सिनो आदि प्रयोग गरिन्छ । त्यो माछा पोखरीकै डिलमा प्रतिकेजी ३०० मा बिक्री हुन्छ ।
कतिपय सम्पन्न परिवारले सुपरमार्केटहरुमा पाइने प्याकेटको माछालाई स्वस्थकर मान्ने गरेका छन् । थाइल्याण्ड, चीन आदि मुलुकबाट आउने ती माछा पनि अस्वस्थकर भएको दावी जानकारहरुको छ । उनीहरुका अनुसार विदेशी उत्पादकले ती माछालाई फ्रोजन गरेरै प्याक गरेका हुन्छन् । तर कम्तीमा २४ घन्टाको हवाइयात्रा र ४-५ दिनको गाडीयात्राबाट आइपुग्ने ती माछा बाटैमा गन्हाउन सुरु भइसकेको हुन्छ । काठमाडौं आइपुगेपछि पुनः फ्रोजन त गरिन्छ तर ढुस्स गन्हाउन छाड्दैन । एकजना व्यापारी भन्छन् “चीसो मेन्टेन गरेर ल्याउनेहरुको बाहेक अरु सबै माछा अखाद्य छन् ।” तर शहरका सभ्य भनाउँदाहरु सिनोजस्तो ठस्स गन्हाउने त्यही माछालाई मीठो मानेर खाइरहेका छन् ।
नेपाली किसानको कन्तविजोग
व्यापारीहरुका अनुसार काठमाडौंको बजारमा एकसय ५० रुपैयाँ प्रति केजीको मुंग्रीदेखि ३८ सय रुपैयाँ प्रतिकेजीको साल्मोन जातको माछा बिक्री भइरहेको छ । माछाबाट मात्रै दैनिक सरदर ४८ देखि ९० लाख रुपैयाँसम्म विदेशिइरहेको छ । नेपाली किसानको भागमा भने केही हजार मात्र पर्ने गरेको छ ।
नेपाली भूमि माछा उत्पादनका लागि अति उत्तम मानिन्छ । यहाँको चीसो पानीमा हुर्कने असल जातको माछा त विश्वका सर्वोत्कृष्ट माछामध्ये एक हो । जुन माछा सयग्रामको हुन कम्तीमा दुइ ती बर्ष लाग्छ । ककनीतिर पाइने रेन्बो ट्राउट पनि असलाको भाइ मात्र हो । तर माछा प्रवर्द्धनको जिम्मा लिएका र सडकमा चेकजाँचमा बसेका भन्सार, क्वारेन्टाइन, पुलिस आदि सरकारी अधिकारीहरुको गैरजिम्मेवार व्यवहारका कारण नेपाली किसानले प्रोत्साहन पाउन सकेका छैनन् । उल्टो हतोत्साहित गर्ने गरिएको छ । “भारतबाट लाइन मिलाएर ल्याइएको अखाद्य माछा बोकेको ट्रकलाई सरसरी आउन दिन्छन् । तर हामीले ल्यायौँ भने बाटैमा छेकेर हैरान बनाउँछन् ।” कालीमाटीमा भेटिएका कपिलवस्तुका एक माछा किसानले भने, “यस्तो स्थितिमा कसरी माछापालन गर्न सकिन्छ ।” उनको भनाइमा माछा गिरोहले भन्सारदेखि मन्त्रालयसम्मका अधिकारीहरुलाई पालेको छ । उनीहरुका भान्सामा नियमित रुपमा माछा पुर्‍याएर ‘सेवा’ गर्दै आएकै कारण नेपाली किसानले हैरानी खेप्नु परेको हो ।
लागतको दृष्टिले पनि नेपाली किसानको माछा महँगो पर्छ । किसानहरुका अनुसार भारत सरकारले अनुदान दिएका कारण आन्ध्रको उत्पादन सस्तो छ । प्रतिकेजी २७० मा काठमाडौंका उपभोक्ताले पाउँछन् । तर नेपाली माछाको उत्पादन लागत पोखरीको डिलबाट झिक्दैखेरि प्रतिकेजी २५० देखि ३०० सम्म पर्छ । वीरगञ्ज सेरोफेरोमा उत्पादन हुने छडी माछाको लागत पनि त्यही हो । झिकेको आधाघन्टा भित्रमा फ्रोजन गरेर ल्याउने हो भने मूल्य केही महँगो भए पनि हानिकारक हुँदैनन् । तर यसतर्फ सरकारी निकायको ध्यान गएको देखिँदैन । एकजना व्यापारी नाम उल्लेख नगरिदिन आग्रह गर्दै भन्छन्, “उपभोक्ता सचेत हुँदासम्ममा नेपाली माछा उत्पादकहरु पेशाबाट पलायन भइसकेका हुन्छन् ।” सरकारी अधिकारीहरुको रवैया हेर्दा लाग्छ, त्यो दिन अब टाढा छैन ।
साभार :अन्लाईन खबर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis