नेपाल सरकार, संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को), बेलायतका डुर्हाम विश्वविद्यालय र स्टि्रलिङ् विश्वविद्यालय तथा नेसनल जियोग्राफिक सोसाइटीले सन् २०११ को जनवरीयता मायादेवी मन्दिरमा गरेका उत्खनन र अन्वेषणले उक्त नतिजा निकालेको हो। यसअघि सन् १९९२ देखि १९९५ सम्म मायादेवी मन्दिर परसिरमै गरिएको एक उत्खननका क्रममा लुम्बिनीमा बुद्ध जन्मिएको वास्तविक स्थान बताउने 'मार्कर स्टोन' फेला परेको थियो। "त्यस बेलै इपू तेस्रो शताब्दीसम्मका प्रमाणहरू फेला पारिए पनि त्यसअघिका प्रमाण पनि भेटिन सक्ने संकेत मिलेका थिए," पछिल्लो अध्ययनका सहनेतृत्वकर्ता कोषप्रसाद आचार्य भन्छन्, "त्यसैलाई आधार मानेर पछिल्लो अध्ययन सुरु गरिएको थियो।"
पछिल्लोपटकको पुरातात्त्विक अन्वेषणमा 'कार्बन डेटिङ्' शैलीसँगै 'अप्टिकल्ली इस्टिमुलेटेड लुमिनेन्स (ओएसएल)' प्रविधि प्रयोग गरिएको थियो। जब बालुवाको कणले सूर्यको किरण पाउन छाड्छ, तब त्यसले वरपिरिको वातावरणसँग खास गुणहरू लेनदेन गर्छ। यसको अनुपात र सम्बन्धमार्फत प्राप्त प्रमाण कति पुरानो हो भन्ने पत्ता लगाउने विधि नै ओएसएल हो। पुरातत्त्वविद् आचार्य थप्छन्, "यो प्रविधि दक्षिण एसियामै पहिलोपटक नेपालमा प्रयोग गरिएको हो।"
बौद्ध ग्रन्थमा आमा मायादेवीले त्यहाँ रहेको सालको रूखको एउटा हाँगामा समातेर सिद्धार्थ गौतमलाई जन्म दिएको उल्लेख छ। प्राप्त प्रमाण अनुसार रूखको जराका अवशेष भेटिएको स्थानलाई काठकै बारले घेरिएको पाइन्छ। मन्दिरको छाना भएको प्रमाण नभेटिएकाले उक्त देवस्थल रूख मात्रै हुन सक्छ र रूखमै मूर्ति कोरिएको हुन सक्छ। त्यसवरपर बलि दिने गरिएको संकेत पनि छैन। डुर्हाम विश्वविद्यालयका प्राध्यापक तथा अर्का सहनेतृत्वकर्ता रोबिन कोनिङ्गमले नेसनल जियोग्राफिकसँग भनेका छन्, 'जसले बौद्ध परम्पराको अहिंसालाई इंगित गरेको छ।' यसले दिने स्पष्ट संकेत के हो भने सम्राट अशोक आउनुअघि नै त्यहाँ बुद्धलाई पुज्न सुरु भइसकेको थियो।
बौद्ध ग्रन्थ अनुसार गौतम बुद्धको जन्मस्थल उनको घर र मावली राज्यबीचको जंगल थियो। इपू १००० देखि नै त्यस क्षेत्रमा खेतीपाती भएको हुन सक्ने कोनिङ्गमको भनाइ छ। त्यसवरपर जंगल नै थियो वा बस्ती बसिसकेको थियो भन्ने थप अध्ययनले टुंगो लगाउने अध्ययनकर्ताहरू बताउँछन्। त्यसवरपरका उत्खननले दिएका कतिपय तथ्यले त त्यस बेला नेपालको तराई भेगकै सबैभन्दा पुरानो बस्ती लुम्बिनीवरपरदेखि उत्तर भारतको गंगा नदीसम्म फैलिएको हुन सक्ने देखाउँछ।
बौद्ध आलेख अनुसार मायादेवीका पिता देवदहका राजा सुप्रबुद्ध गृहपतिले कपिलवस्तुका राजा शुद्धोदनलाई गर्भवती छोरी प्रसूतिपछि धेरै नबाँच्ने ठानेर माइती पठाइदिन आग्रह गरेका थिए। छोरीका लागि गृहपतिले लुम्बिनीमा विशेष बगैँचा तयार पारेका थिए। त्यसैले अझै पनि त्यो वन थियो वा मानव निर्मित बगैँचा थियो भन्ने अध्ययनकै दायरामा छ। यद्यपि, त्यस भेगमा सालका रूखहरू पाइने कुरा धेरैतिर उल्लेख छ। बुद्धको निधनपछि पनि कपिलवस्तुका शाक्यहरू र देवदहका कोलियहरू मिलेर उक्त बगैँचाको संरक्षण गर्थे भनिएको छ।
पहिलो चरणको अध्ययनमै मायादेवी मन्दिरभन्दा झन्डै दुई सय मिटर दक्षिणमा रहेको स्थान, जहाँ अहिले प्रहरी चौकी छ, मा जमिनमुनि ४.५ मिटरसम्म उत्खनन गर्दा त्यहाँ एउटा संगठित बस्ती रहेको पाइएको थियो। उक्त बस्ती बुद्ध जन्मनुभन्दा पहिलेकै भएकामा अध्ययनकर्ताहरू सहमत छन्।
कपिलवस्तुको तिलौराकोटबाट ११ किलोमिटर दक्षिणतर्फ रहेको गोटिहवामा क्रकुछन्द बुद्ध (गौतम बुद्धभन्दा अगाडिका बुद्ध)को जन्म भएको थियो। त्यहाँ इटालियन टोलीले अध्ययन गर्दा इपू १३०० देखि ८०० सम्मका तथ्यहरू फेला परेका थिए। अर्कोतर्फ सम्राट अशोकले पश्चिम (लुम्बिनी)बाट पूर्वको रामग्राम आउँदा बीचमा लान्मो सहर भेटिन्छ भनेका थिए। चिनियाँ यात्रीहरूले वर्णन गरे अनुसार रामग्राम स्तुपाको वर्णन र लान्मो सहरमा भेटिएका पुरातात्त्विक वस्तुले कतै लान्मो सहर नवलपरासीको पण्डितपुर त होइन भन्ने अर्को संकेत दिन्छ। पण्डितपुरमा उत्खनन गर्दा यसअघि नै इपू छैटौँ शताब्दीदेखिका भाँडाकुँडा भेटिएका थिए। "विभिन्न मतभिन्नताका बीच हामीले भनिरहेको बुद्धको जन्म भएको समय इपू ६२३ हो भन्ने तथ्यलाई यो अन्वेषणले झनै पुष्टि गरेको छ," पुरातत्त्व विभागका राष्ट्रिय अभिलेखालय प्रमुख प्रकाश दर्नाल भन्छन्, "धेरैतिरबाट जुटिरहेका प्रमाण उस्तै समयक्रमका हुनुले पनि हामी गौतम बुद्धको जन्मस्थानका बारेमा वैज्ञानिक रूपबाटै झन् बलियो बनिरहेका छौँ।"
अध्ययन/अन्वेषणको क्रम
सन् ३५०-३७५: चीनको किन वंशका सेङ् साई लुम्बिनी भ्रमण गरी त्यसबारे लेखे ।
सन् ३९९-४१३: यात्री फाक्सिनले भ्रमण गरी बुद्धको जन्म भएको स्थल भनी लेखेको ।
सन् ६३६: चिनियाँ भिक्षु एवं यात्री छुनाङ् लुम्बिनी आई लुम्बिनीलाई 'मरूभूमिजस्तो र जंगली जनावरको डर हुने ठाउँ'को रूपमा लेखेको ।
सन् १३१२: खस राजा रिपु मल्लको भ्रमण । आफ्नो भ्रमणको प्रमाण छाड्ने उनी अन्तिम व्यक्ति हुन् । उनले अशोक स्तम्भमा आफ्नो नाम कुँदाएका थिए ।
सन् १८९९: पीसी मुखर्जीले लुुम्बिनीको उत्खनन गरी बुद्ध जन्मेको स्थान र वरिपरि विभिन्न संरचनाका भग्नावशेष भएको अन्वेषण ।
सन् १९३२-१९३९: केशरशमशेरले मायादेवीको मन्दिर तथा पुस्करिणीको संरक्षण गरेका थिए । उनले गरेका कामको सबै विवरण भेटिएको छैन । उनैको समयमा काम गरेर थुप्रिएका दुईवटा माटोका ढिस्को हाल हटाइएका छन् ।
सन् १९७०: न्युयोर्कमा लुम्बिनी विकासका लागि अन्तर्राष्ट्रिय समिति गठन ।
सन् १९७०: नेपाल सरकारद्वारा लुम्बिनी विकास समिति स्थापना ।
सन् १९७०-७१: अशोक स्तम्भमा लेखिएको लुम्बिनीग्राम अनुसार बाबुकृष्ण रिजालले ठाउँ स्थानांकन तथा उत्खनन ।
सन् १९७२-८५: पुरातफ्व विभागद्वारा विभिन्न उत्खनन कार्य ।
सन् १९७८: नेपाल सरकार र संयुक्त राष्ट्र संघद्वारा केन्जो टेन्जी गुरूयोजना अनुमोदन ।
सन् १९८५: लुम्बिनी विकास कोष ऐन पारित ।
सन् १९९२-९५: उत्खननका क्रममा सम्राट अशोकले छाडेको मार्कर स्टोन फेला ।
सन् १९९६: बौद्धधर्मसँग नजिकबाट जोडिएका तिलौराकोट र रामग्रामलाई प्रस्तावित विश्व सम्पदा सूचीमा राखिएको ।
सन् २००३: पुनःनिर्माण गरिएको मायादेवी मन्दिर पहिलोपटक सर्वसाधारणका लागि खुला ।
सन् २०१०: तीनवर्षे 'लुम्बिनीको संरक्षण र व्यवस्थापन प्रवर्द्धन' योजना अन्तर्गत विभिन्न अध्ययन र अन्वेषण सुरू ।
सन् २०१३: बौद्ध धर्मको उद्गम प्रमाण प्राप्त ।
साभार : नेपाल साप्ताहिक

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !