सेकुवा भनेपछि
हुरुक्कै हुनेहरु धेरै यो सहरमा छन्। निकै रुचाइने भएर न धेरै बिक्री हुन्छ
सेकुवा। खसी,
राँगा, भेडा, बाख्रा,
कुखुरा हाँस, जेसुकैको होस्- सेकुवा प्रिय छ धेरै
मांसाहारीका लागि। तपाईँ पनि त्यस्तैमा पर्नु हुन्छ भने न्युज २४ टिभीले यो साता
बजाएको अनुसन्धानमूलक रिपोर्ट हेर्न छुटाउनु भएको त छैन ?
सेकुवा पोल्ने कोइला वा त्यसलाई गोल पनि भनिन्छ त्यो कहाँबाट कसरी आउँछ ? यो पत्ता लगाउनका लागि न्युज २४ को टिमले धेरै दिन अनुसन्धानमा बिताएछ। निकै समय लगाएर गरिएको रिपोर्टिङले देखायो एउटा घिनलाग्दो सत्य। लाशदेखि सेकुवासम्म। त्यही कोइला वा गोल प्रयोग गरिँदोरहेछ जो मान्छेको लाश पोलेर आर्यघाटमा बचेको हुन्छ ठुटाहरु। त्यसलाई इँटाभट्टामा लगेर कसरी कोइला बनाइन्छ, अनि कसरी सेकुवा पसलसम्म ल्याइन्छ, न्युज २४ ले प्रमाणहरु देखाएको छ। त्यही कोइलाबाट सहरमा मकै पनि पोलेर बेचिँदोरहेछ, अनि सुन पसलमा सुन पोल्ने काम पनि त्यही कोइलाबाट गरिँदो रहेछ।
पढ्नुस् न्युज २४ का रामशुभक महतोको खोजीरिपोर्टको स्क्रिप्ट-
लाशदेखि
सेकुवासम्म!
यो पशुपतिनाथको मन्दिर हो।
यससँगै रहेको यो आर्यघाट हो र यहाँ मानिसहरुको लाश जलाइन्छ। आर्यघाटमा दैनिक ७५ देखि एक सयसम्म मानिसको लाश जलाइन्छ।
र, विषय यो छ कि, मानिसको लाश जलाउन काठका मुडाहरुको प्रयोग हुन्छ, जब लाश जलाइन्छ, लाश त खरानी बन्छ तर लाश जलाउन प्रयोग गरिएको काठको मुडाका ठूटा बाँकी रहन्छ।
र, यो लाश जलाएर बाँकी रहेको त्यस्तै मुडाका ठुटाहरु हो। दृश्यमा देखिन्छ, यहा घाटेले लाश जलाइसकेपछि थोरै बाँकी रहेको दाउरा र सँगै रहेको आगो खरानी सोहोर्दै बागमतीमा फालिरहेका छन्।
यति बेला हामी पशुपतिनाथको पूर्वी भागको माथिलो डाँडामा छौं, तलको एक/एक दृश्य क्यामेरामा कैद गर्दै हामी त्यहाँबाट तल आयौं, आर्यघाटको पारीपट्टी। लाश जलाएर बाँकी रहेका मुडाका यी ठुटाहरु कहाँ लगिन्छ र केका लागि प्रयोग गरिन्छ भन्ने तथ्य खोज्न यहाँ आएका हौं, त्यसैले हामीले यसको फलोअप गरिरहेका छौँ। यो लाश जलाइसकेपछि बाँकी रहेको ठुटा यहाँ यसरी संकलन भइरहेको छ।
यहाँ तीन जना मानिस बागमती नदीमा गाडा गुडारहेका छन्। र उनीहरु लाश पोलिसकेपछि बचेको मुडाका ठूटा संकलन गरिरहेका छन्।
हामीले दृश्य खिचेको देखेर ठूटा संकलन गरिरहेका मानिसहरु यस्तो नखिच्नका लागि हामीलाई भन्दै थिए। तर हामीले आफ्नो काम रोकेनौं। हामी उनीहरुको एक/एक गतिविधिका दृश्य संकलन गरिरहेका छौं।
यही क्रम चलिरहेको छ यहाँ, लाश जलाइसकेपछि घाटेले बाँकी रहेको ठुटाहरु चिताबाट सोहोर्दै बाग्मती फ्याँकिरहेका हुन्थे, त्यसपछि नदीमा रहेको युवकहरु गाडामा राखेर त्यही ठूटा वारीबाट पारीतर्फ लगिरहेको हुन्थे।
उनीहरुले ल्याएको ठुटा यसरी यहाँ जम्मा गर्थे र फेरि उनीहरु पारी नै जान्थे।
यो उनीहरुको दैनिकी हो। जुन दिन हामीले दिनभर आर्यघाटमा बितायौं र यी जल्न बाकी ठुटाहरु केका लागि प्रयोग हुन्छ भने खोजी गरिरह्यौं।
यसबीच एउटा गाडानजिक पुग्यौं हामी। यही कालो दाउरा टिपेकामा आफूहरुले १ सय २५ रुपैयाँ पाउने जानकारी गराइरहेका थिए। साँझ ७/८ बजेतिर गाडी आएर यो लिएर जाने उनीहरुको भनाई थियो।
यसबेलासम्म साँझ परिसकेकाले उनीहरु घर फर्किए र हामी पनि फर्कियौं। भोलिपल्ट फेरि हामी यही आयौं तर यस दिन पनि ठूटा लिनका लागि गाडी आएन।
त्यसपछि फेरि पर्सिपल्ट हामी भक्तपुरतर्फ लाग्यौँ, कुन इँटाभट्टामा आर्यघाटबाट ल्याएको कालो दाउराले इँटा पोलिन्छ पत्ता लगाउनका लागि।
र, यहाँबाट थाहा भयो कि चाँगुनारायण भन्दा केही किलोमिटर दक्षिणमा रहेको एउटा इँटाभट्टाले आर्यघाटबाट ल्याएको कालो दाउराले इँट्टा पोल्छ भनेर।
त्यसपछि हामी चाँगुनारायण तर्फ लाग्यौ र बल्ल यो इँटा भट्टामा पुग्यौं र यहीँ देखियो आर्यघाटमा मान्छेको लाश पोलेर बाँकी रहेको मुडाको ठुटा। यहाँ यसको चाङ नै थियो।
यो इँटा भट्टाको दर्ता गरिएको कुनै नाम त छैन तर सबैले यसलाई कलात्मक इँटा भट्टा भनेर चिन्ने रहेछन्। यो इँटा भट्टामा हामीलाई खुला रुपले क्यामेराले खिच्न दिइएन तर पनि हामीले गोप्य क्यामेराबाट यहाँको सबै दृश्य खिचिरहका थियौं। यहाँ आर्यघाटबाट ल्याइएको ठूटाले इँटा पोलिनेरहेछ र त्यसबाट निस्किने कोइलाको कथा सेकुवाँसग सम्वन्धित रहेछ।
यही भट्टा हो र यहीँबाट मान्छेको लाश पोलेको काठका मुडाबाट गोल बनाइँदोरहेछ। एक झोला गोलको ५० देखि १ सय रुपियाँसम्म लिइँदो रहेछ। हामी पुग्दा यहाँ काम गर्ने एक युवक एउटा प्लाष्टिकको झोला लिएर आएका थिए र यही झोलामा यसरी कोइला अर्थात् गोल राखेर गोल बेच्ने लाने तयारी गरिरहेका थिए।
र, यसरी आर्यघाटबाट ल्याएको कालो दाउराबाट गोल बनाएर फेरि काठमाडौं तर्फ पठाइने रहेछ।
त्यसपछि हामी त्यहाँबाट काठमाडौंको न्यूरोड आइपुग्यौं र यो न्यूरोडको कोइला गल्ली। यहाँ धेरै गोलको कारोबार भइरहेको हुनाले यसको नाम नै कोइला गल्ली राखिएको रहेछ।
यहाँ बोराको बोरा गोल राखिएको छ बेच्नका लागि। यही ठाउँबाट काठमाडौंको अधिकांश सेकुवा पसलहरुमा गोलको कारोबार हुनेरहेछ। यहाँ हामीले सोध्यौं यो कहाँको गोल हो ?
त्यसपछि हामीले उनलाई यो त आर्यघाटबाट ल्याएको कालो दाउराबाट बनाएको गोल होइन भनेर सोध्यौं तर बुमै फालेर रिसाए।
त्यसपछि हामीले अर्का एक व्यवसायीलाई पनि साध्यौं तर उनीहरु यसबारे बोल्नका लागि तयार भएन।
भोलिपल्ट फेरि साँझमा हामी आर्यघाट पुग्यौं। र उनीहरुले नदेख्ने ठाउँमा बस्यौं। किनकि हामी प्रति शंका लागेको कारणले उनीहरु यी मुडाका ठूटा लिन नआएको शंका भयो हामीलाई। केही समयको प्रतिक्षा पछि एउटा पिकप भ्यान आयो यी ठूटा लिनका लागि। र, उनीहरु फटाफट दाउरा लोड गर्न थाले।
हामी क्यामेराले खिच्दै नजिक पुग्यौं र दृश्य कैद गर्न थाल्यौं।
उनीहरु र भ्यानको चालकसँग कुरा गर्न खोज्दै थियौं तर मानेनन्। तैपनि हामीले सोधिहाल्यौँ, यहाँबाट लगेको कालो दाउरालाई गोल बनाएर सेकुवा पोल्छ हो ? उनीहरुले हाँस्दै भने, सेकुवा पोल्दैन इँटा भट्टामा इँटा पोल्छ।
त्यसपछि हामीसँग भएको मोबाइलमा इटा भटाबाट सेकुवा पोल्नका लागि बेचिएको भिडियो देखिएपछि उनीहरु डराए। भिडियो हेरेपछि चालकले इँटा भट्टाबाट सेकुवा पोल्नका लागि बिक्री हुने गरेको स्वीकारे।
यति बेलासम्म त्यहाँ भएको सबै कालो दाउरा भ्यानमा लोड भइससकेको थियो। र त्यसपछि हतार हतार भ्यान लिएर उनीहरु गए।
यति बेला रातिको ८ बजिसकेको थियो। आर्यघाटमा कालो दाउरा टिप्ने तीन जना युवकहरु त्यहीँ थिए। भ्यान जानेबितिकै उनीहरु हामीसँग प्रतिवाद गर्न थाले। यो काम नगरे के काम गर्ने ? चोरेर खाने ? लुटेर खाने भन्दै हामीमाथि जाइलागे।
हामीलाई सक्दो गाली गरे।
त्यसपछि हामीले उनीहरुलाई केही समय सम्झायौं। त्यसपछि उनीहरुले पनि भने आर्यघाटबाट लगेको गोलले सेकुवा पोल्छ।
अर्को दिन फेरि हामी आर्यघाट गयौं। कालो दाउराको व्यापार गर्न लगाइएका कामदारहरु फेरि फेला परे। र उनीहरुले आफ्नो अनुहार नदेखाइदिने शर्तमा हामीसँग खुलेरै भने कि सेकुवा पोल्नका लागि यहाँको दाउरा प्रयोग हुन्छ। तल भिडियोमा सुन्नुहोस्।
त्यस्तै अर्का एक व्यक्तिले यहाँको दाउराबाट मकै पोलेर बेच्ने गरिएको पनि बताए यसरी।
यसबाट के पुष्टि हुन्छ भने शहरमा पशुपतिनाथ, आर्यघाटमा मान्छेको लाश पोलेर बचेको मुडाका ठूटाबाट गोल बनाएर शहरमा सेकुवा पोलिन्छ, मकै पोलिन्छ र सुन पोलिन्छन्।
आर्यघाटबाट ल्याएको गोलबाट शहरमा सेकुवा पोलेर बेचिन्छ होला भनेर पत्याउन सुरुमा हामीलाई पनि निकै गाह्रझ परिरहेको थियो। तर अब यो पुष्टि भयो कि, शहरमा निकै मीठो मानेर खाइने सेकुवा मान्छेको लाश पोलेको गोलबाट पोलिँदोरहेछ। अब यो अनुसन्धानले पुष्टि गरिसकेको सत्य भएको छ।।
तर, यसको अर्थ शहरमा जति पनि सेकुवा पसलहरु छन् ती सबैले आर्यघाटको गोल ल्याएर सेकुवा पोल्छन् भन्ने नलागोस्। केही सेकुवा पसलका सञ्चालकहरुले आफै उत्पादन गर्ने गरेको वा केहीले बाहिरी जिल्लाबाट आयात गर्नेगरेको पनि बताएका छन् तर, सेकुवा यसरी पनि पोलिदो रहेछ भन्ने प्रमाण चाही यो हो कि, आर्यघाटबाट लाश पोलेर बाकी रहेको काठका ठूटा संकलन गरेर त्यसलाई कोइला बनाएर त्यसबाट सेकुवा पोलिदोरहेछ। र, यस्तोसम्म धन्दाको शहर रहेछ र यहा हरप्रकारको धन्दा मौलाएको रहेछ।
धन्दैधन्दाको
शहर
लाश जलाइसकेपछि बाँकी
रहेको गोलले सेकुवा पोलिरहेको पुष्टी भएपछि हामी शहरका केही सेकुवा पसलहरुमा
पुगेका थियौं।उनीहरु कसैले पनि आफुले पशुपतिनाथको आर्यघाटबाट ल्याएको गोलले सेकुवा पोलिरहेको स्वीकार गरेनन् तर उनीहरु एकले अर्कालाई आरोप लगाइरहेका थिए।
यसरी यो शहरमा खुलेका सेकुवा पसलहरुलाई सेकुवा बनाउन प्रयोग हुने कोइला आर्यघाटमा मानिस जलाउन प्रयोग गरिएको मुडाबाट बन्ने नयाँ रहस्यको खुल्यो। शव जलाइसकेपछि बाँकी रहेको कालो दाउरालाई भक्तपुरको चाँगुनारायणको इटा भटामा लगेर गोल बनाउन ठूलै गिरोह परिचालन भइरहेको छ। त्यही गोलले काठमाडौंका अधिकांश सेकुवा पसलहरुमा सेकुवा पोलेर बेचिरहेका छन् जसलाई हामीले स्वादिलो मानेर खाँदै आएका छौं।
यसो
भन्छ विकास कोष
आर्यघाटमा मानिस
जलाइसकेपछि बाँकी रहेको दाउराको बन्ने कोइलाबाटै सेकुवा पोल्ने काम हुन थालेको
लामो समय वितिसकेको छ तर यसबारे कसैको ध्यान जान सकेको छैन। शव जलाएपछि बाँकी रहेका दाउरालाई वाग्मतीमा
बगाउन नपाउँदै सेकुवा लागि कोइला बनाउने ठूलो गिरोह घाटै मुनि लाश पोलेका काठका
ठुटाहरु कुरेर बसिरहेको हुन्छ। जानकारहरु अनुसार यो वर्षै अघिदेखि नै यो गिरोह
सक्रिय छ तर यसबारे पशुपति क्षेत्र विकास कोष भने वेखवर बसिरहेको छ। कोषका सदस्य सचिव डा. गोविन्द टण्डनलाई यो
रहस्य बारे सोध्दा उनले जानकारी दिनुभएकोमा धन्यवाद भने।उनले हामीलाई धन्यवाद दिइसकेपछि यसलाई पशुपति क्षेत्र विकास कोषले छानविन गर्छ त भनेर सोधेका थियौ तर उनी यसबाट पनि पन्छिए।
लाश पोलेको दाउरा अरु कुनै काममा प्रयोग गर्न नहुने र यदि प्रयोग गरिए धार्मिक हिसाबले राम्रो नहुने उनको भनाई छ।
आर्यघाटमा लाश पोलेर बाँकी रहेको दाउराबाटै सहरका प्रतिष्ठित सेकुवा पसलमा कोइला पुग्छ र त्यही कोइलाले पोलिएको सेकुवा हामीले उपभोग गरिरहेका छौं। सित्तैमा पाइने काठका ठुटाहरु संकलन गरेर जनस्वास्थ्यमा असर पार्दै कमाउने गिरोहलाई छानविन गरि कानुनी दायरामा ल्याउन जरुरी छ।
हिन्दू धर्मवालम्वीको संख्या अन्य धर्मको तुलनामा बढि भएको देश हो नेपाल र त्यस संस्कार अन्तर्गत पशुपति आर्यघाटमा लाश जलाउने क्रममा बाकी रहेका ठुटाहरुलाई कोइला बनाएर त्यसबाट सेकुवा पोलेर बेच्नु, खानु, खुवाउनु दुवै अधर्मी विषय हो हिन्दू धर्मअनुसार।
त्यस्तै अन्य कुनै पनि धर्म बमोजिम पनि मानव लाशजन्य गतिविधिका सामग्रीको प्रयोग गलत मानिन्छ। यसका साथै यसबाट स्वास्थ्यमा पर्ने नकारात्मक असर पनि छ। अझ समाज र सभ्यताले अस्वीकार गर्ने यस्तो विषयको व्यापार जायज छैन भन्छन् पशुपति विकास कोषका सदस्य सचिव। तर उनी भन्छन्, पशुपति क्षेत्रभित्रै भएको भएपनि यस्तो विषयमा कारबाही गर्ने अधिकार हामीलाई छैन।
मान्छेको लाश पोलेपछि बाँकी रहेको काठका मुढाका ठुटा लगेर त्यसलाई कोइला बनाई सेकुवा पोलिएबारेको छ, जो शहरका सबै सेकुवा पसलले नगरेका हुनसक्छन्। र, यस विषयमा आर्यघाटबाट त्यस्ता ठूटा लगिए पनि आफूले कुनै कारबाही गर्न नसक्ने बताउँछन् विकास कोषका सदस्य सचिव।
कति विषय यस्ता हुन्छन्, कानुनभन्दा धेरै माथि हुन्छन्। सभ्यता र संस्कार यस्ता हुन्छन् जेलनेल र बन्दूकको गोलीभन्दा डरलाग्दा हुन्छन्। यो त्यस्तै विषय हो मान्छेको लाश पोलेपछि त्यसबाट बाँकी रहेको मुडाका ठूटा उठाउनेदेखि कोइला बनाउने र त्यसबाट सेकुवा पोलेर जनतालाई बेच्ने, खुवाउनेसम्मका सिलसिला यस्तै सभ्यता र संस्कारविपरीतका हुन्। हामी कानुनतिर पनि जाउँला तर यो विषय कानुनभन्दा धेरै माथि भएकाले हामीले सबैलाई सचेत गराएका हौं।
साभार : माई संसार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !