झन्डै सात बर्ष भो बेलायत आको र यी सात बर्षमा मैले भोगेका देखेका कुराहरु यहाँ हरु समक्ष बाँड्न मन लागेको छ।
सुरुका दिनको दु:खको बारेमा कुरा गर्नुपर्दा जो विदेश जाने धेरै जनाले भोगेको हुनु पर्छ, त्यो सम्झिँदा अहिले सपना हो कि जस्तो लाग्छ। आएको भोलिपल्टै नेपाली दाजुले कोठा छोड्न भनेको (उहाँको ससुरा आउने भएर ?), आफ्नो नेपालको मिल्ने
साथीले TC खाइदेको, साथी कोठाको भाडा नतिरेर भागेर आफुलाई अलपत्र पारिदेको, काम पाएर साथी भन्दा धेरै कमाउला भनेर काम खोज्नमा असहयोग गरेको, नेपाली रेस्टुरेन्टमा बल्ल भाँडा माझ्ने काम पाउदा नेपालीहरुकै श्रम शोषणको सिकार हुनु परेको।
सुरुका दिनहरुमा भाडा माझ्ने काम देखी लिएर leaflet बाड्ने काम सम्म गरे तर कहिले पनि मैले आफ्नो नैतिकता, आफ्नो देश, आफ्नो भाषा र संस्कार बिर्सिन। हरेक बर्ष नेपाल जाने कोशीश गर्छु र गएको पनि छु। नेपाल मै आएर विवाह पनि गरे अहिले २ सन्तानको बाबु पनि भएँ। आफ्नो बच्चाहरुसँग म नेपाली मै कुरा गर्छु। र उनीहरुलाई पनि नेपाल को बारेमा थाहा दिन बर्ष म कम्तीमा पनि एक चोटि नेपाल लग्ने प्रयास गर्छु र केही हदसम्म सफल पनि भएको छु ।
जे होस दु:ख गर्दै अनुभव बटुल्दै एउटा ठुलो कम्पनीमा अफिस सपोर्टको काम पाएँ र साथसाथै नेपाली हस्तकलाको ब्यापार पनि सुरु गरेँ। मैले काम गर्ने अफिसमा एक दिन cleaner contract परिवर्तन भयो र नयाँ cleaners हरु ल्याइए । तिनीहरु मध्य दुई जना छोटो कद भएका केटा र केटी मान्छे थिए। हेर्ने बित्तिकै मलाई थाहा भइहाल्यो कि तिनीहरु नेपाली हुन्। नेपाली भएकै नाताले उनिहरु सँग मेरो घनिस्थता बढ्यो जुन स्वाभाबिक नै हो र उनीहरुले पनि आफ्न कुरा मसँग राख्न थाले । तिनीहरु दुबै जना एउटै गाउँका हुन् र सँगै आएका थिए। मैले उनीहरुलाई भाइ र बहिनी भनेर बोलाउथे | दुबै जना अती मिहेनती र मिलनसार थिए । ती भाइ र बहिनीले आफ्नो सम्बन्ध कैले दाजु बहिनी त कैले साथी भनेर बताए। तर समय बित्दै जाँदा उनीहरुको घुम्न गएको फोटोहरु हेर्दा उनीहरु ‘विशेष’ साथी हो भनेर बुझ्न धेरै समय लागेन ।
दुबै जना विद्यार्थी भिसा मा करीब २ बर्ष अघि आएका हुन र अब केही महिना मै भिसाको म्याद सकिनेछ। उनीहरुको कलेज पनि निलम्बनमा परेको छ र एक हिसाबले उनीहरु अहिले गैरकानूनी भइसके । अब पर्यो भिसा बढाउने समस्या । UK ले अध्यागमन अहिले अति नै कडा गरेको हुनाले पहिले जस्तो work permit भिसा निकाल्नु लगभग असम्भवनै छ । र अहिले यहाँको स्थानीय बासिन्दालाई विवाह गर्ने र कागजपत्र मिलाउने चलन बढेको छ । सके सम्म ब्रीटिश नसके अरु यूरोपियन बासिन्दा (स्मरण रहोस् ब्रिटेन यूरोपेली संघ मा आबद्द भको ले अरु यूरोपियन संघ आबद्द मुलुक को बासिन्दाले ब्रिटिश सरह नै सुविधा पाउछन ।) कसैले पैसा दिएर विवाह दर्ता गर्छन् त कसैले प्रेम जालमा फास्छन ।
हाम्रो भाइले पनि तेही प्रकृया अपनाए। आफु एक्काईस बर्ष को भए पनि ४० बर्ष को पुर्बी यूरोपेली आईमाई लाई प्रेम जाल मा पारे। त्यो आईमाई को १६ बर्से छोरो छ तर एक्ली छिन्। ति आईमाईले भाइलाई उपहारहरु किनिदेको र अरु आत्मिय कुरा हरु को आधार मा यो अनुमान लगाउन सकिन्छ कि ती आईमाईले भाइलाई हृदय देखी नै मन परएकी हुन। मैले भाइलाई सम्झाये तिम्रो उमेर भर्खर को छ ५,६ बर्षा पढाई अथवा कुनै सिपमा लगानी गर्यो भने पनि तिमी सँग धेरै समय छ। अहिले हतारमा कुनै निर्णय लिनु हुन्न। र फेरि नेपाल नै फर्केर कुनै काम गरे पनि अबेर भको छैन। र म पनि २/३ बर्षमा नेपाल मै स्थाई बसोबस गर्ने पनि सुनाए। भाइले ‘ कहाँ दाइ, कागज नबनाई नेपाल फर्के भने त कुकुरले पनि हेप्छ ‘ भन्दा म तीन दङ परे । तेस पछी मैले उस्को प्रेमिका को बारेमा कुरा निकाले र म चार दङ तब परे जब भाइले भन्यो ‘ प्रेमिका लाई सब थाहा छ उस्लाई केही आपत्ति छैन बरु मैले उस्लाई पनि गोरा केटा खोज अनि कागज बनेपछी डिभोर्स गरेर हामी दुई फेरि सँगै बस्ने भनेको छु’
हे राम के युग हो यो । के ब्रिटिश पासपोर्टनै संसार को सबै भन्दा ठुलो कुरो हो जो एती सम्मा कदम उठाउन मान्छे तयार हुन्छ । नैतीकता भन्ने चीज कत गयो ? युवा हरुको एस्तो सोचले यो देश लाई भोलि कता पुरयाउला ।
नेपालमा बस्नेहरुले पनि बिदेश बाट खाली हात फर्केका लाई होच्याउन भएन। त्यो उस्लाई मात्र थाहा छ कि बिदेश मा उस्ले कत्रो लडाईं गरेर आको छ। हौसला र सहयोग दिउ ताकी उस्ले बुझोस् यो संसार मा बिदेशी पासपोर्ट भन्दा पनि धेरै महत्वपूर्ण कुरा हरु आफ्नै देशमा छन।
र अन्त्यमा ती भाइको विवाह यही मार्च मा रहेछ तर कसैलाई धोखा दिने स्वार्थमा बन्न लागेको नयाँ सम्बन्धमा सहभागी हुन यो नेपाली स्वावलम्बी रगतमा आट नआएर यदी निम्तो आई हालेको खन्डमा नजाने निधो गरे।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !