CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » पैसा धुत्दै, अर्को अस्पताल पठाउँदै : सरकारीमा ३ हजार, निजीमा ४ लाख

पैसा धुत्दै, अर्को अस्पताल पठाउँदै : सरकारीमा ३ हजार, निजीमा ४ लाख


hospital
पोखरा, फाल्गुन १५ - मुखमा एउटा सामान्य फोका आएपछि ७ वर्षीय सुभम गुरुङ सोमबार अभिभावकसँग हिँडेरै गैह्रापाटनस्थित फिस्टेल अस्पताल पुगे । त्यहाँ उनलाई नसाबाट औषधि दिएलगत्तै सास फेर्नै मुस्किल भयो । सिकिस्तै परेपछि अक्सिजन दिइयो । तैपनि अवस्था नसुधि्रएपछि फिस्टेलले उनलाई मणिपाल शिक्षण अस्पतालमा 'रिफर' गरिदियो । बेहोस भइसकेका बालकलाई एम्बुलेन्सबाट मणिपालको आकस्मिक कक्षमा पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषित गरिदिए । मुखको फोकाको उपचा
र गराउँदा छोराको ज्यानै गएपछि आमा दीपिका बेहोस भइन् ।
निजी अस्पतालले बिरामी अन्तिम अवस्थामा पुगेपछि अर्कैमा पठाउने घटनाको यो पछिल्लो उदाहरण मात्र हो । यहाँका अधिकांश निजी अस्पतालले सुरुमा भर्ना लिने र सिकिस्त भएपछि अन्तै पठाउने गरिरहेका छन् ।
मणिपालमा आउने अधिकांश बिरामी निजी अस्पतालबाट 'रिफर' गरिएका हुने आकस्मिक शाखा इञ्चार्ज डा. किरण आचार्यले बताए । 'निजी अस्पतालले बिरामी सिकिस्त भइसकेपछि मात्र हामीकहाँ पठाउने गरेका छन्,' उनले भने, 'खर्च जति सकेर अन्तिम अवस्थामा आइपुगेका बिरामी भर्ना नलिने हो भने उनीहरूको मृत्यु हुन सक्छ । उपचार गर्दागर्दै केही भइहाल्यो भने पनि तोडफोड हुन्छ ।'
आकस्मिक कक्षमा दैनिक आउने ८० बिरामीमध्ये अधिकांश निजीमा निको नभएपछि पठाइएका हुने उनले जनाए । 'बिरामी पठाउनुअघि आईसीयू र डाक्टर छन् कि छैनन् ? एकपटक पनि सोध्दैनन्,' उनले भने, 'कोही बेला त आईसीयू नै खाली हुँदैन । अन्तिम अवस्थामा पुगेका बिरामीको पैसा त सकिन्छ नै ज्यान पनि नरहने खतरा हुन्छ ।'
दस शय्याको सघन उपचार कक्ष रहेको कास्की सेवा अस्पतालमा पनि सबैजसो बिरामी निजीबाटै 'रिफर' गरिएका हुन्छन् । 'जतिसुकै गम्भीर भए पनि पहिला भर्ना लिन्छन्, पछि च्याप्दै गएपछि हामीकहाँ पठाउँछन्,' उक्त अस्पतालका निर्देशक डा. पदम खड्काले भने, 'यस्तो अवस्थाका बिरामी बचाउन मुस्किल हुन्छ ।'
एसोसिएसन अफ प्राइभेट हस्पिटलका केन्द्रीय सदस्य डा. खड्काले चिकित्सकहरू पेसागत आचरण र मर्यादाबाहिर पुगेर काम गर्ने प्रवृत्ति बढेको स्वीकारे । 'निको पार्न नसक्नेलाई पहिल्यै सुविधासम्पन्न अस्पतालमा पठाउनुपर्छ,' उनले भने, 'बिरामीलाई मस्तसँग दुहिसकेपछि अन्तै पठाउने प्रवृत्ति ठीक होइन । सरकारले प्रभावकारी अनुगमन र कारबाही नगर्दा बिरामी मर्कामा परेका छन् ।' चिकित्सकले इमानदारीपूर्वक पहिल्यै बिरामीलाई सुविधायुक्त ठाउँ पठाइदिए ज्यान र धन दुवै जोगिन सक्ने उनले बताए ।
शरीरका धेरै अंगले काम नगरेका, मुटु, मृगौला, कलेजो, छाती, मस्तिष्क र पेटमा चर्को समस्या भएर अन्तिम अवस्थामा पुगेका बिरामी बढी मात्रामा रिफर भएर आउने गरेको उनले जनाए ।
अस्पतालहरूमा कुल शय्या संख्याको ५ देखि १० प्रतिशत सघन उपचारका लागि हुनुपर्ने सरकारी व्यवस्था छ । तर यहाँका निजी अस्पतालहरूले स्वास्थ्य सेवा निर्देशिकाको उक्त व्यवस्था पालना गरेका छैनन् । सरकारी र दुई मेडिकल कलेजबाहेक यहाँका करिब १३ निजी अस्पतालमा ७ सय बेड छन् ।
ठूला शल्यक्रिया गर्ने कतिपय अस्पतालमा समेत 'आईसीयू', 'भेन्टिलेटर' र अन्य अत्यावश्यक उपकरण छैनन् । साँघुरो कोठामा शय्या जोडेर राख्ने गरिएको छ । सरकारी र शिक्षण अस्पतालमा काम गर्ने अधिकांश चिकित्सकले नै निजी अस्पताल खोलेका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका निरीक्षक केशव चापागाइले अधिकांश निजी अस्पतालले मापदण्ड पूरा नगरेको बताए । 'अस्पतालहरूले मापदण्ड पालना गरेका छैनन्,' उनले भने, 'नीति र ऐन पालना गरेर मात्र सञ्चालन गर्न भनेका छौं ।'
सरकारीमा ३ हजार, निजीमा ४ लाख
केही साताअघि हुम्लामा आगलागीमा परी घाइते भएका ६ जनालाई उपचारार्थ राजधानी ल्याइयो । तीमध्ये केही निजी अस्पताल लगिए भने केही वीरमा भर्ना भए । घाइते सबैको अवस्था लगभग उस्तै थियो । 'हाम्रोमा उपचार गराउनेको खर्च ३ हजार रुपैयाँभन्दा बढी भएको छैन,' वीर अस्पतालका निर्देशक डा. बुलन्द थापाले बुधबार कान्तिपुरसँग भने, 'निजी अस्पतालमा गराउनेको ४ लाख रुपैयाँको बिल आएको छ । यो एकदमै बढी हो ।'
उनका अनुसार निजीको बिलमा आईसीयू, अक्सिजनलगायत शीर्षकमा पत्याइनसक्नु शुल्क राखिएको थियो ।
गाउँघरबाट स्तरीय उपचारको खोजीमा राजधानी छिरेकाहरूको निजी स्वास्थ्य संस्थाले रकम सिध्याइदिएर सरकारी अस्पताल पठाउने प्रवृत्ति निकै बढेको डा. थापाले बताए । राजधानीमा साना/ठूला गरी १ सय २० भन्दा बढी निजी अस्पताल छन् ।
डा.थापाका अनुसार शल्यक्रियापछि जटिलता देखिए बिरामीलाई सरकारी अस्पताल पठाइदिने क्रम अझ बढी छ । 'जटिलता देखिँदै गएपछि खर्च पनि थापिँदै जान्छ,' उनी भन्छन्, 'तिर्न नसक्ने भएपछि बिरामी सरकारी अस्पताल आइपुग्छन् ।' 
त्रिवि शिक्षण अस्पतालका निमित्त निर्देशक डा.ईश्वर लोहनीले पनि उपचार गराउँदा गराउँदै बेखर्ची भएर आउनेहरू ठूलो संख्यामा रहेको बताए । 'निजी अस्पतालले आफूकहाँ आउने बिरामीलाई लाग्ने खर्च र आर्थिक क्षमताअनुसार उपचारको सल्लाह दिए यस्ता समस्या कम हुन्थे ।'
एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्िटच्युसन अफ नेपाल (एफिन) का अध्यक्ष डा.भोला रिजालले भने निजी क्षेत्रले रकम सिध्याएर सरकारी अस्पताल पठाइदिन्छ भन्नु गलत हुने दाबी गरे । 'सरकारी क्षेत्रबाट धेरै दुःख पाएर निजी क्षेत्रमा उपचार गराउन आउने पनि प्रशस्तै छन्,' उनले भने ।

साभार : कान्तिपुर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis