अघिल्लो शनिबार अर्थात् १० फागुनको बिहान, सागपात र फलफूलको किनमेल नसकिँदै बानेश्वर चोकमा बुल्डोजर चल्यो। बजारमा निकै ठूलो खलबली मच्चियो। ट्राफिक अस्तव्यस्त भयो। बानेश्वरका रैथाने हलचलमा थिए। उनीहरूले शहरी सडक विस्तारको सरकारी योजनालाई सहज ढंगले स्वीकार गरेका थिए। सडकका दुवै किनारामा बनेको फुटपाथ कायम राख्नुपर्नेमा
सहमति सबैको थियो। तर, साइकल मार्केटका रूपमा स्थापित भइसकेको फुटपाथ विस्थापन गर्दा आफ्नै जस्केलोमा धक्का लाग्ला भन्ने कसैले सोचेको थिएन। फुटपाथ शहरी सडक विस्तारको सरकारी नक्सामा मात्रै अस्तित्वमा रहेकाले पनि भ्रम सिर्जना भएको थियो। समाजको हितमा पुर्खाले बनाएका सार्वजनिक पाटी, पौवा र सत्तल, चरन र पोखरी, शिवालय र देवालय सबै त मिचिएका छन् भने यति एक पाइला मिच्दा त के फरक पार्ला र ! बानेश्वरवासीले सोचेरै एक पाइला जमिन मिचेका थिए होलान्। फरक परहिाल्यो।
यो कुनै ठूलो हलचल थिएन। जनता मिच्दै जाने र सरकार चिनो लगाउँदै जाने चलन पुरानै हो। काठमाडौँका हरेक बजार र बस्तीमा हलचल दिनहुँ बढ्दै छ। यस्तोमा बानेश्वरको हलचललाई नै केन्द्र बनाउनु आवश्यक छैन। तर, बानेश्वरको परम्परागत चरत्रि नै यस्तो छ कि छिसिक्क केही भयो कि चर्चामा आइहाल्छ। बृहत् काठमाडौँ शहरको विस्तारति बजार र बस्ती कहिल्यै रहेन बानेश्वर। तैपनि, यो जहिलेसुकै महानगरको केन्द्रमा नै छ। महानगरपालिकाको अविभाज्य अंग बन्नुभन्दा धेरै पहिले, काँठको पनि कछाड रहेको बेलादेखि नै यो गाउँ विद्रोह-चेतनाको प्रतीक बनिसकेको थियो। शहरको पूर्वी सीमाबाट बाहिर, धोबीखोलाको पुल काटेपछिको पहिलो सुपर बजार बानेश्वर नै थियो। भाइचाको पसलमा टाँगिएको विज्ञापन बोर्डमा देखाइएकी युवतीको कपालको रंग रातो-खैरो भए पनि त्यसमा लेखिएको हुन्थ्यो, 'केश काला और लम्बा करने के लिए लोमा।'
नरविलदेखि नूरानी तेलसम्म, काजुदेखि किसमिससम्म, लिपिस्टिकदेखि भ्यासलिनसम्म, लवण-भास्करदेखि सितोपलादीसम्म, सिलोन रेडियोको धमाकेदार कार्यक्रम 'बिनाका गीतमाला' फेमको आधुनिक टुथपेस्ट बिनाका देखि दाँत र गिजालाई जोगाउने फर्मुलायुक्त कोलगेटसम्म, ठूलाबडाले तान्ने सिगरेट क्य्राभेन 'ए' देखि साधारण मानिसका लागि 'मोटर पिजिये, आनन्द लिजिये'सम्म, गौशाला जाने मोडैमा रहेको गणेश मन्दिरसँगैको भाइचाको पसल अहिलेको सुपरस्टोरभन्दा कम थिएन। यही एउटा पसलले बानेश्वर र वरपिरिका पाँच गाउँ धानेको थियो।
भाइचाको पसल गाउँको स्थायी सञ्चार केन्द्र थियो, यो भेगका धेरैको हुलाकी ठेगाना। मार्फत, भाइचाको पसल भनेपछि ठेगान पक्का। हजारौँ प्रसाधनको भीडमा भाइचाको पसल कति बेला चेपियो ? कसैले थाहै पाएन। त्यो पसल अहिले पनि त्यस समयका फेसनदार पुस्ताको स्मृतिमा बाँकी छ। त्यतिबेला लोमाको प्रयोग गरेर कालो र लामो कपाल बनाउने युवतीहरू कति काल-कवलित भइसके, कति वाध्र्दक्यको कष्ट भोग्दै होलान्। तर, बानेश्वर भने झन् झन् तन्नेरी हुँदै छ। भाइचाको पसलको विकल्पमा दर्जनौँ पसल खुलेका छन्।
अर्को पसल थियो, बनेपाली साहू गोकुलदास श्रेष्ठको। पञ्च-पल्लभदेखि पञ्च-पालासम्मका पूजा सामग्री, दाल-चामल, घिउ-तेल र चाकुलगायतका दैनिक उपभोग्य वस्तु, ज्वानोदेखि जाइफलसम्मका मरमसला, सुत्केरी औषधीको मसलादेखि बच्चालाई रुघा लाग्दा नभई नहुने रुदिलो र जन्मदेखि मृत्यु संस्कारसम्म आवश्यक पर्ने लत्ताकपडाको अर्को सुपर स्टोर। बनेपालीको पसलमा पैसाको भन्दा पनि विश्वासको कारोबार बढी हुन्थ्यो। पैसाको मुखसम्म देख्न पनि गाह्रो पर्ने जमानामा कार्डबिनाको जिन्सी एटीएम। रात-बिरात, मर्दा-पर्दाका अप्ठ्यारो समयमा बिनाब्याज, घिउ खाने नकटाई कारोबार गर्न सकिने पसल।
बनेपाली साहूको नाति पुस्ताको नेतृत्वमा त्यो पसल भने निरन्तर छ। किनभने, यो पसलसँग बनेपाली साहू र उनकी माइली बुहारी कृष्णकुमारी श्रेष्ठकोे 'गुडविल' बाँकी छ। कृष्णकुमारीले आफूसँगै त्यो पसललाई हुर्काइन् र बढाइन्। अहिले उनका छोरा हरि श्रेष्ठले आफ्नी पत्नीलाई त्यो अभिभारा सुम्पिएका छन्। अर्को कुरा, समाज जतिसुकै बदलिए पनि मानिसका आधारभूत आवश्यकता बदलिएका छैनन्। पहिले र अहिले प्रयोग हुने उपभोग्य वस्तुहरूमा मौलिक भिन्नता पाइँदैन।
राजा महेन्द्रले नेपाली राज्यसत्ता सञ्चालनका लागि जनताले निर्वाचित गरेको सरकार खारेज गरेर प्रत्यक्ष शासन गर्न थालेको घटना काठमाडौँमा ००७ सालपछिको पहिलो ठूलो घटना थियो। त्यसपछिका दुई दशकसम्म राजधानी शहरमा हलचल धेरै भए पनि खासै ठूला घटना भएनन्। कांग्रेसका नेताहरू जेलमा थिए र कम्युनिस्टका नेताहरू दरबारमा। राजनीति र सामाजिक गतिविधिबाट जनता पूरै काटिएका थिए। कतिसम्म भने जनताले आदरका साथ ज्यूँदा शहीद मानेका टंकप्रसाद आचार्यको आवास बानेश्वरको पश्चिमी सीमा धोबीखोलाको डिलमा रहेको जानकारीसमेत थिएन जनतालाई। दुई दशकपछि राजा महेन्द्रका जेठा छोरा राजा वीरेन्द्रले निर्वासित जीवन त्यागेर बीपी कोइराला स्वदेश फर्किनुभएपछि उत्पन्न भएको राजनीतिक समस्याको समाधान खोज्दै आफ्नो वा जनता, कसको शासन रोज्ने भनेर जनतालाई चयनको अवसर दिएपछि राजधानी शहरमा अलिकति राजनीतिक, सामाजिक र आर्थिक हलचल जाग्यो। जनमतसंग्रहपछि आएको सीमित आर्थिक र राजनीतिक खुलापन बानेश्वरको स्वतन्त्र पहिचानको कारक बन्न पुग्यो। बानेश्वरका घरघरमा तयारी पोसाक उद्योग खुले। बिजनेस पार्टनरका रूपमा भित्रिएका मध्यम स्तरका भारतीय उद्योगपति र तीसँगै भित्रिएका सिलाइ-कटाइ मास्टर र मजदुरहरूको केन्द्र बन्यो बानेश्वर। काँचो काँठबाट शहरका रूपमा रूपान्तरण शुरू भयो बानेश्वरको।
नेपाल अधिराज्यको सम्पूर्ण सत्ता र शक्तिको केन्द्रका रूपमा रहेको काठमाडौँ अहिलेसम्म पनि एकलकाँटे किल्लाका रूपमा रमाइरहेको छ। अहिले पनि, 'डाउन टाउन'को सीमा 'येँ'का जनताको कल्याणका लागि निषेधका सोह्र हात फैलाएर रानीपोखरीको पश्चिम-दक्षिण डिलमा थुपुक्क बसेका गणेशको छेउमा आएर टुंगिन्छ। अहिले त मानिसको बढ्दो भीडमा गणेशजीको आफ्नै अस्तित्व संकटमा परसिकेको छ। उनले अर्को कुनै राम्रो र समय सुहाउँदो भूमिका पाएका पनि छैनन्।
शहरको जन्मकालका समयमा गणेशजीको सोह्र हातले चारै दिशा, चारै कोण, चारै प्रतिकोण र चारै विन्दुमा कोरेका रेखाहरू अहिलेसम्म अस्तित्वशील छन्। चार दशकअघिसम्म पनि गणेश मन्दिरको पूर्व कुनै शहर थिएन। शहरको छेउमा छाप्रा ठड्याएर बस्न बाध्य मानिसको बस्तीजस्तो थियो बागबजार, डाउन टाउनको 'स्लम एरिया'। राज्यका भाइभारदार र ठूलाबडा 'खेँचा' (नेवारी भाषामा पर्वते, पाखे)हरूको बस्तीका रूपमा विकसित भइरहेको, सानो तर जतिसुकै दूषित भए पनि, पवित्र नदी इच्छुमती (टुकुचा)पारिको डिल्लीबजारकै शहरी औकातसमेत पूर्ण रूपमा स्थापित नभइसकेको त्यो समयमा बानेश्वरको त के कुरा गर्नु ?
कालान्तरमा राजधानीको सबैभन्दा राम्रो आवास क्षेत्र दरिएको बानेश्वर-बत्तीसपुतलीलाई काँचा शहरयिाहरूले अहिले पनि 'गामा' (नेवारी भाषामा काँठे) भन्न छाडेका छैनन्। ती काँठेमा राम मानन्धर र हेरमानदाइ पनि पर्थे। तैपनि, समयसँगै शब्दार्थमा अलिकति परविर्तन पक्कै आएको छ। गामा शब्दको उच्चारणमा पहिले अपमान पोतिएको हुन्थ्यो, अहिले सम्मानको सुगन्ध लेपन गरिएको छ।
बानेश्वर र बत्तीसपुतली- गाउँका रूपमा दुई अलग अस्तित्व भए पनि यी दुवै एकअर्काको सह-अस्तित्वलाई चुनौती दिने स्थितिमा कहिल्यै रहेनन्। बत्तीसपुतली एक हदसम्म धार्मिक रह्यो। अहिले अन्तर्राष्ट्रिय रूपमा पशुपति क्षेत्रका रूपमा परिचित देउपाटन छेउको यो गाउँमा एउटा राम मन्दिर, एउटा वैष्णवधाम (वेंकटेश मन्दिर), एउटा गौशाला र एउटा कुमारी स्थान ऐतिहासिक धरोहरका रूपमा अहिलेसम्म कायम छ। बानेश्वर बत्तीसपुतली, दुवैतिरका भित्री बाटाघाटा नयाँ सिर्जना हुन्। पुराना बासिन्दाले नयाँ बासिन्दालाई जग्गा बेच्दा नीला फूल फुल्ने नील काँडा र रंगीचंगी फूल फुल्ने पुतली फूलका घारीहरू बेमाख र विलोप पारेर गल्छेँडा विस्तार गरी जुटाइदिएका सुविधा।
बानेश्वर-बत्तीसपुतलीमा मेल पक्कै थिएन। तर, देउपाटन र थापा गाउँका शक्ति प्रदर्शन र अतिक्रमणका विरुद्ध दुवै एक हुन्थे। अहिले दुवै गाउँ नगरपालिकाका वडा कार्यालय र लोडसेडिङ् सेड्युलका कारण छुट्टाछुट्टै छन्। संसदीय प्रतिनिधि पनि अलग-अलग छन्। भौगोलिक हिसाबले भने दुवै ठाउँ एउटै जस्ता छन्। बानेश्वर भन्नासाथ बत्तीसपुतली जोडिन्छ, बत्तीसपुतली भन्नासाथ बानेश्वर आइहाल्छ। पुरानो बानेश्वर चोकदेखि गौशाला चोकसम्मको क्षेत्र लोभलाग्दो 'बिजनेस डिस्टि्रक्ट'का रूपमा विकसित भएको छ।
बृहत्तर नेपालको आधुनिकीकरण बीपी कोइरालाबाट शुरू भएको थियो। बानेश्वरको पहिचान स्थापित गर्न बीपी र कृष्णप्रसाद भट्टराईको नाम र उपस्थितिले काम गर्यो। लक्ष्मीको चियापसलमा किसुनजीको साप्ताहिक जन-सम्पर्क संयोग मात्रै थिएन। यो नियोजित पनि थिएन। हरेक शनिबार बिहान दाजु गोपालप्रसाद भट्टराईको निवाससम्म पैदल हिँडेर जाने क्रममा शाही नेपाली सेनाको ब्यारेकको मुखैमा रहेको लक्ष्मीको सानो चियापसल किसुनजीको क्षणिक विश्रामस्थल बनेपछि कसैले थाहै नपाई, एकाएक साम्यवादी, गैरसाम्यवादी, सर्वहारा समाजवादी र अरू सबै प्रकारका राजनीतिक कार्यकर्ता, कवि-लेखक, स्रष्टा-द्रष्टा र राजनीतिक पर्यवेक्षकहरूको साझा चौतारी बन्यो। रामराजाप्रसाद सिंहको गणराज्यको हुँकार यहीँबाट प्रसारति भएको थियो।
बानेश्वरको यो दक्षिणी भेग नयाँ बानेश्वर कसरी बन्यो ? कुनै इतिहास छैन यसको। यहाँका पुराना बासिन्दाले जानेको र मानेको त बानेश्वर भनेपछि नयाँ सत्तल हो। बानेश्वर भनेपछि एउटा गुच्चा आकारको ठूलो चिप्लो ढुंगा रहेको ठाउँ भीमसेनगोला हो। पाँच पाण्डवमध्येका भीमसेन आएर बेलाबेलामा त्यो गुच्चा खेल्थे रे ! हाम्रा समकालीनहरूमा चाहिँ त्यो गुच्चा उचाल्ने पहलमान थोरै भए। भीमसेन गोलाभन्दा अझै दक्षिण सार्की गाउँ।
पुलिस चौकी, जुठे साहूको तिलौरी र तरकारी पसल रहने गरेको मूल बानेश्वरको नयाँ सत्तल अहिले कुन्नि कसको निजी घर बनेको छ। त्यो सत्तलको समानान्तर अलिपरको बानेश्वर हाइट भनिने डाँडाको थाप्लोमा रहेको सानो गौचरन तैपनि सुरक्षित छ। सत्तलबाट केही दक्षिण पिनास रोगले पीडितहरूको आस्थाको पिनास धारो अहिलेसम्म सुकेको छैन। त्यहाँबाट केही पर बानेश्वर ब्यारेक र ब्यारेकसँगै जोडिएको थापागाउँ चिनिन नसकिने भइसकेको छ।
बानेश्वरको जीवन यात्रामा सम्झिनैपर्ने केही नाम छन्। ठिमीबाट बानेश्वर बसाइँ सरेको साहिँलाले चार दशकअघि नै उच्चकोटीका रैथाने चिया पसलेहरूलाई चुनौती दिँदै चिया पसल खोलेर बानेश्वरको संस्कार नै बदलिदियो। त्यसको एक दशकपछि सिन्धुपाल्चोकको माम्खाबाट अवसरको खोजीमा शहर पसेको चिरञ्जीवी चौलागाईंले शर्मा स्टेसनरी पसल खोलेर बानेश्वरलाई भारतीय अखबार पढ्ने र राजनीतिलाई दूरगामी हिसाबले सोच्ने प्लेटफार्म बनाए। चिरञ्जीवीलाई हौस्याउनेमा दमन ढुंगाना पनि हुनुहुन्थ्यो। टोलका चियाचर्चामा दमनदाइको उपस्थिति नगण्य हुन्थ्यो र पनि बानेश्वर-बत्तीसपुतलीको विकासमा उहाँको भूमिका महत्त्वपूर्ण हुन्थ्यो।
घर-व्यवहारले पेलिएका चिरञ्जीवी केही समयपछि सूत्रधारका रूपमा समेत देखिन छाडे। उनले शुरू गरेको त्यो प्लेटर्फमलाई निरन्तरता दिए उनका भाइ चित्रले। त्यो प्लेटर्फम अहिले पशुपति पुस्तक पसलका नामले चर्चित छ। स्थानीय मानिसहरू भने बोलचालको भाषामा त्यसलाई चित्रको पसल नै भन्न रुचाउँछन्। अझ दुर्गाप्रसाद भण्डारी, पुरुषोत्तम बाँस्कोटा र वीरेन्द्र मिश्रजस्ता दिग्गजहरूको अखडाका रूपमा रहेको बानेश्वरको यो मुटुमा उहाँहरूको छातामुनि ओत लाग्ने हामीहरूलाई त चित्रेको पसल नभनेसम्म स्वाद नै आउँदैन।
केही समयदेखि चित्रको पसल गतिविधिशून्य छ। भण्डारीको वृद्धावस्था सबभन्दा खड्किएको छ। बौद्धिक हिसाबले एकअर्कालाई रिपुवत् सम्बन्धमा गाँस्ने भण्डारीका प्रिय लेखक खगेन्द्र संग्रौला त यता नदेखिएको लामै भयो। बाँस्कोटा र मिश्र पनि अलि ओइलाउन थाल्नुभएको छ। राजनीतिक दलको भन्दा पनि नेताहरूको चरत्रि-चित्रणमा कुख्यात मानिने केही अन्य युवा हस्ती नयाँ सरकारमा आफ्नो स्थान र समायोजनको खोजमा लागेको अनुमान गर्न सकिन्छ। गर्मी चढ्दै गएपछि जब बानेश्वरमा साँझ-बिहान मधुरम हुन थाल्छ, त्यसपछि जमघट बढ्दै जान्छ। अहिले त चित्र पनि पशुपति बुक्सलाई लेखक र विचारकहरूको एउटा स्वतन्त्र मञ्च बनाउन कम्मर कसेर लागेको छ। अर्को महिनासम्ममा नेपाली साहित्य र बौद्धिक संसारका 'अ'देखि 'ज्ञ' वर्णानुक्रमभित्र पर्ने सबै जातजातिका र सबै मौसममा फुल्ने सिर्जनाकारहरूका लागि कथा-कल्पको व्यवस्था गर्ने आशा राखेको छ उसले। कुमारी कम्प्लेक्सको बिजनेस डिस्टि्रक्टमा कफीका रंगीन पुष्पहरू पल्लवित हुने तरखरमा छन्। कश्मीरदेखि बंगलादेशसम्मका शरणार्थीहरूको आश्रयस्थल रहिसकेको बानेश्वरको बढ्दो र उर्लंदो भीडमा सिर्जनात्मक विद्रोहका लागि अझ प्रशस्त ठाउँ बाँकी छ।
साभार : नेपाल
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !