२ असार, काठमाडौं । एमाले संसदीय दलका नेता केपी शर्मा ओलीको उपचारमा राज्यले करिब एक करोड २६ लाख ३५ हजार रुपैयाँ खर्च गरेको छ । मन्त्रिपरिषद्को १९ बैशाखको बैठकले ओलीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको थियो ।
थाइल्यान्डको बैंककस्थित बुमरुनग्राड इन्टरनेसनल हस्पिटलमा ओलीको क्रिप्टोकोकल म्यानेन्जाइटिसको
उपचार गरिएको थियो । अर्थ मन्त्रालयका अनुसार उनको उपचारका लागि बैशाखमा ५९ लाख ९६ हजार र जेठमा ६६ लाख ३९ हजार एक सय ३७ रुपैयाँ निकासा भएको छ । अर्थ मन्त्रालयले ओलीको उपचारमा भएको खर्चको निकासा स्वास्थ्य मन्त्रालयलाई दिएको हो ।
त्यस्तै प्रधानमन्त्री सुशील कोइरालाको उपचार अमेरिकामा गर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ । उनको उपचारका लागि चाहिने खर्चको पेस्की प्रस्ताव अर्थ मन्त्रालयमा पुग्दै गरेको नयाँ पत्रिकामा खबर छ ।
त्यस्तै पूर्वगृहमन्त्री गोविन्दराज जोशीको स्वास्थ्य उपचार पनि राज्यले नै गरेको छ । दुई करोड १६ लाख भ्रष्टाचार गरेको अभियोग लागेका जोशीको सम्पूर्ण उपचार राज्यले नै गरेको हो ।
त्यस्तै सर्वोच्चका न्यायाधीश रामकुमारप्रसाद साहको उपचारमा पनि राज्यले ८० लाख रुपैयाँभन्दा बढी खर्च गरेको छ । उनी कार्यक्रममा सहभागी हुन बैंकक गएका बेला उतै बिरामी परेकाले उपचार पनि खर्चिलो भएको थियो ।
यता सर्वसाधारण भने सामान्य औषधि लिनबाट पनि बञ्चित हुने गरेका छन् । सरकारले उपलब्ध गराउने निःशुल्क औषधि पनि म्याद गुज्रेको मात्र पुग्ने गरेको छ ।
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !