आधुनिकतासँगै बढ्दो यौन गतिविधिलाई परम्परावादी नेपाली समाजले बडो असहजताका साथ पचाउन खोजिरहेको छ।
आवरणसहित मोडलिङ तस्वीरहरूः बिक्रम राई
मोडलः प्रनिशा सिलवाल र आशिष महर्जन
काठमाडौं, सुन्धाराको एक रेस्टुरेन्टमा लोकदोहोरी चलिरहेको छ। प्रायः सबै टेबुलका ग्राहकहरूसँग अर्धनग्न केटीहरू टाँसिएर बसेका छन्। मोलतोल चलिरहेको एउटा
टेबुलकी केटीले आफ्नो रेट बताउँछिन्, “मेरै फ्लाटमा जाने भए ५ हजार।”
ठमेलको एउटा डान्सबारमा १५/१६ वर्षका किशोरकिशोरीदेखि ५५/६० वर्षेहरूको खचाखच भीड छ। उत्तेजक हिन्दी गीतमा नाचिरहेका अर्धनग्न डान्सरहरूले बाहिरी पहिरन फाल्न थालेपछि उनीहरूलाई पानी र बियरले भिजाउन थालिन्छ। नर्तकीहरूले अन्त्यमा भित्री पहिरन समेत फ्याँकिदिंदा हल सुसेली र तालीले गुन्जायमान हुन्छ।
७ असार अपरान्ह तीन बजे मोटरबाइकमा भक्तपुर, जगाते नजिकैको एउटा गेष्ट हाउसमा आएको एक जोडीले प्रतिघन्टा रु.५०० का दरले दुई घण्टाका लागि कोठा मिलाए।
खुल्लमखुलाः राजधानीको ठमेलस्थित एक डान्सबारमा प्रस्तुत 'टपलेस' नृत्य।
नेपाली समाजलाई १०४ वर्ष 'अनुशासन' मा राखेका राणा शासकहरूको यौन गतिविधिका किस्साहरू २००७ सालपछि सर्वसाधारणले सुन्न थालेका थिए। काठमाडौंका सम्भ्रान्त वर्गमा सीमित त्यो 'खुल्लापन' २०४६ सालपछि भने सर्वसाधारणमा पनि भित्रिन थाल्यो। गत दुई दशकमा फस्टाएको उद्योग व्यापार, सूचनाप्रविधि, वैदेशिक रोजगारी र अरू किसिमका 'एक्सपोजर' हरूले नेपाली समाजलाई गतिशील बनाएसँगै खुल्लापनको भरपुर उपयोग हुन थालेको छ।
विभिन्न सेलिब्रेटीहरूको यौनजन्य व्यवहार सम्बन्धी सामग्री छापिएका पत्रपत्रिका र अनलाइनहरूको लोकप्रियतालाई मापदण्ड मान्ने हो भने त यौनको मामिलामा नेपाली समाज पूरै खुलेको देखिन्छ। जिल्ला जिल्लामा 'सेक्स टोय शप' हरू खुल्न थालेका छन्भने होटल–रेस्टुरेन्टदेखि कफी शपसम्ममा देखिने, सुनिने यौनका कुरा र गतिविधिले नेपाली समाजभित्रको गोप्य पाटोलाई छताछुल्ल बनाएको छ। (हे. देहव्यापारको छुट्टै रिपोर्ट र फोटो फिचर) गर्लफ्रेण्ड–ब्वाईफ्रेण्ड बनाउने र 'नाइट स्टे' गर्नेदेखि लिभिङ टुगेदरसम्मका चलन नेपाली शहरको जीवनशैली बनिसकेको छ। यसरी ह्वात्तै बढेको यौन गतिविधिमा मोबाइल फोन र इन्टरनेट प्रविधिको ठूलो भूमिका छ।
गएको फागुन अन्तिम साता हिमाल ले राजधानीसहित देशका ठूला १२ शहरमा गरेको सर्वेक्षणमा ६० प्रतिशत उत्तरदाताले यौनमा समाज उदार बन्दै जानुमा इमेल–इन्टरनेट र मोबाइलको मूल भूमिका रहेको बताएका थिए। सर्वेमा सहभागीमध्ये ५८ प्रतिशतले पत्र–पत्रिकामा सबभन्दा पहिले यौन सामग्रीमा आँखा जाने बताएका थिए भने ५० प्रतिशतले 'रेडलाइट एरिया' को आवश्यकता औंल्याएका थिए। (हे. बक्सः यौनमा सबैको चासो)
उदार कि असहज
अघोषित 'रेडलाइट' काठमाडौंको रत्नपार्क आसपासमा यसरी ग्राहक कुरेर बस्ने महिला यौनकर्मीलाई कण्डम बाँड्दै तारादेवी खड्का।
पहिले कण्डमको विज्ञापनमा परिवार नियोजनको अस्थायी साधन भनिन्थ्यो, अहिले 'सेफ सेक्सको लागि कण्डम' भनिन्छ। मानवशास्त्री ढकाल 'सेफ सेक्स' का विभिन्न उपायदेखि २४ घण्टाभित्र खाने चक्कीसम्मका विज्ञापनले 'मन मिले जोसँग पनि यौन सम्बन्ध राखे हुन्छ' भन्ने सन्देश दिइरहेको र त्यो आपत्तिजनक हुन छाडेको बताउँछन्। ढकालको विचारमा, समाजले यतिका कुरा स्वीकारिसकेपछि नीतिनिर्माताहरूले कथित नैतिकताको पाखण्ड छाडेर यौन गतिविधिको व्यवस्थापनमा ध्यान दिनु उपयुक्त हुन्छ।
मस्तीः पर्यटकीय शहर पोखरामा भएको विकिनी डान्स पार्टी।
तीन महीनाअघि काठमाडौंको एउटा प्लस टुका शिक्षकले ८ कक्षाका ६ छात्रछात्रालाई नजिकैको साईबर क्याफेमा पोर्न साइट हेरिरहेको अवस्थामा भेट्टाए। त्यो समूहलाई एञ्जिला (नाम परिवर्तन) ले त्यहाँ लगेको थाहा भएपछि कलेज प्रशासनले उनका अभिभावक बोलाएर 'काउन्सिलिङ' गराउन सल्लाह दियो। तर, १४ वर्षकी एञ्जिला आफूले कुनै गल्ती नगरेकोमा दृढ छिन्। “त्यस्तो साइट सबैले हेर्छन्, हामीले हेर्दा के भो त?” उनको भनाइ छ। यसले समाजभित्रको एउटा पुस्तामा गलत 'जजमेन्ट' र जिद्दी हावी हुन लागेको संकेत गर्छ।
अहिलेका आमाबुबाले छोराछोरीको 'प्राइभेसी' लाई महत्व दिन थालेका छन्। 'कुमारीत्व' को कुरा 'सेफ सेक्स' मा आइपुगेको छ।
डिल्लीराम दाहाल, समाजशास्त्री
मनोविज्ञ डा. पाठक इन्टरनेटबाट रातभर 'पोर्न' साइट हेर्ने र ब्वाईफ्रेण्ड–गर्लफ्रेण्डसँग 'सेक्स च्याट' गर्ने कुलतमा फँस्नेको संख्या पनि नजानिंदोगरी बढिरहेको बताउँछिन्। अभिभावकहरूले नयाँ पुस्ताको हातहातमा मोबाइल र ल्यापटप थमाइदिंदा प्रविधिको दुरुपयोग बढेको बताउने डा. पाठक आफ्ना छोराछोरी बिहान ढीला उठ्न थाले भने अभिभावकहरू चनाखो हुनुपर्ने सुझाव दिन्छिन्।
विभिन्न सामाजिक गतिविधिमा संलग्न रिन्छेन योञ्जन बिभिन्न किसिमका टेलिभिजन च्यानल र इन्टरनेटका कारण आधुनिकताभन्दा पनि उत्ताउलोपन बढेको बताउँछिन्। घरपरिवार र विद्यालयमा यौनबारे खुलेर छलफल हुन अझै बाँकी रहेको र मार्गनिर्देशनको अभावमा उच्छृङ्खलता र आधुनिकता छुट्याउन नसक्दा समस्या आएको उनको भनाइ छ। “२०६०/७० को दशकमा काठमाडौंमा झयालबाट हेराहेर गरेर मन परापर हुनुलाई प्रेम भनिन्थ्यो”, योञ्जन भन्छिन्, “अहिले त पहिले डेटिङ र सेक्स अनि मात्र मन परे लभ अनि बिहे नभए, अर्को पार्टनरको खोजी गर्ने प्रवृत्ति देखिएको छ।”
सोच र मोज नामक पुस्तकका लेखक समेत रहेका पर्यटन व्यवसायी कर्ण शाक्य पहिले पुरुषहरूलाई मात्रै भएको खुल्लापनमा अहिले महिला पनि थपिएको बताउँछन्। उनका अनुसार, छोरीलाई एक्लै घरबाहिर जान नदिने समाजले बिहे गर्ने वेला हुँदा 'तिम्रो ब्वाईफ्रेण्ड' छ, छैन? भनेर सोध्न थालेको छ। “यो राम्रो विकास हो, तर यही विन्दुमा नेपाली समाज र खासगरेर नयाँ पुस्तामा अलमल देखिएको छ”, शाक्य भन्छन्, “यो समस्यालाई शिक्षा र सुसंस्कारबाट न्यून गर्नुपर्छ।”
समाजमा अब 'सेक्स' गुपचुप र रहस्यको विषय रहेन, तर आधुनिकता र खुलापन भनेको नाङ्गै दौडिनु होइन।
सुरेश ढकाल, मानवशास्त्री
दुई वर्षअघि ७ जोडी स्कूले केटाकेटीले नवलपरासीमा 'किस प्रतियोगिता' गरेको ८ मिनेट लामो भिडिओ अझै पनि केही अनलाइन, साइट र कतिपयका मोबाइलमा पाइन्छ। आफूलाई परिवार र समाजप्रति जिम्मेवार ठान्ने जो कोहीलाई १४–१६ वर्षका ती केटाकेटीले अर्धनग्न अवस्थामा देखाएको चर्तिकलाले सोच्न बाध्य बनाउँछ। मोबाइलको दुरुपयोग गर्दै खिचिएका यस्ता भिडियोहरूले धेरैको घरबार र 'करिअर' चौपट बनाएको पनि छ।
नेपाली समाज तीन पुस्ता (हजुरबा–हजुरआमादेखि नाति–नातिनासम्म) को सोच बोकेर गतिशील भइरहेको छ। यस्तो अवस्थामा बढेको खुल्ला यौन व्यवहारले घर र समाजको पिंढीबीच द्वन्द्व बढाएको प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजेन्द्रसिंह भण्डारी बताउँछन्। हुन पनि, नेपाली समाज र परिवारमा पुरानो काइदा–कानूनका हिमायतीहरूको काखमा हुर्केकाहरू नै अहिले समलिङ्गी र लेस्वियनसम्मका यौन सम्बन्धलाई सामान्य मान्ने भएका छन्। यसबाट अघिल्लो पुस्ता स्तब्ध भएको डीआईजी भण्डारी बताउँछन्। “विभिन्न यौन काण्ड मच्चाउने सेलिब्रेटीहरूले सस्तो प्रचारका लागि यौन सम्बन्धका अनुभव मिडियाबाट प्रचार गर्दा पछिल्लो पुस्तालाई विकृत र अघिल्लो पुस्तालाई स्तब्ध पारिरहेको छ”, भण्डारी भन्छन्।
खुल्ला कि छाडापन
सिने हिरोइन प्रियंका कार्कीले 'डाइनिङ टेबलमा सेक्स गर्दा बढी आनन्द आउने' आफ्नो यौन अनुभव एउटा साप्ताहिक पत्रिका मार्फत सार्वजनिक गरिन्। त्यसअघि मोडल स्मिता थापाले 'मलाई लोग्ने हैन, लोग्नेमान्छे भए पुग्छ' भन्दै 'हट' अन्तर्वार्ता दिएकी थिइन्। चर्चामा आउन गरिने यस्ता 'पब्लिसिटी स्टन्ट' हरूले मिडियामा राम्रो ठाउँ पाउने गरेको छ। “सही र गलत छुट्याउन नसकेर बोलेको यस्ता 'स्टुपिड' कुराहरूलाई मिडियाहरूले मसला बनाउँछन्”, मानवशास्त्री ढकाल भन्छन्, “तर, आधुनिकता र खुलापन भनेको नाङ्गै दौडिनु होइन।”
खुला यौन गतिविधिलाई नै आधुनिकता ठान्ने एउटा पुस्ता भने समस्याको रूपमा देखिंदैछ।
डा. गंगा पाठक, मनोविज्ञ
छोरीलाई एक्लै घरबाहिर जान नदिने समाज अहिले बिहे गर्ने वेलामा 'ब्वाईफ्रेण्ड' छ, छैन सोध्न थालेको छ।
कर्ण शाक्य, लेखक
समाज आधुनिकतातिर लम्के पनि चेतनास्तर नबढ्दा यस्तो छाडापनले प्रश्रय पाएको ठान्ने ढकाल नयाँ पुस्ताले आधुनिक जीवनशैलीको अवसर पाएको, तर त्यस अनुसारको संस्कार विकास नहुँदा 'सेक्स', फेशन र मस्तीलाई नै जीवन ठान्ने प्रवृत्ति देखिएको बताउँछन्। छोराछोरी अस्वाभाविक रूपमा खर्चालु र उन्मुक्त भएको देख्दादेख्दै पनि बाबुआमाले नियन्त्रण गर्न नसक्नुलाई शहरीकरणको एउटा प्रवृत्ति भन्ने समाजशास्त्री दाहाल आधुनिकताको नाममा बिहे नगरी सँगै बस्नेहरू बच्चा जन्मिएर समस्यामा पर्नुलाई चेतनाहीनताको उदाहरण मान्छन्।
पैसाको लागि जे गर्न पनि तयार हुने, बूढाबूढीको अनादर गर्ने, सानै उमेरमा बिहे गरेर जोडी फेर्दै हिंड्ने प्रवृत्तिलाई आधुनिकता ठान्ने जमातप्रति चिन्तित पत्रकार किशोर नेपालले प्लस टु पुस्तालाई सही 'काउन्सिलिङ' को खाँचो रहेको बताए। छोराछोरी ढीलो घर फर्कन थाल्दा उनीहरू 'मोर्डन' भएको नसोच्न नेपालको सल्लाह छ। (हे. बक्स)
महानगरीय अपराध अनुसन्धान महाशाखा, हनुमानढोकाका प्रहरी नायब उपरीक्षक (डीएसपी) ओम अधिकारी स्कूले उमेरमै प्रेमी–प्रेमिका बन्ने र बिहे नगरी सँगै बस्ने चलनले छाडापन मात्र होइन, अपराध पनि बढाएको बताउँछन्। खुल्लापनसँगै देखिन थालेको जथाभावीले राजधानी लगायतका शहरहरूमा यौनको किनबेच बढाएको डीएसपी अधिकारीको भनाइ छ। प्रहरीले वेलावेला होटल, गेष्ट हाउसहरूमा छापा मारेर 'आपत्तिजनक अवस्थामा फेला परेको' भन्दै जोडीहरूलाई समात्ने पनि गरेको छ, तर यौन गतिविधि हुने भाडाका निजी घर, अपार्टमेन्ट र तारे होटलहरूमा प्रहरीको पहुँच छैन।
काठमाडौं लगायतका शहरहरूका निजी घर, तारे होटल र अपार्टमेन्टहरूमा हुने यौन धन्दामा नेपाली केटी मात्र होइन, चिनियाँ र रसियन 'कल गर्ल' सम्म संलग्न छन्। महानगरीय प्रहरी कार्यालय, हनुमानढोका काठमाडौंमा रहँदा आफूले ठमेल क्षेत्रमा सक्रिय रसियन 'कल गर्ल' हरूलाई कारबाही गरेको बताउने उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र श्रेष्ठ राजधानीमा यौन कारोबार नियन्त्रणको साटो फैलँदै गएको बताउँछन्।
पहिले डेटिङ र सेक्स अनि मन परे लभ/बिहे नभए, अर्को पार्टनर खोज्ने प्रवृत्ति देखिएको छ।”
रिन्छेन योञ्जन, सामाजिक अभियन्ता
एउटै परिवारमा तीनवटा फरक पुस्ता रहेको समाजमा बढेको खुल्ला यौन व्यवहारले घर र समाजको पिंढी बीच द्वन्द्व बढाएको छ।
राजेन्द्रसिंह भण्डारी, डीआईजी
मानवशास्त्री ढकाल उमेर पुगेका दुई व्यक्तिबीचको राजीखुशी यौन सम्पर्कले समाजलाई कुनै असर नगर्ने, तर यौनको किनबेचलाई त्यही नजरले हेर्न नमिल्ने बताउँछन्। उनको भनाइमा, यौनको किनबेचलाई व्यवस्थापन गर्नुको विकल्प नभएको उनी बताउँछन्। “तर, वेश्यावृत्ति मज्जाले चलिरहे पनि यहाँ 'रेडलाइट एरिया' स्वीकार्य भएको छैन”, ढकाल भन्छन्, “हामीलाई भित्र खोक्रिए पनि बाहिर नैतिकवान देखिनु जो छ।”
विकृतिको बिस्कुन!
राजधानीमै सरकारी जागीरे रहेका एक युवकले अर्कैसँग बिहे गरेकी प्रेमिकालाई तनाव दिन पहिले सँगै खिचाएका निजी तस्वीरहरू पटक–पटक फेसबुकमा राखिदिए। त्यो उजुरीमा अनुसन्धान गरिरहेका महानगरीय अपराध महाशाखा, हनुमानढोकाको साइवर सेलका इन्स्पेक्टर पशुपति राय ती फोटोहरूका कारण युवतीको घरबार भाँडिइसकेको बताउँछन्। हिजोआज फेसबुकमा अन्तरंग सम्बन्धका तस्वीर वा भिडियोहरू राखेर कानूनी कारबाहीमा पर्ने, पढाइ, जागीर वा वैवाहिक सम्बन्ध बिगार्नेको संख्या निकै बढेको इन्स्पेक्टर राय बताउँछन्।
'समाज नै ढोंगी छ'
नेपाली समाज दोहोरो चरित्रमा रमाउन खोज्छ। होटल खोल्न दिइन्छ, तर कोही त्यहाँ जोडी लिएर सुत्न गयो भने समातेर जात्रा गरिन्छ। नेपालको कर्मचारीतन्त्र, नेता र अरू सबै रुढिवादी छन्। सरकार समलिंगी अधिकार दिन्छ, तर 'रेडलाइट एरिया' तोक्दा बर्बाद हुने ठान्छ। छोराछोरी राति अबेर घर आउँदा उनीहरू 'मोडर्न' भए भनिठान्ने बाबुआमा पनि यहीं छन्।
काठमाडौंमा 'वाइफ स्विपीङ' (श्रीमती साटासाट) गर्नेहरू उहिल्यैदेखि थिए। राणा, शाह घरानियाँहरू अमेरिकाबाट 'प्ले ब्वाई', 'पेण्ट हाउस' जस्ता पत्रिका मगाएर हेर्थे। समाजको एउटा वर्गले डलरमा किनेर पढिरहेको सामग्रीलाई मैले साप्ताहिक र शुक्रबार मार्फत आम समूहमा पुर्याउँदा धेरैले 'अश्लील' भने, अझै भन्छन्। तर, त्यसो भन्नेहरूकै घरमा एउटा अंक चार प्रति पुग्छ। बाबु, आमा, छोरा र छोरी सबैले किनेर पढ्ने यी पत्रिका निकै लोकप्रिय भएका छन्।
१२ शहरको सर्वे
यौनमा सबैको चासो
नेपाली समाज यौनका विषयमा उदार बन्दै जानुमा ३२.६ प्रतिशतले मोबाइल फोन र ३१ प्रतिशतले इमेल इन्टरनेटको मुख्य भूमिका रहेको बताए भने २०.६ प्रतिशतले पत्रपत्रिका र टेलिभिजनलाई कारक माने। इन्टरनेटलाई कारक भन्नेमा १८ देखि २४ वर्ष उमेर समूहका ४०.२ प्रतिशत छन्। ६० वर्षमाथि ४५ प्रतिशतले मोबाइल फोनलाई समाजलाई खुला बनाउने कारक मानेका छन्। तपाईं यौन सम्बन्धी कोसँग खुलेर कुरा गर्नुहुन्छ? भन्ने प्रश्नमा ५९ प्रतिशतले साथीसंगीसँग भन्ने जवाफ दिए। साथीसंगीसँग यौनका कुरा गर्नेमा १८–२४ वर्ष उमेर समूहका ७१.३, २५–३९ वर्ष उमेर समूहका ६७.६ र ४०–५९ उमेर समूहका ४९.५ प्रतिशत देखिए।
टोल, छिमेकमा यौन सम्बन्धबारे बढी उदार (गर्लफ्रेण्ड/ब्वाईफ्रेण्ड बनाउने र यौनसम्बन्ध राख्ने, विवाहेत्तर सम्बन्धमा लाग्ने) मान्छे कत्तिको देख्नुभएको छ? भन्ने प्रश्नमा ५२.७ प्रतिशतले अलि अलि देखेको र २०.९ प्रतिशतले धेरै देखेको बताए भने ५०.५ प्रतिशतले समाजले खुल्ला यौन गतिविधिलाई सहज रूपमा नलिएको, ३२.४ प्रतिशतले सहज रूपमा लिन थालेको बताए। १८ देखि २४ वर्ष उमेर समूहका ५६.३ प्रतिशत र २५–३९ उमेर समूहका ५२.८ प्रतिशतले नेपाली समाज अझै परम्परागत रहेको बताए।
प्रहरीले होटलमा छापा मारेर यौनकार्यमा संलग्न भन्दै जथाभावी पक्राउ गर्नुलाई ३४.८ प्रतिशतले विकृति रोक्ने प्रयासका रूपमा लिए भने २१.४ प्रतिशतले नागरिकको व्यक्तिगत अधिकारको हनन्को रूपमा अर्थ्याए। यसैगरी, १३.६ प्रतिशतले यसलाई प्रहरीको मनपरी भने। सर्वेमा सहभागी ५०.४ प्रतिशतले नेपालमा अलग्गै 'रेडलाइट एरिया' आवश्यक भइसकेको बताए, जसमा पुरुष ५९.१ प्रतिशत र महिला २८.९ प्रतिशत छन्। यसैगरी, २०.६ प्रतिशतले 'रेडलाइट एरिया' लाई अनावश्यक भने। 'रेडलाइट एरिया' आवश्यक ठान्नेमा १८–२४ वर्ष उमेर समूहका ५० प्रतिशत छन्। ६० वर्षभन्दा माथिका ७२.२ प्रतिशत उत्तरदाताले 'रेडलाइट एरिया' तोक्न ढीलो भइसकेको बताए।
डम्बरकृष्ण श्रेष्ठ
साभार : हिमाल साप्ताहिक

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !