अहिले सुवास आफैंले चलचित्र निर्माण गरेका छन्- बिर्खेलाई चिन्छस्। श्रीकृष्ण श्रेष्ठको चलचित्र 'कोहिनूर' ले पुराना सबै रेकर्ड भंग गरिरहेको बेला ँबिर्खे’ हलहरूमा लागेको छ। कोहिनूरको सफलतासँगै केही चलचित्रले प्रदर्शन मिति सारेका छन् भने केही कोहिनूरको सफलताको चेपुवामा परेका छन्। यही बेला निकै आशा गरिएको चलचित्र बिर्खे रिलिज भएपछि यो चलचित्रलाई पनि कोहिनूरको सफलताले किच्ने हो कि भन्ने चिन्ता बढेको छ। यही मेसोमा साप्ताहिकले वर्तमान नेपाली चलचित्रले भोगिरहेको अवस्था, चलचित्रले कोर्ने नयाँ गोरेटो, सुवास थापाको कलाकारिता एवं उनको व्यक्तिगत जीवनको पाटो पनि खोतल्ने प्रयास गरेको थियो।
चलचित्र हलहरूबाट श्रीकृष्ण श्रेष्ठको कोहिनूर’ उत्रने छाँटकाँट छैन। यस्तो अवस्थामा तपाईंले आफ्नो चलचित्र हलमा लगाउनुभयो, डर लागेको छैन ?
कोहिनूर श्रीकृष्ण श्रेष्ठको ड्रिम प्रोजेक्ट थियो। उहाँले दर्शकलाई राम्रो चलचित्र दिन्छु भनेर ठूलो लगानीमा उक्त चलचित्र बनाउनुभएको थियो। चलचित्र हेर्दा पनि उहाँको असल नियत प्रस्ट देखिन्छ। नेपाली चलचित्र यो स्तरमा सफल हुनु हामी सबैका लागि खुसीको कुरा हो। मेरो पनि नियत सफा छ। मैले पनि राम्रो चलचित्र दिऊँ भनेर लगानी गरेको हुँ। चलचित्र राम्रो पनि बनेको छ। अब मेरो काम सकियो। दर्शकले चलचित्र हेर्ने बित्तिकै यो कुरा छुट्टयाउनुहुन्छ। त्यसैले डर लागेको छैन।
अरू निर्माताजस्तै चलचित्र सफल हुन्छ भन्ने भ्रममा हुनुहुन्छ ?
म भ्रममा छैन। सफल बनाउने-नबनाउने कुरा दर्शकको हातमा छ। मलाई यति थाहा छ, मेरो चलचित्र राम्रो बनेको छ, समीक्षक एवं नेपाली चलचित्र राम्रो बन्नुपर्छ भन्ने धारणा राख्नेहरूले मलाई स्याबासी दिनुहुन्छ। म रंगमञ्चबाट आएको मान्छे भए पनि चलचित्रलाई नाटकजस्तै बौद्धिक हुनबाट जोगाएको छु र आमदर्शकलाई सम्बोधन गरेको छु। जसले हेर्नुहुन्छ, उहाँहरूले नेपाली माटोको सुगन्ध महसुस गर्नुहुन्छ।
सबैले राम्रो चलचित्र बनाएको दाबी गर्नुहुन्छ, तैपनि दर्शक निराश हुने गरेका छन् ?
हामी त्यो समयमा छौं, जहाँ हामीले हलिउड, बलिउड, इरानी, कोरियाली जुनसुकै चलचित्र हेर्न पाउँछौं। हामी इन्टरनेट, डिभिडी र हलमार्फत सजिलै अन्तर्राष्ट्रिय चलचित्रको पहुँचमा छौं। दर्शकलाई संसारका सारा चलचित्रका सम्बन्धमा जानकारी छ। नेपाली चलचित्र हेर्न किन जाने यसको कारण प्रस्ट नपारुन्जेलसम्म उहाँहरू किन हलमा जाने ? कतिपय राम्रा चलचित्र पनि सफल नहुनुमा दर्शकसम्म पुग्न नसक्नु हो। हाम्रो समाजमा कलाकारहरूको ठूलो क्रेज छ भन्ने कुरा त श्रीकृष्ण श्रेष्ठको मृत्युमा रुने हजारौं दर्शकको आँसुबाट थाहा भैसकेको छ। कमजोरी रहरले चलचित्र बनाउने र चलचित्रको व्याकारण नै परिवर्तन गरेर नयाँ शैलीमा काम गर्छु भन्ने प्रयागवादीहरूबाट भएको छ।
खुला बजारमा चलचित्र बनाउँछु भन्ने मानिसलाई रोक्न सकिँदैन। धेरै चलचित्र रहरले बनिरहेको सन्दर्भमा यसलाई कसरी व्यवस्थित गर्ने ?
जब मानिस लोभमा पर्छ, त्यहीँ गडबडी हुन्छ। जुन बेला मैले चलचित्र बनाउने निर्णय गरें, केही लगानीकर्ता पैसा हाल्छौं भन्दै आउनुभएको थियो। मैले उहाँहरूको पैसा लिन चाहिनँ, आफैं रिस्क लिएँ। उहाँहरूको पैसाको लोभ गरेको भए, मुर्गा फस्यो भन्ने हिसाबले काम गर्थें, न त राम्रो चलचित्र बन्थ्यो न त राम्रो सन्देश नै जान्थ्यो। हामी कलाकार एवं निर्देशकहरूले मुर्गा फसाउने काम मात्र रोक्ने हो भने पनि हाम्रो यति धेरै बद्नामी हुँदैनथ्यो।
प्रयोगवादीहरूका कारण पनि नेपाली चलचित्र राम्रो हुन सकेन भन्नुभयो, चलचित्र जस्तो कला विधामा प्रयोग आवश्यक छैन ?
हामी यस्तो समयमा छौं, जहाँ भएका दर्शकलाई भड्काउनु हुँदैन। जसले राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ र रेखा थापाहरूको चलचित्र मन पराउँछन्, उनीहरू नै हाम्रा मुख्य दर्शक हुन्। म बौद्धिक वर्गका मात्र, मल्टिप्लेक्सका दर्शक मात्र तान्छु भन्ने भ्रममा बस्नु हुँदैन। बरु त्ाी दर्शक पनि तान्ने र बौद्धिक वर्गलाई पनि समेट्नेबीचको बाटो समाउनुपर्छ। हाम्रो स्वभाव कस्तो छ भने गणतन्त्र आयो भनेर राजाको सालिक तोड्ने र इतिहास मेटाइदिने अनी सालिक तोडेको ठाउँमा इतिहास नै नभएका मान्छेलाई राखिदिने। यसले हामीलाई बिगारेको छ। नेपाली चलचित्रमा यही संस्कार पसेको छ। यसले पनि अप्ठ्यारो पारेको हो।
कस्तो हुनुपथ्र्यो त ?
पहिलेको काल्पनिक र हावादारी चलचित्रलाई यथार्थ र नेपाली परिवेशमा ल्याउने तर त्यसको व्याकरणचाहिँ परिवर्तन नगर्ने। कम्तीमा दुई घण्टा म आफ्नै परिवेशको कथा हेरिरहेको छु, आफ्नै पात्रसँग छु भन्ने भावना आउनुपर्छ।
तपाईं रंगमञ्चबाट आएको कलाकार, चलचित्र र रंगमञ्चबीच केही सीमारेखा हुनुपर्छ भन्ने धारणा राख्नुहुन्छ ?
चलचित्र चलचित्रजस्तै हुनुपर्छ। नाटक नाटकजस्तै हुनुपर्छ। नेपाली दर्शकहरूमा दक्षिण एसियाली चलचित्रको स्वाद बसेको छ। त्यहाँ प्रेम हुन्छ, द्वन्द्व हुन्छ। यसलाई अहिले नै तोड्न खोजे पुराना दर्शक आउँदैनन्, नयाँले धान्न सकिँदैन। नाटकमा तपाईं जति पनि प्रयोग गर्न सक्नुहुन्छ, तर चलचित्रको व्याकरण नै परिवर्तन गर्छु भन्ने भ्रम पाल्नु हुँदैन।
हरेक मानिस कलाक्षेत्रमा आउनुको विशेष कारण हुन्छ, तपाईं किन आउनुभयो ?
किन आएँ, ठ्याक्कै भन्न सक्दिनँ। म काँठको मान्छे अहिलेको सन्दर्भमा भन्दा सम्पन्न परिवारको मान्छे हुँ। अरू अभिभावकले जस्तै मेरा बुवा मलाई इन्जिनियर बनाउन चाहनुहुन्थ्यो, तर म त्यसमा रमाउन सकिनँ। साहित्य र चलचित्र रुचाउने भएकाले मलाई मानवीकी विषय नै मन पर्यो। त्यही भएर विज्ञान छाडेर साहित्य पढ्न थालें। राष्ट्रिय नाचघरमा गएर तालिम लिएँ। सायद म कलाकार नै हुन लेखिएको थिएँ।
कुनै मानिस कतै ठोक्किनुको कारण हुन्छ, कलामा ठोक्किनुको कारण के थियो भन्ने लाग्छ ?
नाचघरमा तालिम लिँदा नाट्यकर्मी तथा मेरा गुरु सुनिल पोखरेलले भन्नुभएको थियो, 'हरेक मान्छेलाई लाग्छ, संसार उसको केन्द्रमा घुमेको छ। हरेकले के मान्छ भने म विशेष मानिस हुँ, तर मानिस जतिसुकै ठूलो होस्, ऊ नभए पनि संसारमा केही फरक पर्दैन। संसार मेरो केन्द्रमा छ भन्ने मान्नु ठूलो भ्रम हो।' यो कुराले मलाई यति धेरै छोयो कि आजपर्यन्त म यसको उत्तर खोजिरहेको छु। म किन केन्द्रमा छैन, केन्द्रमा हुने प्रयासमा छु।
तपाईंको प्रेमविवाह हो क्यारे, कसरी विवाह गर्नुभयो ?
नाटकको तालिम लिँदा विनिता खड्का पनि मसँगै तालिम लिन्थिन्। उनीसँगै प्रेम भयो। ममा आफू बेरोजगार तर सम्पन्न व्यक्ति हुँ भन्ने भ्रम थियो तर जब उनीसँग विवाह गर्ने कुरा आयो, उनका अभिभावकले मलाई छोरी दिन मान्नु भएन। मलाई बेरोजगार, कुनै भविष्य नभएको भन्नुभयो। त्यति बेला पो मलाई थाहा भयो, मजस्तो गरिब कोही रहेनछ।
केही पछि तपाईंको नाम अर्की युवतीसँग जोडियो। तपाईंको डिभोर्स हुनेसम्मका कुरा सुनियो। कसरी मिल्नुभयो ?
विवाहपछि मैले घर छाडें। हामी रुख्खा-सुख्खा खाएर संघर्ष गर्न थाल्यौं। हामीले बुवाको सम्पत्ति नलिने र आफै केही गर्ने निर्णय गर्यौं। यसमा बिनिताले ठूलो साथ दिइन्। जब सफलता हात लाग्न थाल्यो, म अर्कै युवतीको आकर्षणमा फसें। वास्तवमा म सफलताले मात्तिन थालेको रहेछु। त्यो बेला उनले मलाई यति प्रेमपूर्वक जीवन र प्रेम सम्झाइन् कि मैले आफ्नो गल्ती महसुस गरें। त्यो बेला मैले उनको खुट्टा समाएर माफी मागें।
अहिले बिनिताजी पनि बिर्खेलाई चिन्छेस्मा कलाकार हुनुहुन्छ क्यारे। के सोच्नुहुन्छ ?
उनी कति ठूलो कलाकार हुन् भन्ने कुरा चलचित्र हेरेपछि थाहा हुन्छ। यस्ती युवतीलाई मैले १० वर्ष घरमा राखें। सफलतामा मात्तिएर अरूसँग सम्बन्ध बनाएर हिँडे। उनले मलाई माफी दिइन् र यो बाटोमा लगाइन्। आज सोच्छु, मेरो ठाउँमा उनले सम्बन्ध बनाएर हिडेको भए म के गर्थे ? सायद म माफी दिन्नथें। उनको बद्नामी गर्थें। सम्भवत: नारीशक्ति भनेको यही हो। महिलाहरू महान् हुन्छन् भन्ने कुरा सुनेको मात्र थिएँ, अहिले आफैंले महसुस गरिरहेको छु।
साभार : साप्ताहिक
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !