सुन तस्करीका निम्ति पाँच तहमा संगठित गिरोह गत पुसमा समातिनुलाई ‘ठूलो उपलब्धि’ मान्दै महानगरीय प्रहरी अपराध महाशाखाले ‘अवैध स्वर्ण धन्दाको शक्तिशाली सञ्जाल तोडेको’ दाबी गर्यो । साथै, प्रहरीले समात्ने र राजस्व तथा भन्सारले धरौटीमा छाड्ने क्रमलाई तोड्दै संगठित अपराधको कसुरमा कडा सजाय दिने गरी अनुसन्धान र मिसिल तयार गर्यो । तर, प्रहरीको दाबी पानीको फोकासरह भइदियो ।
पर्याप्त प्रमाण नपुगेको भन्दै सरकारी वकिलको कार्यालय, काठमाडौँले संगठित अपराधमा मुद्दा दर्ता नगरेपछि सबै आरोपी २० वैशाखमै जेलमुक्त भइसकेका छन् । मुलुक भूकम्पको पीडामा परेको अवसर छोपेर सरकारी वकिलको कार्यालयले महानगरीय प्रहरी परिसर, काठमाडौँलाई वस्तुनिष्ठ प्रमाण
नभेटिएको र संगठित अपराधमा मुद्दा चलाउन नसकिने भन्दै हाजिरी जमानीमा थप अनुसन्धान गर्ने बेहोराको पत्र काटेको छ । पत्रसँगै गिरोहका प्रमुख बालकृष्ण अग्रवाल, सावरमल जोधानी र आकाशकुमार बज्राचार्यको गिरोहले संगठित अपराधको कडा सजायबाट उन्मुक्ति पाएको छ ।पर्याप्त प्रमाण नपुगेको भन्दै सरकारी वकिलको कार्यालय, काठमाडौँले संगठित अपराधमा मुद्दा दर्ता नगरेपछि सबै आरोपी २० वैशाखमै जेलमुक्त भइसकेका छन् । मुलुक भूकम्पको पीडामा परेको अवसर छोपेर सरकारी वकिलको कार्यालयले महानगरीय प्रहरी परिसर, काठमाडौँलाई वस्तुनिष्ठ प्रमाण
यो गिरोहबाट बरामद सात किलो सुनको तत्कालीन बजारमूल्य ३ करोड ३३ लाख ४० हजार २ सय ७० रुपियाँ थियो । गिरोहका सदस्यबीचको कल डिटेल रेकर्ड (सीडीआर)ले समेत अवैध कारोबारको पुष्टि भएको थियो । साथै, गिरोहबाट प्रहरीले स्रोत नखुलेको ४ करोड ७४ लाख ६२ हजार २ सय ३० रुपियाँ, करिब दुई लाख भारतीय रुपियाँ र ४ हजार ६ सय चिनियाँ युआनसमेत बरामद गरेको थियो ।
मध्यस्थकर्ता मोहन चौधरीले चीनको खासाबाट ल्याएको चार किलो सुन अग्रवाल र जोधानीको भएको बयान प्रहरीलाई दिएका थिए भने अर्को एक किलो बज्राचार्यको भएको खुलेको थियो । फरक–फरक भूमिकामा गिरोहले एक दशकदेखि संगठित तवरले तिब्बतबाट नेपाल सुन ल्याउने र केही सुन नेपाली बजारमै खपत गरेर भारतीय बजारमा पठाउने गरेको प्रहरी अनुसन्धानबाट
खुलेको थियो ।
सरकारी वकिल कार्यालयका प्रमुख कृष्णजंग शाह प्रहरीसँग छलफल गरेरै यस्तो निर्णय भएको दाबी गर्छन् । भन्छन्, “यसमा धेरै व्याख्या र विश्लेषण भएका छन् । प्रहरीसँग हामी निकै लामो छलफलमा बस्यौँ र यस्तो निर्णयमा पुगेका हौँ । अनुसन्धान नटुंगिएकाले थप टिप्पणी गर्न मिल्दैन ।”
अवैध सुन, विदेशी मुद्रा, स्रोत नखुलेको रकम, अभियुक्तहरूको बयान, गिरोहका सदस्यहरूको भूमिका र उनीहरूको कनेक्सनलाई दसी, प्रमाण राखेको थियो । तर, यसलाई सरकारी वकिलको कार्यालयले अपर्याप्त ठान्यो । संगठित अपराधका मुद्दामा सजाय भए यो नजिरबाट सुनको अवैध धन्दामा ठूलो असर पुग्न सक्थ्यो । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कमलसिंह बम भन्छन्, “यो विषयले सुन तस्करीमा दूरगामी असर पार्न सक्थ्यो । अवैध कारोबारीका लागि यो ठूलो चुनौती बन्नेवाला थियो ।” ‘अक्टोपस अपरेसन’ नाम दिएर गिरोह समात्न प्रहरीले चार महिना समय र झन्डै पाँच लाख रुपियाँ खर्चिएको थियो ।
सुन तस्करीमा संलग्न व्यक्तिहरूलाई पहिलोपटक प्रहरीले संगठित अपराध निवारण ऐन अनुसार कारबाहीका लागि मुद्दा चलाउने प्रयास गरेको थियो । यसअघि अवैध सुन ओसारपसार गर्नेहरू राजस्व अनुसन्धान विभाग र भन्सार कार्यालयबाट धरौटीमा छुट्ने गरेका थिए, जसले गर्दा पक्राउ परेकाहरू छुटेपछि पुन: यही गिरोहमा सक्रिय हुन्थे । प्रहरीले समात्ने र राजस्वले छाड्ने क्रम निरन्तर चल्थ्यो । प्रहरी–तस्कर लुकामारी चलिरहन्थ्यो ।
यो अध्यायलाई चिर्दै प्रहरीले पहिलोपटक सुन तस्करीका तीन लगानीकर्ता, लगानीकर्ताका दुई सहयोगी, तीन जना मध्यस्थकर्ता र ६ जना भरियासहितको १४ तस्करी समूह पत्तो लगाएको थियो । त्यसमध्ये नौ जनालाई महाशाखाले गत पुसमा पक्राउ गरेको थियो भने बाँकी पाँच जना फरार छन् ।
प्रहरीका अनुसार लगानीकर्ता, सहयोगी, मध्यस्थकर्ता, भरिया र चीनको तिब्बतबाट सुन पठाउने गरी पाँच तहको तस्करी जञ्जाल भेटिएको थियो । बज्राचार्य, अग्रवाल र सावरमल जोधानी सुन तस्करीका लगानीकर्ता रहेको अनुसन्धानबाट खुलेको थियो । काठमाडौँमा उनीहरूको सुन पसलसमेत छ । बज्राचार्य न्युरोडस्थित दी युनाइटेड गोल्डमार्टका सञ्चालक हुन् । मोहन चौधरी, विशाल चौधरी र श्रीराम चौधरी मध्यस्थकर्ता हुन् । उनीहरूले नेपालका लगानीकर्ता र तिब्बतमा सुनको जोहो गर्ने नागा भोटेबीच पुलको काम गर्थे । जयराज भट्ट र मिलन गुरुङ भने लगानीकर्ताका सहयोगीको भूमिकामा संलग्न पाइएको थियो । ध्रुव तिमल्सिना, प्रवीण तिमल्सिना, देउता तिमल्सिना, नन्दकिशोर चौधरी र रामराज चौधरी गरी ६ जना भने सुन ओसार्ने भरिया हुन् ।
अधिवक्ता कृष्णप्रसाद सापकोटाका अनुसार संगठित अपराध हुँदाखेरि हरेक मानिसलाई भूमिका र जिम्मेवारी तोकिएको हुन्छ र सोही अनुरूप काम सम्पन्न हुन्छ । “कसैले आदेश दिन्छ, कसैले त्यो आदेश पालना गर्छ । अपराधमा संलग्न मानिसले चेन अफ कमान्डका आधारमा काम गरे भने त्यो संगठित अपराध हो,” सापकोटा भन्छन्, “कुनै एक जनाले भूमिका ननिभाइदिँदा त्यो काम सम्पन्न हुन सक्दैन ।”
महानगरीय प्रहरी परिसर, मुद्दा शाखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) दिनेश आचार्यका अनुसार प्रहरीले आपराधिक समूहको स्थापना गरेर संगठित अपराध गरेको भन्दै मुद्दा चलाउन खोजेको थियो । संगठित अपराध निवारण ऐन, २०७० को दफा ५ बमोजिमको कसुर गरेको भन्दै कारबाहीको माग छ । दफा ५ मा ‘कसैले पनि आपराधिक समूह स्थापना गर्न वा सञ्चालन गर्न वा गराउन वा जानी जानी आपराधिक समूहको सदस्य हुन वा कसैलाई सदस्य बनाउन हुँदैन’ भन्ने उल्लेख छ । साथै, आपराधिक लाभसमेत लिएकामा दफा ८ समेत कसुर गरेको भन्दै प्रहरीले कारबाहीको माग गरेको थियो । ऐन अनुसार पाँचदेखि सात वर्षसम्म कैद सजाय र ७० हजार रुपियाँसम्म जरिवाना हुन्छ । तर, मुद्दा अदालतसम्म नपुगी प्रहरीमै फर्कियो र अभियुक्तहरूले उन्मुक्ति पाए, जसले गर्दा सुन तस्करीमा तस्कर–प्रहरीको पुरानै लुकामारीको चक्र पुन: दोहोरिन सक्छ ।
लगानीकर्ता घरमा, भरिया जेलमा
गिरोहका मध्यस्थकर्ता मोहन चौधरीले प्रहरीलाई एक किलो सुन आकाश बज्राचार्यको भन्ने बयान दिए । तर, राजस्व अनुसन्धान विभागमा भने आकाश महर्जनले आफूलाई खासामा सुन लिन पठाएको बयान दिएका छन् । नाम बाझिएकाले राजस्व अनुसन्धान विभागले थप अनुसन्धान गर्नुको सट्टा उल्टै धरौटी लिएर छोड्यो बज्राचार्यलाई ।
बज्राचार्य १५ फागुन ०७१ मा १ करोड ४१ लाख रुपियाँ धरौटीमा रिहा भए र संगठित अपराधको मुद्दा खेप्न थाले । बालकृष्ण अग्रवालले २५ वैशाखमा ९२ लाख ५९ हजार रुपियाँ धरौटी बुझाए ।
संगठित अपराधमा मुद्दा नचली बज्राचार्य र अग्रवाल थुनामुक्त भएपछि प्रहरीको फरार सूचीमा रहेका सावरमल जोधानी राजस्व अनुसन्धान विभागमा धरौटी बुझाउन हाजिर भए । उनी १८ जेठमा ९२ लाख ५९ हजार रुपियाँ बुझाउन विभागमै पुगेका थिए । गिरोहका तीन जनै लगानीकर्ता धरौटी बुझाएर रिहा भए । तर, मध्यस्थकर्ता र भरिया भने धरौटी बुझाउन नसकी नख्खु कारागारमा छन् । प्रवीण तिमल्सिना, देउता तिमल्सिना, सत्यनारायण चौधरी, मोहन चौधरी, रामराज चौधरी र नन्दकिशोर चौधरी ३० लाख ८६ हजार रुपियाँ धरौटी बुझाउन नसकी कारागारमा छन् ।
लगानीकर्ता
आकाश बज्राचार्य
सञ्चालक दी युनाइटेड गोल्ड मार्ट, न्युरोड
उमेर : ४८
धरौटी : १ करोड ४१ लाख रूपियाँ
अवस्था : रिहा
सावरमल जोधानी
सुन व्यापारी
ठेगाना : भद्रपुर, झापा (हाल काठमाडौँ)
धरौटी : ९२ लाख ५९ हजार रूपियाँ
अवस्था : रिहा
बालकृष्ण अग्रवाल
सुन व्यापारी
ठेगाना : इलाम (हाल काठमाडौँ)
उमेर : ४२ वर्ष
धरौटी : ९२ लाख ५९ हजार रूपियाँ
अवस्था : रिहा
मध्यस्थकर्ता
मोहन चौधरी
उमेर : ३२ वर्ष
ठेगाना : सिमरा भवानी–२, रौतहट
धरौटी : ३० लाख ८६ हजार रूपियाँ
अवस्था : जेल
विशाल चौधरी
उमेर : २४
ठेगाना : रत्नपुर, चितवन (हाल धरान)
अवस्था : जेल
श्रीराम चौधरी
उमेर : ४२
ठेगाना : रत्ननगर, चितवन (हाल धरान)
अवस्था : फरार
भरिया
नन्दकिशोर चौधरी
उमेर : ३० वर्ष
ठेगाना: पदमपुर, चितवन
धरौटी : ३० लाख ८६ हजार रूपियाँ
अवस्था : जेल
सत्यनारायण चौधरी
उमेर : ३० वर्ष
ठेगाना : पदमपुर, चितवन
धरौटी : ३० लाख ८६ हजार रूपियाँ
अवस्था : जेल
रामराज चौधरी
उमेर : ४० वर्ष
ठेगाना : टाँडी, चितवन
धरौटी : ३० लाख ८६ हजार रूपियाँ
अवस्था : जेल
प्रवीण तिमल्सिना
उमेर : २३ वर्ष
ठेगाना : मध्यपुर ठिमी, भक्तपुर
धरौटी : ३० लाख ८६ हजार रूपियाँ
अवस्था : जेल
देउता तिमल्सिना
उमेर : २१ वर्ष
ठेगाना : दुवाकोट, भक्तपुर
धरौटी : ३० लाख ८६ हजार रूपियाँ
अवस्था : जेल
ध्रुव तिमल्सिना
उमेर : ४० वर्ष
ठेगाना : पांग्रेटार, सिन्धुपाल्चोक
अवस्था : फरार
कामदार
जयराज भट्ट
उमेर : २६ वर्ष
ठेगाना : मालती, कैलाली
भूमिका : लगानीकर्ता र बीचको व्यक्तिसँग सम्पर्क गरी सुन लिने र भुक्तानी दिने
अवस्था : फरार
मिलन तामाङ
उमेर : २८ वर्ष
ठेगाना : नयाँबजार, काभ्रे
भूमिका : लगानीकर्ता र बीचको व्यक्तिसँग सम्पर्क गरी सुन लिने र भुक्तानी दिने
अवस्था : फरार
तिब्बतबाट सुन पठाउने
नागा भोटे
ठेगाना : तिब्बत
राष्ट्रियता : तिब्बती
अवस्था : फरार
साभार : ईकान्तिपुर
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !